अन्तरप्रदेश परिषदको बैठकमा के भयो ?

news

काठमाडौं, मंसिर २४ । राजधानीमा दुई दिनसम्म चलेको अन्तरप्रदेश परिषदको बैठकले संघीयता कार्यान्वयनका समस्या पहिल्याउँदै बैठकका निष्कर्षहरु समेटेर प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा रहेको पाँच सदस्यीय कार्यदलमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य रहेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मी सदस्यसचिव रहनेछन् ।

बैठकपछि प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले दिने प्रतिवेदन कार्यान्वयन भए संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान हुने बताए ।

अर्थमन्त्री डा. खतिवडाले संविधानले दिएका अधिकार संघले खोस्न नसक्ने भन्दै कानुन निर्माणमा केही ढिलाइ भएकाले समस्या देखिएको र अब चाँडै समाधान हुने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय संघीयता कार्यान्वयन जटिल हुने भएकाले निरास नहुन आग्रह गरेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सन्चालनमा देखिएका व्यवस्थापकीय, आर्थिक र कानुनी जटिलताबारे अवगत गराउने काम बैठकमा भएको भन्दै अब छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

कार्यदललाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

कार्यदलले आगामी पुस ३ गते दिउँसो १ बजे बस्ने संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनेछ ।

आइतबार सुरु भएको बैठक सोमबार सकिएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया