‘भूत’ मेलामा एक दर्जन दर्शनार्थीको सुन लुटियो

news

महोत्तरी, कात्तिक १ । ‘भूत’ मेलाका लागि प्रख्यात महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ ।

जिल्लाको औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्नेक्रममा बिहीबारमात्रै सातजना महिलाको सुन लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए ।

बिहीबार सोनामाई मन्दिरमा दर्शन गर्नेक्रममा औरही–७ कै शिवशंकर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मंगलसुत्र लुटिएको छ ।

त्यस्तै, बिहीबारै अन्य पाँचको गरी जम्मा सातजनाको सुनको सिक्री र मंगलसुत्र लुटिएको जनाइएको छ ।

त्यसैगरी, सोनामाई मन्दिरमा बुधबार पनि दर्शन गर्नेक्रममा पाँचजनाको सुनका गरगहना लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए ।

उनले नेपालीसहित केही भारतीय दर्शनार्थीको पनि सुनका गरगहना लुटिएको बताए ।

महिलाकोमात्रै गलामा रहेका सुनका सिक्री र मंगलसुत्र लुटिएको छ । यसैक्रममा मंगलसुत्र लुटिएकी एक भारतीय महिला मन्दिर परिसरमै निकै रोइरहेको भेटिएको थियो ।

देवी मन्दिरमा दर्शनकाक्रममा दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीसँग सोध्दा उनले आफूलाई यस सम्बन्धमा कसैले केही जानकारी नगराएको बताए ।

मन्दिरमा बिहीबार भीडभाडकाबीच सातजनाको सुन लुटिएपछि ठूलो हल्लाखल्ला भएपछि सुन लुट्नेमध्येका एकजनालाई स्थानीयवासीले पक्राउ गरेका छन् । उनको नाम गोप्य राखिनाका साथै प्रहरीको जिम्मा पनि नलगाएको स्थानीयवासी ठाकुरले आरोप लगाए ।

दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सोनामाई मन्दिरमा प्रहरीको उपस्थित रहँदा पनि प्रहरीले केही गर्न नसकेको सर्वसाधारण र मेला भर्न आएका नेपाली तथा भारतीय दर्शनार्थीले गुनासो गरेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया