‘भाइ’मसलाको नालीबेली

news

हिमाल पौडेल (इमेज)

काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ ।

ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् ।

बोट–बिरुवामा फल्ने तिहारका अधिकांश मसला हामीकहाँ उत्पादन भने हँुदैन । अधिकांश मसला विदेशबाट आयात हुने गरेको छ ।

तिहारका मसला केही स्वदेशमा नै उत्पादन हुने गर्दछन् भने केही भारत, चीन, बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुन्छन् । यी सबै मसला कृषिउपज हुन् ।

ओखर

ओखर एक पतझड वनस्पति हो । ओखर युरोपको बाल्कन प्रायद्वीपदेखि हिमालय पर्वत शृंखला तथा दक्षिणपूर्वी चीनसम्मको भू–भागको रैथाने वनस्पति हो । ओखरको रुख ठूलो हुन्छ । यो दुई प्रजातिको हुन्छ । प्रायः नेपालमा हाडेओखर वनजंगलमा पाइन्छ ।

काजु

यो आँपजस्तै ‘एनाकार्डिएसी’ परिवारअन्तर्गत् पर्ने बिरुवा हो । दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशीय क्षेत्र खासगरी ब्राजिललाई यसको उत्पत्ति स्थान मानिन्छ । यो फल त्यस क्षेत्रको रैथाने प्रजाति हो । उष्ण प्रदेशीय हावापानीयुक्त क्षेत्रमा प्रमुख कृषिबालीकारुपमा फल्ने काजुले विश्व बजारको ठूलो हिस्सा ओगटेको मानिन्छ ।

खजुर

खजुरलाई ‘छोहडा’ पनि भनिन्छ । यो फल संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन आदि देशहरूमा उत्पादन हुन्छ । यो नरिवलकैजस्तो रुखमा फल्दछ ।

नरिवल

नरिवलको रुख ३० मिटरसम्म अग्लो हुन्छ । ४ देखि ६ मिटरसम्म लामा र ६० देखि ९० सेन्टिमिटरसम्म चौडाइ भएका पात हुन्छन् । नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ । खासगरी भारत, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, इस्ट तथा वेस्ट इन्डिज र मध्य अमेरिकी देशमा पाइन्छ । पूर्वी नेपालका भित्री मधेस र तराईमा पनि नरिवल खेती गरिन्छ ।

सुपारी

सुपारी एक औषधीय गुण भएको ‘पोथ्रा’ वर्गमा पर्ने वनस्पति हो । सुपारीलाई विभिन्न कार्यमा प्रयोजन गर्ने गरिन्छ । हिन्दुधर्ममा सिंगो सुपारीलाई हिन्दु देवता गणेशकारुपमा पूजा–आराधना गरिन्छ । सुपारीलाई औषधिकारुपमा पनि प्रयोग गर्न सकिन्छ । सुपारी पनि नरिवलजस्तै अग्लो रुखमा फल्दछ ।

पेस्ता

पेस्ता मसलाकारूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादकारुपमा ‘सेफ’हरुले लिने गरेका छन् । पेस्ता मझौलाखालको रुखमा फल्दछ ।

मखना

मखना एक प्रकारको जलिए वनस्पति हो । यो जलभन्डार भएको ठाउँमा उत्पन्न हुन्छ । यसको उत्पादन नेपाल, भारत, चीनलगायत दक्षिण पूर्व एसियामा हुने गरेको छ । प्राचीनकालदेखि नै यसको उपयोग भइरहेको छ । यसमा प्रशस्त मात्रामा पौस्टिक पदार्थ पाइन्छ ।

किसमिस

किसमिस अंगुरलाई सुकाएर बनाइने खाद्यपदार्थ हो । अंगुर लहराजन्य वनस्पति हो । यसको खेती छिटपुटरुपमा नेपालमा पनि हुने गरेको छ ।

बदाम

नेपाली समाजले ‘आलमन्ड’लाई सामान्यतया मधेसी बदाम, हाडे बदामको नामले चिन्दछ । यसलाई चिनियाँ बदाम पनि भन्ने गरिन्छ । मधेसी बदाम मध्यमखालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता वनस्पतिजस्तै फलजन्य वनस्पति हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...