महाभारतकी कुन्ती- २८

news

-हरिविनोद अधिकारी

मेरो समय अब कति पो बाँकी होला र ? आगोको लप्का झन्डै झन्डै मेरो नजिक आइपुगेको छ र पनि मलाई मेरो अतीतले पछ्याइरहेको छ । यसो अाँखा चिम्लेकै जस्तो गरी बिस्तारै महाराज धृतराष्ट्र र महारानी दिदी गान्धारीतर्फ नियालेकी थिएँ, उहाँहरु ध्यानमा यसरी निर्लिप्त हुनुहुन्छ कि यो संसारको अब उहाँहरुलाई कुनै महत्व छैन झैँ छ । तर पनि जब जब मलाई महाभारत युद्धको प्रतिध्वनि गुन्जेको आभास हुन्छ , जुन हाम्रो परिबारको गृह कलह थियो तर त्यसले विश्वयुद्धको रुप लियो , त्यसको वीजारोपण कहाँ भएको थियो भनेर मनमा एउटा खुलदुली भएकै हुन्छ । 

के भरतलाई दुष्यन्तले राज्य दिएको बेलादेखिकै तुसले यो राज्यक्रान्ति भएको  थियो त ? या आधुनिक कालमा मत्स्यगन्धा वा योजना गन्धा वा सत्यवतीको विवाहबाट नै एउटा कुन्ठाले बास गरेर यो अवस्था आएको थियो ? या देवब्रतको यो पृथ्वीमा अवतरण नै विश्वयुद्धको कारक बनाउन भएको थियो ? किनभने अम्बाको प्रतिशोधको श्रापका कारणले यो अनिवार्य भएको थियो मानिन सक्छ । या गान्धार नरेशकी सुपुत्री गान्धारीको अपहरणकौ शैलीमा भएको बाध्यात्मक विवाहका कारणले यो सर्वनाश भएको थियो ? या मेरै यौवनको अपमानका कारणले भएको थियो ? या हिजोका दिनमा जुन गणितले विचित्रवीर्यका क्षेत्रज पुत्रहरुको जन्म भयो , यदि ती क्षेत्रज पुत्रहरुको जन्म नभएको भए हस्तिनापुरको स्वरुप के हुने थियो ? यदि विचित्रवीर्यको पनि विवाह नभएर र नियोगद्वारा राजकुमारहरुको उत्पत्ति नभएको भए यो युद्ध हुन्थ्यो ? अनि द्रुपद महाराज र द्रोणाचार्यका बीचमा मित्रता र शत्रुता दुवै नभएको भए पनि यो युद्ध हुन्थ्यो होला ? यदि शत्रुता नभएको भए द्रौपदी र धृष्टद्युम्नको जन्म हुन्थ्यो होला ? यदि महाराज पाण्डुको जन्म नै नभएको भए आजको हस्तिनापुरको अवस्था के हुन्थ्यो होला ? 

जब जब म सम्झन थाल्छु यी नियतिका चक्रवातहरु र नियमित आकस्मिकताका पाइलाहरु, प्रत्याशित अप्रत्याशित घटित-अघटित दुर्दमनीय घटनाहरु र अप्रत्याशित सुरुवात र परिणामहरु, अनि लाग्छ नियतिले डोर्‍याएको मनुवा त एउटा निमित्त नायक मात्र रहेछ, कसैले गणितको यथार्थ तथ्यझैँ साबित भएका कुराहरु समयक्रममा पूरा गराउन तोकिएको फगत निमित्त नायक । 

त्यसबेलामा जन्मेका सबैका जन्मका परिणामले सबैलाई त्यही विनाशतिर नै डोर्‍याएको पाइन्छ । म स्वयं पनि आगोका लप्कामा पुतली आकर्षित भएर लोभिँदै गएझैँ गरी पाण्डुको व्यक्तित्वप्रति कसरी आकर्षित भएकी थिएँ । एउटा अचम्भको भय पनि थियो त्यसबेलामा काशी नरेशका छोरीहरु अम्बा, अम्बिका र अम्बालिकाको अपहरण , अम्बाको फिर्ती र उनको प्रतिशोधका लागि भएको जन्म पुनर्जन्मका कथाहरु । र उनीहरुको अवस्थाका वारेमा दरबारहरुमा भनिने कथाहरुको ।

त्यसले एउटा अव्यक्त भयले संसारका सबै राज्यहरु भयाक्रान्त थिए र ती व्यक्त अव्यक्त भयका कारण मानिनु हुन्थ्यो देवब्रत, गङ्गापुत्र देवब्रत जसलाई हाम्रा छोराहरुले पितामह भनेर भन्न थाले भीष्म प्रतिज्ञ पितामह अर्थात् भीष्म पितामह । वसुहरुको मानव जन्मको कथा त मैले हस्तिनापुर दरबारमा आएर सुनेकी हुँ त्या पनि दिदीको मुखबाट । अनि अलि अलि कुरा राजमाता सत्यवतीबाट नै सुन्न पाइएको थियो । राजमातालाई जति जति व्यासजीले सुनाउनु भयो, त्योमात्र उहाँले थाहा पाउनु भएको हो । राजमाताको समस्या भनेको जसरी पनि हस्तिनापुरको राज्य उहाँका सन्तानका कब्जामा रहनु पर्छ । प्रत्येक राजमाता, राजा र रानीको यही नै मुख्य उद्देश्य हुने रहेछ । हामी त सानो राज्यका राजकुमारीहरुलाई यस्ता कुरामा त्यति ध्यान पनि गएको थिएन तर म पनि त जब महारानी , अपदस्त महारानी, राजमाता भएँ, मेरो पनि देखिएर वा नदेिखएर एउटै मनोकांक्षा रह्यो-अनवरतरुपमा चलेको चन्द्रवंशी कुरु राज्य मेरै सन्तानको भागमा रहोस्, मेरै सन्तानले राज्यभोग गरुन् । म खासै केही गर्न त सक्दिन थिएँ तर आफ्ना वीर योद्धा छोराहरुलाई युद्धबाट विमुख नहुन मात्र आशीर्वाद दिन सक्थेँ, दिएँ । 

कसको कसको भाग्य वा दुर्भाग्यले महाभारत युद्ध भयो भनेर गणना गरौँ । सबैको त विनाश भयो । संसारका सबै राजा र राजकुमार तथा बहादुर योद्धाहरु मारिए ।  अबका केही सय वर्षभरि भारतवर्षमा योद्धा र विज्ञहरुको अनिकाल नै पर्ने हो कि भन्ने लाग्न थालेको छ । तै सौनकादि ऋषिहरु छन् र आशा छ ।

 कता कता इन्द्रप्रस्थमा आयोजना गरिएको राजसूय यज्ञका कारणले पो युद्धको वीजारोपण गरेको हो कि भन्ने पनि लाग्छ । खाण्डव वन दाह गरी बसाइएको राज्यमा राजाको राज्याभिषेक भएपछि चक्रवर्ती राजाले गर्नैपर्ने राजसूय यज्ञको आह्वान जरुरी थियो । हस्तिनापुरलाई  चक्रवर्तित्व मान्ने कि इन्द्रप्रस्थलाई भन्ने यो अव्यक्त प्रतिस्पर्धाका बीचमा राजसूय यज्ञ गर्ने संकल्प भएको थियो । एउटा तर्कले युधिष्ठिर नै मुख्य राजा मानिनु पथ्र्यो किनभने महाराज पाण्डुको उत्तराधिकार उसैमा थियो । महाराजले नियोगद्वारा छोराहरु जन्माउनका लागि जनपदबाहिरको तपोभूमि छानेको बुझियो । अर्थात् दाजुलाई कार्यवाहक राजाको रुपमा मात्र पितामह र गुरुहरुले मानेको अवस्था थियो । तर महाराज पाण्डुको वनवास, तपस्या र निधनकोपश्चात्को युधिष्ठिर बालिग नहुँदासम्मको रिक्त अवधिमा महाराजको काम समाल्ने जेठाजु दाजु पनि हुनुभएकाले महाराजाको रुपमा धृतराष्ट्रलाई मान्नु यसकारणले पनि जरुरी थियो कि उहाँ हस्तिनापुरको मूल राजधानीमा र मूल दरबारमा हुनुहुन्थ्यो जहाँ कुल गुरु कृपाचार्य हुनुहुन्थ्यो अनि कुलभूषण सर्वमान्य देवब्रत अभिभावकत्व ग्रहण गरेर बस्नु भएको थियो । हुन त इन्द्रप्रस्थलाई हस्तिनापुरको शाखाको रुपमा पनि अथ्र्याइएको थियो । तर पाण्डुपुत्र युधिष्ठिर मुख्य राजा कि कार्यवाहक भएर राजा हुन पुग्नु भएका धृतराष्ट्र मुख्य राजा भन्ने आन्तरिक अपरिभाषित तर अनिर्णित द्वन्द्व भने सम्पूर्ण हस्तिनापुर राजसभामा थियो, पितामहमा थियो, कुल गुरु कृपाचार्य, महामन्त्री विदुरमा र मेरा छोराहरुमा समेत थियो । 

एउटा कुरा बारम्बार दुर्योधनले उठाउने गथ्र्यो-यी महाराज पाण्डुका छोरा नै होइनन् । तर संसारलाई महाराज पाण्डुले यी मेरा छोराहरु हुन् भनेर स्वीकारोक्ति दिनु भएको थियो र त ऋषिहरु मलाईसमेत लिएर आए र पितामहलाई हामी सबैको जिम्मा लगाए र भने-यी पाण्डुका नासो हुन् । यी सन्तान पाण्डुका हुन् र हामीले शिक्षा दीक्षा दिएर दरबारको  जिम्मा लगाउन ल्याएका हौं । यिनको राज्यको भाग नहरियोस् । अनि भारतवर्षका सर्वमान्य राजपुरुष देवब्रतले तथास्तु भनेर पठाउनु भएको थियो ती ऋषिहरुलाई जसले हाम्रो रक्षा र अभिभावकत्व लिएका थिए पाण्डु हुँदै देखि । 

पितामह एकातिर विवाद साम्य नपार्ने अनि विवादबाट पन्छिनेमात्र गर्नुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन ।त्यो राजसूय यज्ञको कुरामा पनि उहाँ यज्ञको प्रस्तावमा अत्यन्त खुसी हुनुभयो र तत्कालै त्यस्तो असल कामको थालनी गर्न उत्प्रेरित गर्नुभयो । कारण थियो राजसूय यज्ञ मुख्य राजाले मात्र गर्न पाउने वैदिक कर्तव्य र हस्तिनापुर सधैँ राज्य कब्जाको मात्र कामनामा रहँदा केही वर्षदेखि राजसूय यज्ञको निरन्तरतामा कमी । अनि दुर्योधनको मेरा छोराहरु पाण्डुका छोरा होइनन् भन्ने आरोपमा मसिनो स्वरमा मात्र पितामह भन्ने गर्नुहुन्थ्यो-त्यसो त रगतकै नाताको कुरा गर्दा र रगतकै निरन्तरताको कुरा गर्दा धृतराष्ट्र पनि त कुरुवंशी होइन नि , दुर्योधन र युधिष्ठिर दुवै तर्फका राजकुमारहरु नियोगका कारणले कुरुवंशी बनाइएका हुन् । अझ उहाँको स्पष्टोक्ति थियो, अन्तिम कुरु राजकुमार म आफैँमात्र हुँ । तर यो राज्य राजाविहीन हुनु हुँदैन , त्यसैले नियोगका क्षेत्रज सन्तानहरुलाई म स्वीकार गर्छु र राज्यको लागि योग्य राजा मान्छु । पितामहको एउटै मनोकामना देखिन्थ्यो राज्य नियमअनुसार सञ्चालन होस् र जनताले कुनै पनि प्रकारको विभेद खप्नु नपरोस् । राज्य विभेदकारी नहोस्, आम जनताले राजाको कारणले अन्यायमा पर्नु नपरोस् । त्यसैले राजाले गर्नुपर्ने कर्तव्यमा राजा पछि नपरुन् । हस्तिनापुरको साम्राज्यका लागि सम्पूर्ण सहयोगी राज्यहरुको जनादेश नवीकरण भइरहनु जरुरी थियो , त्यसका लागि राजा वा राजाका प्रतिनिधिको ती राज्यहरुसँग सम्पर्क र समन्वय बारम्बार हुनु जरुरी थियो । त्यसैले यज्ञ नै त्यस्तो धार्मिक समाजीकरण्को उपाय थियो जुन राजाले गरिरहने क्रममा ती राज्यहरुसँग सम्बन्ध नवीकरण र राज्यको मनोविज्ञान मापन गर्न सकिन्थ्यो । 

कुरुवंशीले राजसूय यज्ञ गर्नु जरुरी थियो , केही दशकदेखि भएको पनि थिएन । जेठाजुको तर्फको राज्यमा राज्यलाई कसरी कब्जा गर्ने भन्नेबाहेक अरु विषयमा छलफलसमेत भएको देखिएन तर मेरा छोराहरुले कुरुवंशी चन्द्रवंशी राजाहरुको निरन्तरता दिएको मानिएको त्यसबेलामा प्रमाणित भयो जब स्वयं कुरु शिरोमणि देवव्रत आफैँ यजमानको अभिभावक भएर इन्द्रप्रस्थ आउनु भयो जसले हस्तिनापुरको प्रतिनिधित्व पूर्णतः गरेको देखियो । कर्ताको रुपमा राजा नै हुनुपर्ने राजसूय यज्ञको वैदिक बाध्यताका लागि श्री कृष्ण र पितामहको उपस्थिति अनिवार्य र बाध्यकारी मानिएको थियो । हाम्रो परिवारमा त्यस्ता माननीय व्यक्तिहरु कृष्ण र पितामह नै थिए , धृृतराष्ट्र त स्वयं महाराज नै हुनुभयो मुख्य हस्तिनापुर साम्राज्यका, भारतवर्षका । एउटै साम्राज्य विभाजित भएर दुई राज्यमा विभाजित भएको थियो र समग्रमा पाण्डुको नासोको रुपमा भारतवर्षलाई मानिन्थ्यो भन्ने कुरा राजसूय यज्ञका लागि मुख्य यजमान युधिष्ठिर हुने कुरामा कसैको दुईमत थिएन । स्वयं पितामहमा कुनै द्विविधा थिएन र त सम्राटको रुपमा , चक्रवर्ती सम्राटको रुपमा युधिष्ठिर नै हुनुपर्ने भित्री मनसाय यहाँनिर प्रकाशित भएको थियो पितामहको तर्फबाट स्पष्टरुपमा । 

कृष्णले युधिष्ठिरको भविष्यका लागि पनि राजसूय यज्ञका लागि बारम्बार उत्प्रेरित गरिरहेको बुझेकी थिएँ । कुन्तीको सन्तानले भारतवर्षको अक्षुण्ण्य राज्य गरोस् भन्ने कुरामा मेरा माइतीहरुले सोच्नु कुनै नयाँ कुरा त थिएन तर आफ्ना नातेदार भन्दैमा कृष्णले पक्ष नै लिन्छ भन्ने पनि थिएन । त्यस्तै एउटा घटना राजसूय यज्ञको अग्रपूजा गर्ने विषयमा विवाद देखियो र मेरी बहिनी श्रुतश्रवाको छोरो शिशुपालको वध कृष्णकै हातबाट अचानक भयो ।  शिशुपाल जन्मको एउटा घटनाले उत्पादन गरेको परिघटनाले यो घटना घटेको थियो भन्दा पनि हुन्छ । त्यही त, सबै कुरामा नियतिको खेल देखिन्छ, गणितका सूत्रझैँ । 

चेदी महाराज दमघोष र मेरी बहिनी श्रुतश्रवाको छोरोको रुपमा शिशुपालको जन्म भएकाले  चेदी नरेशकै उत्तराधिकारीका रुपम सो राज्यको  महाराज भएको  थियो । नातामा युधिष्ठिर र शिशुपाल दुईओटै कृष्णका भानिज दाइ र भानिज भाइ थिए । अर्थात् कृष्णको मनपरेको अर्जुनसँगको नाता जस्तै थियो चेदीराज शिशुपालसँगको नाता । 

भरतकुलभूषण महाराज युधिष्ठिरको दरबारमा भएको राजसूय यज्ञमा कसलाई अग्रपूजा गर्ने भन्ने कुराको निर्णय गर्ने निर्णायक माननीयहरु हुनुहुन्थ्यो—श्री कृष्ण द्वैपायन व्यास, महाराज धृतराष्ट्र, पितामह देवब्रत,गुरुहरु कृपाचार्य, द्रोणाचार्य जस्तै अरु देशका नरेशहरु हुनुहुन्थ्यो  । 

स्वयं महाराज युधिष्ठिर, युवराज भीमसेन, महावीर अर्जुन, महायोद्धा नकुल, महायोद्धा विद्वान सहदेव सबैको रायबाट अग्रपूजा कृष्णको गर्ने भन्ने निर्णय भएको थियो । त्यसमा हस्तिनापुरको युवराज दुर्योधनको पनि कुनै विरोध थिएन । सम्धी द्रुपद, पुरोहित धौम्य सहित कुल पुरोहित कसैको पनि विरोध थिएन । एकप्रकारले यज्ञको मुख्य अतिथि को हुने भन्ने कुरामा आगन्तुक अतिथिहरुको पनि राय सल्लाह लिइएको थियो सभामा । सबैको राय कृष्णको पक्षमा नै देखिन्थ्यो । त्यो इन्द्रप्रस्थ राज्यको स्थापनाका लागि खाण्डव वन दाह गर्न यदि कृष्णको सहयोग हुँदैनथ्यो भने अग्निले पनि सहयोग नगर्ने पक्का थियो । बञ्जर भूमि, बाक्लो बन अनि ढुङ्गैढुङ्गाको अनकण्टार ठाउँलाई राजधानी बनाउनु जो जरुरी थियो  । चाहे द्रौपदी स्वयंबरको बेलामा होस् , चाहे दुर्योधनहरुले अंश नदिने कुरामा जोडजुलुम गर्दा होस्, हामीलाई ढाढस दिने र आत्मीय सहयोग गर्नेमा कृष्ण नै थियो । कृष्णलाई सबैले अलौकिक व्यक्तिको रुपमा नै लिने गर्थे । ऊ राजा त थिएन तर धेरै राजाको लागि आधार र ढाढस उही थियो जस्तो कि मेरो परिवारका लागि थियो । 

स्वयं पितामहले त किन कृष्णलाई अग्रपूजाको नायक मान्ने भनेर लामै प्रवचन दिनु भएको थियो किनभने हाम्रो जस्तो पुरानो राज्यको राजसूय यज्ञको मुख्य अतिथिको रुपमा अग्रपूजा गरिनु भनेको सम्माननीय पद थियो । पितामहका लागि इन्द्र्रप्रस्थमा राजसूय यज्ञ गरिनु भनेको हस्तिनापुरको सम्राट पदवी  युधिष्ठिरमा सर्ने प्रत्याभूति थियो । 

युधिष्ठिरले त सोधेको थियो पितामहलाई , पितामह किन कृष्ण नै योग्य पात्र हुनुहुन्छ त ? अग्रपूजाका लागि विद्वत्ता, शूरवीरता, तार्किक क्षमता, भूत वर्तमान भविष्यको ज्ञाता र वेदको उद्भट ज्ञाता र पण्डित हुनु जरुरी थियो । सम्पूर्ण जीवन कलाको एकमात्र ज्ञाता र पारखीको रुपमा कृष्णलाई मानिएको थियो र त हाम्रो परिवारले उसलाई विष्णुको अवतारको रुपमा मानेको थियो । कृष्णलाई नारायण र अर्जुनलाई नरको रुपमा व्यासले व्याख्या गर्नु भएकाले पनि कृष्ण हामी सबैको तारणहार थियो र अग्रपूजाको लागि योग्य थियो । 

समसामयिक भारतवर्षमा कृष्ण बराबरको क्षमतावान पुरुष अर्को कोही थिएन पनि । जो क्षमतावान हुन्छ, उसका विपक्षमा पनि कोही न कोही त हुन्छन् नै । त्यस्तै कृष्णका विपक्षमा पनि स्वयं मामा कंश, महाराज जरासन्ध, महाराज शिशुपाल थिए । मामा कंशकाु वध कृष्णले र महाराज जरासन्धको अन्त्य भीमले गरिसकेको अवस्था थियो । त्यसैले शिशुपाल ती सबैको प्रतिनिधि पात्रको रुपमा हाम्रो सभामा देखिएको थियो । उसको निशानामा कृष्ण र पाण्डव दुवै थिए । युधिष्ठिरले सानीमाको छोरोलाई त यज्ञमा बोलाएको थियो तर ऊ नै निर्णायक त थिएन तर सल्लाहकारको रुपमा त कुरा सुन्नु जरुरी थियो । 

एउटा मनोविज्ञान पनि थियो कृष्ण र शिशुपालका बीचमा । कृष्ण हतियार उठाउँदिन भन्थ्यो , शिशुपालको अन्त्य कृष्णले नै गर्ने आकाशवाणी भइसकेको थियो । शिशुपाल जन्मँदा चार हात र तीन आँखासहित जन्मेको थियो । देख्दै डरलाग्दो बालक । तर आकाशवाणी भयो-जसको काखमा राख्दा शिशुपालको बढी हात झर्नेछन् र आँखा शरीरमा नै विलीन हुनेछ, उसैको हातबाट यो अद्भूत बालकको अन्त्य पनि हुनेछ । सबै भन्नचाहिँ भन्थे-यो बालक ठ्याक्कै बसुदेवपुत्र वासुदेव जस्तै राम्रो छ । हिस्सी परेको बालक छ । खालि हात र आँखा बढी लिएर जन्मेको छ । सबै नातेदार आएर उसलाई काखमा राखे तर कसैको काखमा पनि बढी अङ्गहरु झरेनन् या विलीन भएन शरीरमा । 

जन्मको केही समयपछि बलराम र कृष्ण जब शिशुपालको अवस्था हेर्न गए, नानाभाँतीका आभूषण लिएर । दमघोष महाराजले र मेरी बहिनीले श्रद्धापूर्वक उनीहरुलाई आसन ग्रहण गराएर सम्मान गरेपछि अरुले झैँ शिशुपाललाई काखमा राख्ने काम भएछ । तत्काल नै तेस्रो आँखा निधारमा नै विलीन भएछ अनि दुईओटा हात फुत्रुक्कै झरेछन् । आकाशवाणीमा झैँ भएछ । अनि त मेरी बहिनी रुन पो थालिछे । लौ न भाइ, मेरो छोरोलाई तैँले नमार न, भनेर । दिदीको कुरा सुनेर कृष्ण गम्भीर भएछ र भनेछ-फुपू, यो त नियतिको लेखा नै हो , कोही पनि यो संसारमा आएपछि अमर हुँदैन, एकदिन त जानै पर्छ । तपार्इँको छोरो शिशुपाल मेरै हातबाट मारिने छ तर अहिले होइन , धेरैपछि । यो श्राप नभएर लेखान्त नै हो पूर्वजन्मको । तर उसले केचाहिँ भनेन भने पूर्व जन्मको के कुराले शिशुपाललाई उसले मार्नैैैपर्ने छ त ? तर पनि शिशुपालकी आमा, मेरी बहिनीलाई कृष्णबाट के वचन चाहियो भने जत्ति गाली गरे पनि, जेजे गरे पनि मेरो छोरालाई क्षमा दिनू बाबू तैँले भन्ने । कृष्णले गम्भीर आवाजमा , परिपक्व ऋषिले झैँ गरी भनेछ-दिदी, म एकसय गालीसम्म सहन्छु , ल भैगो । तर एकसय गाली कटेपछि भने म आइलाग्छु र मारिदिन्छु । यो मेरो वचन भयो । यसलाई श्राप भन्नुस् कि वरदान भन्नुस् । 

यो कुरासँग अर्को एउटा घटना पनि भएछ । रुक्मिणीको दाजु रुक्मीले शिशुपाललाई आफ्नी बहिनी विवाह गर्न भनेर सबै व्यवस्था मिलाएको रहेछ । तर रुक्मिणी भने कृष्णलाई मन पराउने रहिछन् र कृष्णलाई आफ्नो बिहे शिशुपालसँग हुन लागेकाले आफूलाई अपहरणको शैलीमा भए पनि लैजान र विवाह गर्न गोप्य खबर पठाइछन् । कृष्ण गयो, फुपूको छोरालाई विवाह गर्न तयार भएकी केटी अपहरणको शैलीमा रथमा राखेर दौडाएछ । त्यो रीस शिशुपाल र रुक्मी दुबैमा रहेछ । त्यो पनि एउटा कारण होला । कृष्णको हातबाट आफ्नो मृत्यु हुने कुरामा विश्वस्त शिशुपाल कृष्णसँग तर्किँदो रहेछ तर नियतिको खेल नै थियो, राजसूय यज्ञस्थलमा नै उसको वध हुनु थियो , त्यही भयो । तर मलाई अचम्भ के लागेको हो भने छिटो छिटो मुक्तिको कामना, मोक्षको कामना शिशुपालमा देखियो, छिटो छिटो आकाशवाणीको कार्यान्वयन गर्न कृष्णमा जाँगर देखिएको थिएन । शिशुपाल गनेर नै गाली गर्न थाल्यो, कृष्ण थाहा नपाएझैँ गरी चुपचाप सहिरहेको जस्तो देखियो । आफ्नै मावलीलाई गाली गर्दा बढी त शिशुपालले वृष्णि वंशलाई नै गाली गरिरहेको थियो जुन वंश उसको मातामहको वंश थियो ।

कृष्णलाई गाली गर्दा सबैभन्दा बढी गाली ग्वाला, लिच्चड, मेरालागि विवाह गर्न भनेर तयार बेहुलीलाई भगाएर हिँड्ने लाछी, बुद्धि नभएको गाई गोठालो, कंशको नोकर,भँडुवा, केही बदमासलाई मार्दैमा आफूलाई शूरवीर ठान्ने, कहिल्यै राजा नभएको तर आफूलाई राजाभन्दा ठूलो ठानेर अग्रपूजाका लागि दबाब दिने आदि आदि नानाभाँतीका व्यक्तिगत मानहानि हुनेगरी गाली गर्दै पो थियो । अनि पितामहले सम्झाउन थाल्नु भयो-चेदी नरेश, यो यज्ञ हाम्रो हो, अझ युधिष्ठिरले आयोजना गरेको हो । पाण्डवले जसलाई पूजा गर्दछन् , त्यो नै हाम्रा लागि मान्य हुन्छ । यजमान र पुरोहितले जसलाई पूजा गर्छन, हामी त्यसैलाई नमस्कार गरेर अतिथिको आसनमा बस्ने हो । तपाईँ पनि चुपचाप बस्नुहोस् र यज्ञलाई निर्बिघ्न समापन गर्नका लागि सहयोग पो गर्नुहोस् । अनि चेदी नरेश उल्टै पितामहमाथि खनियो र भन्न थाल्यो-यो भँडुवा बुढो, जो राजा हुन्छ , त्यसैेको चाकरी गर्छ । अहिले कृष्ण बलवान भएर आएको जस्तो लागेर युधिष्ठिरको चाकडी गरेजस्तो गरी दुर्योधनको अधिकार हनन गर्ने अनि कृष्णलाई उचाल्ने काम गर्न थालेछ । न बिहे गरेको छ, न सन्तान छन् तर पनि महिलाहरु हरण गर्दै अरुलाई पत्नीको आवश्यकता पूरा गराउँछ । यसलाई त ज्युँदै आगो लगाए पनि हुन्छ, घाँटी थिचेर मारे पनि हुन्छ । यसैले गर्दा नै यो ग्वालाको फुर्ती बढेको हो । अनि ग्वाला पनि आफूलाई कति न ठूलो हुँ जस्तो गरेर गमक्क फुलेर बसेको छ ।

सबै हामी अवाक भएका थियौँ । युधिष्ठिर किँकर्तव्यविमूढ थियो । भीमसेनले जब चेदी नरेशमाथि जाइलाग्ने गरी आक्रामक स्थिति तयार गर्‍यो , कृष्णले तत्कालै राक्यो र भन्यो-दाइ, यो मेरो शिकार हो , तपाईँले केही गर्नै पर्दैन । आज उसको काम तमाम गर्ने दिन आएको जस्तो छ । उसले मोक्ष प्राप्तिको लक्षण देखाउँदैछ । अनि एक्लाएक्लै लड्ने कुरा सुरु भयो, हतियारले लड्ने कुरा सुरु भयो , अचानक बिजुली चम्केझैँ  के भएको थियो, शिशुपालको टाउको र शरीर गिँडेको अवस्थामा पो सभामा देखियो । कसैले भने कृष्णले सुदर्शन चक्रको आह्वान गर्‍यो र सुदर्शन चक्रले शिशुपालको टाउको काटेर अलप भयो, कसैले ठाने-पूजाको सामग्री राखेको थालीले हिर्काएर शिशुपालको टाउको छिनाएको जस्तो छ । तर के कुरा भने सत्य हो भने चेदी नरेश , हाम्रो राजसूय यज्ञको एउटा अतिथि शिशुपाल आफ्नै गल्तीले कृष्णको कोपभाजन भयो जुन आकाशवाणीको सत्यता पुष्टि पनि भयो, उसले मेरी बहिनीलाई दिएको आश्वासन पनि पूरा भयो ।

शिशुपाल मोक्ष भयो भनेर कसरी पुष्टि गरियो भने शिशुपालको शरीरबाट एउटा चेतनाको ज्योतिपुञ्ज निस्कियो र कृष्णमै विलीन भयो ,अनिमात्र सबैले शिशुपालको बध भएको थाहा पाए । कृष्णले उद्घोष गर्‍यो-मैले फुपूलाई भनेकै थिएँ, मलाई गरेको गाली जब एकसय कट्ने छ, म असहिष्णु भएर शिशुपालको वध गर्नेछु । आज एकसय गाली कट्यो अनि मृत्युको कारण म बनेँ । गर्न त यसले जे पनि गर्‍यो वृष्णिवंशका विरुद्धमा जवकि हामीले भान्जा हुन् भनेर वास्ता गरेनौँ । पिता वसुदेवले अश्वमेध यज्ञ गर्नका लागि छोडेको घोडा नै फुकाएर कता धपायो कता, कहिले के भन्छ, कहिले के दोष लगाउँछ । हाम्रा विरोधीहरु छानी छानी सहयोग गर्न जान्छ र गोकुलमाथि जहिले पनि आक्रमण गराउन उद्यत रहन्छ । कति यसको उपद्रो सहने हो ? आजको दिन यसको मोक्षप्राप्तिको दिन रहेछ , त्यो पनि राजसूय यज्ञको मण्डपमा । भाग्यमानी रहेछ शिशुपाल आफैँमा ।

लाग्थ्यो, शिशुपाल छिटै मोक्ष चाहन्थ्यो र कृष्णलाई उत्तेजित  पार्दै थियो । कृष्ण शिशुपाललाई मार्नका लागि कारण खोज्दै थियो किनभने गुह्य कुरा थाहा नपाएका व्यक्तिहरुले कृष्णलाई नै हत्यारा ठहराउन सक्थे । वैकुण्ठमा जय र विजयलाई दिएको श्राप भनौँ कि वरदान पूरा गर्नु थियो द्वापर युगमा पनि । कंशको मोक्ष भइसकेको अवस्था थियो , अब शिशुपालको मोक्ष प्राप्त गराएपछि कृष्णका धेरै अरु कामहरु क्रमशः गर्नु जो थियो । 

तत्काल चेदी युवराजलाई चेदी नरेशको रुपमा राज्याभिषेक गरेर शिशुपालको अन्त्येष्टि राजकीय तरिकाले गरियो ।सम्पूर्ण राजसूय यज्ञ त्यसपछि निर्बिघ्न सम्पन्न भयो । सायद बाहिरी संसारमा पाण्डवको शौर्यता बढेकोले त्यसको निवारणका लागि पनि कसरी हुन्छ पाण्डवलाई राज्यच्यूत गर्ने षडयन्त्र सुरु भएको थियो कि र महाभारतको युद्ध अनिवार्य भएको थियो कि ? जे होस्, राज्य सञ्चालनको क्रममा युधिष्ठिरलाई प्रोत्साहन र ढाढस दिनेमा कृष्ण नै महत्वपूर्ण व्यक्ति थियो । अनि कसरी कृष्णको सहयोग हुँदाहुँदै पनि इन्द्रप्रस्थबाट अचानक बाहिरिनु परेको अवस्था र महाभारतको युद्धको अवस्था आयो भनेर जबजब सम्झन्छु अनि मलाई अहिले पनि ती क्षणहरु याद आउँछन् ।

अनि राजसूय यज्ञ गराउन कृष्णले  किन बढी नै प्रेरित गरेको हो युधिष्ठिरलाई भन्ने पनि बिस्तारै खुल्दै जानथाल्यो पछि त । कृष्ण ती सबै राजाहरुबाट राजासरहको मान चाहन्थ्यो जो पाण्डवका राज्यअन्तर्गत रहन चाहन्थे या भनौँ कुरुवंशको अधीनमा रहेर राज्य गर्न चाहन्थे । त्यसैले शिशुपालले भनेको पनि थियो- न यो कृष्ण राजा हो, न वेदव्यास हो, न कुनै धनुर्धर हो या न कुनै पण्डित हो । तर उसलाई के थाहा थिएन भने कृष्ण राजाको राजा थियो, धनुर्धरहरुको गुरु थियो, पण्डितहरुको पण्डित थियो र वेदव्यासको पनि आराध्य देव थियो । उसमा देखिएको क्षमताको वर्णन नै पितामहले सबैलाई सुनाउनु भएकोे थियो जुनकुरालाई शिशुपालले दृश्यमा पचाउन नसकेको देखिन्थ्यो । रुपमा जे भए पनि सारमा शिशुपाल छिटै मोक्षप्रति लालायित भएको मैले ठानेकी थिएँ । 

वास्तवमा परापूर्व कालमा एउटै अंशबाट छुट्टिएका भए पनि वृष्णिवंशले आफूलाई शान्तिकामी र धेरै लोभ नगर्ने राज्यका रुपमा विकसित गरेको थियो र गाईलाई नै आफ्नो विकासको क्रममा मुख्य सम्पत्ति मानेर बसेको शान्तवर्गको कुलमा कृष्णको जन्म भएको थियो । वलरामको बल र कृष्णको बल र बुद्धिको बेजोड उपमाको सम्मानका लागि पनि कृष्णलाई अग्रपूजा आवश्यक थियो जुन हाम्रा राज्यमा पाउनु जरुरी पनि थियो र आवश्यक पनि थियो होला । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया