मृत्युको कारण बन्दै मस्तिष्कघात, मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न के गर्ने ?

news

काठमाडौं, कात्तिक १३ । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो ।

मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ ।

मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्कघातकाबारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्‍याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्नसकिने बताउँछन् ।

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बांगिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन् ।

डा. पौडेल भन्छन्–‘यीमध्ये कुनै लक्षण देखिएमा चार घन्टाभित्र अस्पतालमा पुर्‍याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।’

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्कघात बढ्दोक्रममा नै रहेको बताइन्छ ।

एक अध्ययनअनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो । तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रामा मस्तिष्कघात हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक दुई सेकेन्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र १० सेकेन्डमा एकको मृत्यु यही कारण हुने गर्दछ ।

हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ । मृत्युको दोस्रो कारक तत्वकारुपमा यसलाई लिइन्छ । ६ मध्ये एकलाई मस्तिष्कघात हुनसक्ने अध्ययनले देखाएको छ ।

मस्तिष्कघात हुन नदिन के गर्ने ?

डा. पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।

उनी भन्छन्–‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।’

यस्तैगरी, मस्तिष्कघातपछि हुने कमजोरी विश्वमा नै अपांगताको दोस्रो ठूलो कारणकारुपमा रहेको छ ।

यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिएपनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयका हुने चिकित्सक बताउँछन् ।

डा. पौडेलकाअनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमामात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्कघातलाई नियन्त्रण गर्न सकिन्छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया