ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोमा विपक्षीको आपत्ति

news

वासिङटन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोप्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ ।

राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको विपक्षी डेमोक्र्याट पार्टीको आरोप छ ।

डेमोक्र्याट पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने नेता चक स्कमरले ट्वीट गर्दै लेखेका छन्–‘स्पष्टरूपमा राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ ।’

ट्रम्प निर्वाचित भएको राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेपसम्बन्धी अनुसन्धानमा आफ्नोअनुकूल हुन बाधा पुर्‍याउने आशंकामा महान्यायाधिवक्तालाई हटाइएको आरोप धेरैले लगाएका छन् ।

अमेरिकी अनुसन्धानबाट सन् २०१७ को मार्चमा सेसन्स अलग भएदेखि ट्रम्पले उनको आलोचना गर्दै आएका थिए ।

सेसन्ससँग असन्तुष्ट र त्रसित ट्रम्पले उनलाई जबर्जस्ती राजीनामा गर्न लगाएको जनाइएको छ ।

राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पस्ट पारेका छन् ।

आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन्–‘प्रिय राष्ट्रपति महोदय, तपाइँको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु ।’

मिति उल्लेख नभएको राजीनामापत्रमा उनले सेवा गर्ने मौका दिएकोमा ट्रम्पलाई धन्यवाद दिन चाहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘सबैभन्दा महत्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनःस्थापित गर्न सक्यौं र त्यसलाई कायम गर्न सक्यौं ।’

सेसन्सले राजीनामा दिएपछि उनलाई राष्ट्रपति ट्रम्पले धन्यवाद दिएका छन् । उनले ट्वीटमा लेखेका छन्–‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौं र उहाँको आगामी दिन अझ राम्रो होओस् भन्ने कामना गर्दछौं ।’

सेसन्सको ठाउँमा तत्कालका लागि उनका वरिष्ठ सहयोगी ’चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरलाई जिम्मेवारी दिइएको छ ।

सन् २०१६ को अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन् । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया