महाभारतकी कुन्ती-२९

news

-हरिविनोद अधिकारी

कृष्णको अग्रपूजाले जन्माएको भनिएको विवादले भुसभित्रको आगोको काम गरेको रहेछ । फेरि दुर्योधन त केही दिन इन्द्रप्रस्थमा बसेको थियो र  मयले बनाएको युधिष्ठिरको दरबारलाई मिहिन तरिकाले अवलोकन र निरीक्षण गरेको थियो । मयको कला पनि अचम्भको थियो । पानीमा फुलेको कमलजस्तो चित्रमा पानी थिएन र माटो भनेर वा सिंगमरमर भनेर आँखाले  ठम्याउने ठाउँमा पानीको तलाउ हुन्थ्यो । हामीलाई त त्यो  थाहा भइसकेको थियो र बानी परेका  थियौं तर पहिलोपटक युधिष्ठिरको दरबारको  निरीक्षण र घुम्न गएका दुर्योधनादि जसमा गान्धार नरेश शकुनि दाइ पनि हुनुहुन्थ्यो, उनीहरुलाई पानी भनेर जुत्ता  फुकाल्ने र युवराजहरुको भुईँमा लत्रने पोसाक माथि  सार्ने गर्दा त्यहाँ पानी हुँदैनथ्यो तर पानी छैन भनेर खुरुखुरु हिँड्दा पानीमा परिएको दृश्यले हाम्रो दरबारमा हाँसोको विषय बनेको रहेछ । भन्नेले त केसम्म भने भने स्वयं द्रौपदी र भीमले समेत हाँसो गर्दै जन्मान्धको छोरोले पनि कसरी आँखा देखोस् भने रे । मलाई त लाग्दैन कि द्रौपदीले त्यसो भनी होलिन् ।

भीमले त भन्न पनि सक्थ्यो होला किनभने भीमलाई दुर्योधनादिले दिएको दुःखको कुनै लेखाजोखा नै थिएन तर पनि आफ्नो अतिथिको रुपमा आएको  भाइलाई त्यसै भनेर जेठाजुको समेत खिल्ली उडायो होला भन्ने त अझै लाग्दैन तर  मानसिक तथा भौतिकरुपमा हाम्रो राज्यमाथि हमला गर्ने अठोट त्यही बेलामा भयो होला भन्ने लाग्छ । वास्तवमा त्यो अपमानको कथा आफैँ बनाएको पनि हुनसक्छ दुर्योधन र शकुनि दाइले । शकुनि दाइ अलिकति चिन्तामग्न हुुनुहुन्थ्यो राजसूय यज्ञको सफलतामा किनभने शिशुपाललाई उचाल्नेमा उहाँ पनि हुुनुहुन्थ्यो रे । शिशुपालको अन्त्य र राजसूय यज्ञको बीचमा जुन रहस्य थियो, त्यसलाई बाहिरबाट अर्थ लगाउँदा युधिष्ठिरको यज्ञशालामा नै त्यो घटना भएकोले युधिष्ठिरले त्यसको उत्तरदायित्व लिनु पथ्र्यो किनभने सानीमाको छोरोलाई  मामाको छोराले मारेको थियो , त्यो पनि यज्ञकै विषयमा , अग्रपूजाको पात्रताको विषयमा । इन्द्रप्रस्थबाट प्रस्थान गर्न किन पनि ढिलो भएको थियो भने कुरुवंशले गरेको राजसूय यज्ञको समीक्षा गरिएको थियो र त्यो राजसूय यज्ञलाई अनुपम भनेर मानिएको थियो । एउटा कुराचाहिँ के थाहा थियो भने दुर्योधनले युधिष्ठिरलाई अझै राजाको रुपमा स्वीकार गरेको त थिएन तर कुरुवंशको पहिलो सन्तानको रुपमा भने मान्यता दिएको प्रमाणचाहिँ त्यही यज्ञको प्रारम्भ र अन्त्यले स्पष्ट हुन्थ्यो ।

त्यसपछि लगत्तै तर अचानक निम्तो आयो मनोरञ्जनका लागि हस्तिनापुरले जुवा अर्थात् पासा अर्थात् द्युतक्रीडाका लागि । भर्खरै पितामह, जेठाजु, गुरुजन तथा शकुनि दाइ , कर्ण अनि दुर्योधनादिले सक्रिय सहभागिता जनाएको राजसूय यज्ञको सफलता अनि बराबरी मान्दै धृतराष्ट्रका नाममा राज्य गर्ने दुर्योधनको तर्फबाट समान हैसियतमा युधिष्ठिरसहित पाँचै भाइ र सम्पूर्ण परिवारलाई नै खेल्न र हेर्नका लागि चुलै निम्तो । त्यो निम्तोलाई मान्ने कि नमान्ने भन्ने छलफल लामै भयो । भीमले निम्तोमा खोट देख्यो । राजसूय यज्ञले गर्दा राज्यका महत्वपूर्ण कामहरु गर्न बाँकी रहेकाले अर्जुनले नभ्याउने र यसपटकलाई द्युतक्रीडामा नजान सल्लाह दियो । नकुल त पहिलेदेखि नै दुर्योधनप्रति रुष्ट थियो नै । तर सहदेव भने मुसुमुसु हाँसिरहेको म अहिले पनि झलझली सम्झन्छु । ऊ भविष्यद्रष्टा थियो र सायद उसले यो विवाद जरुरी नभएको यसकारणले सम्झेको थियो कि नियतिले जुन बाटो बनाएको छ, हामी त्यतै जाँदैछौँ भन्ने उसले देखेको थियो । जाने , नजाने कुरामा भन्दा किन बोलाएका हुन् , त्यसमा सतर्कता जरुरी हुन्छ भन्ने कुरामा भने सहदेवको जोड थियो । उसको विचारमा नियतिले डोर्‍याउँदा डोर्‍याउँदै पनि कर्म गर्दा सतर्कता अपनाउन सकियो भने कम क्षतिमा समयलाई धकेल्न सकिने कुरामा उसको विचार अडिएको थियो । अर्थात् राजाको वचनमा नाइँ भन्दा शौर्यता र बुद्धिले काम सम्पादन गर्नुपर्छ भन्ने धारणा अनुसार हस्तिनापुरमा जाने नै निर्णय भयो । सायद द्युतक्रीडामा आएमा के गर्ने र नआएमा के गर्ने भन्ने विषयमा शकुनि दाइको दुवै तयारी थियो ।

शकुनि दाइ द्युतक्रीडाका लागि सिद्धहस्त खेलाडी । उहाँ त्यस्तै पासा बनाउन पनि  सिपालु । चुम्बकीय पासा वा कौडा बनाउन पनि सिपालु । युधिष्ठिरजस्तो अरुलाई अत्यन्त विश्वास गर्ने बानीको जानकारी सबैलाई थियो । भीम, अर्जुन, नकुल र सहदेव अत्यन्त आज्ञाकारी भाइहरु सबैलाई थाहा थियो र अनिवार्यरुपमा महारानी पाञ्चालीको उपस्थितिको निम्तोको विशेषता थियो । मलाई पनि किन हो किन, हस्तिनापुरको माया लाग्ने, किनभने आफू महारानीको रुपमा बेहुली भएर भित्रिएको दरबार थियो र पहिलोपटक कर्णसँग साक्षात्कार गरिएको ठाउँ थियो अधिरथसँगै आएको सूर्य र आफ्नो साझा पुत्रको । तर भनिने चाहिँ अधिरथ र राधाको पुत्र भएकाले सबैले कर्णभन्दा राधेयको नामले जान्दथे । त्यसैले म पनि डोरिएर जाने विचार गरेँ । वास्तवमा मैले त्यो सोचेकी पनि थिइन कि पाण्डवहरुले त्यतैबाट नै वनतर्फ जानु पर्नेछ र म एक निरीह माताको रुपमा हस्तिनापुरमा स्वनिर्वासनमा रहने छु । वास्तवमा नियतिको एउटा जुन लेखान्त हुन्छ, त्यो जसरी पनि सम्पादन हुने रहेछ र कसैले मैले भए त त्यसो हुन दिने थिइँन भन्छ भने त्यो पनि एउटा नियतिको खेला नै मान्नुपर्छ । 

द्युतक्रीडाको चरमोत्कर्ष भनेको चीरहरणमात्र होइन, एकपटक हारेको सम्पत्ति र राज्य फिर्ता गरेर फेरि द्युतक्रीडा खेलाउनु थियो र त्यसपछि हारेकोमा कुनै सुनुवाइ नभएर १२ वर्ष बनबास र १ वर्ष गुप्तबासको दण्ड थियो । राजसूय यज्ञको उपहार यस्तो पाइएको थियो । भनिन्थ्यो, दुर्योधन पानी नभएको जस्तो ठाउँमा पानीमा डुब्न लाग्दा र हिलोमा नदेखेर चिप्लिँदा द्रौपदी तिघ्रा ठटाएर हाँसेकीले दुःशासन जगल्टामा जगल्ट्याउँदै ल्याएको र दुर्योधनले आफ्नो तिघ्रामा बस्न भनेको हो । तर जे भए पनि कुलकी बुहारीलाई बेइज्जत गरी चीरहरण गर्दै हिँसामा उत्रनु भयानक पाप थियो र कुनै पनि अग्रजले केही पनि नबोलेर मौनता देखाउनु पनि कुरुवंशकै इज्जतमा दाग लागेको थियो । आखिर ती र त्यस्तै घटनाले नै महाभारतको युद्ध भएको थियो । यदि ती घटना नभएका हुन्थे भने सायदै महाभारतको युद्ध हुन्थ्यो होला । 

कहिले  त लाग्छ, त्यो हुनै पर्ने थियो र भयो । कहिले लाग्छ, यदि द्युतक्रीडामा नगएर वास्ता नै नगरेको भए सायद हाम्रो परिवारको यो दुर्दशा हुँदैनथ्यो कि ? तर भयो , हुनै पर्ने थियो होला र त भयो । कृष्णलाई जब मैले शान्तिवार्ता भङ्ग गरेर जानका लागि जिरह गरेँ, अनि उसले भन्यो-फुपू, मलाई पनि ती दिनहरु याद छ र कसरी बदला लिनु पर्छ भनेर सोचिरहेको छु । त्यतिमात्र होइन, मेरो जन्म नै धर्मका पक्षमा उभिएर कर्म गर्न र कर्मलाई कार्यान्वयन गर्नका लागि भएको हो । तर म यसरी यसको व्यवस्थापन गर्ने छु कि यसमा यसै हुनुपर्ने थियो भनेर सबैले त्यो युद्धमा सहभागिता जनाउने छन् । अन्तमा दिदी, तपाईँको वंशको जीत हुनेछ तर जुन विध्वंश हुनेछ, त्यसको अहिले तपाइँले कल्पना पनि नगर्नुस् । अनि मलाई लागेको थियो-जे भन्छ , कृष्ण त्यो गरेर देखाउँछ । उसले जे चाहन्छ, त्यो गणितजस्तै हो, स्वयं सिद्ध हुन्छ र नियतिले पहिले नै व्यवस्था गरेर पठाएको जस्तो  लाग्छ । उसले नजानेको केही पनि छैन, नबुझेको केही पनि छैन र थाहा नपाएको केही पनि छैन । कस्तो अद्भूत व्यक्तित्व । अनि मेरो छोरो अर्जुनविना ऊ आफूलाई अपूरो पनि सम्झन्छ । सुभद्राको विवाह र वलरामसँगको कौरव पाण्डव युद्धको परिणामको विवादले पनि कृष्ण अर्जुनको पक्षमा एकोहोरो लागेको पाइन्छ । तर होइन रहेछ, ऊ त धर्मको पक्षमा उभिँदो रहेछ । धर्मको पक्षमा उभिँदा पाण्डवको पक्षजस्तो देखिने रहेछ । 

युद्धमा कतिपय कुरामा छल पनि भएछ । जस्तो पितामहलाई शरशैयामा  सुताउने कुरा होस् कि जयद्रथ बधको कुरा होस् या गुरु द्रोणको हत्याको कुरा होस् या कर्णको वधको कुरा होस् , या दुर्योधनको तिघ्रामा भीमले गदा हानेर हत्या गरेको कुरा होस् , ती सबै हुँदा त्यहाँ छलकपट भएको पाएँ हाम्रै पक्षमा तर त्यसो नहुँदो हो त के परिणाम हुन्थ्यो त युद्धको ? त्यसैले युद्धको कुरा गर्दा त्यसको प्रत्यक्ष परिणाममात्र हेरेर हुँदो रहेनछ, युद्धको परिवेश र त्यसको कारण खोज्दा पनि धर्मको परिपालन कति भएको छ , हेर्नु जरुरी रहेको कृष्णले सधँै सम्झाउँथ्यो ।मलाई युद्धको परिणामका वारेमा सम्झाउँदै कृष्णले भन्दै थियो-फुपू, तपाईँले गर्ने समीक्षामा पनि अब धर्मको परिभाषा आवश्यक छ ।र धर्मको परिभाषालाई नयाँ तरिकाले बुझ्नु जरुरी छ । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...