लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

यस्तो पो होस उपहार

बुधबार, २२ मंसिर, २०७३ मा प्रकाशित, 3189 पटक हेरिएको

माया कामको खोजिबाट फर्किएको तीन दिन वितिसकेको थियो । नयाँ कामको खोजीमा स्थानीय एजेन्सीमा पनि कत्ति धाउनु ? भर्खर मात्र ऊ पनि एजेन्सीबाट नै फर्किएकी हो । शुक्रबार र शनिबार सबैलाई बिदा हुने हुनाले ती दिनहरूमा सय जनाजति मानिसको भीड हुने डेरामा यतिखेर ऊ मात्र एक्ली छ । काम नहुनेहरू मात्र अरू दिन पनि त्यो डेरामा आएर बस्नुपर्ने हुन्थ्यो । त्यसैले ऊ मात्र डेरामा थिई । एक्लै भएकीले आज उसलाई भात खान पनि मन लागेन ।

-सरिता अर्याल

माया कामको खोजिबाट फर्किएको तीन दिन वितिसकेको थियो । नयाँ कामको खोजीमा स्थानीय एजेन्सीमा पनि कत्ति धाउनु ? भर्खर मात्र ऊ पनि एजेन्सीबाट नै फर्किएकी हो । शुक्रबार र शनिबार सबैलाई बिदा हुने हुनाले ती दिनहरूमा सय जनाजति मानिसको भीड हुने डेरामा यतिखेर ऊ मात्र एक्ली छ । काम नहुनेहरू मात्र अरू दिन पनि त्यो डेरामा आएर बस्नुपर्ने हुन्थ्यो । त्यसैले ऊ मात्र डेरामा थिई । एक्लै भएकीले आज उसलाई भात खान पनि मन लागेन । घरभित्र त एसी छ, बाहिर भएको घाम र तालु फुट्ने गर्मी भएकाले उसलाई कतै निस्कन पनि मन लागेन । पेट भर्नका लागि पाउरोटी र चिया खाएर ऊ बिछ्यौनामा पल्टिएर एउटा किताब पल्टाएर पढ्न थाली ।

पल्टिएकी मात्र थिइ, मूलढोका बेस्कन ढकढकियो । यो मध्यदिनमा को आयो होला भन्ने सोच्दै ढोका खोल्न गई । ढोका खोल्नासाथ उसकोे शरीर नै थर्र्र काम्यो । ऊ तर्सेर दुई पाइला पछि सर्न पुगी । ढोकाको अगाडि दुईसय किलो जतिको देख्दैमा डरलाग्दो दन्त्यकथाको राक्षसजस्तो कालो अफ्रिकन थियो । ओहो, मानिस यतिसम्म नराम्रा पनि हुँदा रहेछन् । यस्तै मानिसलाई नै राक्षस भन्ने होला ! त्यो कालेलाई देख्दा उसलाई धेरै डर लाग्नुको कारण उसको नाङ्गो जीउ पनि हो । बोसोले थलथल भएको कालो भूँडी । उफ्, कस्तो घिनलाग्दो । उसले एउटा हाफपाइन्ट मात्र लगाएको थियो । त्यो कालेको छेउमा ढोकाको आडमा एक जना अर्को इजरायली केटो पनि रहेछ, जसलाई उसले पछि मात्र देखेकी थिई । ऊ बीसबाइस वर्ष जतिको, दुब्लो पातलो केटो थियो । मैलो सर्ट र जिन्स लगाएको त्यो केटोले जिन्सकै एउटा ब्याग पनि बोकेको थियो । त्यो फुच्चे केटो र काले हिब्रूमा कुरा गरिरहेका थिए । माया इजरायल आएकी त तीनचार महिना वितिसकेको थियो । तर पनि त्यो बेलासम्म उसलाई हिब्रूभाषा बोल्न पनि आउँदैनथियो । अरूले बोलेको पनि ऊ बुझ्दिन थिई । त्यसैले काले र त्यो केटोले के कुरा गरिरहेका छन् भन्ने उसले कत्ति पनि बुझिन । मायालाई देखेपछि फुच्चेकोे अनुहारमा एक प्रकारको चमक देखियो । फुच्चेले मायातिर फर्किएर केके भन्यो । मायाले केही नबुझेकाले ऊ टवाल्ल परी । उसले हिब्रू नबुझेको अफ्रिकनले थाहा पायो होला । उसले मायालाई इसाराले ढोका बन्द गरेर बस भन्यो । मायाले कालेको मौन आदेशको पालना गर्दै ढोका बन्द गरी । बिस्तरामा आएर फेरि किताब पल्टाई ।

दश मिनेटपछाडि फेरि ढोका ढकढकियो । उसलाई त्यही कालेले फेरि ढोका ढकढक्याए होला भन्ने लाग्यो । के जिस्काइरहेका होलान् ? अघि ढोका खोल्न र बन्द गर्न लगाए, अहिले फेरि ढङ्ढङ् । मायालाई बिस्तराबाट उठ्नै मन लागेन । त्यसैले ढोका खोल्नुभन्दा पहिले को हो ? भनेर भित्रैबाट कराई । बाहिरबाट आवाज आयो-पुलिस । ओहो, पुलिस किन आयो ? उसले त पुलिस नै घरमा आउनुपर्ने केही नराम्रो काम त गरेकी थिइन । तैपनि ऊ डराई । उसले ढोका खोली, बाहिर त्यै अफ्रिकन र पुलिस कुरा गरिरहेका थिए । फुच्चे त्यहाँ थिएन । पुलिसले उसतिर हेरेर भन्यो—“तिमीले कसैलाई देख्यौ यहाँ केही समय अगाडि ?” मायाले जवाफ नै दिन नपाई अफ्रिकनले भन्यो-“उनले ढोका खोलिनन् मैले मात्र देखेको हो” । काले र पुलिसले यसपल्ट अङ्ग्रेजीमा बोलेकाले मायालाई बुझ्न गाह्रो भएन । अफ्रिकनको कुरा सुनिसकेपछि पुलिसले उसतिर हेर्दै भन्यो–“गूड, कसैले ढोका ढकढकायो भने सोधेर चिनेपछि मात्र खोल्नु है ।” पुलिस अफ्रिकनसित हात मिलाएर फर्कियो । ढोका नखोल्नु किन भनेको होला ? के कुरा भएछ ? किन सोध्यो पुलिसले ? मायाको मनमा अनेक प्रश्नहरू एकैसाथ आए । तर ऊ कसलाई सोधोस् ? काले देख्दैमा डरलाग्दो छ, त्यसैले सोध्न आँट गर्न पनि सकिन । ढोका लगाएर तुरुन्त भित्र पस्न पनि सकिन–के गरूँगरूँ भयो । आखिर पुलिस किन आयो ? कालेले उसलाई किन ढोका खोलिनन भन्यो ? एकपल्ट त उसले ढोका खोलेकै थिई तर कालेले किन भनेर सोध्न पनि दिएन ? मायाले मन अलि दह्रो बनाई । बाहिरी रूपबाट कालेसित नडराई सोध्ने भनेर आँट गरी । पुलिस फर्किएपछि माया र अफ्रिकनका बीचमा मुस्कानको अभिवादन भयो । मायाको मनमा कौतुहल थियो । त्यसैले मायाले नै सोधी, के भएको हो ? योपल्ट कालेले सेता मोतीका दानाजस्ता दाँत देखाएर हाँस्दै भन्यो-त्यो केटो जो पहिलोपल्ट आएको थियो चोर रहेछ । चोरी गरेर भाग्न लाग्दा पुलिस पछि लागेकाले लुक्नका लागि हाम्रो घरभित्र पसेको रहेछ । कालेले कोठामा पस्न नदिए पछि केटोले नै मायाको ढोका ढकढकाएको रहेछ । उसले पनि ढोका लगाएपछि फुच्चे फर्किइहालेछ । पुलिस त्यसैको खोजिमा आएको रहेछ । ए कुरा त त्यै केटाको रहेछ, बेकार माया डराई मात्र ।

त्यति कुरा भैसकेपछि अफ्रिकनले मायालाई सोध्यो–“इन्डियन ?”उसले मुस्कुराउँदै जवाफ दिई “नो नेपाली ।” मायाको जवाफ सुन्नासाथ उसले जवाफ फर्काइहाल्यो-“आई एम प्रनोन फ्रम अफ्रिका । बट नाउ आई एम इजरायली सिटिजन ।” उसकोे र मायाको गफ आ–आफ्नो ढोका अगाडि उभिएर नै सुरु भयो । केहीबेर उभिएर गफ गरेपछि प्रनोनले मायालाई कफी चियाको निम्तो दियो । मायाले पर्दैन भने तापनि “म चिया बनाउँछु, तिमी तिम्रो ढोकामा ताल्चा लगाएर आऊ ल” भनेर आफ्नो कोठामा पस्यो । मायालाई अप्ठ्यारो पर्‍यो । ऊ अब अलमलमा परी । के गर्ने के नगर्ने । केहीबेर सोचेर ऊ चियाको निम्ता स्विकार्दै आफ्नो कोठामा ताल्चा मारेर प्रनोनको कोठातिर पसी ।

माया मूलढोकाबाट पस्नासाथ उसले प्रनोनको फ्ल्याटमा रहेका तीनवटा कोठा सबै देखी । मूलढोका मात्र लगाइएको थियो । भित्री कोठाका ढोकाहरू सबै खुल्लै थिए । उसका तीनवटै कोठा लथालिङ्ग थिए । सबै कोठा नयाँ र पुराना कम्प्युटर, टिभी, फोनसेटहरू, रेडियो र घडीजस्ता सामानले भरिएका थिए । त्यसमाथि जताततै छरिएका उसका फोहोर कपडाहरूले कोठालाई भँडारकोठाको रूप दिइरहेका थिए । प्रनोनको कोठा हेर्दै लाग्दथ्यो-यो घरमा आइमाई बस्नु त के पसेकी पनि छैन होला । इलेक्ट्रोनिक सामानले भरिएका कोठाहरूको हालत हेर्दा प्रनोन इलेक्ट्रिसियन रहेछ भनेर जान्न मायालाई कत्ति पनि बेर लागेन । प्रनोनले चिया र बिस्कुटले मायाको स्वागत गरेको थियो । चिया पिउँदै उनीहरू गफ गर्न थाले । प्रनोन मायाले सोचेजस्तो इलेक्ट्रिसियन होइन रहेछ, ऊ त होटलको शेफ पो रहेछ ।

मायालाई कम्प्युटर चलाउन आउँथ्यो । ऊ त्यहाँ पनि बेलाबेलामा साइबरमा गएर आफ्ना मेलहरू हेर्दथी । कम्प्युटर देखेपछि उसकोे मनमा के लागेर हो, टेबुलमा राखेको कम्प्युटर देखाउँदै सोधी–“इन्टरनेट छ ?” प्रनोनले घुम्रिएको कपालले गर्दा झन् ठूलो देखिएको टाउको बिस्तारै हल्लायो, छ । उसले मायालाई भन्यो–“तिमीलाई इन्टरनेट हेर्नुपर्‍यो भने आएर हेरे हुन्छ । साइबर गएर पैसा खर्च गरिरहनु पर्दैन । काम नपाउन्जेलसम्म, म काममा गएको बेला दिउँसो पनि आएर कम्प्युटर चलाउन र टिभी हेर्न सक्छ्यौ ।” उसले मायालाई मूलढोकाको चाबी दियो । माया छक्क परी । चिनजान गरेर बोलेको एक घन्टा पनि भएको छैन, किन यो मान्छेले साँचो दियो ? कसरी गरेको होला यत्रो विश्वास ? अन्जान मानिसले साँचो दिनुमा उसकोे कुनै नराम्रो नियत त छैन ? मायाको मनमा यस्ता धेरै प्रश्नहरू एकसाथ नै उठे । उसलाई लाग्यो साँचो लिनु हुँदैन् । विदेशमा केही भइहाल्यो भने ? भोभो लिनु त हुँदै–हुँदैन् । मायाको मनले साँचो नलिने सल्लाह दिए पछि उसले भनी-“भोभो पर्दैन, मलाई इन्टरनेट हेर्नुपर्‍यो भने म तिमी भएको बेलामा आएर हेरुँला नि ।”

“होइन होइन तिमी डराएजस्ती छ्यौ । मसित नडराऊ, म हेर्दा नराम्रो भएपनि मेरो मन सफा छ । मेरो उद्देश्य तिमीले दुःख गरेर कमाएको पैसा साइबरमा खर्च गर्नु नपरोस् भन्ने मात्र हो ।” प्रनोनको कुरा सुनेपछि मायाको कौतुहलतामा केही कमी त आयो तर पनि साँचो ! उसलाई काम नभएको बेलामा कम्प्युटरमा चलाउन पाए त दिन पनि कट्ने, राम्रै हुने थियो भन्ने पनि लागिरहेको थियो । जे होलाहोला दिउँसो प्रनोन काममा गएको बेलामा मात्र आएर हेरे त भैहाल्छ नि भन्ने सोचाइ बनाएर मायाले प्रनोनसित साँचो लिई र प्रनोनलाई धन्यवाद दिँदै आफ्नो कोठातिर लागि ।

भोलिपल्ट खाना खाएर माया फेरि लागी कामको खोजीमा एजेन्सीतर्फ । धेरै एजेन्सीमा दौडिएपछि बल्ल एक ठाउँमा उसले काम पाउने छनक पाई । एजेन्सीले तीनदिन पछि आउने तारिख दिएपछि झिनो आशा लिएर ऊ घर फर्किई । घर आइपुगेपछि प्रनोनको कोठा अगाडि पुगेर ऊ टक्क अडिई । कोठामा पनि उसकोे कुनै खास काम थिएन । प्रनोनको कोठामा पस्न पनि उसलाई डर लागिरहेको थियो । त्यो समयमा प्रनोन त काममा गएको थियो । उसकोे कोठामा ताला लागिरहेकाले अरू कोही हुने चान्स पनि भएन । त्यसैले हिम्मत गरेर उसले आफ्नो कोठाभन्दा पहिले प्रनोनको कोठा नै खोली । तै पनि उसकोे मनमा कताकता डर त थियो नै । सबै कोठा घुमेर हेरी । कोही थिएन, ताल्चा लागेको कोठामा कोही हुुने कुरा पनि त भएन, तैपनि मायाको मनको डर । उसले मूल ढोकामा भित्रबाट ताल्चा मारी र सिधै गएर बसी कम्प्युटरको अगाडि । ऊ कम्प्युटर खोलेर इन्टरनेटमा डुबुल्की मार्न थालेकी मात्र के थिई, समय गएको त पत्तै पाइनछ । प्रनोन आएर बाहिरबाट ढोका खोल्दा पो साँझ परेको थाहा पाई । ऊ जानलाई उठेकी मात्र के थिई, प्रनोनले केहीबेर बस्न भन्यो र अर्को कोठामा पस्यो । प्रनोनको हातमा एउटा झोला थियो । अर्को कोठामा लुगा फेरेर ऊ निस्कियो । उसले अहिले पनि हातमा झोला बोकेकै थियो ।

ऊ मायाको अगाडि आएर बस्यो । प्रनोनले उसकोे होटलबाट खानेकुराहरू लिएर आएको रहेछ । त्यही खानका लागि उसले मायालाई रोकेको रहेछ । मायाले पनि खाजा खाएकी थिइन । तर उसलाई प्रनोनले ल्याएको खानेकुरा खान भने घिन लाग्यो । तर उसले सम्झेर ल्याएको खाजा नखानु पनि कसरी ? त्यो कालो मानिस कालो हात-छिः–छिः, कसरी खानू ? नखाने भन्ने पनि उससित कुनै बहाना भएन । त्यसैले उसले खाजाका लागि नाइँ भन्न सकिन । दुवैले गफ गर्दै प्रनोनले ल्याएका तारेका कुखुराको साँप्रा, एक प्रकारको पाउरोटी र ग्रीन सलाद खाए । मायाले यसबीचमा प्रनोनका बारेमा धेरै कुरा थाहा पाई । ऊ इजरायली केटीसित विवाह गरेर त्यहाँको नागरिक भएको रहेछ । दुई सन्तानको बाबु भैसकेपछि श्रीमतीसित पारपाचुके गरेको रहेछ । कोठाभरि इलेक्ट्रोनिक सामानहरू फिँजाएर बनाउँदै बसेको प्रनोनले त तीन कक्षासम्म मात्र पढेको रहेछ । मायाको मनमा जिज्ञासा उठिहाल्यो र सोधिहाली–“अनि तिमी साक्षर मात्र भएको मान्छे इलेक्ट्रिसियन कसरी भयौ त ?”

प्रनोनकी श्रीमती पढेलेखेकी महिला थिइ रे । उ सरकारी अफिसमा काम गर्दथी रे । उसले घरमा एउटा कम्प्युटर किनेर ल्याइछ । प्रनोनले त्यो कम्प्युटर चलाएछ । प्रनोनले कम्प्युटर चलाइरहेको देखेर श्रीमती उससित रिसाइछ र दुर्वचन पनि बोलिछ । कम्प्युटर चलाएको निहुँले उठेको झगडाले ठूलो रूप लिएछ । जसको नतिजा–प्रेमविवाहबाट सुरु भएको उनीहरूको दाम्पत्य जीवनको अन्त्य पारपाचुकेबाट भएको रहेछ । कम्प्युटर के हो यस्तो चिज जसले मेरो घर, श्रीमती, बच्चा, सबैलाई मैले गुमाउनुपर्‍यो भनेर उसलाई ज्यादै नरमाइलो लाग्यो रे । अनि उसले चोर बजारमा गएर दुईवटा बिग्रिएका कम्प्युटर किनेर ल्याएछ । दुवैका पाटपुर्जा खोलेर बनाउँदै गएछ । दुईवटा कम्प्युटरका सामान जोडेर उसले एउटा कम्प्युटर बनाएछ । कम्प्युटर चलाउँदा बिग्रन्छ भनेर छुन नदिएको निहुँबाट पारपाचुकेमा पुगेको प्रनोनले बिग्रिएको कम्प्युटर नै बनाइदिएछ । “त्यो मेरो जिन्दगी कै पहिलो सफलता लागेको थियो मलाई ।” प्रनोनले आँखाभरि आसु पार्दै मायालाई सुनाएको थियो । एउटा कम्प्युटर बनाएर चलाएपछि उसमा हौसला बढेछ । उसले बिग्रिएका कम्प्युटर ल्याउँदै बनाउँदै बेच्न थालेछ । दुई कम्प्युटरबाट एक कम्पुटर राम्रो बनाएर इलेक्ट्रोनिक दुनियाँमा हात हालेको प्रनोन बिस्तारै टिभी, रेडियो, मोबाइल, घडी सबै बनाउन सक्ने भएछ । “बिग्रेका सामान बनाइदिएर एकातिर मेरो आम्दानीको स्रोत बढ्यो भने म यो दुनीयाँमा पनि परिचित हुँदै गएँ । यसबाट राम्रो आम्दानी भएपनि मैले मेरो पुरानो पेसा छोडेको छैन ।”–प्रनोनले मुस्कुराउँदै सुनायो मायालाई ।

पुरुषको सफलतामा महिलाको ठूलो हात हुन्छ भन्छन् । प्रनोनको सफलतामा पनि उसकी श्रीमतीकै हात रहेछ । तर कस्तो हात हो ! अलि उल्टै परेजस्तो । श्रीमतीकै कारणले ऊ पनि इलेक्ट्रिसियन त बन्यो नि ! तीनदिन पछि माया फेरि पुगी एजेन्सीमा । हिब्रू मात्र बोल्न वा बुझ्न सक्ने हुँदी हो त उसलाई काम पाउन कुनै गाह्रो थिएन । भाषाको समस्याले गर्दा उसलाई काम पाउन गाह्रो भइरहेको थियो । तैपनि एजेन्सीले उसलाई काम पनि खोजिदियो–उसकोे चाहना अनुरूप अङ्ग्रेजी बोल्ने परिवारमा । काम गर्न जानुपर्ने ठाउँको ठेगाना र फोन नम्बर दिएर एजेन्सीले मायालाई भन्यो–“तिम्रो इन्टरभ्यु लिने भनेका छन्, तिमी कहिले जान्छ्यौ ? भन, म फोन गरिदिन्छु ।” मायाले एजेन्सीले दिएको कागज हेरी, त्यसमा लेखिएको ठाउँको त यसअघि उसले नाम पनि सुनेकी थिइन । प्रनोनले सहायता गर्ला कि भन्ने सोचेर भोलिपल्ट बिहान मात्र जाने बताई उसले एजेन्सीको मानिसलाई । त्यो मानिसले त्यहीँबाट फोन गरिदियो । ऊ घर फर्किई । घर आएर फेरि कम्प्युटरकै अगाडि पुगी । त्यो दिन प्रनोन दिउँसै घर फर्कियो ।

“किन चाँडो आएको कामबाट ? के भयो ?”— मायाले प्रश्न गरी ।
“काम छोडिदिएँ आजबाट ।”
“ओहो, के भयो ? किन त ?”
“साहुसित झगडा भयो । म जस्तो पुरानो कामदारको पनि विश्वास गरेन उसले । जहाँ विश्वास हुँदैन्, त्यहाँ काम गर्न गाह्रो हुन्छ, त्यसैले छोडिदिएँ ।” “तिम्रो काम के भयो त ?” प्रनोनले प्रश्न गर्‍यो । मायाले प्रनोनलाई एजेन्सीले दिएको कागज देखाउँदै भनी- “मलाई भोलि यो ठेगानामा जानु छ । तर मलाई थाहा छैन, कहाँ हो कसरी जाने हो ? के तिमी मलाई पुर्‍याइदिन सक्छौ ?” प्रनोनले किन सोधेकी होला जस्तो गर्‍यो र मुस्कुरायो मात्र, केही जवाफ दिएन ।

भोलिपल्ट उसैले मायालाई पुर्‍याइदियो इन्टरभ्यू दिनुपर्ने घरमा । बीस मिनेटजतिको अन्तर्वार्ता पछि उसले काम पाउने भई । काम थियो बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म । उसले यो काम गरेमा रातमा सधैँ एक्लै डेरामा बस्नुपर्ने हुन्थ्यो । तर पनि अङ्ग्रेजी बोल्ने परिवार भएकाले मायाले नाइँ पनि भन्न चाहिन । मायाले काम शुरु गरी । माया दिनभर काममा जान्थी भने प्रनोन कामको खोजीमा । घरमा बस्ने तला एउटै–माथिल्लो तला भएकाले उनीहरू प्रायः घरबाट निस्कँदा र पस्दा सँगसँगै हुन्थे । कामबाट फर्किएपछि जो पहिले घर पुग्दथ्यो, अर्को आउने समयको जानकारी फोनबाट लिएर चिया बनाउथ्यो र अर्को साथीको प्रतीक्षा गर्दथ्यो । अनि चिया पिएर प्रनोनकै गाडीमा उनीहरू घुम्न निस्कन्थे । इजरायल सानो देश भएकाले एउटा छेउबाट अर्को छेउको सिमानासम्म पुग्न छ घण्टाको ड्राइभिङ गरे पुग्ने । प्रायः सात बजेदेखि दश बजेसम्म ती दुई घुमि नै रहेका हुन्थे । हप्तामा दुईदिन मायाको बिदा हुन्थो, एक दिन त डेरामा सबै साथीहरू बस्न आउने हुनाले डेरा नै रमाइलो हुन्थ्यो । ऊ त्यो दिन डेरामै बस्न रुचाउँथी । अर्को दिन प्रनोन र ऊ टाढाटाढाका शहर घुम्न निस्किन्थे । माया बेलुका चाँडै घर फर्कने, प्रनोन काम नपाएको बेगारी । प्रनोनले मायालाई त्यो समयमा इजरायलका सबै शहर, गाउँ, प्रख्यात ठाउँ, कलकारखानादेखि किबुज (खेतीगर्ने ठाउँ) सबै देखाइदियो । मायाले इजरायलमा नदेखेको कुनै शहर या कुनै क्षेत्र रहेन । प्रनोन अङ्ग्रेजी राम्ररी बोल्दथ्यो तर लेख्न उसलाई ए बी सी डी पनि नआउने । ऊ मायालाई हिब्रू बोल्न सिकाउँथ्यो भने मायाले उसलाई अङ्ग्रेजी लेख्न । ती दुई एक अर्काको गुरु पनि बनेका थिए, त्योबेला ।

पहिलो दिन प्रनोनलाई देख्दा डराएर माया पछाडि सरेकी थिइ भने बोल्न पनि अति डर लागेको थियो ! अरू नेपालीहरू त शायद नै प्रनोनसित बोल्थे होलान् । तर प्रनोन यत्ति चाँडो मायाको यस्तो मित्र बन्न पुग्यो कि ऊ त्यसलाई बयान गर्न नसक्ने अवस्थामा पुगी । उनीहरूका बीचमा धेरैजसो गफ इलेक्ट्रोनिक्सका विषयमा हुन्थ्यो भने आआफ्नो देश, संस्कृति, संस्कार, राजनीतिका बारेमा पनि कुरा चल्दथ्ये । गफको कुनै अन्त्य थिएन । माया उसकोे अपार्टमेन्टमा एक्लै, ऊ उसकोे अपार्टमेन्टमा एक्लै । प्रनोन मायासित त्यति नजिक हुँदा पनि उसले मायालाई जहिले पनि आदर नै गरेको मायाले महसुस गरेकी थिई । प्रनोन एउटा पुरुष, त्यो पनि पारपाचुके, माया एक्ली ऊभन्दा त राम्री पनि थिई । सबै थाहा भएर पनि उसले मायाप्रति नराम्रो नियत राखेको मायाले कहिल्यै महसुस गर्नु परेन । त्यसैले पनि प्रनोन दिन प्रतिदिन मायाको असल मित्र बन्दै गयो ।

माया आफ्नो देशमा धनी परिवारकी सदस्य । विदेश जाने चाहनाले उसलाई इजरायल पुर्‍याएको थियो । परिवारका सबै सदस्यहरूले नजान भन्दाभन्दै विदेश जाने रहरमा ऊ पुगेकी थिई इजरायल । तर त्यहाँको काम त ओहो ! मायाले कल्पना पनि गर्न सकेकी थिइन । विदेशमा गएर त्यति निम्नस्तरको काम पनि गर्नुपर्ला भनेर । छिः छिः ,चर्पी सफा गर्ने, दिशा पिसाब गरेको सफा गरिदिनुपर्ने । यस्ता काम गर्न त ऊ विदेशिएकी थिइन । कामको स्वरूपले गर्दा पनि इजरायलको काममा माया एड्जस्ट हुन सकिरहेकी थिइन । प्रनोनकै अनुभव, सल्लाह र सुझावले मायामा आत्मबल जगाइदिएको थियो । उसले पनि रेष्टुरेन्टको भाँडा माझ्ने कामबाट आफ्नो इजरायलको बसाइ शुरु गरेको थियो ।
रुपले प्रनोन जति नराम्रो थियो, उसको आत्मा ठीक विपरित थियोे । अरूले उसलाई बाहिरी रूप र शारीरिक बनोटका कारण नराम्रो देखेका थिए भने मायाले उसकोे भित्री मन राम्रो देखेकी थिई ।

एक दिन प्रनोनले केही भन्नु छ भन्दै मायालाई कोठामा बोलायो । केही बेरपछि माया प्रनोनको कोठामा गई । प्रनोन मनको कुरा भन्न धक मानिरहेको थियो । केही भन्न भनेर बोलाएको अनि बोल्न धक मानेको देख्दा मायाको मनमा चिसो पस्न गयो । लौ मार्‍यो, यसले मसित के पो भन्न लाग्यो भनेर ऊ अलि डराई पनि । मायाले धेरै कर गरेर सोधेपछि उसले भन्यो-“केही समय पहिले अशोकाको फोन आएको थियो । म त्यही बारेमा तिमीसित कुरा गर्न चाहन्थ ।” मायाले सन्तोषको सास लिँदै भनी –“को अशोका ?”

“एक जना श्रीलङ्कन महिला,”उसले तुरुन्त जवाफ दियो । प्रनोनको र अशोकाको भेट काम गर्ने ठाउँमा भएको रे । अशोका वेटर्स, ऊ शेफ । अशोकाले उसलाई काममा सघाइदिने, उसले खाए–नखाएको विचार गर्ने गर्दिरहिछ । पछि अशोका जेरुशेलम गइछ, राम्रो काम पाएर । त्यसपछि पनि उनीहरूबीचमा फोन वार्ता भने भइरहेको रहेछ । प्रनोनले अशोकालाई प्रेम प्रस्ताव राख्न चाहेको धेरै भइसकेको रहेछ । तर आफ्नो शारीरिक बनोट, रूप र दुई बच्चाको बाबु भनेर नाइँ भनी भने के गर्ने ? भएको एउटा मित्र पनि गुम्छे भनेर उसले भन्न आँट गर्न सकेको रहेनछ । प्रनोनले आफ्नो मनका कुरा सबै मायाका अगाडि पोख्यो । “अशोकाको मनमा के छ तिमीले बुझ्न सकेनौ त ?” उसले प्रनोनलाई प्रश्न गरी ।

“माया, तिमीले चाह्यौ भने अशोकासम्म मेरो कुरा पुराइदिन सक्छ्यौ । उसकोे मनमा के छ, तिमीलाई बुझ्न सजिलो पनि हुन्छ । एक महिलाले महिलासित नै खुलेर कुरा गर्न सक्छे । त्यसै कारण कृपया मलाई यत्ति सहयोग गरिदेऊ न !” मायालाई प्रनोनले उसलाई लगाएको गुन तिर्ने बेला आएको जस्तो लाग्यो र उ सहयोग गर्न तयार भई । मायाको बिदाको दिन अशोकालाई भेट्न जाने व्यवस्था मिलायो प्रनोनले । उनीहरू भनेकै दिन अशोकाकहाँ पुगे । एउटा घरको अगाडि पुगेर प्रनोनले गाडी रोक्यो । पुरानो तीनतले घर । उनीहरू सरासर घरको माथिल्लो तलामा पुगे । ढोका अगाडि उभिएर प्रनोनले डोरबेल बजायो । एउटी सानी, काली महिलाले ढोका खोलिन् । उनले लगाएको हाफपाइन्ट र भेस्टले उनलाई झन् सानो देखाउन मद्दत गरिरहेको थियो । फुच्ची प्रनोनलाई देख्नासाथ मुस्कुराई र हाई भनी । प्रनोनले मायातिर हेर्दै भन्यो अशोका । ओहो, अशोका ! माया छक्क परी । प्रनोन र अशोकाको जोडी नमिल्नेजस्तो देखी मायाले । ऊ मोटो अग्लो, अशोका सानी दुब्ली फुच्ची । उसले ढोकामा उभिएरै माया र अशोका विच परिचय गरायो । अशोकाले भित्र आउन अनुरोध गरी । तिनै जना भित्र पसे । एउटा कोठा, छेउमा बारेर भान्सा, अर्को छेउमा बाथरूम । एक जना मात्र सुत्ने बेड । एउटा सोफा र छेउमा सानो डाइनिङ टेबुल । कोठा सफा थियो । अशोकाले भान्साको छेउमा भएको सानो फ्रिजबाट तीनवटा कोकाकोला निकाली । अशोका पनि कामबाट बिदा लिएर बसेकी रहिछ । माया घरी प्रनोनलाई त घरी अशोकालाई हेर्दै अमिताभ बच्चनको फिल्म लावारिसको गाना सम्झिन पुगी-

जिसकी बिबी छोटी, उसका भी बडा नाम है,
गोदीमे बिठालो, बच्चेका क्या काम है ...

अशोकाको शरीर भन्दा प्रनोनको शरीर बीस भाग बढी थियो होला । कसरी कुरा गर्ने ? माया त चिन्तित भई । बिस्तारै ऊ अशोकासित कुरा गर्न थाली, अरू नै विषयमा । मायामा मान्छेसित कुरा गरेर तान्न सक्ने खुबी थियो । त्यही अनुरूप अशोका पनि एक दुई घन्टामै मायासित खुलेर कुरा गर्ने भइसकेकी थिई । उनीहरूको गफ सुन्दा लाग्दथ्यो बर्षौं पछि दुई साथी भेटिएका छन् । अब माया अशोकासित कुरा गर्न सक्ने अवस्थामा पुगी । उसले निहुँ पारेर प्रनोनलाई तरकारी लिन पठाई । प्रनोन बाहिर निस्किएपछि मायाले अशोकासित प्रनोनका बारेमा कुरा शुरु गरी । अशोकाले प्रनोनको धेरै नै तारिफ गरी । अब मायाको पालो थियो, उसले अनेक भूमिका बाँधेर अशोकालाई प्रनोनको विचार सुनाई । अशोकाले के भन्ली भनेर धेरै नै हिचकिचाउँदै उसले डराउँदै कुरा राखेकी थिई । अशोका अलि लजाउँदै अलि मुस्कुराउँदै राजी भई । खाना खाएर उनीहरू निस्किए जेरुसेलम घुम्न । अशोका र प्रनोनले पूरै जेरुसेलम देखाए मायालाई । चार बजेतिर आफ्नो शहर तेलभिव फर्किएका थिए तीनै जना त्यो दिन । मायालाई प्रनोनले उसकै घरमा खाने निमन्त्रणा दियो । त्यो रात अशोकाले विरियानी पकाएकी थिई । प्रनोनले त केके हो केके ! त्यो रात धेरै रमाइला गफहरू भए ।

एक दिन शुक्रबार प्रनोनकोे टिभीमा इन्डियन प्रोग्राम आएछ । उसले मायालाई देखाउनुपर्‍यो भनेर दौडँदै आएर मायाको अपार्टमेन्टको बेल बजायो । मायालाई खोजेछ, ऊ बाथरूममा नुहाउन पसेकी थिई, फर्किएछ । माया बाथरूमबाट बाहिर निस्किएपछि साथीहरूले कालेले खोज्दैआएको खवर गरे । किन रे ? मायाले साथीहरूसित प्रश्न गरी । उनीहरु कसैले पनि प्रनोनसित किन भनेर सोधेका थिएनन् । माया चिसै कपालले प्रनोनको कोठामा गई । काले त झन् कालोनीलो भएर निनाउरो मुख पारेर बसेको थियो । “तिमीलाई आज के भयो बिसन्चो भएको जस्तो अनुहार छ नि ?” मायाले प्रनोनलाई सोधेकी मात्र के थिई, उसले केही जवाफ नै नदिई मायालाई कुर्सीमा बस्ने इसारा गर्‍यो । “तिमीलाई भेटेको पहिलो दिन नै मैले मेरो कोठाको चाबी किन दिएँ भनेर तिमीलाई अचम्म लागेको थियो नि, त्यसको जवाफ म आज दिन्छु ।” ऊ मौन भएर प्रनोनको कुरा सुन्न लागि ।

“म विगत तीन वर्षदेखि यो अपार्टमेन्टमा बस्दै आएको छु । पाँचतले यो घरको सबभन्दा माथिल्लो तलामा हामी बस्दछौं । म काममा जाँदा र आउँदा भर्‍याङमा मेरो भेट नेपाल, इन्डिया, श्रीलङ्का, फिलिपिनलगायत विभिन्न देशका मानिससँग हुन्थ्यो । हाम्रो घरमा लिफ्ट नभएकाले धेरै मानिस काममा जानुपर्ने समयमा र आउँदाको समयमा भर्‍याङ्मा भेट हुनु स्वभाविक पनि हो । सधैँ भेट हुने हुनाले म उनीहरूलाई हाई, हेलो गुडमर्निङ भनेर अभिवादन गर्दथेँ । हामी बसेको यो घरमा पाँच सयभन्दा बढी मान्छे होलान् । मैले तीमध्ये धेरैलाई अभिवादन गरें तर आजसम्म मलाई कसैले पनि मेरो अभिवादनको जवाफ दिएका थिएनन् । एकै समयमा आउने जाने गर्दा प्रायः सवै मानिससित मेरो भेट हुने हुनाले नबोले तापनि मेरा लागि भने धेरै अनुहार अपरिचित पनि थिएनन् । तर ती परिचित अनुहार पनि मलाई देख्दा-कि फर्केर कोठा भित्रै पस्दथे कि अर्कोतिर मुख फर्काएर मलाई नदेखेजस्तो गरेर हिँड्दथे । यो घरमा यत्तिका मान्छे बस्ने भए तापनि मसित बोल्ने मान्छे मैले एक जना पनि पाएको थिइनँ, यो तीन वर्षमा ।

अरूबाट सधैँ त्यस्तो व्यवहार पाएपछि म मात्र किन अभिवादन गरिरहने ? यो घरमा पस्दा या निस्कँदा म एक्लै छु, यो घरभरिमा भन्ने सोचेर हिँड्न थालिसकेको थिएँ । यस्तो बेलामा तिमीले मलाई प्रश्न गरेकी थियौ, “ह्वाट ह्यापेन्ड” मैले तिम्रो प्रश्नको जवाफ दिन सकेको थिइनँ त्यो बेला । मेरो मनमा अचम्म र खुसी एकैपल्ट आएको थियो । तिमी मसित बोल्यौ भनेर । तिमी पुलिस देखेर डराएर मलाई के भयो भनेर सोधेकी थियौ होला । तर मेरा लागि त तिम्रो आवाज नै पहिलो आवाज थियो यो घरमा । तिमी तर्किनौ मसित बोल्यौ । तिमीले मसित हँसिलो अनुहारले निडर भएर कुरा गरेको अनुभव गरेँ मैले । तिमीले ढोकामा उभिएर पहिलो दिन मसित गफ गर्दाको तिम्रो त्यो अनुहार म मेरो जिन्दगीको अन्तिम घडीसम्म पनि बिर्सन सक्दिनँ । त्यत्तिमात्र कहाँ हो र ! तिमीले त मैले पकाएको चिया पनि पियौ, म त्यो समयमा कत्ति खुसी थिएँ । तिमी मसित चिया पिउँदै गफ गरिरहेकी थियौ तर म कल्पनाको अर्कै संसारमा थिएँ । यो घरमा पनि मसित बोल्ने कोही मान्छे छ, यो मान्छेसित मित्रता गर्न पाए पनि हुनेथियो भन्ने मेरो मनमा लागिरहेको थियो । त्यही बेला तिमीले इन्टरनेटका बारेमा सोध्यौ । म तिमीसित फेरि पनि बोल्न पाऊँ, यो घरमा कोही मानिस मसित पनि बोल्ने छ है भन्ने मेरो मनमा परिरहोस्, म यही चाहन्थें । तिम्रो त्यो हाँसेर बोल्ने बानी र मसितको व्यवहार मलाई असाध्यै मन परेको थियो । मित्रता त म चाहन्थेँ तर कसरी भनौँ ? भनिनँ भने फेरि भेट होला न होला ! फेरि भेट भइहाल्यो भने पनि आजको जस्तो बोलिनौ भने ? यस्तै कुरा मनमा खेलिरहेको बेला इन्टरनेटको कुरा तिमीले भिक्यौ । म त्यो मौका किन गुमाउन चाहन्थें र ? इन्टरनेटको लोभमा परेर साँचो लियौ भने त तिमी मेरो कोठामा आइरहने भयौ । अनि त मैले तिमीसित बोल्न पनि पाउने भएँ नै । मात्र तिमीसित बोल्नका लागि कर गरेर तिमीलाई मैले साँचो थमाएको थिएँ । आज म मेरो टिभीमा चलिरहेको तिम्रो देशको कार्यक्रम जस्तो लागेर तिमीलाई बोलाउन गएँ । मैले बेल बजाएपछि त्यहाँ ढोका त खुल्यो तर मैले तिम्रो बारेमा सोध्दा कोही पनि मसित बोल्न पनि चाहेन । सब जना ढोकाको छेउमा आए र फर्किए । तिमीजस्तो त अरू नेपाली पनि हुँदारहेनछन् । आज म फेरि अतीतमा नै पुगेर तिम्रो ढोकाबाट फर्किएँ । तिमी जति दिन इजरायलमा हुन्छ्यौ मसित बोल्न नछोड्नु है !”प्रनोनको आँखा रसाएको थियो । उसको स्वर भारी भएको मायाले परैबाट थाहा पाइसकेकी थिई ।

ओहो, मान्छेले मान्छेलाई गर्ने व्यवहारमा यत्रो भिन्नता ? माया पनि विचलित हुन पुगी, प्रनोनको कुरा सुनेपछि । मायाले धेरै आकाश पाताल देखाएर उसलाई सम्झाएपछि उ अलि नर्मल भयो । माया आफ्नो कोठातिर लागी । प्रनोनको सल्लाहअनुसार काम गर्दै गएपछि एक दिन मायाले अमेरिकाको भिसा पनि पाई । भिसा कसरी पाउने भनेर मायालाई सिकाउने व्यक्ति पनि प्रनोन नै थियो । भिसा पाएको राती प्रनोन र अशोकाले मायालाई रात्री भोजनका लागि एउटा होटलमा लिएर गएका थिए । खाना खाँदै गर्दा अशोकाले मायालाई सोधेकी थिई-

“दिदी, अमेरिका जाँदा हामीबाट के चाहनुहुन्छ ? के उपहार दिऊँ तपाईलाई ?”
“म जे माग्छु दुवै जनासित माग्छु, दुवैले दिनुपर्छ । दिन्छौ ?”
“के ? के ?” दुवैबाट एकैसाथ प्रश्न आयो ।

“तिमीहरूको विवाह हेर्न चाहन्छु म त्यो नै मेरा लागि मतना (हिबू्र भाषामा उपहार) हुनेछ । म तिमीहरूको विवाहको साक्षी बस्न चाहन्छु ।”क्या अचम्म दुई शहरमा बस्ने, दुईतिर काम गर्ने मानिसले केके सल्लाह गरे-भोलिपल्ट नै कोर्टम्यारिजका लागि निवेदन दिन दुवै लागे श्रीलङ्कातिर । दुईतीन दिनपछि प्रनोन फर्कियो । अशोका उतै बसी । केही समय पछि प्रनोन फेरि गयो र अशोकालाई श्रीमती बनाएर मायाको सामु लिएर आयो । मायालाई खुसीखुसी बिदा गर्नका लागि अशोका गरिरहेको काम छोडिदिएर श्रीलङ्का गएकी रहिछ । कहाँकहाँको मानिस प्रनोन र अशोका मायालाई कत्ति माया गर्ने भइसकेका थिए ।

इजरायलबाट अमेरिका जाने बेलामा मायालाई एयरपोर्टसम्म छोड्न आउने कोही नेपाली साथी थिएनन् । ती नव दम्पत्ति नै मायालाई बिदा गर्न आएका थिए । मायाको इमिग्रेशन भैसकेपछि भित्र पस्नेबेलामा प्रनोनले भन्यो—“तिम्रो राम्रो होस् । तर माया, आज मलाई मेरो एउटा असल मित्र गुमाएको जस्तो लागेको छ ।” मायाले प्रनोनको आँखामा छछल्किएका आँसु देखिसकेकी थिई । अशोका त अघिदेखि रोइरहेकी थिई । भेट्नु रमाइलो हुन्छ, बिछोडिनु गाह्रो । मायालाई पनि गाह्रो भइरहेको थियो । तर पनि मायाले आपूmलाई सम्हाल्दै भनी- “भोभो प्रनोन, त्यसो नभन, म तिमीलाई कहिल्यै बिर्सन्नँ । मेरो जीवनमा तिमीहरूलाई बिर्सनु असम्भव हुनेछ । मित्रताको लागि नजिक नै हुनु पर्छ भन्ने छैन, टाढाबाट पनि गहिरो मित्रता कायम हुन्छ ।”

आज धेरै दिन पछि प्रनोेनलाई च्याटमा भेटी मायाले । ऊ इन्टरनेट सन्जाललाई धन्यवाद नदिइरहन सक्दिन । जसले उसका धेरै साथीहरूलाई च्याटमार्पmत नजिक बनाइदिएको छ । इन्टरनेट नभए पनि उसले पत्रमार्फत मात्र प्रनोन र अशोकाको खबर पाउँथी होली । तर पनि छिटो होइन । अनलाइनमा प्रनोन बोल्न आयो । “किन कता हराएको” मायाले उसलाई सोधेकी मात्र के थिई । प्रनोनले एक छिन ल भनेर अशोकालाई बोलायो । अशोका आई । उसकोे काखमा सानो बच्चा थियो । अशोका र प्रनोनले मायालाई उनीहरूको सात दिनको छोरो देखाउँदै भनेका थिए-“माया लिउ तिम्रो मतना ।”

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.