जेलमा बलात्कारीको संख्या ठूलो छ : गृहमन्त्री

news
फाइल तस्वीर ।

काठमाडौं, कात्तिक २२ । गृहमन्त्री रामबहादुर थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताएका छन् । आगामी दिनमा सरकार अझै कठोरताका साथ प्रस्तुत् हुने उनको भनाइ छ ।

‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु निर्मुल, नियन्त्रण गर्ने अभियान चलिरहेको छ’–उनले भने ।

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित देउसी–भैलो कार्यक्रमपछि उनले सन्चारकर्मीहरुसित यस्तो बताएका हुन् ।

भ्रष्टाचारीमाथि कारबाहीको गति अलिक मन्द भएको भन्दै उनले आउने दिनमा त्यसलाई तीव्रता दिने जिकिर गरे ।

सरकारले बलात्कारीहरुलाई पनि कारबाही गरिरहेको उनले जनाए ।

‘तपाइँ अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबर्जस्ती करणी गर्ने, बलात्कार गर्नेहरु, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भइरहेको छ’–उनले भने–‘जहाँसम्म निर्मला (पन्त) प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँछन् ।’

गृहमन्त्री थापाले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अन्त्य भइसकेको र त्यसलाई व्यवस्थापन गर्ने काम चलिरहेको उल्लेख गरे ।

सरकार मुलुकमा सुशासन कायम गर्न र जनताको जनधनको सुरक्षा गर्न लागिपरेको उनले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया