खडेरीपीडित किसानलाई प्रदेश सरकारको राहत

news

-प्रकाश धौलाकोटी/ईमेज

तेह्रथुम । खडेरीका कारण बालीनालीमा क्षति पुगेपछि प्रदेश १ सरकारले तेह्रथुम, पाँचथर र धनकुटाका किसानलाई राहत वितरण गरेको छ ।

हिउँदे र वर्षे बाली खडेरीले ठूलो क्षति गरेपछि राहतको माग गरिरहेका किसानहरु राहत पाएपछि खुसी भएका छन् ।

खडेरीका कारण सुख्खाग्रस्त क्षेत्रका हिउँदे र वर्षे बालीमा ठूलो क्षति पुगेको छ ।

वर्षभरी खानुपर्ने बालीनाली खडेरीले विनास गरेपछि समस्यामा रहेका किसानले केही समयअघि सरकारसमक्ष राहतको माग गरेका थिए ।

यसैलाई मध्येनजर गर्दै प्रदेश १ को सरकारले तेह्रथुम, धनकुटा र पाँचथरका सुख्खाग्रस्त  करिब चार हजार किसानलाई राहत वितरण गरेको छ ।

जसअन्तर्गत तेह्रथुमको म्याङलुङ नगरपालिकासहित छथर, फेदाप र आठराई गाउँपालिका, पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका तथा धनकुटाको चौबिसे गाउँपालिकाका खडेरी पीडित किसानलाई राहत वितरण गरिएको छ ।

प्रदेश सरकारबाट ५ हजार रुपैयाँ र २ हजार १ सय ५० रुपैयाँ स्थानीय तहबाट थप गरी प्रतिपरिवार ७ हजार १ सय ४२ रुपैयाँका दरले राहत वितरण गरेपछि किसानहरु खुसी भएका छन् ।

खडेरीले मकै, धान, कोदो, मास, मटर लगायत अन्न र फलफुल बालीमा क्षति पुगेको थियो  कुल ३ हजार ७ सय ९० परिवारलाई प्रदेश सरकारबाट १ करोड ८९ लाख ५० हजार रुपैयाँ र स्थानीय सरकारबाट ९४ लाख ७५ हजार गरी २ करोड ८४ लाख ८५ हजार रुपैयाँ राहतस्वरुप वितरण गरिएको छ ।

कार्यदलले ती ठाउँका किसानलाई परेको क्षतिबारे अनुगमन गरी प्रतिवेदन समेत तयार पारेको छ  सोही प्रतिवेदन बमोजिम खडेरी पीडितका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु सहित राहतका कार्यक्रम अघि सारिएको  तेह्रथुमका प्रदेशसभा सांसद लक्ष्मण तिवारीले बताए ।

जलवायु परिवर्तनका कारण मौसममा असन्तुलन र पानीका मुहान सुक्ने क्रम चलिरहेको छ ।

यीबाहेक अन्य ठाउँका किसान पनि खडेरीको समस्यामा परेका छन् । त्यसको लागि प्रभावकारी व्यवस्था मिलाउन जरुरी छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया