प्रधानमन्त्रीलाई ‘बादशाहको नयाँ लुगा’ कथा पढ्न बाबुरामको सुझाव, यस्तो छ कथाको सार

news

काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री केपी ओली र सरकारका बारेमा सोसल मिडियामा भइरहेका टिकाटिप्पणी, विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित लेख ‘तीन चौथाई बहुमत’ प्राप्त सरकारको अनुकुल देखिएको छैन । एसिया प्यासिफिक सम्मेलनमा सरकारको भूमिका, निर्मला हत्या प्रकरणको अनुसन्धानमा देखिएका कमीकमजोरी, बेवास्ता लगायत सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा देखाइएको तडक–भडक र प्रधानमन्त्रीको तस्वीर अंकित पोस्टरका बारेमा दिइएको प्रष्टिकरण लगायतले प्रधानमन्त्री र सरकार आलोचित बन्दै गएको हो ।

आलोचनाका विषय धेरै छन् । प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरु ‘कामभन्दा कुरा बढी’ गर्न थालेका छन् । नयाँ सरकार गठन भएको साढे ९ महिना पुग्दासमेत प्रदेशहरुले कर्मचारीको अभाव झेल्दै आफूहरुले ‘सोचेजति काम गर्न नपाएको’ गुनासो गरिरहेका छन् । बल्ल तल्ल सरकारले कर्मचारी समायोजन अध्यादेश पारित गरेको समाचार मन्त्रिपरिषद स्रोतबाट चुहियो । तर सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको नियमित पत्रकार सम्मेलनमा सोही विषयमा पत्रकारले प्रश्न गर्दा ‘कर्मचारी समायोजन प्रक्रिया चाँडै टुंगिन्छ’ भनेर भन्न सक्ने अवस्था किन रहेन ? के मन्त्रिपरिषदले अध्यादेश पारित गरेको होइन ? अध्यादेश पारित भएकै होइन भने सरकारका प्रवक्ताले यो विषय पारित भएकै छैन भनेर किन भन्न सकेनन् ? किनकि सरकार नै यतिबेला अत्तालिएको छ । बोल्ने कुरा के हो र नबोल्ने कुरा के हो भन्ने नै हेक्का राख्न छाडिएको अवस्था छ । आवेस, उत्तेजना र प्रतिक्रियात्मक मानसिकता बोकेर पत्रकार, बुद्धिजीवीलगायतलाई प्रधानमन्त्रीदेखि मन्त्रीहरुले आफ्नो विरोधी देख्न थालेका छन् ।

यही परिस्थितिलाई चित्रण गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार ट्वीट गरे, ‘प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने, जुगाको स्याउँस्याउँ, एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीयमात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है ।कि हिजो राजतन्त्रविरूद्ध लड्नु बेठीक भन्नुपर्‍यो, कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्‍यो ।’ उनले ट्वीटमार्फत प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै लेखेका छन्– प्रमले पुनः ‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि ?

डा. भट्टराईले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा त्यो बादशाहसँग तुलना गर्न खोजेका हुन् जो आफू नांगेझार भइसक्दासमेत पत्तो पाउँदैन ।

के छ ‘बादशाहको नयाँ लुगा’ कथामा ?

नयाँ लुगा लगाउने सोख भएका एक जना बादशाह थिए । उनले लुगामा निकै पैसा खर्च गर्थे । राजकाज, जनताको सरोकारभन्दा पनि कसैले नलगाएको लुगा लगाएर अरुभन्दा फरक देखिनु उनको सोख थियो ।

बादशाहको सहरमा विभिन्न देशका मानिसहरू घुम्न आउँथे । एक दिन दुईजना ठग उक्त सहरमा आए । उनीहरूले आफूलाई कपडा बुन्ने ‘जुलाहा’ का रुपमा चिनाए । विशिष्ट गुण भएका कपडा आफूहरुले तयार पार्न सक्ने दावी गर्दै उनीहरुले बादशाहलाई प्रभावित पारे । कोही मानिस अयोग्य छ वा गद्दार छ भने त्यस्तो मान्छेले त्यो कपडा देख्न नसक्ने भन्दै ती ठगले बादशाहलाई कपडाको विशेषता सुनाए । बादशाहले विचार गरे, ‘यस्तो कपडा त मेरोलागि उपयुक्त हुन्छ, मेरो राज्यमा को–को गद्दार छन् भन्ने सबै पत्ता लगाउन सकिने रैछ भन्दै बादशाहले आफ्नो लागि त्यस्तो लुगा बनाउन उनीहरुलाई निर्देशन दिए ।

कपडा बनाउन भन्दै बादशाहले उनीहरूका लागि राज्यको ढुकुटी खुला गरिदिए । उनीहरूले कपडा बुन्ने दुर्इटा तान बनाए र निकै मेहनतका साथ काम गरिरहेको स्वाङ पारे । तर तानमा केही पनि थिएन । उनीहरुतानमा राती अबेलासम्म बसेर काम गरेको नाटक गर्थे, तर काम केही पनि गरिरहेका हुँदैनथे ।

एक दिन बादशाहले आफ्नो विश्वासपात्र एक मन्त्रीलाई कपडा बुनेको ठाउँमा हेर्न पठाए । मन्त्री त्यहाँ पुग्दा ती ठगहरु हात चलाएर कपडा बुनिरहेको नाटक गर्दैथिए । मन्त्रीले उनीहरुको हातमा न धागो देखिरहेका थिए, न कपडाको आकार नै थियो ।

अनि मन्त्रीले अगाडिको कुरा सम्झिए, ‘ओहो ! यिनीहरुले त भन्थे, गद्दारले कपडा देख्न सक्दैन भनेर । म गद्दार पो रहेछु ? उ डरायो । कपडा देखिनँ भनेर आफू गद्दार प्रमाणित हुनुभन्दा उसले कपडा देखेको नाटक गर्न थाल्यो ।

‘जुलाहा’सँग सामान्य कुरा गर्दै कपडाको प्रशंसा गरेर मन्त्री फर्कियो र बादशाहलाई कपडाको बारेमा झुटो खबर सुनायो । उसले आफूले कपडा नदेखेको भन्न सकेन । कपडा सारै राम्रो बनेको र बनाउने काम सकिन लागेको जानकारी गरायो ।

बादशाहको ढुकुटीबाट ती दुई ठगले सुनचाँदी देखि लिएर विभिन्न कच्चा पदार्थका लागि भन्दै ठूलो परिमाणमा रकम लगिसकेका थिए ।

केही दिनको अन्तरालमा बादशाहले दरबारका विभिन्न कर्मचारीलाई पालैपालो कपडा हेर्न पठाउँथे । कपडा नै देखिएन भन्दा आफू गद्दार पो ठहरिने हो कि, बादशाहले सजाय पो दिने हुन् कि भनेर सबैले त्यसैगरी ढाँटे । कपडा नदेखे पनि उनीहरुले ‘कपडा राम्रो छ, बुट्टा झन आकर्षक छ’ भन्दै प्रशंसा गरे ।

शहरका सबै जनाले अनौठो गुण भएको त्यो कपडाको बारेमा कुरा गर्न थाले । अन्त्यमा बादशाह आफैँले कपडा तानमा छँदै हेर्न जाने बिचार गरे ।

धेरै जना भारदारहरूलाई अघिपछि लगाएर बादशाह कपडा बनाइरहेको ठाउँमा पुगे । तानमा ती ठगहरू सकेसम्म मेहनत गरिरहेको देखिन्थ्यो ।

‘कस्तो राम्रो कपडा ! वाह !’ भन्दै सबैले प्रशंसा गरे । बादशाह छक्क परे । मैले कसरी कपडा देख्न सकिनँ भन्ने उनलाई लाग्यो । अनि उनले सम्झिए– ‘यो कपडा त अयोग्य र मुर्खले पो देख्दैन भन्थे, म नै अयोग्य र मुर्ख पो रैछु ?’

सबैको अगाडि उनले आफूलाई मुर्ख र अयोग्यका रुपमा चिनाउन चाहेनन् । अनि उनले पनि कपडा देखेको नाटक गर्दै जुलाहाहरुको प्रशंसा गर्दै भने, ‘कस्तो राम्रो कपडा बनाएछन्, आहा !’

बादशाहले नै तारिफ गरिसकेपछि त्यहाँ भेला भएका सबैले ताली बजाए । तर कसैले पनि मैले कपडा नै देखिनँ भनेर भन्ने हिम्मत गरेन ।

साइत जुराएर उक्त कपडा बादशाहले लगाउने भए । बादशाहलाई ठूलो ऐना अगाडि उभ्याएर ती जुलाहाले लुगा लगाइदिने भए । भएका लुगा फुकालेर नयाँ लुगा लगाइदिए । शोभायात्रा निस्कियो ।

सडकमा आवत–जावत गर्ने मानिसहरु पनि मूर्ख नठानियोस् भनेर बादशाहको नयाँ पोशाकको प्रशंसा गर्न लागे, मानौँ त्यो पोशाक उनीहरुले सँच्चै नै देखिरहेका छन् । तर त्यसैबेला एउटा बच्चाले अचानक बडो सरलतापूर्वक भनिदियो, ‘ओहो ! यो मान्छेको शरीरमा एउटा लुगा पनि छैन ।’

यो कुरो त्याहा रहेका अनेक मानिसहरुका कानमा पर्‍यो । एकएक गरी यो कुरा चारैतिर फैलियो । एउटा बच्च कसरी अयोग्य र गद्दार होला त ? साच्चै नै बादशाह नांगै पो रहेछन् क्यारे भनेर सबैले कानेखुसी गर्न थाले ।

बादशाहको मनमा पनि आफू ठगिएको आशंका पैदा भयो । तर, शोभायात्रा अचानक टुंग्याउन उनले उचित ठानेनन् । त्यसैले उनी झन् ठाँटसँग गजक्क परेर हिँड्न लागे र आफ्नो आशंका समाप्त गरेपछि मात्रै दरबारमा फर्किने निश्चय गरे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया