सर्लाहीमा कारागार भवन नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या

news

प्रकाश मैनाली

मलंगवा, असार ९ । सर्लाहीको जिल्ला कारागार भवन निर्माण समयमै पुरा नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा कारागार नभएपछि कैदीबन्दीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यताका कारण सुरक्षा लगायत विभिन्न समस्या देखिएको हो ।

२०६१ सालमा तत्कालीन माओवादीको आक्रमणबाट सर्लाहीको सदमुकामस्थित जिल्ला कारागार क्षतिग्रस्त भएको थियो । २५० कैदी थेग्ने क्षमता भएको कारागार क्षति भएको १४ वर्ष बितिसक्दासम्म निर्माण कार्यले गति लिन सकेको छैन ।

२०७३ मंसिरमा रामजानकी प्रालिसँग २ वर्षमा पुरा गर्ने सम्झौता भएपनि यस्तै गतिमा काम भए समयभित्रै काम पुरा नहुनेमा कुनै शंका छैन । रामजानकीसँग करिब ४ करोड १७ लाख रुपैयाँमा २ वर्षमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै कारगार निर्माण गर्नेगरी ठेक्का लागेको थियो । तर ठेक्का लागेको डेढ वर्ष भइसक्दा समेत अहिलेसम्म एउटा पनि भवन बन्न सकेको छैन ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल कारागार निर्माणको कामलाई गति दिन आफूले पहल गरिरहेको बताउँछन् ।

जिल्लामा कारागार भवनको अभावमा कैदीबन्दीलाई सुनसरीको झुम्का कारागार र महिला कैदीबन्दीलाई महोत्तरीको जलेश्वर कारागार पठाउने गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा कैदीबन्दी लैजादा सुरक्षादेखि अन्य चुनौती भइरहेका छन् । कारागार नहुँदा जिल्लामा विभिन्न अभियोगमा पक्राउ पर्ने अभियुक्तहरु व्यवस्थापनमा समस्या भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेल बताउँछन् ।

क्षति भएको कारागार १४ वर्षसम्म पनि पुनर्निर्माण नहुनुले सरोकारवाला निकाय काममा कति जिम्मेवार छ भन्ने कुरा स्पष्ट पारेको छ । निर्माणको जिम्मा लिएको पक्षले पनि कारागार नहुँदा भइरहेका समस्या मनन गरी समयमै काम सक्नेतर्फ केन्द्रित हुन जरुरी छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...