तिहारमा बढ्यो झिनियाँ रोटीको व्यापार (भिडियो)

news

सीता पाण्डे

पाल्पा, कात्तिक २२ । तिहार भित्रिएसँगै पाल्पामा सिन्कामरी झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ । तिहारको बेला यो रोटी लोकप्रिय बन्दै गएको छ । जसका कारण सयौँ महिलाले घरमै बसीबसी रोजगारी पाइरहेका छन् ।

सबैतिर तिहारको झिलिमिली रंगिविरंगी र चहलपहल छाइरहेको छ । विभिन्न किमिमका रोटीका परिकारहरु बनाउने चटारो सबैको घरघरमा देखिन्छ । रोटीका विभिन्न परिकारसँगै तानसेन बजारको नेवारी समुदायमा  मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ रोटी आजकल धेरैतिर लोकप्रिय बन्दै गएको छ ।

तिहारको समयमा हरेक नेपालीको घरमा सप्तरंगी झिनियाँ रोटी भएन भने रोटीको परिकार नै अपुरो भएजस्तो लाग्ने गरेको छ । पकाउन सजिलो र खान मिठो भएकाले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको स्थानीय व्यापारीहरु बताउँछन् ।

झिनियाँ रोटीको बढ्दो लोकिप्रियताले तानसेनका व्यापारीहरुको व्यस्तता बढाइरहेको छ । झिनियाँ रोटी सस्तो भएकाले सबैको रोजाइमा पर्ने गरेको छ । अहिले तानसेनमा ४० रुपैयाँ दर्जनदेखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनियाँ रोटी बिक्री हुँदै आएका छन् । बाह्रै महिना झिनियाँ रोटीको व्यापार भए पनि तिहारको बेलामा दुई÷तीन लाख रुपैयाँको व्यापार हँुदै आएको स्थानीय व्यापारी सावित्री नापितको भनाइ छ ।

झिनियाँ रोटीकै कारण तानसेनका करीब १ सय घरपरिवारलाई तिहार आय आर्जनको राम्रो अवसर पनि बनेको छ । यस अवसरमा उनीहरुले २० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया