मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको दायित्वः प्रधानमन्त्री

news

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको बताएका छन् । उनले त्यसको लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको बताए ।

सरकार अहिले यस आर्थिक बर्षको सरकारको नीति÷कार्यक्रम र बजेट कार्यान्वयनको अर्धबार्षिक समीक्षाको क्रममा रहेको उल्लेख गर्दै उनले आफ्नो काममा सफल वा असफल पनि कामकै कारणले हुने उल्लेख गरे । ‘के हुँदा सफल र के हुँदा असफल भएको ठान्ने, यसलाई जाँच्ने कसी वैज्ञानिक विधिबाट तय गरिएको सूचक हो,’ उनले भने, ‘सूचकहरुकै आधारमा नीति÷कार्यक्रम तथा बजेटको कार्यान्वन सहि छ या गलत, त्यसको टुङ्गो लाग्ने हो ।’

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको बताए ।

यसैगरी, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको, गतवर्षको तुलनामा मूल्य बृद्धि घटेको, गतबर्षको मूल्य बृद्धि ४.२ प्रतिशत रहेकोमा यस वर्ष घटेर ३.७ प्रतिशत मात्र रहेको उनले जिकिर गरे ।

प्रधानमन्त्रीले यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना देख्नु अपराध नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनको जिम्मा पाएकोले उक्त भिजन लागू गर्ने प्रयत्न गर्नु आफ्नो कर्तव्य भएको बताए ।

‘पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरेको छु ।’ उनले भने, ‘सरकार के गर्दैछ, पत्तो भएन– प्रश्न उठाइयो। के गर्दैछ भन्ने जवाफ दिन्छु । अनि प्रतिप्रश्न आउँछ– प्रधानमन्त्री किन बोलेको ? बोल्न नहुने रहेछ क्यारे भन्ने ठानेर चुप रहन्छु, प्रश्न उठान्छ– खै जवाफ दिएको ? केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खै काम गरेको ?’

प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा सहभागी हुन प्रतिपक्षलाई पनि आह्वान गर्दै त्यसका लागि जस्तोसुकै निर्णय गर्न सरकार तयार रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...