प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका नेताहरुको ‘प्रहार’ टाउको दुखाइ

news

काठमाडौं, मंसिर २० । वर्तमान सरकारप्रति जति जनगुनासो छ, त्यसको तुलनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै दबाब बनाउन सकेको छैन ।

तर, आरामदायी प्रतिपक्षी पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षकै नेताहरुको प्रहार भने टाउको दुखाइ बन्ने गरेको छ ।

अन्तरंग कुराकानीमा हिजोआज केही मन्त्रीहरु भन्ने गर्छन्–‘हामीले गरेको काममा जनताले साथ दिएका छन् । तर, पार्टीभित्रबाट साह्रै अप्ठ्यारो र गाह्रो पार्छन् । भ्रष्टाचारलगायतमा बेथिति ठीक पार्न खोज्दा पाइलैपिच्छे पार्टीभित्रैकै व्यक्ति वा उसको संस्था फेलापर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत फागुनमा प्रधानमन्त्री भएयता प्रतिपक्षी दलको त्यति कडा प्रहार झेल्नुपरेको छैन । उनले आरामदायी प्रतिपक्षी पाएका छन् । तर, पार्टीभित्रको प्रहार भने निकै कडा छ ।

नेकपा सचिवालयका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ उनलाई ठाडै प्रहार गर्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल घुमाउरो पारामा प्रहार गर्छन् ।

सत्तापक्षबाटै बढी प्रहार भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध पार्टीमा बोल्नेहरुलाई व्यंग्य गर्दै केही दिनअघि भनेका थिए–‘तपाइँहरु मेराविरुद्धमात्र बोल्नुहुन्छ । सरकारकाविरुद्ध भने माधवकुमार नेपालजति पनि बोल्न सक्नुहुन्न ।’

नेकपाभित्रको विवाद चुलिँदै जाँदा माधवकुमार नेपाल पक्षले छुट्टै भेला गर्दै दबाब बढाउदै लग्यो । उनी पक्षका ‘२१ भाइ’ मिलेर विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीविरुद्धको प्रहारलाई औपचारिक बनाए ।

हुन त यो प्रहार ओलीको पार्टी सन्चालन पद्दतिविरुद्ध केन्द्रित हो भन्ने गरेका छन् । तर, यही प्रहारले प्रधानमन्त्रीलाई सरकार सन्चालन गर्न पनि गाह्रो पर्दै गएको छ ।

त्यही भएर सरकारको कामको पक्षपोषण नगरेको भन्दै प्रधानमन्त्रीले बेला–बेलामा पार्टी नेता र कार्यकर्तामाझ गुनासो गर्ने गरेका छन् ।

प्रमुख प्रतिपक्षी भएपनि आफ्नै पार्टीभित्रका विवादमा रुमल्एिको कांग्रेसलाई जनताले जिम्मा दिएजस्तो खबरदारी गर्ने फुर्सद नै छैन । त्यसैले उ जनताले उठाएका एजेन्डामा पिछलग्गु भइरहेको छ ।

पार्टीभित्रको प्रहारपछि प्रधानमन्त्रीलाई कसैले अप्ठ्यारो पारेको छ भने स्वयं उनको बोली र व्यवहारले । सार्वजनिक समारोहमा उनको उपस्थिति, अभिव्यक्ति र क्रियाकलाप विवादित हुने गरेका छन् ।

अर्कोतर्फ उनको सचिवालयले चुस्त सूचना नदिँदा पनि अप्ठ्यारो पर्ने गरेको छ ।

निर्मला पन्त बलात्कार–हत्या प्रकरण होस् वा पाइपबाट ग्यास वितरण वा विद्युतीय बस सेवा उद्घाटन यी सबै विषयमा प्रधानमन्त्री आफ्नै सचिवालयका कारण चुकिरहेका छन् ।

सचेत जनताले सरकारका हरेक क्रियाकलापमा शंका गर्दै प्रश्न उठाउने गरेका छन् । त्यसको जवाफ दिनु सरकारको कर्तव्य हो । तर, प्रधानमन्त्रीलगायतका मन्त्रीहरु जवाफको सट्टा चिढिने र व्यंग्य कस्न थालेपछि सरकारको ‘ग्राफ’ ओरालो लागिरहेको छ ।

पाँच वर्षका लागि बनेको शक्तिशाली सरकारको क्रियाकलाप किन यस्तो छ ? आरामदायी प्रतिपक्षी पाउँदा पनि किन पार्टीभित्रकै नेताहरुका कारण प्रधानमन्त्री तथा मन्त्रीहरुलाई काम गर्न गाह्रो भइरहेको छ ? आफ्नै सचिवालयको घेराबन्दीमा परेका प्रधानमन्त्री यसबाट उम्कने उपाय के छ ? यही नै अहिलेको मूल प्रश्न भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया