सडकमा विवेकशील साझा पार्टीको ताण्डव नृत्य !

news

-संजिव कार्की 

होटल–रेस्टुराँ गयो मेनु हेर्‍यो,ओल्टाई-पल्टाई गर्‍यो अनि लास्टमा मःम या चाउमिन ! प्राय चुनावमा नेपाली जनता या मतदाताको रोजाईबारे कुनैबेला यसरी टिप्पणी गरेथे विवेकशील साझाका एक संयोजक रविन्द्र मिश्रले । हुन पनि बहुदल आगमन पश्चात नेपाली जनताले सत्ताको तालाचाबी सुम्पन अर्को भरपर्दो विकल्प पाएनन् । अनि आलोपालो प्रणाली झैँ कि कांग्रेस कि नेपाल कम्युनिस्ट पार्टीको घटकलाई आफ्नो छनौटमा पारे जतिसुकै मन दोमन या बेचैन जिन्दगी भए पनि । कि चाउमिन खाए कि मःम खाएर विकल्प रोजेनन्, खोजेनेन् । तेस्रो विकल्पमा जान हिम्मत पुर्‍याएनन् । बजारमा आएका नयाँ नयाँ परिकारमा नजर दौडाए । भर्खर खुलेका रेस्टुरेन्ट चहार्‍यो तर रोज्यो त्यही मःम चाउमिन । नयाँको स्वाद लिन झस्कियो बारम्बार । तर स्वाद लिन हच्किए । नेपाली जनता र नेपालको राजनीतिको मनोवैज्ञानिक असरले छलांग मार्न सकेन । पुरानै र उही एकै स्वादको पुनरावृति भै रह्यो । जसको कारण सँधै उही अनुहार, उही प्रवृति, उही दुस्चक्रको जाँतोमा घुम्न विवस, एकै प्रकारको सनक र कुशासनको शिकार । बाघले झम्टेपछि भालुको शरणमा गएर चिथोरिए झैँ भएको छ नेपाली जनतालाई पुराना राजनीतिक दलको आवद्दता र आकर्षण ।

नयाँ नयाँ राजनीतिक दलप्रति किन हत्तपत्त जाग्दैन जनताको मोह ? जनतालाई नयाँप्रति किन जागेन भरोषा ? किन पलाएन आशा ? खहरे झैँ आए गए मधेशका क्षत्रीय दलहरु पनि केवल अरु राजनीतिक दलप्रतिको क्षणिक रोषको प्रतिक्रिया मात्र थियो जनताको मधेशवादी दलको पक्षमा भोटिंग पनि । क्षणिक आवेगको प्रतिक्रियात्मक प्रतिसोध । कतै वैकल्पीक राजनीतिक शक्तिको उदय हुन्छ कि भन्ने आशा र थोरै भ्रम अर्को निर्वाचन पछि पूर्णत तोडियो । निकै तामझामका साथ शुरु भएको नयाँ शक्ति पार्टी डा. बाबुराम भट्टराईको हैसियत पनि कांग्रेसको काँध चढेर बल्ल बल्ल आफू जित्नुमै सिमित बन्यो । आज पर्यन्त अरु संगठन मजबूत भएर पार्टी देशब्यापी बनेको खबर कतै छैन । आशाको संचार भएर बाबुराम पुलकित बनेको कहिल्यै देखिएन । स्थानीय चुनावमा विशेषत काठमाडौँको मेयरमा चुनाव लडेकी रन्जु दर्शनाले तहल्का नै मच्चाउन सफल बनिन र उत्शाहजनक मत प्राप्त गरिन । चुनाव हारे पनि विवेकशील पार्टीले आफूलाई स्थापित गर्न र वैकल्पिक शक्तिको दावी गर्न थुप्रै आधार प्रमाण बटुल्यो । नयाँ पार्टीको, सुसंस्कृतिक राजनीति भन्ने नारा र कार्यक्रमहरुमा देखाएको ब्यबस्थापकीय चुस्तता र नविन तर आकर्षक शैली अनि रचनात्मक बिरोध र युवा जमातको नेतृत्वले केहीहदसम्म मोन्छेहरुलाई लोभ्यायो । डाक्टर गोविन्द केसीको सत्याग्रहमा सक्रियता होस् या भूकम्प जाँदाको स्थितिमा तत्कालिन विवेकशील दलले आफ्नो बुता र फैलावाट भन्दा बढी सक्रिय कार्य सम्पादन गरेको तथ्य सबैको आँखा अघि ताजै छ ।

जसको पुरस्कार रन्जुमार्फत विवेकशील दलले प्राप्त गरेको हो । जित्नु एउटा कुरा र प्राविधिक पक्ष भए पनि राजनीतिमा नारा अनुमोदन हुनु, स्थापित हुने मौका पाउनु भावी राजनीतिको स्पेस बढ्नुको संकेत र लक्षण हो । विवेकशील दलले पनि छोटो समयमै पनि काठमाडौँ सहरको मेयरमा एउटी फुच्ची उठाएर स्थापित ठूला राजनीतिक पार्टीको लागि चुनौतिको पहाड नै खडा गरिदियो र कांग्रेस जस्तो रैथाने परम्परागत शक्तिलाई हार चखाउन पर्याप्त पनि बन्यो विवेकशीलको महानगर प्रमुखमा उमेद्वारी । चुनाव हारेर पनि विवेकशीलले राजनीतिमा आफुलाई स्थापित गर्ने बाटो बनायो । धेरैले आशाको विस्फारित लोचनले विवेकशील दललाई हेर्ने माध्यम बन्यो स्थानीय चुनाव । भलै कतै एक सिट पनि स्थानीय निकायको चुनावमा देशभर जित्न सकेन तर तरंग उठायो, नयाँ पुस्तालाई राजनीतिमा सोच्न बाध्य बनायो । रविन्द्र मिश्रको साझा पार्टी पनि वैकल्पिक शक्तिको सामर्थ्य उठाउन सक्छु भनेर राजनीतिमा आएको थियो । रविन्द्र मिश्रको व्यक्तिगत प्रभाव र पहुच अनि केही पूर्व प्रशासकहरुको हातेमालोले साझा पार्टी पनि स्थानीय चुनाबमा कामनापामा  मेयरको प्रतिस्पर्धामा चौथो भोट प्राप्त गरेर आफ्नो राष्ट्रिय राजनीतिमा भूमिका खोज्न थालेको थियो । केही छल केही बल केही करका बीच विवेकशील पार्टी र साझा पार्टीबीच पार्टी एकीकरण पनि भयो । तव जल्दो बल्दो र उदाउँदो वैकल्पिक शक्तिको रुपमा धेरै राजनीतिका पण्डितहरुले यी दुईको मिलन पश्चात बनेको विवेकशील साझापार्टीलाई हेर्न थाले बुझ्न थाले । सुसंगत र सुसंस्कृति सँम्पन्न पार्टी निर्माणको अभियानमा धेरै युवा लागिपरे समर्पित बने । स्वदेश र विदेशमा बस्ने धेरै युवायुवतीको आकर्षण यसले आफूतिर खिच्यो पनि । पछिल्लो चरणको संसदीय चुनावमा मात्रै काठमाडौंबाट सम्मान जनक मत ल्याएर देशभरमा तीनजना प्रदेश सभा आफ्नो पोल्टोमा पार्न सक्यो । चुनावमा जुन तरंग र राष्ट्रिय रुपमा जुन चर्चा पायो त्यो चर्चा केवल चुनावका लागि मात्रै भयो ।

चुनाव सकेर एकवर्ष समय व्यतित हुँदासम्म संगठन जहाँ पुग्नु पर्ने हो त्यहाँ पुग्न सकेन । उर्जा सकियो या सेलायो । दुई पार्टी मर्ज भएपछि जुन तागत र गति देखिनु पर्ने हो त्यो पटक्कै देखिएन । यो बीच राष्ट्रिय राजनीतिमा  विवेकशील पार्टी छ है भन्ने कुनै तरंग पैदा गर्ने कार्यक्रम भएको राजनीतिलाई नयाँ दिशा दिने विचार प्रबाह भएको सुनिएन या बामपन्थी  सत्ताको राप तापले ओझेलमा पर्‍यो । भर्खरै पोखरामा सम्पन्न एउटा कार्यक्रममा भने गगन थापा र नारायणकाजी श्रेष्ठसँग प्रभावकारी प्रस्तुति दिन भ्याए साझा विवेकशिलका संयोजक रविन्द्र मिश्रले ।

पार्टीहरुमा विवाद, विचार मन्थन र बहस सामान्य भए पनि , पार्टी जीवन्तताको लागि खुलेर बहस अनिवार्य शर्त सम्झिए पनि हाम्रो देशमा पार्टीहरुमा जुन र जस्तो विवाद देखिन्छ सतहमा आउँछ त्यसले राम्रो संकेत गरेको उदाहरण छैन । विवाद भनेको तुष साँध्ने र बदला लिने अभ्यासको रुपमा बुझिन्छ । सैद्धान्तिक बहस भन्दा व्यक्ति केन्द्रित, आत्मकेन्द्रित स्वार्थमा सैद्धान्तिक लिपिस्टिक दलेर गरिने बहसले प्राथमिकता पाएको हुन्छ । अरु ठुला र पुराना पार्टीको आन्तरिक लोकतन्त्रको नाममा जस्तो भिडन्त देखिन्छ त्यसबाट जनता वाक्क दिक्क र आहत छन् । नयाँ र भर्खरै बन्दै गरेको विवेकशील पार्टीको केही दिनदेखि हिजोआजको बहस हेर्न लाग्यो भने त्यो भन्दा विल्कुल फरक नदेखिनु नेपाली जनता र विवेकशील साझा दुवैको लागि हार्मफुल हो भनेर बुझ्दा के अनर्थ होला र ? नेपाली उखान छ–‘आश गरेको केटो जेठाजु पर्‍यो’ भनेर सम्झाए झैँ बुझिन्छ । सार्वजनिक मिडियामा चिठी लेखालेख, स्टाटसको जुहारीबाद प्रतिवाद, घोचपेच, छेडछाड, कटाक्षले भरिएको छ । अनि संयोजक उज्जल थापाको असन्तुष्टी भनेर जे बाहिर आएको छ त्यो पुराना संसदीय दलको चरित्र र निरन्तरता भन्दा थोरै पनि फरक छैन । जुँगाको लडाई नै गर्नु थियो त किन मिलेको नाटक मन्चन गर्नुभयो ? सुसंस्कृत राजनीतिको कुरा कुन दुला पस्यो उज्जल थापा ज्यू ? अरुभन्दा भिन्न, बेगल र फरक मान्यता बोक्ने उदाहरण बन्ने नयाँ परिपाटी अंगाल्ने प्रतिवद्धता किन लुप्त भयो ? नयाँले नयाँपन दिन नसके पछि, जे भए पनि थाह पाएकै पुरानै स्वाद जनताले रोजे भनेर अब पनि रोइलो गर्न सुहाउँछ र रविन्द्र मिश्र ज्यू ?

राजनीतिक पार्टी बन्न टिक्न र बिक्न थुप्रै समय लाग्छ । थुप्रै परीक्षाको सामना गर्नुपर्छ । थुप्रै घुम्ती र मोड उक्लने ओर्लने गर्नुपर्छ । तर जति हिजोका दिनहरुमा पार्टी बन्न असजिलो थियो आज त्यति पर्दैन । तर पनि विवेकशील र साझा पार्टीले आफुहरुले भनेका बोलेका, लेखेका कुरालाई आत्मसाथ गरेर पार्टी चलाउँदै छन् या दिग्भ्रमित भएर रहेका छन् जनताको मूल प्रश्न र चासो यहि हो । अरु पार्टीहरु बिग्रे, भद्रगोल बने, परिपाटी र पद्दती चलेनन्, स्वार्थ केन्द्रित बने, राजनीतिलाई पेशा बनाए सेवा र धर्म सम्झेनन । यो माटोको चन्दन अस्वीकार गरे भनेर नयाँप्रति जनताको चासो गएको हो तर नयाँ पनि उही तालमा देखिन लागेपछि जनता निराश हुने कि ? आशावादी बन्ने ? जबाफ यसकारण पनि चाहिन्छ तपाईहरुले झन्डै पाँच लाख मत प्राप्त गर्नु भएको छ । त्यो आशा विश्वास अनि बिरक्तीको मत हो । जसको सम्मान गर्न पनि सार्वजनिक रुपमा उठेका प्रश्नको जबाफ पार्टीभित्र होइन बाहिर दिएर सुसंस्कृतिक राजनीतिक नबिर्सेको आभाष दिलाउनुस ।

२१ औं शताब्दी समय सापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुनेछ ? ’ भनेर उज्जल थापाले एउटा लेख लेखेर आधार प्रस्तुत गर्नु भएको थियो जसको स्मरण गराउनु सान्दर्भिक लाग्यो । वैकल्पिक शक्ति बन्ने, टिक्ने अनि नेपाली भनेर होइन बनेर देखाउने प्रतिबद्धता मन नपर्ने कमै थिए होला । मन पराउने सबैले भोट दिएनन होला तर नारा नीति र प्रतिबद्धता रुचाए । 

१. परिणाममुखी      

२. माध्यम मार्गी        

३. नरमपन्थी                                 

४. समतामुलक समृद्धि                      

५.प्रणालीमा आधारित                      

६. आत्मनिर्भर कार्यकर्ता रहेको

७. मूल्य मान्यतामा अडिग

८. नेतृत्व विकास गर्ने पद्धति

९. पारदर्शी र योग्यता

१०. नियमित नेतृत्व फेर बदली

११. युवा केन्द्रित

१२. म्याराथन दौडाह

यति सुन्दर आकर्षक नारा कार्ययोजना र आदर्श लक्ष्य पुरा गर्न आज दुई पार्टी एक भएपछि के ले रोक्यो छेक्यो ? तपाईहरुको पार्टी कार्य सम्पादन मूल्यांकन आ–आफ्नो हिसाबमा त राम्रै नम्बर दिएर राख्नु भएको होला तर जनताको मूल्यांकनमा राम्रो नम्बर प्राप्त छैन । जसको प्रमाण हो तपाईहरुको बिबाद छताछुल्ल भएर सडक पेटीमा पोखिनु । व्यक्तिका क्षमता फरक फरक हुन सक्छन स्वभाव भिन्दा भिन्दै हुन सक्छन । शैली अलग अलग हुन् सक्छन तर नेतृत्वको गुण भनेको नै फरक मनोविज्ञान भएकाहरुलाई पनि संगै लिएर हिड्ने खुवी हुनु हो ।

तर एकता गरेको यति छोटो समयमै दुवै संयोजक पूर्व र पश्चिम मुख फर्काउनु र आरोप प्रत्यारोपमा उत्रेर जग हसाउँनु अयोग्य देखिनुको परिणाम नहोला भनेर भन्दा अन्याय होला र ? माथिका १२ आधारमा पार्टी चलाउन कुन शक्तिले बाधा गर्‍यो ? कुन स्वार्थको चंगुलमा तपाईहरु पर्नु भो ? पार्टीमा मान्छे अट्ने र समेटने भन्दा घचेटेर निकाल्ने, विकर्षण पैदा गर्ने काम कसले गर्‍यो ? नेतृत्वमा रहेपछि गुनासो कसलाई पोख्ने ? आ–आफ्नो क्षमता र दक्षता नेतृत्व भित्र पर्छ कि पर्दैन ? कुहिराको काग बनेर गन्तब्य भुलेर आरोप प्रत्यारोप गरेर सडकमा असन्तुष्टी पोख्ने समय हो कि चुस्त–दुरुस्त ब्यबस्थापन गरेर बिबादको सामाधान गर्ने ? अहिले नै यति छिटै सानो र आफ्नो अयोग्यता छरपस्ट गर्नेलाई सैद्धान्तिक विवाद भनेर जनताले विश्वास गर्छन र ? पुरानै जस्तो भएपछि किन रोज्नु नयाँ ? नयाँ मूल्य मान्यता, नयाँ बिधि र पद्दति भनेको क्षुद्र र खुद्रा कुरा बाहिर ल्याएर मजाकको पात्र बन्ने बनाउने प्रणाली हो सर ? उज्जल थापा र रविन्द्र मिश्र ज्यू बिबेकशील साझा पार्टीलाई तपाईहरुको स्वार्थ टक्कराउने थलो बनाएर यस पार्टीका नेता कार्यकर्ताको भविष्य अन्योल र भाग्य बन्धक नबनाउनुस । छिटो र तुष रहितको समाधान खोज्नुस । निर्वकिल्प विकल्प हुन सक्तैन सम्झनुस जनता कसैका बधुवा बन्न मन पराउदैनन । जनतालाई सुनौला सपना देखाएर पुनः ती सपनालाई परिवार नियोजन गर्ने हक तपाईहरुलाई छैन महाशय ।  पारदर्शिताको नाममा सडकमा ताण्डव नृत्य गरेर महाभूल गर्दै हुनुहुन्छ महोदय ?

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...