मैले ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भनेकै छैन : डा. शशांक कोइराला (भिडियो)

news

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भनेर आफूले कहिल्यै नभनेको बताएका छन् ।

पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा इमेज च्यानलसँगको कुराकानीमा उनले आफू धर्म स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले धर्मनिरपेक्षता हटाउनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट पारे । ‘ धर्मनिरपेक्षताको बारेमा भने जनमत संग्रह हुनुपर्छ भन्ने कुरा मैले उठाएको हुँ,’ उनले भने ।

कांग्रेसको विधान संशोधन मस्यौदामाथि देखिएको विवाद केन्द्रीय कार्यसमितिबाटै समाधान हुनेमा आफू आशावादी रहेको उनले बताए ।

उनले पार्टीमा पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्तावसमेत गरे । संघीय संरचनाअनुसार सातै प्रदेशमा संगठन हेर्नेगरी जिम्मेवारी तोकेर पदाधिकारी व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो । पार्टीमा दोस्रो तहका नेता धेरै रहेको र उनीहरुको व्यवस्थापनका लागि पनि पदाधिकारी संख्या बढाउन उपयुक्त हुने उनले बताए ।

उनले विधानबाट पार्टी सभापतिलाई अधिकारसम्पन्न बनाउनुपर्ने तर्क गर्छन् । 

निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको दोष सबैले लिनुपर्ने उनले बताए । ‘जिम्मेवारीको हिसाबले कसैको बढी र कसैको कम होला तर दोष सबैले लिनुपर्छ,’ उनले भने ।

आफू गुटबन्दीमा नरहेको प्रष्टिकरण दिँदै उनले भने, ‘शेरबहादुरजीको नेतृत्वलाई मैले कहिल्यै कमजोर हुन दिइनँ । गुट उपगुट भनेको महाधिवेशनका लागि मात्र हो, महाधिवेशन भइसकेपछि गुट उपगुटमा विभाजित हुनु हुँदैन, त्यसले पार्टीलाई फाइदा गर्दैन ।’

विस्तृत अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया