ज्ञानेन्द्र नाच्दा प्रचण्डको मुटु पोल्छ, गणतन्त्रको जग हल्लन्छ, किन ?

news

सन्जिव कार्की 

कुनै पनि ब्यबस्था या प्रणाली आफैंमा पुर्ण र दोषरहित हुँदैन र संसारमा यस्तो उदाहरण पनि कहिँ छैन । प्रणाली आफैंमा साध्य होइन केवल साधन मात्रै हो तर मन परेको प्रणाली र ब्यबस्थाको गुणगान गाउने क्रममा यसको अब्बल पक्ष र सबलताको मात्रै चर्को रूपमा चर्चा, व्याख्या र विश्लेषण गरिन्छ ।

उत्कृष्टको पनि महाउत्कृष्ट भनेर प्रचारप्रसार गरिन्छ मानौँ यो मात्रै यस्तो ब्यबस्था र चिज हो जसको कुनै अवगुण छैन । अवगुण नभएको कुनै चिज र ब्यबस्था छ भने हाम्रो लोकतान्त्रिक संघीय गणतन्त्र हो । गणतन्त्र ल्याउने अवसर चुकाउनु भनेको जिन्दगी कै स्वर्ण मौका गुमाउनु हो । स्वर्गीय आनन्द छोडेर नर्कको बास रोज्नु हो । अनि सबैभन्दा बैगुनी र कमसल प्रथा , ब्यबस्था, संस्कृति र प्रणाली भनेकै राजतन्त्र मात्र हो यो ब्रह्माण्डमा सबैभन्दा बढी अयोग्यता र बदनाम र बदमासी कतै हुन्छ भने राजा भएको ठाँउमा हुन्छ राजतन्त्ररात्मक मुलुकमा हुन्छ । सबैभन्दा खराव मान्छे कोही हुन्छन् भने राजकुमार र राजकुमारीहरु हुन्छन्, राजा र रानीहरु हुन्छन् ।

राजतन्त्रमा खराबी र त्रुटी नै त्रुटी मात्र हुन्छ भयो तर संघीयतामा कुनै खराबी छैन यो पुर्ण मात्र होइन परि पुर्ण ब्यबस्था या राजनीतिक प्रणाली हो । राम्रो पाइन्छ हुन्छ भने नराम्रो र दुर्वलको पक्षधर किन हुनु ? आजसम्म जे जति र जुन अबिकास, अगति  बिकृति र विसंगति रह्यो  र देखियो, भयो यो सबै देशमा राजा भएको कारण भएको हो भनियो ।  सबै कमजोरीको पगरी राजतन्त्र र राजाको टाउकोमा गुथाइयो तब राजाको शिरबाट श्रीपेच उतार्न सम्भव भयो । आजसम्म जे जति कमजोरी भयो देश जहाँ रह्यो त्यो सबै दोष र अबगालको भारी राजाको काँधले बोक्नु पर्यो र थेग्न नसकेपछि छोड्न बाध्य पारियो । राजा र राजतन्त्रको खेदो खन्ने र दुर्गुण देखाउने नाममा इतिहास नै कलंकित बनाउने कुचेस्टा र कृतध्नको पराकाष्ठा पनि नाघियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई र नेपाल एकीकरणलाई गलत बुझियो बुझाइयो ।

नेपाल राष्ट्र एकीकरण गरेर अविच्चिन्न, अभिन्न र अबिभाज्य राज्य निर्माणको योगदान कुल्चने, थुक्ने घृणा फैलाउने र इतिहासको अपमान गर्ने विषय बनाइयो । राजतन्त्र र राजाहरूमा रहेको देश भक्तिको पुराका पूरा नजरअन्दाज गरियो । सबै राजा खराब थिएनन् अनि सबै राजा योग्य र सुयोग्य हुदैनन् र थिएनन् पनि तर योग्य सुयोग्य र देशभक्त राजाहरुको इतिहास पनि मेटाउन गर्न हुने, गर्न नहुने सबै निकृस्ट कर्म गर्न नेपालका राजनीतिक दल तयार भए जनता कुन ठिक, कुन बेठिक छुट्टाउन नसकेर केवल परिवर्तनको मिठो र भ्रमले भरिएको नारामा लोभीन पुग्यौं र बिबेकको भ्याक्सेटोमि गराएर नेताहरूले ले जे भन्छ्न त्यतै लाहाछाप लगाउन र जीवन बलिदान गर्न मन्जूर भयौ्र । परिवर्तनको बाहक र साक्षी बस्यौं र राजालाई  श्रीपेचबिहिन बनाएर ढाका टोपीमा राष्ट्रियता ढल्काउन बाध्य पार्यौ ? यो सब किन गरियो र कसरी सम्भव भयो त ? यो मुलुकको सबै बाधा ब्यबधान र अगतिशिलताको जड र मुख्य स्रोत राजा भएको भ्रम फिजाइयो । राजा हटेपछि सबै ठिकठाक हुन्छ । देशले कांचुली फेर्छ । जनताका दुर्दिन सकिएर सुदिन फिर्छन् । दुर्दशा सकिएर भाग्य चम्कन्छ । देश अग्रगमनमा लम्कन्छ भनेर गाउँ–गाउँ बस्ती–बस्ती प्रशिक्षित गरियो जनता जगाइयो । जनताले रोमान्चक सपना देखे । रोमान्चित सपनाको खेती गरियो जनता कन्भिन्स भए र आन्दोलनको ज्वारभाटा उठ्यो यद्यपी, राजा राख्ने र फाल्ने सिधा विषयमा जनमत भएन पार्टीहरुको एजेन्डामा चुनाव सम्पन्न भयो र बिना जनमत राजा र धर्मको बारेमा जनप्रतिनिधिले जोर जबर्जस्त बैधानिकता पूरा गरे तर जननत र जन चासोको हेक्का गरिएन ।

देशको दुर्गामी हितको लागि नभई केवल राजाप्रति बदला र प्रतिशोधको कारण आफुलार्इ स्थपित गराउने स्वार्थलाई केन्द्रमा राखेर राजा ज्ञानेन्द्रलार्इ विस्थापित गरियो । राजा ज्ञानेन्द्र्ले २५० वर्षको इतिहास बोकेको अन्तिम राजाको रूपमा जुन शालिनता र संस्कृति निर्माण गरेर शान्त र भद्रतापूर्वक राजगद्दी छोडे त्यो विश्वकै लागि अनुपम र चर्चा योग्य इतिहास निर्माण हो । बिना रक्तस्राव राजगद्दी त्याग्ने ज्ञानेन्द्र्को जनता प्रेम र यहि माटोको सुगन्धमै रमाएर बस्ने देशभक्ती अहिले र आजका नेताहरूको चर्तिकलासँग तुलना नै गर्न नमिल्ने अतुलनीय छ । देशभक्ती के हो भन्ने कुरा राजाहरूबाट विशेषत अहिलेको परिवेशमा ज्ञानेन्द्रबाट नेताहरूले सिक्ने सबैभन्दा ठुलो मन्त्र हो ।

बिधिको उल्टो परिधान या अपब्याख्या आज तिनै गद्दीच्युत राजा आफ्नो देशमा बसेर आफ्नो पारिवारिक जमघटमा रमाइलो गर्दा, नाच्दै रमाउँदा हाम्रा नेताहरूको टाउको दुख्छ, मुटु भत्भती पोल्छ । पुर्व राजा ज्ञानेन्द्र आफ्नो वैदिक परम्परा र संस्कृति र धर्मको पालनाको खातिर मन्दिर जाँदा पनि गणतन्त्रको जग हल्लन्छ । आखिर धर्म निर्पेक्ष राज्य भनेको धर्म बीहिन राज्य हुनु हो ? बेधर्मी, अधर्मी र विभेद अनि पक्षपातको व्यबहार देखाउनु हो ? तपाईंले निर्माण गरेको संविधानमा ब्यक्तिगत स्वतन्त्रताको हक पुर्वराजा ज्ञानेन्द्रको सबालमा चै निलम्बित छ ? धार्मिक पूजाआजा, मनोरञ्जन ज्ञानेन्द्र्को लागि बन्चित र अबान्छित गतिविधिमा पर्छ ? हुन त पुर्व राजपरिवारको सदस्यलाई भुकम्प पीडित, बाढी पीडितलाई राहत बाँड्न रोक लगाएको घटना पुरानो भएको छैन । दुखेको घाउमा मलम पट्टि लगाउन पनि बन्देज लगाउने कस्तो अविवेकी गणतन्त्र है हाम्रो ? तपाईं नेता भएबापद सार्वजनिक स्थलमा रेखा थापाको तिघ्रा हेरेर नाच्न हुने तर ज्ञानेन्द्र्ले आफ्नो पारिवारिक माहोलमा रेस्टुरेन्ट भित्र नाच्न नमिल्ने कस्तो पक्षपाती गणतन्त्र ल्याउनु भो प्रचण्ड कमरेड ? यो देश सबैको होइन र ? राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने हुनाले पुर्वराजा ज्ञानेन्द्रले म पनि छु है भन्दा आपत्ती किन ?

ज्ञानेन्द्रलाई राज्यले घाँस हालेको छ म राज्यको घाँस खाएर मात्रै बस्दिन  बांझो जोत्न जान्छु भन्दा जोत्न दिने की नदिने ? देश बिगार्न हुने, तर देश बिग्रिएको छ म सपार्छु भन्न नहुने किन ? यो राज्य तपाईं दलहरुको मौजा हो ? बिर्ता हो ? वाक स्वतन्त्रताको संबैधानिक बन्दोबस्ती तपाईंहरुको मनपरितन्त्रको लागि मात्रै हो त ? यदि पूर्वराजा ज्ञानेन्द्र दोषी छन हुन भने किन राज्यको मानो चामल खुवाएर राख्नुहुन्छ ? नागर्जुन दरबारबाट निकालेर कोच्नुस जेलको चिसो छिंडीमा ? किन दिनु पर्यो राज्यको पाले पहरा ? हिम्मत छ गणतन्त्रका मसिहासंग ? आफ्नो अयोग्यता, अक्षमतासँग डराउनुस ज्ञानेन्द्र हाँस्दा र नाँच्दा डराउनु पर्दैन ? ज्ञानेन्द्र आफैं आउँदैनन् आए पनि अहिलेको सन्दर्भमा परम्परागत राजसंस्था अप्रासंगिक हुन्छ ।

सेरोमोनियल राजा आवश्यकताको सिद्धान्तले बोलाउने स्थापित गर्ने समयको हक हो तथापि अहिल्यै र आजै यति छिटो त्यो परिकल्पना शायद ज्ञानेन्द्र्को मस्तिष्कमा पनि छैन जति तपाईंले गर्नु भएको छ । डराउनु भएको छ । ज्ञानेन्द्र शाह नाँच्दा, बोल्दा, पुजापाठ गर्दा तपाईं गणतन्त्रवादीहरुको मुटुले ढ्याङग्रो ठोकेको देख्दा सुन्दा लाग्छ हाम्रो लोकतान्त्रिक गणतन्त्रको जग कमजोर धरातलमा खडा छ । कमजोर जगको घरभित्र बस्दा सानो भुकम्पको धक्का या भुकम्प आउने हल्लाले मात्रै पनि आतेस लाग्नु, मुटुले ठाँउ छोडनु, कहालि लाग्नु छटपटी हुनु, मर्छु कि पुरिन्छु कि भन्ने मनोबैज्ञानिक त्राश स्वभाविक नै हो ।

यति कमजोर लुते र आड भरोसा बिनाको गणतन्त्र ल्याउन किन १७ हजार मान्छेको बलिदान आवश्यक भयो ? गणतन्त्र आएपछिका १२ वर्षको देखिने उपलब्धि, अनुभुत र अनुभव गर्ने उपलब्धि एक राजाको ठाँउमा अनेकौं राजा एक दरबारको ठाँउमा सयौं हजारौं दरबार भन्दा अरु केही देखियो त ? राजनीतिक प्रणाली साध्य होइन साधन मात्रै हो भन्ने कुराको अब कुनै प्रमाण चाहिन्छ र ? जापान, बेलायत, कुवेत, संयुक्त अरब इमेरेटस भुटान लगाएतका देश राजा भएको कारण पछि परेका हुन र ? आज पनि बिश्वमा झन्डै तीन दर्जन मुलुकमा राजा छन । राजा रहेकै कारण ती मुलुक सबै बिकास बिज्ञान र समृद्धिमा पछि छन र ? अनि चीन, भारत, फ्रान्स लगायतका देश राजा नभएको कारणले विकासको द्रुत गति समात्न सफल भएका हुन र ? राजा नभएको मुलुक राजा नभएको कारण नै सबै एक से एक उत्कृष्ट छन  र ? लुप होल्स सबै सिस्टममा हुन्छ्न, छन । देखिन्छन् तर साधन कस्तो  ब्यक्ति कस्तो मान्छेले प्रयोग गर्यो कुन ल्याकतको मान्छेको हातमा शक्ति गयो ? कस्तो चरित्र र संस्कारले रोलप्ले गर्यो त्यो महत्त्वपूर्ण कुरा हो । राज्य संचालकको मन मुटु र मस्तिष्कमा देश प्राथमिकता हो कि होइन ? राज्य संचालक आफैंबाट संचालित छ कि कसैको प्रयोगको शिकार बनेको छ ?

हाम्रो देश प्रयोगशाला बनेको त धेरैलाई थाहा छ ? अझै कतिसमय अरुको गाटी बनिरहने ? घर डढाएर खरानी उडाइ रहने ? के नेपाली राजनीति खरानीको लागि जोगीको लडाइँ मात्रै हो त ? 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया