महाभारतकी कुन्ती-२६

news

-हरिविनोद अधिकारी

त्यही कुरा बारम्बार याद आउँछ । कृष्णले जब आफू ब्रह्मचर्याश्रममा रहेको भए अर्जुनको शिर तत्काल त्यहाँ प्रकट होस् भनेर रौद्ररुपमा जल संकल्प गरेर पृथ्वीमा छर्कने बित्तिकै अर्जुनको शिर कतैबाट फुत्त आयो । शरीरको गिँडमात्र छ, शिर छैन तर अर्जुन ब्युँझिने कुरामा भने म पनि ढुक्क थिएँ र बुहारी उलुपी पनि ढुक्क देखिन्थिन् । सबैभन्दा बढी विषादमा त बभु्रवाहन नै देखिन्थ्यो किनभने पिताको मृत्यु वा शिरच्छेदन उसकै हातबाट भएको थियो र चित्राङ्गदाले उसैलाई नै आफ्नो पतिको हत्यारा जस्तो दोषारोपण गरेकी थिइन् । बभु्रबाहनको अवस्था साँच्चै अप्ठेरोमा देखिन्थ्यो किनभने पतिब्रता आफ्नी आमाको अस्मितामाथि नै प्रश्न उठाउने आफ्ना पिताप्रतिको तिरस्कारले र अपमानको पीडाले त्यो दुर्घटना निम्तिएको थियो ।

विस्मरण र स्मरण दुवै मानवीय गुणहरु हुन् । सबैले सबैकुरा सम्झन पनि सक्दैन र सबैकुरा बिर्सन पनि सक्दैन । अर्जुनको नियति नै त्यस्तै रहेछ, पुत्रबाट शिरच्छेदन हुनै पर्ने । अर्जुन जब जन्मेको मात्र थियो, म परिचारिकाहरुले घेरिएकी थिएँ, ठीक त्यही बेलामा आकाशवाणी भयो । अर्जुनको जीवनीको भविष्यका वारेमा । भनिएको थियो—यो बालक अत्यन्त मिजासिलो, धैर्यवान, सम्पूर्ण शस्त्रास्त्रको ज्ञाता, पिता माता र मान्यवरको आज्ञाकारी र राम्रो शासक हुनेछ । यसले आफ्नो जीवनकालमा तीनओटा अश्वमेध यज्ञ गराउने छ । यसको जीवनको अन्त्य हिमालयमा हुनेछ र यसको सन्तानले भारतवर्षको शासन गर्नेछन् । कुरुवंशको धरोहरको रुपमा यो बालक इतिहासमा स्मरणीय रहनेछ । भीमसेनसँगै जब कुनै पनि युद्धमा यो बालक जानेछ, त्यहाँ अपराजित हुनेछ । यो बालक इन्द्रको नियोगबाट जन्मेकोले पनि इन्द्रसमान पुरुषार्थी र तेजवान हुनेछ । अनि म कसरी बभ्रुवाहनको कोपभाजनका कारणले चलाइएको वाणले मेरो छोरो मरेको होला भनेर पत्यार गरुँ ? तर शिर नभएको एउटा शवजस्तै गरी सुतिरहेको मानव शरीर देखेपछि त मान्नैपर्‍यो, अर्जुनको शव लमतन्न सुतिरहेको छ युद्धस्थलमा । तर केही बिग्रेको पनि छैन तर धृतराष्ट्र नागका छोराहरुले टाउको काटेर लगेको कुरामा अब कसैको शङ्का रहेन । र कृष्णको जलाञ्जलिको रापले टाउको गिँडनेर नै टपक्क आइपुगेको अपत्यारिलो सत्य भने हामी सबैको सामु छर्लङ्ग थियो ।

अनि जब अर्जुन उठेर रणभूमिमा फेरि बभु्रवाहनको खोजी गर्न थाल्यो लड्नका लागि, अनि हामी सबै हाँस्यौँ र उसको विस्मरणलाई स्मरण गराउन थाल्यौँ । ती सबै समयहरुलाई उसको स्मरणमा ताजा गरायौँ जुन बेलामा चित्राङ्गदासँगको सहबास भएको थियो । त्यही बेलामा नै चित्राङ्गदाबाट जन्मने बालक राजकुमार मणिपुरको हकदार हुने र भावी राजाका लागि मणिपुरले सहर्ष स्वीकार गरेको अवस्था थियो । त्यसैले हामीलाई बभु्रवाहनका वारेमा थाहा नै थिएन । इरावान जस्तो गरी पारिवारिक महायुद्धमा आएको पनि थिएन र उसको प्रसङ्ग पनि उठेको थिएन । साँच्चै भनौँ भने युद्धको वारेमा मलाई खास थाहा पनि थिएन तर दिदी गान्धारीले मलाई सबै कुरा बताउनु हुन्थ्यो । अर्जुनका वारेमा मलाई नै थाहा नभएको कुरा म दिदीलाई कसरी भन्न सक्थेँ र ?

अर्जुन र बभु्रवाहनको मिलापत्र भयो । शूरवीर पिता र अजेय वीर पुत्र बभु्रवाहनका बीचमा सुलह भयो । अब मणिपुर हस्तिनापुरको वा भारतको महत्वपूर्ण राज्यको रुपमा रह्यो । अब अश्वमेधको यज्ञको रक्षक अर्को एकजना महावीर थपियो-बभु्रवाहन । मणिपुरका राजा बभु्रवाहन । राजमाता चित्राङ्गदापुत्र । शेषनागकी प्यारी छोरी उलुपीको प्यारो छोरो । अनि मेरो शूरवीर नाति ।

भनिन्थ्यो, मेरो भदाहा भाइ श्री कृष्णका १६ हजार १०८ रानीहरु थिए । तिनीहरुबाट हजाराँै सन्तान जन्मिएका थिए । तीमध्ये हजारौँ वृष्णिसेनामा सेना नायक भएर नारायणी सेनाको गठन भएको थियो । त्यो नारायणी सेना एकातिर र कृष्ण एकातिर रोज्ने काम कौरव र पाण्डवका तर्फबाट भएको थियो जसमा अर्जुनले कृष्णलाई रोजेको थियो रे र दुर्योधनले नारायणी सेना रोजेको थियो रे । अनि कृष्णले एउटा शर्त पनि राखेको थियो रे-म कुनै पनि हालतमा यो पारिवारिक विग्रहमा हतियार उठाउँदिन । कसका विरुद्ध किन हतियार उठाउने मैले ? अनि दुर्योधन खुसी भएर नारायणी सेना रोजेको थियो रे र अर्जुनले पनि निहत्था कृष्ण नै रोजेको थियो खुसी भएर ।

जब अर्जुन केही समय मणिपुरमा राजाधिराजको महाराजका पिताको रुपमा सम्मानित भएर रह्यो र हामी पनि बस्यौँ । एकप्रकारले हाम्रो सबैभन्दा नजिकको राज्यको रुपमा र सहयोगी राज्यको रुपमा परिणत भएको मणिपुरमा एउटा कुराको भने ठूलो जिज्ञासा देखियो । जुन कृष्णले रुक्मिणी हरण गरेको थियो, जाम्बबानकी छारी जाम्बवतीसँग विवाह गरेको थियो, सत्यभामा जस्ती सती नारीको पति थियो र हजारौँ गोपिनीहरुसँग रास रचेको थियो, त्यो कृष्ण कसरी ब्रह्मचर्याश्रममा अनवरत देखिए ? वा कसरी ब्रह्मचर्याश्रममा रहेकोले अर्जुनको टाउको हठात् त्यस ठाउँमा आयो ? त्यसको मतलब कृष्ण अझै ब्रह्मचर्यमै थिए ? तर कसरी ? कसले उत्तर दिन सक्छ ? यो जिज्ञासा भुसको आगो जस्तै सल्किरहेको थियो । होइन भन्न पनि कसैले सकेका थिएनन् र हो भन्न पनि तथ्यले दिइरहेको थिएन ।

आखिर मैले नै त्यसको उत्तर दिनका लागि कृष्णलाई प्रेरित गरेँ । ऊ हाँस्यो सदाझैँ रहस्यात्मक तरिकाले र भन्यो-दिदी, सबैले सुनून्, यो वसुदेव र देवकी पुत्र वासुदेव कृष्णले हजारौँ रानीहरु राखेको होला, हजारौँ सन्तान पनि जन्माएको होला तर वेदजनित ब्रह्मचर्याश्रमबाट पटक्कै विचलित भएको छैन । मैले मेरो इच्छाबाट, मेरो अन्तस्करणबाट कुनै कामवासनायुक्त व्यवहार गरेको छैन । जे जति भएको छ, अरुका इच्छा पूरा गर्नका लागि वरदानका रुपमा म प्रयोग भएको मात्र हुँ । कुनै कामवासनाले मलाई कहिल्यै छुन सक्दैन । त्यसैले सबैले त्यहीँ देखिसकेका छन् मेरो ब्रह्मचर्यको तेज र क्षमता । म जब मानव योनिमा जन्म लिन आएँ, मैले गर्ने सबै कामहरु मानिसले जस्तै गर्नैपर्छ । मैले भगवान विष्णुको सबै कलाको प्रतिनिधित्व गरेको छु । मैले सानो हुँदा यशोदा मातालाई , महाभारतको युद्धमा अर्जुनलाई आफ्नो स्वरुपको परिचय दिइसकेको छु । म सधैँ ब्रह्मचारी हुँ, ब्रह्मचर्याश्रममा नै रहन्छु । ब्रह्मचर्याश्रममा रहने छु । यसमा अचम्भ मान्ने कुनै कुरा नै छैन । जसले मलाई चिनेका छैनन्, त्यसले मात्र जिज्ञासा राख्छ । अनि मतिर हेरेर मुस्कुराउँदै भन्यो-तपाईँलाई पनि अझै शङ्का छ कि दिदी ? जजसले यो दार्शनिक तर्क सुने, ती सबै अवाक भए । सायद यही नै उसको सिद्धान्त प्रतिपादित भएको हुनसक्छ जीवन र जगतका लागि । यो कुरा मेरोलागि पनि त लागू भएको छ नि । मेरा पनि पतिको संख्या गन्दा सूर्य, पाण्डु, धर्मराज, वायु र इन्द्र हुन् तर तर ....कुनै पनि मेरा पति हुन् त ? होइनन् ।

सूर्य स्वयंमा एउटा सन्देह र जिज्ञासाका लागि मेरो मनले सोचेको कल्पना मात्रले प्रकट हुनु भएको थियो । जुनबेला मलाई नारीको महत्व र प्रजनन प्रक्रियाका वारेमा केही थाहा नै थिएन । महाराज पाण्डुसँग मेरो विवाह पनि एउटा जिज्ञासा र ठूलो राष्ट्रका चक्रवर्ती महाराजसँगको सम्बन्धको विस्तारको एउटा कडी थियो । जुन राजकुमारीले सुहागरातमा नै पतिसँगको सहवास पाएकी थिइन र महाराज कुनै युद्धका लागि खोपीमा पटरानीलाई सुहागरात मनाउनका लागि एक्लै छोडेर सेनाको नेतृत्व गर्दै अज्ञात युद्धमा जानु भएको थियो । फर्कँदा अर्की महारानीलाई साथमा लिएर आउनु भएको थियो मद्र देशकी राजकुमारी-माद्री । त्यसपछि त महाराज पाण्डु-सशक्त नाथकी अनाथ निरीह महारानी जोसँग संसारका सबै सुख छ्याल्लब्याल्ल थिए तर पतिसुखचाहिँ थिएन । पतिसुख अर्थात् रतिसुख । रतिसुख विनाको पत्नीत्व कस्तो होला ? सतीत्व कस्तो होला ? त्यहाँ पनि कृष्णको त्यो सूत्रले मलाई पनि समेटेको थियो ।

पछि पतिको कठोर आज्ञाका कारणले मैले धर्मराज, वायु र इन्द्रसँग नियोग यज्ञ सम्पन्न गरेँ, धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन, इन्द्रबाट अर्जुनको जन्म भएको थियो । नियोग प्रथा कुरुवंशमा क्षत्रियोचित धर्म मानिएको रहेछ जस्तो कि जेठाजु धृतराष्ट्र, मेरा महाराज पाण्डु र देवर विदुरको जन्म इतिहास । माद्रीले अश्विनीकुमारसँग नियोग यज्ञ सम्पन्न गरिन् र पुत्रहरु नकुल र सहदेवको जन्म दिइन् जुम्ल्याहा । त्यहाँ पनि मेरो भूमिका भनेको निरपेक्ष पत्नी वा राज्यबाट तटस्थ तर राज्य सञ्चालनका लागि आवश्यक राजकुमारहरुकी माता । एउटी राजमाता जसको राज्यको कुनै टुङ्गो थिएन र पनि  भारतको भावी राज्यको जिम्मा मेरो गर्भबाट जन्मेकाले लिने नियतिको स्पष्ट सङ्केत थियो । पछि त्यस्तै भयो पनि ।  त्यसपछि त झन महाराज नै स्वर्गवास हुँदाको घटनाले त झन ममा सन्यासरुपी जीवनका लागि उत्प्रेरित गरेको थियो । तर भारतको राज्य सञ्चालनका लागि मेरो भूमिका विना स्वार्थ न्यौछावर जरुरी थियो । सायद त्यो पनि ब्रह्मचर्याश्रमकै अर्को रुप पो थियो कि ? मैले त्यो कुरा त कृष्णलाई सोधिन तर उसले मणिपुरमा दिएको जबाफलाई मैले त्यसैगरी अथ्र्याएकी थिएँ ।

अहिले पनि म झल्झली सम्झन्छु कृष्ण शान्तिदूत भएर हस्तिनापुरमा आएको थियो पाण्डवहरुका तर्फबाट । वृष्णिकुलमणि कृष्ण तर आएको थियो पाण्डवका तर्फबाट शान्तिदूत भएर कौरवसँग सन्धिको तयारी गर्न । कृष्णको चमत्कारी व्यक्तित्वका अघिल्तिर अरु सबै फिका हुन्थे र मलाई डर थियो कतै शान्ति पो हुने हो कि ? मेरो र छोराहरुका बीचमा १४वर्षदेखि भेट भएको थिएन र कुनै सञ्चार पनि कायम हुन सकेको थिएन ।

छोरा बुहारी वनवासमा थिए तर म त्यस्तो दरबारमा थिएँ जसले मेरा छोराहरुलाई तेह्र वर्षका लागि वनवास पठाएका थिए राज्य हरण गरेर । कुटिल तरिकाले राज्य हरण गरेर । राज्य हरणभन्दा पनि बुहारी द्रौपदीको चीरहरणले मेरो मुटु छिया छिया भएको थियो । तर म बोल्न सकिरहेको थिइन । तर ममा ज्वालामुखी हुनै लागेको पहाडको भित्र भागमा लाभा पाकिरहेको झैँ भएको थियो । एउटी क्षत्राणीले छोरा किन पाउँछे भने धर्मको रक्षाका लागि ती छोराहरु मर्न र मार्न तयार हून । म चुपचाप बसेकी एउटी पूर्व महारानीका रुपमा विदुरका घरमा बसेकी थिएँ तर मेरा छोराहरुले कायरझैँ मागेर राज्य लिन लागेको मलाई मन परेको थिएन । शान्तिवार्ता त धर्मबमोजिन राज्य गर्नेसँग पो हुन्छ, अर्काको राज्य जुवाको खालबाट छलेर लिनेहरुसँग सम्भव थिएन । तर यो कुरा त म अरुसँग भन्न सक्दैनथेँ ।

विदुरलाई मेरो सुषुप्त ज्वालामुखीको आभास थियो र अलि अलि सती नारी गान्धारीलाई पनि थियो होला तर हामीले कहिल्यै पनि पाण्डवका वारेमा कुरै गरेनाँ  किनभने जसरी मलाई मेरा छोराहरुको मानमर्दन र बुहारीको चीरहरण मन परेको थिएन, त्यसैगरी मन नपरे पनि चुपचाप त्यसलाई मौन समर्थन दिनु पनि दिदी र जेठाजुको बाध्यता थियो । दिदी आसन्न तुफानका वारेमो चिन्तित हुनुहुन्थ्यो र बारम्बार दुर्योधनलाई बदमास कर्णले बिगारेको कुराको बढी नै चियोचर्चा गर्नुहुन्थ्यो । मलाई भने कर्णभन्दा दाइ शकुनिको व्यवहार र जेठाजुको दमित कुण्ठा नै पाण्डवको जीतको आधार देख्थेँ र कर्ण त समयको ज्वारबाट फालिएको कुनै काठको स्वरुपमा कौरव परिवारमा प्रवेश गरेको कुरामा म विश्वस्त थिएँ ।

म मौन बस्थेँ तर दिदी बारम्बार दुर्योधनसँग कृष्णले गर्नसक्ने शान्ति प्रस्तावका वारेमा चिन्तित र सशङ्कित हुनुहुन्थ्यो । म शान्तिवार्ता प्रति सकारात्मक थिइन भने दिदी आफ्ना छोराहरुको आसन्न हत्याप्रति अत्यन्तै चिन्तित देखिनु हुन्थ्यो । र साथै सौताको छोरो युयुत्सुप्रति अलि शङ्कालु पनि हुुनुहुन्थ्यो । म कृष्णलाई एक्लै भेट्न पाए हुन्थ्यो भन्ने सम्झन्थेँ र कसले पो मलाई भेट गराइदेला भनेर सोच्दै थिएँ, अचानक कृष्ण सरासर विदुरको कुटीमा पो आयो जहाँ म बस्थेँ विदुरसँग । शान्तिवार्ता भाँडिनु पर्छ भन्ने मेरो मान्यता थियो र पाण्डवहरुलाई यस्तो सन्देश पठाउन चाहन्थेँ जसले गर्दा उनीहरुलाई युद्धका लागि तयार हुन सकून । क्रमशः..

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया