निर्मला हत्याकान्डः दोषी पत्ता नलागे आमरण अनशनमै उत्रने चेतावनी (भिडियो)

news

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, कात्तिक २५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब साढे तीन महिना बितिसक्दासमेत दोषी पत्ता नलागेको भन्दै उनका आमाबुवा आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।

घटनामा संलग्न दोषी पत्ता लगाउन दबाब दिनका लागि निर्मला पन्तका परिवार कन्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

झन्डै साढे तीन महिना बितिसक्दासमेत सरकार दोषी पत्ता लगाउन चुकेको भन्दै अधिकारकर्मीसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार स्थानीय मदनचोकमा भेला भएर सयौंको संख्यामा दबाबमूलक र्‍यालीसहित प्रशासन कार्यालय पुगेर उनीहरुले धर्ना सुरु गरेका हुन् ।

धर्नामा नागरिक समाजका अगुवा, अधिकारकर्मी, उद्योगी, व्यवसायीलगायत सर्वसाधारण सहभागी छन् ।

सरकारले निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन नसकेकाले न्यायका लागि धर्नामा बस्न बाध्य भएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । उनले दोषी पत्ता नलागे आमरण अनशनमै उत्रने चेतावनीसमेत दिए ।

दोषी पत्ता लगाइ सार्वजनिक गर्न सरकारलाई दबाबस्वरुप धर्ना सुरु गरेको अधिकारकर्मी माया नेगी बताउँछिन् ।

सरकारले घटनाको छानबिनका लागि विभिन्न समिति गठन गरेपनि हालसम्म दोषी पत्ता लागेको छैन ।

प्रहरीले अपराधीसम्म पुग्ने कुनै सूत्र फेलापार्न सकेको छैन भने छानबिन पनि शून्यमै छ ।

हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ । अरु ६ जना प्रहरी निलम्बनमा परिसकेका छन् ।

गत साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...