अमेरिकी हिरासतमा ८ बर्षीय आप्रवासी बालकको गयो ज्यान

news

काठमाडौं । अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको ज्यान गएको छ ।

मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिका प्रवेश गरेका ग्वाटेमालाका ती बालकलाई अवैध आप्रवासी रहेको भन्दै अमेरिकी सरकारी संयन्त्रले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

बालकको हिरासतमै रहेका बेला निधन भएको अमेरिकाको आप्रवासन सम्बन्धी कार्यालयका अधिकारीले बताएका छन् ।

मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेश गर्नका लागि आएका क्यारावान आप्रवासी मेक्सिकोको सीमा हुँदै अमेरिका पुगेका छन् ।

अमेरिकी अधिकारीले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गरेकाहरुलाई पक्राउ गर्ने गरेका छन् ।

अहिले निधन भएका ८ वर्षे बालकलाई चिसो लागेको तथा ज्वरो आएकोले उपचार गरेको तर उनको निधन भएको सीमा क्षेत्रमा खटिएका अमेरिकी अधिकारीले बताएका छन् ।

यसरी मेक्सिकोसँग सीमा जोडिएको क्षेत्रबाट अमेरिका प्रवेश गरेर पक्राउ गरी हिरासतमा राखिएका मध्ये यो महिना दुई बालबालिकाको ज्यान गएको छ ।

यसअघि ग्वाटेमालाबाट अमेरिका आएकी सात वर्षकी बालिकाको हिरासतमा लिएको केही घण्टापछि नै निधन भएको थियो ।

ती बालिकाको आफ्ना अभिभावकसहित गैरकानुनी रुपमा मेक्सिको–अमेरिका सीमा पार गरेको अमेरिकी अधिकारीले बताएका थिए ।

ज्याकेलिन काएल नाम गरेकी ती बालिकाको लिभर फेलियरका कारण निधन भएको अमेरिकी अधिकारीले बताएका थिए ।

तर द वासिङ्गटन पोस्टले भने बालिकाको निधनको कारण डिहाइड्रेसन (पानीको कमी) रहेको उल्लेख गरेको थियो ।

पत्रिकाले सीमा क्षेत्रमा खटिएका सरकारी अधिकारीलाई उद्धृत गर्दै ती बालिकाले धेरै दिनदेखि पानी तथा खाना नपाएको जनाएको थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...