बाख्रापालनबाट गाउँमै वार्षिक ८ लाख आम्दानी

news

कविराज घिमिरे (इमेज)

धनकुटा, कात्तिक २३ । कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका छन् ।

तर, मिहिनेत र लगनशीलताका साथ काम गर्ने कतिपय भने कृषिबाट आफू त सफल भएका छन् नै अरुलाईसमेत रोजगारी दिन सफल भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकाका दीपक दाहाल विगत ६ वर्षदेखि बाख्रापालन गरिरहेका छन् ।

पेसाको खोजीमा यहाँबाट विदेश या सहरतिर निस्किएपछि गाउँ नै रित्तिने अवस्थामा पुगेको छ । तर, दीपक भने आत्मविश्वासका साथ गाउँमै व्यवसाय गरिरहेका छन् । बाख्रापालनबाटै आफ्नो सुन्दर भविष्य देखिरहेका छन् ।

५० रोपनी जग्गामा आधुनिक खोर बनाएर करिब २०० बाख्रापालन गरिरहेका उनले गाउँमै रोजगारी र आम्दानीको अवसर भएको उदाहरण दर्शाएका छन् ।

बाख्रापालन तत्कालका लागि भन्दापनि दीर्घकालीन आम्दानीको स्रोत भएको उनको बुझाइ छ ।

गाउँघरमा पनि बाटोघाटो र यातायातको सुविधा पुगिसकेकाले उनलाई न त बाख्राका लागि घाँस, दानापानी ल्याउन अप्ठ्यारो छ न त बजारको समस्या नै ।

उनले यसबाट खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

गाउँमा भविष्य नदेखेर विदेश र सहर चहार्नेलाई गाउँमै फर्किएर कृषिमा लाग्न उनको सुझाव छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया