बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर २० । कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हामफाल्दा एक छात्रा घाइते भएकी छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–२, सन्तोसीटोलमा रहेको एकेडेमीको तेस्रो तलाबाट हामफाल्दा सोही एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् पूजा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याम्पस चलिरहेका बेला बिहीबार दिउँसो पूजाले छतबाट हामफालेको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
पूजाको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनमा बाहिरी चोट नदेखिएपनि भित्र शरीरमा चोट लागेको हुनसक्ने आशंका गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–४, श्रीपुर घर भएकी पूजा हाल धनगढी–२, सन्तोसीटोलमा भाडामा बस्दै आएकी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया