अमृत गुरुङसँगको साँझ

news

-मिलन आचार्य

हातमा टिकट थियो, म लाइनमा थिएँ । म भन्दा अघि सयौँ थिए र म भन्दा पछि पनि । अनौठो हतासमा थिएँ । साह्रै मुस्किलले गेटबाट भित्र छिरेँ । कार्यक्रम सुरु हुनु भन्दा १५ मिनेट अघि पुगेर झण्डै आधा कार्यक्रम सकिएपछि मात्र भित्र छिरेको, मेरो पहिलो अनुभव हो । 

‘हैन, यो अमृत गुरुङ के चिज हो यार’ कसैको आवाज कानमा ठोकियो । रमाइलो माने सुन्दा, केही बोलिन । तीन हजार हाराहारीमा थियो उपस्थिती । चिनेका कोही थिए भने भेट्न मुस्किल । 

कसैले प्रयोग भइसकेको टिकट विक्री गरेछ । लामो प्रतिक्षापछि गेट पुगेका केही मानिसको गुनासो सुनें । उनीहरु गुमाएको एक हजार भन्दा पनि अमृत गुरुङ ‘मिस’ गरिरहेका थिए । छटपटि र पीडा थियो उनीहरुमा । ठूलो हल्ला बीच ठूलो कार्यक्रमको गेटमा पुग्दा आयोजक एकपटक चुकिसकेको पाएँ । फटाफट फोटो खिचें र अगाडी बढें । 

लामो लाइन बस्दा मानिसमा धैर्यता सकिनै लागेको महसुस हुन्थ्यो । लामबद्ध बृद्ध तथा ससाना नानी बोकेका महिलाको बिजोग करुणा लाग्दो थियो । मिल्थ्यो भने, आफू नहेरेरैै भए पनि उनीहरुको इच्छा पुर्‍याउन पाए हुन्थ्यो लागिरह्यो । टिकट बोकेर कुदिरहेका आयोजकको नजरमा यो दृष्य किन पर्न सकेन थाहा भएन । लाइनमा बसेका मध्ये कसैले बोलायो भने उनीहरु थप टिकट आतंक मच्चाउँथे । 

समग्रमा आयोजक दर्शक व्यवस्थापनमा नमज्जैले चुक्यो । कमजोर आयोजकले आँट गरेको ठूलो कार्यक्रम भयो, समग्रमा कार्यक्रम । दर्शकले बाहिर अमृत गुरुङ मिस गरिरहे, भित्र गुरुङले धुम मच्चाइरहे । 

त्यो भीडमा हल्लिएका हज्जारौं हात मध्ये एउटा हात मेरो थियो । त्यो भीडको हज्जारौं सुसेली मध्ये एउटा मेरो हो । र, ती हज्जारौं मध्ये एउटा म थिएँ जो त्यो भीडलाई उछिनेर अमृत गुरुङलाई अंकमाल गर्न चाहान्थें । 

यदी संगीतमा जादु हुन्छ भने जादुगरसँग आमनेसामने भएँ । जीउ पसिनाले भिजेको थियो । रौं ठाडा भएका थिए । मन बेग्लै खालको चन्चल भएको थियो । संगीत पनि यस्तो थियो, मानौं कुनै ठूलै पहाडसँग ठोकिए जस्तो । मन आनन्द थियो, शान्त पनि । थुप्रैले अमृत दाईसँग ‘डोयट’ गाए । थुप्रै दाईसँग नाचे । मानौं झापाको बिर्तामोड स्थित डोमालाल रंगशालामा अमृत छरिएको थियो । र, यी थुप्रोमा म पनि भुलेको थिएँ । 

भेट हुनु भनेको आमने सामने बस्नु हो । वा, टेवलमा बसेर दुवैतिर चियाको कप राखेर गफिनु हो । कुनै मनमोहक ठाउँमा प्रिय लाग्ने मनसँग रम्नु हो । भेट हुनु भनेको नजिकै हुनु पनि हो । एक अर्काका कुरा सुन्नु पनि हो । अमृत गुरुङसँग यो केही भएन । तर, यी सबै भन्दा प्रिय । मुस्किलले देख्दा पनि आनन्द लाग्ने । सायद अमृत गुरुङसँगको भेट यही नै काफि हो । 

कोही थिएन जो चुपचाप बसेको होस् । नियालेको भए बनस्पति पनि नाँचिरहेको हुँदो हो । 

‘हाम्रो देश हामी आफैंले बनाउने हो, विश्वास गरेर पठाएका छौँ, फेरी यो गीत गाउनु नपरोस्’ गुरुङले राजनीतिकर्मीलाई पनि प्रहार गरे । अनि गाए, ‘गाउँगाउँ बाट उठ बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ... ।’ देशको माया गर्नलाई राजनीतिक पार्टीको कार्यकर्ता भइराख्नु पर्दैन । देशको माया गर्नलाई देश परिवर्तन गर्ने ओहोदामा भइराख्नु पर्दैन । जसको भरोसा गुरुङले दिलाए । 

अधिकांश उनका गीत रुचाइएका छन् । युवा पुस्ताका लागि गुरुङ संगीतको सगरमाथा नै हुन् । जो, यो कार्यक्रमबाट पनि पुष्टि हुन्थ्यो । जतिजति उनी उनका अत्याधिक रुचाइएका गीत गाउँथे, उनको स्वर कम भीडको हल्ला ज्यादा सुनिन्थ्यो । 

‘नेपाली हामी रहौंला कहाँ नेपाल नै नरहे’ गुरुङ भन्दै थिए, ‘देश घुम्नु पर्छ, डुल्नु पर्छ र माया गर्नुपर्छ ।’ गुरुङले भीड आफूतिर खिचिरहे । कुनै समय पनि यस्तो दिएनन्, उनलाई प्रिय मान्नेको नजरबाट उनी खसुन् । ठूलो पहाडसँग टक्कर गराएर उनी विदा भए । संगीतलाई नजिकबाट साक्षात्कार गराए । उनी प्रिय नै रहिरहे । 

कार्यक्रम सकिएपछि कार्यक्रमका थुपै्र आलोचना सुनिए । बृद्धबृद्धा, बालबच्चा तथा अन्य कष्ट सहेर नेपथ्यको सांगीतिक माहोलमा झुमे । दर्शक व्यवस्थापन, टिकट व्यवस्थापन र भित्र छिर्ने भिड व्यवस्थापन । केहीमा पनि आयोजक पूर्ण सफल भएन । 

संधै गाँजा र चुरोटमा हिड्ने एकखालका युवा जमातले राष्ट्र गीत गाए । अधिंकाश समय बब मार्ली प्रिय मान्ने तथा अंग्रेजी र्‍याप गाउने उनीहरु गुरुङसँग रम्दै ‘रातो र चन्द्र सूर्य...’ गाएको दृष्य हेर्न लायक थियो । आधाजसो अंग्रेजी बोल्ने पुस्तालाई गुरुङले नेपाली संस्कृति नजिकबाट चिनाएर गए । 

गृहमन्त्री हिक्मत कार्की र साहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भिडियो मार्फत कार्यक्रम उद्घाटन गरे । भिडियोमा सवारी दुर्घटना न्यूनिकरणका कार्यक्रममा सहभागी हुन आग्रह गरिएको थियो । सवारी दुर्घटनामा अधिकांश युवा पर्ने भएकाले उनीहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको गिरीले बताए । ‘यो कार्यक्रमको सुरुवात मात्र हो’ गिरीले भने, ‘हामी प्रदशे नं.१ का विभिन्न स्थानमा कार्यक्रम गछौँ ।’ 

सांगीतिक सुरुवात भएको कार्यक्रम चार चरणमा सकिने रहेछ । सुरुवाति कार्यक्रममा सडक दुर्घटनामा ‘आफू बचौं र अरुलाई पनि बचाऔं’ नेपथ्यले भनिदियो । हिमाल पारीका जिल्ला घुम्न भनिदियो । र, सवारी कुदाउँदा ध्यान दिन भनिदियो । 

कार्यक्रम सकिएपछि आयोजक जिल्ला ट्राफिककै खिल्ली उडाउने दृष्यहरु समेत देखिए । बिना हेल्मेट बाइक कुदाएर तथा तीन जनाभन्दा बढि बाइकमा बसेर कार्यक्रम स्थलबाट बाहिरिएको दृष्य स्वयम् प्रहरीले पनि देख्यो । तर, अन्यजस्तै उनीहरु पनि मुखदर्शक भए । 

जे सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना भयोे त्यो लाजवाफ छ । आगमी कार्यक्रमहरु कमजोर धरातलमा जबरजस्ति राखेको सगरमाथा नहोस् । जति आलोचना खेप्यो, अर्को कार्यक्रमका लागि पाठ हो । नेपथ्यलाई आग्रह गर्न लगाएको सडक दुर्घटना महाअभियान सरिक हुन जरुरी छ । कमसेकम म सचेत हुनुपर्छ भन्ने सोचौं ।

‘आफू बाँचौ र अरुलाई बचाऔं ।’

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया