भूमिकावीहिन भूमिकामा कांग्रेस

-संजिव कार्की: सच्चिन, सुधारिन र सुकर्मको लागि कुनै शुभघडी, शुभपल र शुभ मुर्हुतको आवश्यकता हुँदैन् । पर्दैन । ज्योतिष विज्ञान र भाग्यवादको आवश्यकता र सहारा जरुरी हुन्न । आफ्नो अघिल्तिर जे छ, जुन समय छ, जुन अवसर छ सोको अधिकतम उपयोग गरि त्यसलाई नै साइत जुरेको सम्झेर कर्मयोगी हुनु सान्दर्भिक र समयपयोगी हुन्छ । वर्तमान राजनीतिमा कांग्रेसले सुकर्मको लागि साइत र शुभमुर्हुत नभेटेपछि राजनीतिको कोर्स एक पक्षीय भएको छ ।

news

-संजिव कार्की: 
सच्चिन, सुधारिन र सुकर्मको लागि कुनै शुभघडी, शुभपल र शुभ मुर्हुतको आवश्यकता हुँदैन् । पर्दैन । ज्योतिष विज्ञान र भाग्यवादको आवश्यकता र सहारा जरुरी हुन्न । आफ्नो अघिल्तिर जे छ, जुन समय छ, जुन अवसर छ सोको अधिकतम उपयोग गरि त्यसलाई नै साइत जुरेको सम्झेर कर्मयोगी हुनु सान्दर्भिक र समयपयोगी हुन्छ । वर्तमान राजनीतिमा कांग्रेसले सुकर्मको लागि साइत र शुभमुर्हुत नभेटेपछि राजनीतिको कोर्स एक पक्षीय भएको छ ।

सरकार प्रचण्ड बहुमतले कतिपय समय र सन्दर्भमा आवेगी र विवेकहिन निर्णयको बज्र ठोक्दैछ । संख्यात्मक रुपमा दुव्लो प्रमुख प्रतिपक्ष ‘आवाजवीहिनहरुको आवाज’ बोकेर बुलुन्द हुनुपर्नेमा दिग्भ्रमित, कुन्ठाग्रस्त, भयभित र दुविधाग्रस्त भएको छ । पराजय पीडाको घाउ निर्मम दुखाइले तंग्रिन सकिरहेको छैन कांग्रेस । आन्तरिक र बाह्य संकटले थिलथिलो छ कांग्रेस । आफ्नो पराजयको कारण पत्तालगाउन सकिरहेको छैन कांग्रेसले । देश दुनियाँलाई कांग्रेस हार्नुको कारण थाह छ तर कांग्रेस स्वयं यसको नेतृत्व र पदाधिकारीहरु कांग्रेस हार्नुको मूल कारण र जड बताउन हिच्किचाउन बाध्य छन् । कारण जनता र देश दुनियाले जानेको बुझेको कांग्रेस हार्नुको कारण भन्यो भने त्यहाँ नैतिकताको सवाल जन्मन्छ । नैतिकताको तगारोले पदच्युत हुनु भन्दा बरु उचित र यथोचित कारणलाई धुमिल छायाँमा राखेर पार्टी सत्ताको चास्नीमा माखा लटपटिए झैँ लटपटिदै अकण्टक बसी राख्नु कांग्रेस नेतृत्वको अभिस्ट देखिन्छ । जुन नितान्त गलत, असान्दर्भिक र अल्पदृष्टिको परिणाम हो जसले अन्ततः कांग्रेसको बचेखुचेको साख पनि धुलिसाथ पार्नेछ । इतिहास अध्ययनको एउटा अध्याय बन्नेछ ।

कांग्रेस इतिहास अध्ययनको पाटो नबन्ने वर्तमान र भविष्यमा जीवन्त रहने हो भने आफुलाई सुधार गर्न एकरत्ति पनि बिलम्ब गर्नु घाटाको व्यवसाय चलाउनुको नियति मात्र हैन टाट घोषणा गर्ने कम्पनीको परिणति हुनेछ । हीनताबोध, लज्जाबोध र अल्छेपन जस्ता दीर्घ अनि रोग हिलोमैलो दलदलबाट जतिसक्दो बाहिर निस्कनु यसको हितार्थ सहि हुनेछ । पार्टी जीवनको आरोह अवरोहमा विजय मात्र हैन पराजय, मान मात्र हैन, अपमान सफलता मात्र हैन, असफलता पनि हुन्छ भन्ने हेक्का अहिले पछिल्लो नेतृत्व पुस्ताले राख्न नसकेर या विगतको आफ्नो गौरवमय विरासत बिर्सेर हो । पराजय स्वीकार्न अप्ठ्यारो मानिरहेको छ । पराजयको दोष आफ्नो थाप्लोमा राख्न धक मानिरहेको छ ।

कांग्रेसको अहिलेको अलमल, अकर्मन्यता र भुल अनि महाभूल शायद यहि हो यहि हुनुपर्छ । म र मेरो कारणले मेरो भूमिका र मेरो असक्षमताले कांगेस यो अवस्था यो पराजय र हारको स्थितिमा आइपुगेको हो यसको नैतिक जिम्वेवारी मैले लिनुपर्छ भनेर एक पटक केन्द्र देखि जिल्ला तह, केहीहद र सीमासम्म गाउँ स्तरसम्म यो स्विकारोत्ती पुग्ने र तदनुकुल नेतृत्व बाहिरिने हो भने कांग्रेसमा पुन आधा हिस्सा नवीन रक्तसंचार हुनेछ । जसले नयाँ उर्जा र बल प्राप्त गर्नेछ । आधा हिस्सा नवीन रक्तसंचार तल देखि माथिसम्मको असफल नेतृत्व परिवर्तनले हुनेछ भने बाँकी नयाँ नेतृत्वले लिने नीति, कार्यशैली र तदारुकता, परिस्थितिजन्य स्वीकार्य समयको क्षमताले गर्ने निर्णयले यसको गति र लयमा फरक पार्नेछ । लडेको कांग्रेस धुलो टकटक्याएर उठ्न बेर लाग्ने छैन मात्र इच्छा शक्ति र दृढताको खाचो छ । देशको प्रत्येक घरधुरीमा कांग्रेसले आफ्नो परिचय दिनुपर्ने स्थिति छैन । ठुलो संख्यामा देशभर संगठनको जालो छ । कांग्रेस देशमा सबै ठाउँमा छ तर सबै ठाउँमा र जताततै हुनु अब कांग्रेसको त्यो परिचयले पुग्दैन, हुदैन ।

कांग्रेसले आफुलाई अब नयाँ रुपमा लैजानुपर्छ । हिजो चिनिएको अल्छे कांग्रेस होइन जाँगरिलो र फुर्तिलो कांग्रेस, भ्रस्टाचार ,यावत लान्छना आरोप र झेली कांग्रेस होइन नैतिक आचरण, सामाजिक आचरणमा शुद्ध कांग्रेस, विशुद्ध सामाजिक कार्यकर्ता , राजनीतिक कार्यकर्ता कांग्रेस, गुण्डा डन र दादागिरीमा पाखुरी देखाउने कांग्रेस होइन आफ्नो कर्म र क्षमतामा दस नंग्री खियाएर पसिना पोखेर पौरखी बन्ने कांग्रेस । जनताको सुख दुःखमा सँधै आफुलाई समर्पित गरेर निष्ठा र इमानको लागि बोल्ने कांग्रेस । सहरमा बसेर सुकिला लुगा लगाउने भन्दा बढी गाउँ ठाउँ र विशेस आफ्नो कर्मभूमिमा सेवा गर्न दिनरात साथ हुने कांग्रेस । यसको लागि काँग्रेसले एउटा सुझाव छ ।

कांग्रेस कम्युनिस्टहरु मिलेर होइन आफू झगडा गरेर हारेको कुरा आत्मसाथ गरोस । अरु म भन्दा बलिया भए अनि म हारे भन्न सुहाउछ र ? आफु दुव्लो कम्जोर र नालायक कसरी हुन् पुगे त्यो कुराको सवालमा कांग्रेसले आफ्नो ध्यान खिचोस कांग्रेसको औचित्य, सान्दर्भिकता र भूमिका यो देशमा अझै छ रहने छ । सुध्रने बाटो देखेन, भेटेन भने कांग्रेसले सिद्धिने बाटो खोज्न चै कुनै मेहनत लगाउनु पर्दैन जसरी समयले कांग्रेसको औचित्य, भूमिका सान्दर्भिकता पुष्टी ग¥यो । त्यसरी नै यसको औचित्य समाप्तिको घोसणा पनि गर्छ नै । बस समयको इंतजार गरौ ।

संसदमा अहिले पनि कांग्रेस संख्यात्मक रुपमा अलि कम होला संख्यामा कमि देखिन्छ तर यसले निर्वाह गर्ने भूमिका र प्रभावकारिता आवश्यकता र औचित्यता उस्तै छ बलियो छ । प्रभावकारी र शसक्त छ । तर कांग्रेस मुर्झाएको देखिन्छ, अलमल र किंकर्तब्यबिमुख देखिन्छ । कांग्रेसको यो अलमल यो पीडाग्रस्त मनस्थितिले सरकार जिराहा, मिचाह र अविवेकी बन्न उद्दत देखिन्छ । कांग्रेसलाई यतिबेला उठाउने मुद्दा र समस्याको खाँचो छैन केवल आफ्नै पुनरावलोकन पुनरताजकिकरण र पुनर्जीवनको खाचो छ । सिथिलता, बैराग्य छोडेर निम्न सवाल र मुद्दामा केन्द्रित भइ संसद, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस रचनात्मक टक्कर दिन जोडदार उपस्थिति देखाउन सकोस ।

मुद्दा नं १- भर्खरै कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेललाई माफी दिएर रिहा गर्ने सरकारको निर्णय लागू हुँदा बिधि र विधानको पक्षमा कांग्रेस जसरी प्रस्तुत हुनु पर्दथ्यो त्यो गगन थापाले जति बोले र कर्मकाण्ड पुरा गरे त्यतिमा सिमित भयो । कांग्रेस अडान र दृढता साथ् आउन सकेन या चाहेन ? माफी अदालती प्रक्रिया र अदालतको फैसला सिरोपर गर्नेलाई दिइन्छ कि ? अदालतको फैसला खारेज गरेर न्यायाधीसको फिला चिर्ने धम्की दिने र भागेर हिड्ने कसुरदारलाई दिइन्छ ? असल चालचलन भनेको के हो ? कांग्रेसले यसको प्रतिकार गर्न सक्नु पर्दथ्यो, खै सकेको ?

मुद्दा नं २- कांग्रेस सरकारले भूकम्प पीडितलाई घर निर्माण बापद दिने भनेको थप एक लाख रुपियाँ सरकारले बजेट मार्फत सम्बोधन गर्छ भन्ने आशामा समेत तुषारापात ग¥यो । भूकम्प पीडितलाई घर निर्माणको लागि दिएको सरकारी अनुदान तीन लाख कमि भएको कुरा सबै राजनीतिक पार्टी र नेताहरुले स्वीकार गरेको विषय थियो अझ प्रचन्डले त आफु प्रधानमन्त्री भएमा पांच लाख दिने भाषण नै गरेको धेरै पुरानो भएको छैन । अत्याधिक बहुमत सहितको केपी ओलीको कम्युनिस्ट सरकारले त्यो थप एक लाख दिन अस्विकार गरेकोमा खै कांग्रेसको आवाज ? यति जल्दोबल्दो जनताले भोगेको कस्टकर समय र त्यसको मलमको लागि घोषणा गरिएको रकम नदिने सरकारको खै आलोचना ? सरकारले एक लाख हैन अरु थप सहुलियत सेवा र सुबिधाको लागि कांग्रेसले सरकारलाई बाध्य बनाउन पर्छ किन उदाशीन छ प्रमुख प्रतिपक्ष ?

मुद्दा नं ३- सामाजिक सुरक्षा भत्ताको बढोत्तरी खै ?

मुद्दा नं ४- ६५ वर्षमै वृद्द भत्ता दिने निर्णयको वचाव किन नगरेको ? यो घोषणा लागु गराउन बाध्यकारी बनाएको खै ?

मुद्दा नं ४ - मृगौला रोग, क्यान्सर, स्पाइनल इन्जुरी भइ पक्षघात भएका बिरामीलाई दिने पाँच हजार रुपैंयाँ जीवन निर्वाह भत्ता जस्ता आफ्नो पार्टीले घोषणा गरेको र कतिपय कार्यन्वयन गरेका कार्यक्रम हटाउदा किन चुप बसेको ?
सर्वोच्च अदालत विगत तीन महिनादेखि नेतृत्व विहीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि ४ महिनादेखि प्रमुख विहीन छ । यस्तो बेला प्रमुख प्रतिपक्षी किन मौन छ ? यी र यस्तै जनसरोकारको विषयमा कांग्रेसलाई बोल्न, दबाब दिन के ले रोक्यो के ले छेक्यो ? महंगी बढ्दो छ यसको विरुद्ध किन बोल्दैन कांग्रेस ? जनता बीच जान थुप्रै मुद्दा विषय र सवालहरु छन् ।

कांग्रेस आन्तरिक ब्यबस्थापन गरेर बलियो बनेर जनताको मुद्दा संसदमा मुखरित गर । आफ्नो शक्ति सामर्थ्य र औकातलाई कम आकलन नगर । सुध्रने, जनताबीच जाने, सरकारलाई गलत बाटो हिड्नबाट रोक्न आज पनि कांग्रेससँग सामर्थ्य छ त्यो नगुमाऊ । धैर्य , प्रतिक्षा र संयम आज कांग्रेसको लागि आवश्यकता छ । आत्मसमीक्षा, आत्म निरीक्षण, आत्म शुद्धिकरण र आशा कांग्रेसले राख्नुपर्छ । आफ्नो भूमिका साँघुरो हैन फराकिलो र समुन्नत बनाउनु पर्छ । आफ्नो पुन औचित्य र भूमिका देखाउन रास्ट्रिय जीवनको महत्वपूर्ण अंश दावी गर्न समयको चेत र लय पक्रन पर्छ अन्यथा समयले सबैको हिसाब किताब ऋणात्मक भए पनि धनात्मक भए पनि गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया