संघीयता र समावेशिता कम्युनिष्टहरुको एजेण्डा हुँदै होइनः विमलेन्द्र निधी

केही समय अघि मात्र नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका विमलेन्द्र निधी पार्टीलाई आन्तरिक रुपमा सशक्त बनाउने अभियानमा छन् ।

news

केही समय अघि मात्र नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका विमलेन्द्र निधी पार्टीलाई आन्तरिक रुपमा सशक्त बनाउने अभियानमा छन् । विद्यार्थी राजनीतिबाट आएका उनी पार्टीको केन्द्रीय सदस्य र महामन्त्री हुँदै हाल उपसभापति बनेका हुन । उनी कांग्रेस सुदृढ बनाउन सक्रिय भएको बताइरहेका छन् ।

उनी पार्टीभित्रको गुट, उपगुटको अन्त्य र प्रतिपक्षीको भूमिकालाई बलियो बनाइ सरकारलाई खबरदारी गर्न नयाँ गृहकार्यमा छन् । यसै सिलसिलामा समसायीक राजनीति र कांग्रेसको भूमिकाका बारेमा इमेजखबरका तर्फबाट युवराज गौतमले गरेको कुराकानी:

यतिबेलाको राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?

बर्तमान घटनाक्रमलाई कांग्रेसले तीन कुराबाट नियाली रहेको छ । पहिलो त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी होला कि नहोला भन्ने स्थिति थियो । जारी भए पछि संविधानलाई मधेसवादी दलहरुले मान्लान कि नमान्लान भन्ने स्थिति सृजना भयो । त्यस पछि निर्वाचनको सबैमा संसय थियो ।

संविधान जारी पछि कांग्रेसको सुझबुझको कारणले गर्दा तीनै तहको निर्वाचन सम्पन्न भएको अवस्था छ । संविधान कार्यान्वयन भएको छ । संविधानसँग असहमत हुने मधेस केन्द्रित क्षेत्रीय दलहरु समेत निर्वाचनमा सहभागी भए । राज्यको पुर्नसंरचना र संविधानको घोषणा पछि संविधान कार्यान्वयनको अवस्थामा मुलुक अघि बढिरहेको छ ।

दोस्रो कुरा निर्वाचनमा पार्टी पराजय पछि हाम्रा कमी कमजोरीलाई सच्याएर आत्म समिक्षा मार्फत लिंदै सुधारेर जाने र आगामी निर्वाचनमा बलियो हुने गृहकार्यमा हामी लागि रहेका छौं ।

तेस्रो कुरा लोकतान्त्रिक सिद्धान्त, विचारधारा, संसदीय प्रणाली, बहुदलीय प्रणाली, निर्वाचन प्रणाली, मनवअधिकार, प्रेस स्वतन्त्रता प्रति प्रारम्भ देखि नै विश्वास गर्दै आइरहेको नेपालमा एक मात्र पार्टी नेपाली कांग्रेस हो ।

विगतदेखि अहिलेसम्म कांग्रेस कुन धारमा अघि बढिरहेको छ ?

नेपालको राजनीतिमा विगत देखि नै कांग्रेस बाहेकका बाँकी दुई धार थियो । एउटा राजाले नेतृत्व गर्ने निर्दलीय पंचायती व्यवस्थाका समर्थकहरु जो अहिले राजतन्त्र नभएता पनि छन, अर्को जमात कम्युनिष्टहरुको थियो । यि सबैलाई हेर्दा आजको दिनसम्म आइपुग्दा तीन धारबाट राजनीति चल्दै आयो ।

आजको अवस्था सम्म आइपुग्दा कांग्रेस जुन धारमा आयो त्यही धारमा छ । कांग्रेसको सैद्धान्तिक मान्यतालाई अरुले पनि स्वीकार्ने अवस्था बन्यो । अहिले सबै दलहरु बहुदलवादी भए, लोकतन्त्रवादी भए, संसदीय धारमा आए । राजावादीहरु पनि कम्युनिष्टहरु पनि बहुदलवादी भए, संसदीय प्रणालीमा आए, निर्वाचन प्रणालीमा आए । नेपालको समग्र राजनीति डिस्कोर्स अब कांग्रेसको बाटोबाट हिडेको अवस्था छ ।

कम्युनिष्ट सरकारको गतिविधी कस्तो लागिरहेको छ ?

कम्युनिष्ट सरकारले संघीय गणतन्त्रको पक्षमा काम गर्‍यो भने राम्रै परिणाम आउला । अधिनायकवाद तर्फ जानु भयो र जनवादी केन्द्रियता तर्फ जानु भयो भने संघीयता खतरामा पर्न सक्छ । जनवादी केन्द्रियता र संघियता ठीक विपरित विचारधारा हुन ।

जनवादी केन्द्रियता जहिले पनि संघियताको खिलापमा हुन्छ । संघीयता पनि जनवादी केन्द्रियताको खिलापमा हुन्छ । उहाँहरुले बहुमतको अभ्यास जनवादी केन्द्रियताका लागि गर्नु हुन्छ की संघियताका लागि गर्नु हुन्छ त्यो हेर्न बाँकी छ ।

सरकारले ल्याएको वजेटलाई कसरी लिनु भएको छ ?

वास्तवमा वजेट विल्कुलै ‘हावादारी’ छ । सत्ता पक्षकै नेताहरु पनि वजेट प्रति सहमत भइरहनु भएको छैन । यति ठूलो बहुमतको हैसियत प्राप्त गरेको सरकारले जनताको दैनिक जिवनलाई सुखी र सहज बनाउन कुनै वजेट विनियोजन गरेको छैन ।

एक दुई ठूला योजनाका नाममा तत्काल कार्यान्वयन हुन नसक्ने विषयमा वजेट विनियोजन गरिएको छ । अर्को कुरा वजेट संघीयताको पक्षमा पनि छैन । प्राथमिकताको क्षेत्र निर्धारण सरकारले वजेट मार्फत गर्न सकेन ।

रोजगारी बृद्धि गर्ने, कृषि क्षेत्र, पर्यटन क्षेत्र, जलस्रोत,उद्योग व्यवसाय, शिक्षा क्षेत्र कुनै विषय पनि वजेटको प्राथमिकतामा छैनन । वजेटको प्रष्ट लक्ष्य नै छैन अन्योलमा छ । आर्थिक प्रगति र संमृद्धि यो वजेटले दिन्छ भन्ने मलाई लाग्दैन ।

सरकार ‘अधिनायकवाद’ तर्फ जान लागेकै हो त ?

हो । पक्का पनि हो । संविधान जारी भयो । चुनाव भयो अब राजनीतिक विवाद सकियो, यो होइन । उहाँहरु अब राजनीतिक रुपमा केही बाँकी नै छैन संमृद्धितर्फ लाग्ने हो भन्दै हल्ला गरिरहनु भएको छ । यो नै उहाँहरुको अधिनायकवादी चरित्रको प्रारम्भिक सोच हो ।

नेपालमा अधिनायकवादी प्रवृति रोक्न हामीले संघियता ल्याएको हो । तर मुलुक संघिय संरचनामा गइसकेपछि पनि सातै प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग कुनै संगठन छैन, कुनै संरचना पनि छैन । त्यसका लागि सरकारले न कुनै प्रयास गरेको छ, न कुनै कानुन निर्माण भएको छ । न कुनै संरचना नै बनाइएको छ । मिडियाले समेत सरकारलाई यो विषयमा खबरदारी गर्न सकेको छैन ।

सातवटै प्रदेशमा एउटा पुलिस समेत प्रदेशको सरकारको अन्डरमा छैन । मुख्यमन्त्री समेत निरिह बन्नु परेको छ । प्रदेशको अन्तरिक मामिला मन्त्री समेतको आदेश त्यहाँ चल्दैन । केन्द्रको गृहमन्त्रीको शासन चल्छ । यो अधिनायकवादी प्रवृति होइन ?

प्रधानमन्त्री कार्यालयमा सबै निकायको अधिकार तानिएको छ भएका अधिकार पनि केन्द्रिकृत गरिएको छ । मिडिया हाउसमाथी त्रास उत्पन्न गराइएको छ ।

यातायात व्यवसायी, निर्माण व्यवसायीलाई समातेर थुनिदिन्छु भन्ने आतंक सृजना गरेर धम्की दिइदै छ । यो के हो ? कानुनी बाटो छैन ? कानुन चल्दैन ? यो के हो त ? अधिनायकवादी प्रवृति होइन ?

अन्य दलहरु कांग्रेसकै सिद्धान्तमा आए भन्नुहुन्छ अनि चुनावमा पराजित चाहीं कसरी भयो ?

निर्वाचनको पराजय हाम्रो आन्तरिक कारणले नै हो । अर्को कुरा हामी हाम्रो संगठनलाई बलियो बनाउन भन्दा राज्यको पुर्नसरचना र संक्रमण कालको व्यवस्थापन गरेर संसदीय प्रणाली, बहुदलीय व्यवस्था, समावेशी सिद्धान्त सहितको व्यवस्थालाई बलियो बनाउन तर्फ लाग्यौ ।

चुनावको तयारीमा लाग्नु पर्ने बेला मधेसवादीहरुलाई सहमतीमा ल्याउन लाग्यौ, संविधान प्रति सबैलाई जिम्मेवार बनाउन केन्द्रित भयौं, हाम्रो जिम्मेवारी अभिभावको थियो । जिम्मेवारी निर्वाह गर्न तर्फ केन्द्रित भयौं ।

मुलुकको लागि मिलन विन्दु बनाउन लाग्दा चुनावमा जित्न तर्फ संगठनलाई समय दिन सकेनौं । हामीले स्वीकार गर्नु पर्छ आन्तरिक एकताको अभाव भयो, घात अन्तर्घात पार्टी भित्रै भयो । त्यसकारण कार्यकर्ताहरु समेत निराश भए । निर्वाचन जित्न सकिएन ।

कांग्रेस सत्तामै रहँदा गरेका कमजोरी हारका कारण हुन सक्दैनन् ?

यस्ता विषय चाहीं प्रतिपक्षले उचाल्ने विषय हो । पहिले पहिले कांग्रेसले कोशी बेच्यो, गण्डकी बेच्यो भन्थे । त्यसपछि ति कुरा होइन रहेछ भन्ने भएर भन्न छाडे । अहिले केही खोट नपाएर प्रधानन्यायाधीश र प्रहरी प्रमुख काण्डलाई उचालेका हुन । यी कारणले निर्वाचनमा पराजय भएको होइन ।

अर्को कुरा संघीयता कम्युनिष्टहरुको एजेण्डा हुँदै होइन । समावेशीता पनि कम्युनिष्टहरुको एजेण्डा होइन । धर्म निरपेक्षता पनि कम्युनिष्टहरुको एजेण्डा होइन । यी सबै वीपी कोइरालाका एजेन्डा हुन । कम्युनिष्टको डिस्नरीमा न संघीयता हुन्छ न बहुलबाद छ । तर हामीले हाम्रो पार्टीको एजेण्डा विपिको संमृद्धिको एजेण्डालाई पछिल्लो समय अरुको हल्लाका भरमा अरुकै पो होकि भनेर बुझ्यौं ।

अर्को कुरा विगतमा हामीले हाम्रो नेतृत्वमा गरेका राम्रा विषयहरुको प्रचार पनि निर्वाचनका समयमा सहि तरिकाबाट गर्न सकेनौं । हाम्रो सिद्धान्तमा कम्युनिष्टदेखि राजावादीहरुसम्मलाई ल्याएको कुरा हामीले जनतालाई बुझाउन सकेनौं । नेपालको राजनीतिमा पटक पटक क्षती बेहोरेर पनि कांग्रेसले डेमोक्रेटीक ट्रेण्डलाई विस्तार गरेको छ ।

मधेशवादी दलहरु कांग्रेससँग किन रहिरहन सक्दैनन् ?

पछिल्लो समय मधेस केन्द्रित दलहरु हामीसँग रहन सकेनन । तर परिवर्तनका लागि, राज्यको पुर्नसंरचनाका लागि, संविधानका लागि जुन विषय थ्यो, राष्ट्रिय सहमतिका विषयमा हामी साथ छौं कि छैनौं त्यो महत्वपूर्ण कुरा हो । दल अलग अलग हुन्छौं, राजनीतिक एजेण्डा फरक फरक हुन्छ । प्रतिस्पर्धा हुन्छ त्यो बेग्लै कुरा हो ।

सँधैका लागि सबै पार्टी बीच सहमति र एकता हुन्छ भने बहुदलीय व्यवस्थाको अर्थ नै रहँदैन । हाम्रो मानसिकता जो सँग समीकरण भएको छ सधै रहिरहोस भन्ने हुन्छ । त्यस्तो हुने भए त एउटै पार्टी मात्रै हुन्थ्यो । बहुदलीय प्रतिस्पर्धा बहुलबादमा चुनावमा प्रतिस्पर्धा देखिन्छ, तालमेल पनि हुन्छ । कहिले सँगै हुने कहिले टाडिने यो राजनीतिक व्यवस्था नै यस्तै हो ।

यतिबेला मधेसवादी शक्तिहरुको अवस्था चाहीं कस्तो देख्नुहुन्छ ?

मधेसवादी शक्तिहरु अहिले मधेसको एजेण्डा छोड्दै छन । मधेसका नाममा राजनीति गर्नेहरु मधेसको एजेण्डाबाट विचलित भएको देख्दै छु । अहिलेको सरकारमा उपेन्द्र जी जानु भयो, त्यो एउटा प्रमाण हो । मधेसी जनताले अब यो बुझ्नु पर्छ, अब मधेसी जनताले आफ्नो सोच पुर्नविचार गर्ने पर्ने अवस्था आएको छ ।

मधेसवादीहरुको प्रतिस्पर्धा मधेसी जनताको हक र अधिकारलाई संविधानमा कसरी स्थापित गर्ने र नभएका कुरालाई कसरी समावेश गर्ने भन्ने तर्फ भन्दा पनि कसरी सत्तामा जाने भन्ने तर्फ मात्र केन्द्रित भएको अवस्था छ ।

पार्टी भित्रको गुट उपगुट चाहीं कहिले अन्त्य हुन्छ ?

म उपसभापति भएबाट नै मैले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन पहल गरिसकेको छु । रामचन्द्र पौडेलजीसँग पनि मेरो कुरा भइरहेको छ । पार्टीका विभिन्न विभाग तथा निकायहरु गठन गर्नका लागि सल्लाह गरिरहेको छु ।

महामन्त्री ज्यूसहित पार्टीका जिम्मेवार सबै नेताहरुसँग मैले छलफल थालेको छु । सभापति र पौडेलजीको बिचमा समन्वय गर्ने काम मैले गरिरहेको छु ।

आन्तरिक एकताले नै पार्टी र पार्टीका विषयमा चिन्ता लिनेहरुलाई समेत एक हुन सहयोग पुग्छ भन्ने हामी सबैका बिचमा समझदारी बनेको छ ।

केही दिन देखि तपाइहरुले देखिरहनु भएको होला हामी पार्टी भित्रका आन्तरिक विषयमा असहमती राख्ने भन्दा पनि बलियो प्रतिपक्ष भएर अधिनायकवाद तर्फ लागेको सरकारलाई खबरदारी गर्ने पक्षमा देखिएका छौं । विस्तारै आरोप प्रत्यारोप छाड्ने क्रम सुरु भएको छ । सत्ता र सरकारको बारेमा चिरफार गर्न अब हामी एक भएर अघि बढ्ने छौं ।

कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठिरहेको छ नि ?

नेपाली कांग्रेसका लागि महाधिवेशन सार्वभौम शक्ति सम्पन्न निकाय हो । तर महाधिवेशन अघि नेतृत्व परिवर्तन हुँदैन ।

पदाधिकारी चयनमा त एकलौटी भएको हो नि हैन ?

त्यस्तो होइन । त्यसबेला केही कुरामा पौडेल जीहरुको पनि माग थियो । अहिले सबै कुरा मिलिसकेको छ । रामचन्द्र जीले हामीलाई पदाधिकारी मानिसक्नु भएको छ ।

उहाँ आफैं उपस्थित भएर म उपसभापति भएको हुँ । केही कुरा थियो । तर यो स्थायी विषय थिएन सकियो । अहिले हामी एक ठाउँमा नै छौं ।

जब कांग्रेसले पविर्तनको नेतृत्व गर्छ सोही बखत पराजय हुन्छ, किन ?

बडी गार्डले आफ्नो ज्यान दिएर अरुको सुरक्षा गर्छ । आफ्नो ज्यान दिएर पनि अरुको सुरक्षा गर्नु उसको सफलता हो । कांग्रेसले पनि मुलुकलाई चुनौती पर्दा निकास दिएको छ । कांग्रेसको इतिहासमा पटक पटक यस्तो घटना भएको छ । नेपाली कांग्रेस देशको सुरक्षा गार्ड हो ।

कांग्रेसले संविधान सभाको निर्वाचन र स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफु पराजित भएर पनि देशलाई बचाएको छ जिताएको छ ।

यो गित गाउँने शब्दावलि होइन । कांग्रेसले आफुले क्षती बेहोरेर पनि देशलाई जोगाएको छ । प्रणालीलाई जोगाएको छ । व्यवस्थालाई जोगाएको छ । आगामी दिनमा सफलता प्राप्त गर्न अब कांग्रेस अघि बढ्छ ।

जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाइएको छ, यसबाट के अपेक्षा गर्ने ?

कांग्रेसको जिल्ला सभापतिहरुको भेलाबाट एकताको उर्जा लिएर हामी पर्किने छौं । नयाँ संरचना अनुसार पार्टीको विधान संसोधन अघि बढाउनु पर्ने छ ।

महासमितिबाट विधान संसोधन गराउँन केही विषयमा जिल्ला सभापतिहरुसँग राय लिने काम हुने छ । यो भेला अत्यन्तै महत्वपूर्ण हुँदै छ । राज्यको संरचना अनुसार पार्टीको संरचना रुपान्तरण गर्नु पर्ने अवस्था र एकताबद्ध भएको शन्देश यो भेलाबाट आउँछ ।

सरकारको समृद्धिको योजना र सपनालाई के भन्ने ?

सरकारको सय दिनको मुल्यांकन यस विषयमा काफी छ । सरकार सरकारी काममा भन्दा दलीय काममा सक्रिय छ । उहाँहरु पार्टी एक बनाउन केन्द्रित हुनुन्छ ।

संघीयताको विरुद्धमा उहाँहरु सिण्डीकेट निर्माण गर्न लाग्नु भएको छ । भारत र चिनको चाकडीमा उहाँहरु तल्लिन हुनुहुन्छ । पहिले देखिका विकासका विषयलाई निरन्तरता दिने तर्फ उहाँहरु लागिरहनु भएको छैन ।

संघीयताका विषयमा सिण्डीकेट, भारत र चीनको चाकडी र आत्म प्रसंसामा मात्र उहाँहरुको समय खर्च भएको छ । उहाँहरुको संमृद्धि सपना जनताको पक्षमा छैन । संविधानको पक्षमा छैन । संघीयताको पक्षमा छैन ।

अन्त्यमा भनिदिनुहोस कि अब कांग्रेस कसरी अघि बढ्छ ?

कांग्रेसको सबै भन्दा ठुलो सफलता नेपालमा सबैलाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र समावेशीता वैध रुपमा ल्याउनु हो ।

अब यसको सफल कार्यान्वयन र दिर्घायूमा कांग्रेस केन्द्रित हुन्छ । जिल्ला सभापति भेला देखि महासमिति र महाधिवेशन मार्फत कांग्रेस सशक्त रुपमा आउँछ र आउने निर्वाचनमा पहिलेकै अवस्थामा पुग्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया