‘फेसबुकबाट प्रेम नगर्नोस्’

news

मुम्बई, पुस ६ । ‘फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नोस् । अन्यथा मैलेजस्तो दुःख पाउनुहोला’ पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताइ यसै हप्ता स्वदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सन्चारमाध्यमसँगको कुराकानीमा बताए ।

सामाजिक सन्जाल फेसबुक चलाउनेक्रममा एकजना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेको भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए ।

तर, सामाजिक सन्जालमार्फत् आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो ।

उनलाई पछि जासुसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय तोकियो ।

‘अपरिचित व्यक्तिसँग भावनामा नडुब्नोस् र फेसबुकलगायतका सामाजिक सन्जालमार्फत् ‘मायाजाल’मा नफस्नोस्’–अन्सारीले आफू रिहा भइ भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने ।

पाकिस्तानी जेलमा ६ वर्षको बसाइँपछि मंगलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सन्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रसारण गरेका छन् । उक्त दृष्य सामाजिक सन्जालमा पनि ‘भाइरल’ बनेको छ ।

‘निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुसीको क्षण भएको छ’–३३ वर्षीय अन्सारीले मुम्बइस्थित आफ्नो घरबाट फोनमा बताए ।

उनले भने–‘अब मैले एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।’

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् ।

उनीहरूले फरक–फरक समय र परिस्थितिमा एकार्काका नागरिकलाई जासुसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...