‘राप्रपा एकता तिहारलगत्तै, अध्यक्षमन्डलको व्यवस्था गरेर नेतृत्वको टुंगो’ (भिडियो)

news

अक्कर कुँवर/दिलिप पोखरेल (इमेज)

काठमाडौं, कात्तिक २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन घटकबीच एकताका लागि औपचारिक छलफल सुरु भएको छ ।

पछिल्लोपटक राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच पार्टी एकता गर्ने सहमति नै भएको छ ।

राप्रपाका तीनओटै घटकबीच एकताका लागि सक्रिय रहेका नेताहरुले तिहारलगत्तै एकता हुने दाबी गरेका छन् ।

गत वर्ष सम्पन्न तीनओटै निर्वाचनमा अस्तित्व नै नामेट हुनेगरी पराजित भएपछि राप्रपाका तीनओटै घटकबीच एकताका लागि अनौपचारिक छलफल सुरु भएको थियो ।

पछिल्लो समय राप्रपाका तीनओटै घटकले पार्टी एकताको जिम्मा अध्यक्षलाई दिएका छन् ।

पछिल्लो समय राप्रपाका संस्थापक नेताहरमध्येका एक लोकेन्द्रबहादुर चन्द र वरिष्ठ नेता बुद्धिमान तामाङ पार्टी एकताका लागि निकै सक्रियरुपले लागेका छन् ।

यी दुई नेताले २०७३ सालमा भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजलाई आधार मानेर एकीकरण गर्न जुटिरहेका छन् ।

राप्रपा अध्यक्ष थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाबीच मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति भएको जनाइएको छ ।

तीनै घटकबीच सैद्धान्तिक विषयमा खासै विमति छैन । पार्टीको मुख्य सिद्धान्त संवैधानिक राजतन्त्र र हिन्दुराज्य राख्ने विषयमा विमति नरहेको वार्तामा सक्रिय नेताहरुले जनाएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले तीनै घटकबीच एकताका लागि प्राविधिक विषयबाहेक सबै विषय टुंगो लागिसकेकाले तिहारलगत्तै एकता हुने दाबी गरे ।

नेताहरुबीचको व्यक्तिगत स्वार्थका कारण राप्रपा पटक–पटक फुट्दै आएको छ । यसपटक नेतृत्वको विषयमा पनि सहमतिनजिक पुगिएको दाबी नेताहरुले गरेका छन् ।

वरिष्ठ नेता तामाङले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित वर्तमान तीनै घटकका अध्यक्ष रहनेगरी अध्यक्षमन्डलको व्यवस्था गरेर नेतृत्वको टुंगो लगाउने तयारी भइरहेको बताए ।

नेतै–नेता भएका राप्रपाका घटकहरुबीचको एकताले तत्काल राष्ट्रिय राजनीतिमा भने खासै प्रभाव पार्ने छैन ।

तर, वैकल्पिक शक्तिको हुँकार दिँदै एकतामा होमिएका राप्रपाका घटकबीच सही एकता हुन्छ कि हुँदैन भन्ने शंका भने कायमै छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया