सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४५ प्रतिशत कर्मचारीमात्र उपलब्ध

news

विराज रोस्यारा

कैलाली, मंसिर १८ । कर्मचारी अभाव भएपछि सुदूरपश्चिम प्रदेश सरकारका कामकारबाही प्रभावित भएका छन् । प्रदेश सरकार गठन भएको ९ महिना पुगे पनि अहिलेसम्म ४५ प्रतिशत कर्मचारीमात्र हाजिर भएका छन् ।

प्रदेश सरकार मातहतका कार्यालयमात्र नभई प्रदेश मन्त्रालयमै कर्मचारीको अभाव देखिएको हो ।

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीमध्ये ४६ प्रतिशत कर्मचारीमात्रै पूर्ति भएको जनाएको छ । प्रदेश मन्त्रालय र विषयगत कार्यालयमा २ हजार ६१३ कर्मचारीको दरबन्दी रहे पनि अहिलेसम्म करिब १४ सय कर्मचारीको अभाव खट्किरहेको छ । 

अर्कोतिर उपलब्ध कर्मचारीहरु पनि कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, नासु, खरिदार तथा राजपत्र अनंकित श्रेणीका मात्र छन् । सहसचिव, उपसचिव, अधिकृत स्तरका कर्मचारी, प्राविधिक स्तरका कर्मचारीको बढी अभाव छ । जसले गर्दा कतिपय कार्यालयमा कार्यालय प्रमुख नै नहुँदा महत्वपूर्ण काम प्रभावित भइरहेको हुँदा अख्तियारी दिन समेत नसकेको स्थिति रहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बताउँछन् ।

कर्मचारी अभावका कारण अपेक्षाकृत विकासको काम गर्न नसकिरहेकाले करारमा भए पनि रिक्त दरबन्दी पूर्ति गर्ने गृहकार्यमा प्रदेश सरकार जुटेको छ । विधि, नीति र कानूनमा टेकेर प्रदेश सरकारले कर्मचारीको व्यवस्था गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टको भनाइ छ ।

धेरै आवश्यकता र अपेक्षाबीच गठन भएको प्रदेश सरकारले अपेक्षाकृत काम गर्न सकिरहेको छैन । जनताले चाहेको सेवा सुविधा र विकास हो कर्मचारीको अभाव देखाएर सरकार आफ्नो कमजोरी ढाक्न खोज्नु हुँदैन किनभने कर्मचारी प्रबन्ध गर्ने पनि सरकारकै जिम्मेवारी हो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया