चितवन टाइगर्समा आयरल्यान्डका अलराउन्डर स्टिर्लिङ

news

चितवन, मंसिर ६ । चितवन टाइगर्सले आयरल्यान्डका अलराउन्डर पाउल स्टिर्लिङलाई अनुबन्धन गरेको छ ।

यही मंसिर २२ गतेदेखि सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटका लागि चितवनले स्टिर्लिङलाई अनुबन्धन गरेको हो ।

उनी इपीएल सुरु हुन केही दिनअघि नेपाल आइपुग्ने चितवन टाइगर्सका एसिसटेन्ट म्यानेजर जस्करन भगतले जानकारी दिए ।

आयरल्यान्डका ओपनिङ ब्याट्सम्यान स्टिर्लिङ ‘अफ ब्रेक’ बलर पनि हुन् ।

उनले आयरल्यान्डबाट एक टेस्ट, १०० एकदिवसीय अन्तर्राष्ट्रिय र ५२ ट्वेन्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

स्टिर्लिङसित ६५ प्रथम श्रेणी, १८० लिस्ट ‘ए’ मान्यताप्राप्त खेल खेलेको अनुभव पनि छ ।

‘गत सिजन हामीले चाहेजस्तो हुन सकेको थिएन । त्यसको आधारमा हामीले पाउल स्टिर्लिङजस्ता अनुभवी खेलाडीको आवश्यकता महसुस गरेका थियौं । उनको आगमनले टोलीलाई नयाँ जोश दिने र लक्ष्यमा पुर्‍याउने हामीले विश्वास लिएका छौं’–चितवन टाइगर्सका मालिक किशोर भट्टराईले भने ।

उनले बाँकी दुई विदेशी खेलाडीका लागि विश्वस्तरीय खेलाडी ल्याउने प्रयास पनि जारी रहेको जानकारी गराए ।

चितवन टाइगर्सले यसअघि इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्यूजिल्यान्डका जेम्स फुलरलाई इपीएलका लागि घोषणा गरेको थियो ।

तर, होल्डेन इंग्ल्यान्डको ‘ए’ टोलीमा छनोट भएकाले व्यस्त तालिका र पारिवारिक कारणले आउन नसक्ने भएको चितवन टाइगर्सका मालिक भट्टराईले बताए ।

दीपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, दीलिप नाथ, सन्दीप सुनार, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलमलगायतका खेलाडी रहेका छन् ।

गत वर्ष खेलेको टोलीबाट चितवनले सुवास खकुरेल, सुनाम गौतम र योगेन्द्रसिंह कार्कीलाई ‘रिलिज’ गर्दै उनीहरुको स्थानमा आदिल खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...