ब्याजदर नियन्त्रणको कदम चाल्न उद्योग वाणिज्य महासंघको आग्रह

news

काठमाडौं, मंसिर २० । बैंकको ब्याजदर नियन्त्रणका लागि नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको  छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट एकतर्फीरुपमा ऋणको ब्याजदर अचानक वृद्धि भएका कारणले गर्दा उद्योग–व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको महासंघले जनाएको छ ।

पछिल्लो समय बैंकको ब्याजदर पुनः वृद्धि हुनेक्रम सुरु भएको र अव्यावहारिक ढंगबाट एकतर्फीरुपमा ब्याजदर बढाइँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पर्ने उसको भनाइ छ ।

अहिलेको प्रवृत्तिले समग्र अर्थतन्त्र प्रभावित हुने भएकाले अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासंघले आग्रह गरेको हो ।

यसैबीच, सरकारले मुद्रा तथा पुँजी बजारमा देखिएको समस्याको अध्ययन गर्नका लागि उच्चस्तरीय समिति बनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले सात दिनभित्र यससम्बन्धी अध्ययन गरेर सुझाव दिने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया