माओवादी हराएको सूचना !

news

-सन्जिव कार्की 

सन् १९४९ देखि १९७६ सम्म अध्यक्ष माओले आधुनिक चीन निर्माणमा आफ्नो सम्पूर्ण शक्ति, सामर्थ्य र ल्याकत खर्च गरे जसको फलस्वरुप चीन आज विश्व महाशक्ति राष्ट्रको पहिलो नम्बरको दावेदारी प्रस्तुत गर्दैछ । माओ तत्कालिन समय २० औं शताब्दीका संसारका सबैभन्दा प्रभावशाली १०० ब्यक्तिमा पर्न आउँछन् । कवि, दार्शनिक, राजनीतिज्ञ र महान प्रशासकको रूपमा चिनिन्छन् । यद्यपी, नरसंहारकर्ताको रूपमा माओत्सेतुङ बिबादास्पद र चर्चामा नै छन । उनको कार्यकालमा सांस्कृतिक क्रान्तिका नाममा करोडौं मान्छे अकाल हताहत भएको विश्वास गरिन्छ । तथापि उनको आधुनिक चीन, समुन्नत चीन बनाउने उदेश्य र धेयको अघिल्तिर मान्छे मारिएको घटना, परिघटना गौंण सम्झिएको छ या सम्झन बाध्य पारिएको छ त्यो पीडितको भोगाइको पक्ष हो ।

साम्यवादी मुलुक चीनका धेरै कुरा र सत्ता विप्लवका कुरा अनि सत्तासिनहरुका क्रूरता जति बाहिर आउनुपर्ने हो त्यो आएको छैन र आज पर्यन्त आउने स्थिति बनिसकेको छैन् ।  भविष्यमा त्यो आउँदा भयावह नै देखिन्छ । त्यसपछि मात्रै छिमेकी देश चीन र त्यहांको वास्तविकताको पर्दा उघ्रन्छ । अनि अध्यक्ष माओको मानवीय पक्षको र अमानवीय पक्षको लेखाजोखा होला मुल्यांकन र पुनःमूल्याकंन होला माओवादी र माओलाई संसारले हेर्ने बुझ्ने दृस्टीकोण नयाँ बन्ला ।

आजको मेरो लेख चीनका माओवादीको होइन नेपालका माओवादीको हो । देशको एक नम्बर बनेको पार्टी एकाएक राजनीतिक परिदृश्यबाट हराएर अन्तकतै कसैको सहारामा आफ्नो अस्तित्वको याचना गर्नु नाटकीय लाग्दैछ । राजनीतिमा असम्भव केही छैन भन्ने ताजा उदाहरण पनि हो माओवादीको सैद्धान्तिक अपचलन ।

मार्क्सवादी, लेनिनवादी विचारधारालार्इ सैनिक रणनीतिमा जोडिएको अध्यक्ष माओको सिद्धान्त माओवाद भनेर बुझिन्छ । बुझाइन्छ । पढ्नेहरू छन, पढाउनेहरु छन् । त्यसको अभ्यास गर्नेहरू छन । नेपालमा जति पनि कम्युनिस्ट नामधारी दोकान छन तिनीहरूमा माओवाद नामक सिद्धान्त सजाउने र सँधै वेचिने चिजबिज हो । सोकेसको सबैभन्दा आकर्षक वस्तु हो । पदार्थ हो, जसको धेरै भन्दा धेरै बिज्ञापन देख्न सुन्न र हेर्न पाइन्छ । आफूलाई देशको एक नम्बरी या भनौं अकबरी माओवादी र माओवादको असल अभियन्ता, अभ्यासकर्ता र प्रवक्ता सम्झने पार्टी थियो प्रचण्डले चलाएको कम्युनिस्ट पार्टी जसले क्रान्तिको उदघोष गर्‍यो र १७ हजार नेपालीको बलिदानले नेपाली माटो रक्तिम बन्यो । क्रान्तिकारीहरुको देशलाई रगत पच्छे बनाउने सपना सफलीभूत बन्यो । तर देशले जुन गति लिनुपर्ने थियो देश जहाँ पुग्नुपर्ने थियो त्यहाँ पुग्न सकेन् । राजा फाल्नु र संघीय गणतन्त्रमा देश रुपान्तरण हुनुभन्दा अरु उपलब्धि, प्राप्ती शून्य रह्यो ।

राजा फाल्नुको अर्थ अरु थुप्रै राजा जन्माउनु पाल्नु र साइज साइज का राजा बाट शासित हुनु किमार्थ जनताको चाहना र अपेक्षा थिएन । एउटा राजालाई गलहत्याएर निकाल्दा धेरै राजालाई गाउँ कुना कुनादेखि शहर र केन्द्रसम्म स्वागत गर्नुपर्ने, चर्को खर्च  गरेर भित्र्याउन पर्ने नियतिको मार र भारले जनताको राजाप्रतिको वितृष्णा, तृष्णा र अनुवाद हुने संकेत देखिदैछ । के प्रचण्डको माओवाद यस्तै हो ? यसैका लागि हो त्यतिका मान्छेको वलिदान ? जनता संविधानमा के लेखियो र के छ ? सबै त्यो बुझ्दैनन् र त्यो हेक्का राख्दैन तर परिवर्तनपछि आधारभुत रूपमा हिजो र आजमा के अन्तर भयो । जनजिविका र सामाजिक सुरक्षा र सेवामा कस्तो फरक पर्यो ? नेताहरुको चरित्र जीवन शैली र आचरण जनअपेक्षा मुताबिक भए कि हिजो कै राजा महाराजा, जस्तै या झन बढी भए त्यो प्रत्येक्ष हेर्न देख्न र बुझ्न चाह्न्छ्न ? नेतालाई गाली नगर्ने मान्छे भेट्टाउन मुस्किल पर्नुको मतलव के हो ? खै हिजो जनताले अनुभुत गरेको माओवादी ?

वि.स.२०५१ देखि २०५८/०५९ सम्म माओवादीलेजे सिकायो जुन कुरा बतायो जुन अभ्यास गरायो त्यो जनताले बुझेको माओवाद थियो । जनता चीनका माओको माओवाद बारेमा होइन यहाँ माओवादी भनेर जे गरियो, जे भनियो त्योबारे बुझ्छन र प्रचण्डले अभ्यास गराएको माओवाद सम्झन्छन, खोज्छन् । गाउँ टोल, देशको कुना कुना पुगेर जे बोलियो स्कुलका भित्तामा जे नारा लेखियो त्यो हेर्छ्न त्यो खोज्छन् । माओवादीले थुप्रै र थुप्रैलाई अनाहकमा ज्यादती पनि गरे, धेरैको जिन्दगी बर्बाद नै पनि पारे । हजारौं परिवार विघटन र तहस नहस पनि बने । धेरैको आत्महत्या र विरक्तिको कारण पनि बन्यो तथाकथित जनयुद्ध  तर पनि केही सकारात्मक कुराको संकेत र शुरूवात पनि भएको थियो । राजतन्त्रको जरा हल्लाएको र हांगा बिंगा काट्ने कामको श्रेय तत्कालीन माओवादीकै भागमा जान्छ ।

गाउँ गाउँमा जाँडरक्सी उन्मुलन, जुवातास खेल्नेमाथि कारवाही , जाली तमसुक च्यात्ने, बहुविवाह रोक्ने गरेकालाई पनि कारवाही गर्ने, समाजमा ब्याप्त जातजाती प्रथालाई हटाउने, ब्याभिचारी, अनाचारी, दुराचारी, गुन्डागर्दी तह लगाउने लगायत समाजलाई छिटो प्रभावित पार्ने काम र अन्याय बिरुद्ध माओवादी छन भन्ने छवि र चित्र निर्माण भएको तथ्य कसैले कसैगरी लुकाउन नमिल्ने सत्य थियो ।  गरिबका साथी, सहारा र सारथी भनेर माओवादी चिनिने जवाना थियो । कसैले अन्याय गरेमा माओवादी बोलाइदिने बोलीले अत्याचार कमी हुने स्थिति थियो । धेरै हदसम्म विकृती रोकिएको थियो । अन्याय अत्याचार र गरिब भनेर हेपिने, चेपिनेक्रममा कमि आएको थियो । सामाजिक जागरण र जागृतिको अगुवा बनेका थिए माओवादी नेताकार्यकर्ता । गरिब दिनहिन, असाह्य जनताको आड भरोसाको प्रमुख श्रोत र केन्द्र बनेको थियो माओवादी । माओवादी आन्दोलन र माओवादीबाट पीडित हुँदाहुँदै पनि माओवादीले गरेका छाप र प्रभावयुक्त काम कसैले नकार्न सक्दैन जुन सकारात्मक परिवर्तनको छनक इतिहासमा सुनौलो अक्षरमा अंकित हुन्छ नै ।

माओवादी बिचार, कार्यशैली र अभ्यासमा सयौं मतान्तर र बिमती हुदाहुँदै पनि समाजमा छोडेर गएका कतिपय छापसँग प्रभावित बन्ने स्थिति थियो जुन जनता आज पनि स्मृतिमा लिन्छ्न । त्यसैले जनता खोज्दैछन कहाँ छ त्यो माओवादी ? किन हरायो त्यो माओवादी ? कुन स्वार्थ र शक्तिले सिध्यायो त्यो माओवादीलाई ? जनताको घरमा बसेर जे पाक्छ त्यही खाने, सकेको मद्दत गर्ने, सहयोगी अनुशासित र भविष्यप्रति समर्पित माओवादीका राता लडाकु खै ? मिठो बोली वचन, सहयोगी व्यबहार, सुख दुःखका कुरा गर्ने, अन्याय र अत्याचारका विरुद्ध आगो ओकल्ने माओवादी र तिनका नेता कार्यकर्ता खै कहाँ छन ? सत्ताको कुन स्वार्थले धुलिसाथ बनायो त्यो छवि र गरिमालाइ ? मान्छेको एउटा मात्रै जात हुन्छ त्यो भनेको मान्छे मात्रै हो ।

सृष्टी चलाउन मात्र लोग्ने मान्छे र स्वास्नीमान्छे भनेर जन्म भएको हो दुवै बराबर र जातभात सबै बराबर भनेर अंतरजातिय बिबाह गर्ने राता मान्छेहरुको तांती खै ? कति अन्तरजातिय विवाह सफल भयो ? हतारमा क्रान्तिकारी बिहे गरेर फुर्सदमा किन पछुताउदैछन ? अंतरजातिय बिबाह असफल किन बन्यो ? किन हिजो क्रान्ति भनेर जात समान देखेर विवाह बन्धनमा बाधिनेहरु आज त्यो कथित क्रान्तिकारी बिहेलाई ललकार्दै जनवादी बिहेलाइ सराप्दै पुनः स्वजातिय बिहेको लागि लालायित छन् ? पूजापाठ, दान, क्रिया गर्न हुँदैन भन्नेहरु आज किन भैंसी पूजा गर्न र माताको प्रसाद भन्दै मुनको होली वाइनमा निर्लप्त बन्छन् । अन्ध विश्वास भन्दै धार्मिक अन्धताको बिरोध गर्नेहरु किन आज विभिन्न धार्मिक संघ संगठनको प्रबक्ता बनेका होलान् ?

हिजो धनीको खोसेर गरिबलाई बांडनेहरु किन आज सबै सेवा सुबिधा आफ्नो र आफन्तको भागमा मात्र खन्याउन मरिहत्ते गरेर लागि परेका ? बैधानिक रूपमा माओवादी सिद्दीएको धेरै भएको छैन तर आफ्नो पहिचान र अस्तित्व हराउँदै गएको भने २०६२/०६३ पछि शान्ति प्रक्रियामा प्रवेशसँगै हो । जसका विरुद्द र जुन प्वृति विरुद्ध माओवादीले जेहाद छोडेर युद्द गर्यो त्यो प्रवृति भने आफूमा पुनरावृत्ति गर्यो । चुनाव जित्ने र भोट पाउने नाममा गर्नु–नगर्नु हुने–नहुने सबै गर्यो । साम, दाम र दण्डभेद सबै अपनाएर चुनाव पनि जित्यो । सबैभन्दा ठुलो पार्टी पनि बन्यो तर दम्भ र अहंकार बोकेर अभिमानको सगरमाथा चढ्नाले अस्तित्व नै संकटग्रस्त बनेर खर्पसमा भासियो र २०७५ सालमा बिधिवत बिगठनमा पुग्यो । माओवादी आफू मात्रै विघटनमा परेन एमालेलाई पनि पार्टी एकीकरणको नाममा पहिचान बिहिन बनाउन सफल भयो । आफू भासिएको खर्पस्मा एमालेलाई पनि तान्न सक्यो ।

कुनैबेला एमाले सकियो एमालेको सिद्धान्त सकियो, एमालेलाई काङ्ग्रेसमा बिलय गरे हुन्छ भनेर धारेहात लगाउने प्रचण्ड आफै पहिचान विहीन बनेर एमालेसँग विलय भए । ब्यक्तिगत रूपमा त प्रचण्ड आज पनि पूर्व एमाले गुटलाई लडाएर फाइदा मै छन तर पार्टीगत रूपमा भने माओवादी पार्टीलाई सधैं सधैका लागि गुमनाम र अस्तित्व विहीन बनाउन विवस भए । त्यसैले माओवादी हराएको सुचना यो लेखको शिर्षक बन्यो ।

माओवादी सकियो छैन र अब हुँदैन भन्ने निष्कर्षका साथ ‘माओवादी हरायो’को सूचना सार्वजनिक रूपमा सबैले थाहा पाउने गरी उल्लेख गर्न मजबुर बनियो । हिजो जुन–घाम रहुन्जेल माओवाद यो धर्ती (नेपालमा) रहन्छ भन्ने गर्जन आज पानीको फोका झै फुटेर सून्यमा हराएको देख्दा राजनीतिको सबैरुप कति सजिलै कुमालेको चक्र झैं देखिन्छ । घमण्ड र अभिमान जोसुकैले जतिबेला गरे पनि यसको रंग कसरी खुइलिन्छ भन्ने उदाहरण नेपाली राजनीतिले चरितार्थ गरेको र अझै गर्ने कुरा कसैले नबिर्सेकै राम्रो । तत्कालिन माओवादी भित्रको सपना, संकल्प, चुस्तता, साहस, आँट केही गरेर नै छाडने अठोट, बेगवान गति सबैसबै हराएर आज अस्तित्व नै संकटमा पर्नु निस्चय नै राजनीतिको गलत नियत र नियतिको खेलको प्रभाव हो भनेर बुझ्दा अन्यथा नहोला, मैंले यसैगरी बुझें । आफ्नो उपस्थिति देखाउन पूर्वराजा ज्ञानेन्द्रलाई तथानाम गाली गरेर बस्नुले हिजोको माओवादी पक्कै हराएकै हो भन्ने ठहर रह्यो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...