हिमालयन शेर्पाले जावलाखेललाई हरायो

news

काठमाडौं, मंसिर ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ ।

हल्चोकस्थित एपीएफ क्लबको खेलमैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

हिमालयन शेर्पाको जितमा कर्ण लिम्बूले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती गोल उपहार पाएको थियो ।

मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलको ६६औं मिनेटमा लिम्बूले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिएका थिए ।

लिम्बूले नै खेलको ७५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५औं मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २–१ को स्थितिमा आयो । त्यसपछि खेलमा गोल हुन सकेन र हिमालयनले खेल २–१ ले जित्न सफल भयो ।

खेलमा हिमालयन शेर्पाका लिम्बू ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै हिमालयन शेर्पाले लिगमा दोस्रो जित निकाल्दै दुई जित तथा एक बाराबरीका साथ अंकतालिकामा ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जावलाखेलको भने यो लगातार तेस्रो हार हो ।

यसैबीच, शनिबारका खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मंसिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

चौथो चरणको पहिलो खेलमा यही मंसिर १० गते त्रिभुवन आर्मी र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् ।

सोही दिन दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

सोही दिन हुने तेस्रो खेलमा च्यासल युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...