मनाङ र आर्मीको साँघुरो जित, सातौं चरणको समाप्तीसम्म मनाङ शीर्षमा

news

काठमाडौं, मंसिर २४ । मच्छिन्द्र क्लबलाई हराउँदै मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ ।

सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले मच्छिन्द्रलाई १–० ले हरायो ।

७०औं मिनेटमा मनाङका अन्जन विष्टले प्रहार गरेको पेनाल्टीलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

८५औं मिनेटमा ‘सब्सटिच्यूट’ खेलाडी अफिज ओलावालेले गरेको गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै मनाङले लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको छ ।

आर्मीले ब्रिगेड ब्वाइजलाई हरायो

लिगअन्तर्गत् सोमबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई विजयी गराउन टंक बस्नेतले ६६औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

सातौं चरणका खेल सकिए

यी खेलहरुपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु सकिएका छन् ।

सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ । १८ अंकका साथ थ्रीस्टार क्लब र संकटा क्लब क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ ।

नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले ११/११ अंक जोडेका छन् ।

प्रतियोगिताअन्तर्गत् आठौं चरणका खेलहरु बिहीबारदेखि हुनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...