लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

महाभारतकी कुन्ती–६

बिहीबार, १४ पुष, २०७३ मा प्रकाशित, 1779 पटक हेरिएको

भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुझ्ने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?

-हरिविनोद अधिकारी

भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुभ्mने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?

एकछिन अघिमात्र सञ्जयले सबै योद्धाहरुको व्यक्तिगत विवरण दिँदै थिए, कस्को छोरो, कतिओटा युद्धमा कहिले जितेको, कहाँ कोसँग शिक्षा लिएको आदि आदि । भन्नमात्र जेठाजु दृष्टिविहीन हुनुहुन्छ, तर सबै थाहा छ र स्मृति कस्तो तगडा छ भने नाम भन्ने बित्तिकै त्यो योद्धाका बाबु, बाजे, घरपट्टि, मावल पट्टि सबैको विवरण उहाँले पो सञ्जयलाई सम्झाउनु हुन्छ त भनेको ।

सञ्जयले विनम्रताका साथ भन्ने गर्थे-महाराज, मलाई मात्र जे देखिन्छ युद्धभूमिमा , त्यसको मात्र विवरण दिनु भनिएको छ । न त म त्यो भन्दा बढी भन्न सक्छु, न त त्योभन्दा कम भन्नसक्छु । न विवेचना गर्न सक्छु , न भविष्यका वारेमा भन्न सक्छु , न अतीत नै । वर्तमान त्यो पनि त्यही कुरुक्षेत्रमा भएको युद्ध विवरणमात्र । त्यो पनि महाराजलाई मात्र । गान्धारीलाई पनि महाराज भएको ठाउँमा जो जो आउँछन् तिनलाई मात्र सुनाउने मेरो कर्तव्य हो । सुनाउँछु ।
जेठाजुलाई परिणाम थाहा थियो जस्तो गरी खुइय्य गर्दै भन्नुभयो–यो कृष्णले त बरबाद नै पार्छ कि क्या हो हँ ?आफू हतियार पनि लिन्न भन्छ अनि हतियार फालेर नलड्ने भन्ने मेरो भाइको छोरालाई कर्तव्य पूरा गर तिमी भन्छ । के कर्तव्य पूरा गरोस् त्यो अर्जुनले, बिचरा । बाबुको त स्याहार राम्रो पाएन, सधैँ दुःखमा हुक्र्यो । तैपनि कसो कसो द्रोणाचार्य गुरुसँग धनुषवाण हान्न सिक्यो । भन्थे दुर्योधनहरु कि कर्णले मात्र अर्जुनलाई हराउन सक्छ । सक्न त निषाद कुमार एकलव्य पनि अर्जुनसँग लड्न सक्ने थियो रे, तर गुरुले खोइ किन हो, त्यसको दाहिने हातको बुढी औँलो नै गुरु दक्षिणा भनेर माग्नु भयो रे ।

अँ भन त सञ्जय , अहिले अर्जुन के गर्दैछ अनि कृष्ण के भन्दैछन् ? सञ्जयले आँखा खोइ कता हो हेर्दै भन्दै थिए–कृष्णले भन्यो रे अर्जुन , समयभन्दा ठूलो कोही पनि छैन । हामी सबै निमित्त हौं । आज तिमीले यो युद्ध नगरे पनि कसैले त यो सम्पादन गर्छ नै । यत्रा मान्छे जम्मा भएका छन् , के तिनलाई थाहा छैन र यहाँ को को जम्मा भएका छन् भनेर ? सबै लालायित छन् यो धर्मयुद्धलाई सफल गराउन । भाग्य, कर्म र परिणामको समष्टिरुप नै यो युद्धको सफलता हो । युद्ध त सुरु भएकै छ, अस्तित्वको लडाईं सुरु भएको छ । तिमी अस्तित्वका लागि कत्रा कत्रा अपमान सहेका छां । जब बेला आयो परिणामको आशा नगरिकनै कर्म सम्पादन गर्नेबेला, त्यो बेलामा तिमी किन लाछीजस्तो भएर अलमल्लमा परेका छौ । भन्दै थियो रे कृष्णले कि फलको आशा त गर्दै नगर तर त्यसको अर्थ कर्म गर्न नै छोड्नु भनेको चाहिँ होइन । अनि जेठाजु कड्किएर भन्न थाल्नुभयो-यो गाईको गोठमा बस्ने गोठालोलाई के थाहा युद्ध भनेको ? कहाँ एघार अक्षौहिणी सेना , कहाँ सात अक्षौहिणी सेना । त्यसैले अर्जुनले डराएर नलड्न खोजेको, तर यो ग्वाला त केके भन्छ भन्छ ? वास्तवमा कंशले ठिकै गर्न खोजेको रहेछ यसलाई सानैमा सिध्याएर आफू सुरक्षित हुनका लागि । कंश त सुरक्षित हुन सकेन , जरासन्ध पनि सुरक्षित हुन सकेन । अब मेरो दुर्योधनलाई समाप्त पारेरमात्र यसले शान्तिको सास लिनेवाला जस्तो छ। अर्जुनलाई किन उचाल्छ हँ सञ्जय यो छट्टु ? मलाई आजैदेखि यो मान्छे अब मन पर्न पो छाड्यो । तर के गर्नु? मेरा भतिजाहरु यसैेले भनेको मात्र मान्छन् । खोइ भन्दैन त , युद्ध छाडौँ भनेर त ? कि भन्यो हँ सञ्जय, सुन त राम्रोसँग । यदि यो कृष्णले भन्ने हो भने त मेरा भतिजाहरुले राज्य त के यो सँसार नै छोड्छन् ।

वास्तवमा व्यास आउनु भएको थियो अलि पहिले यसो भन्न कि अब युद्धको तयारी हाम्रा सन्तानले पूरा गरे । लड्ने नै भए । यदि तिमीले, धृतराष्ट्रले आफ्ना छोराहरुलाई तह लगाएको भए पहिलेदेखि नै , सायद यो युद्ध टथ्र्यो होला । तर जे हुने हो हुन्छ हुन्छ । अब यो युद्ध हेर्नका लागि म तिमीलाई दिव्य चक्षु दिन्छु । यस्तो युद्ध न भयो, न हुनेछ । त्यसैले म तिमीलाई दिव्य शक्ति दिन्छु । तर जेठाजुले भन्नु भयो रे–महामने, म यसै त आँखा देख्ने होइन, त्यो सन्तानहरुको विनाश हेर्न किन चाहियो मलाई ती दिव्यशक्ति ? अब सँसारमा केही बाँकी रहने छैन । सबै मेरा छोराहरुको विरुद्धमा होलान् । पितामह पनि हुुनुहुन्छ दुर्योधनसँग तर मन जति पाण्डुपुत्रहरुसँग छ भन्दछन् शकुनिहरु । भैगो मलाई चाहिँदैन त्यो युद्ध विभीषिका हेर्ने क्षमता , मलाई त यो युद्ध नै नभए हुन्थ्यो पो भन्ने लागेको छ त पिताजी । जब जेठाजु एक्लै भेट्नु हुन्थ्यो व्यासलाई , बाबु छोराको जस्तै वार्तालाप हुन्थ्यो रे दिदीले भन्नु भएको । तर जब औपचारिकतामा भेट हुन्थ्यो, व्यासले पनि राजालाई जस्तै व्यवहार गर्ने अनि जेठाजुले पनि राज्यको अरु योगीलाई जस्तै आदर सत्कार गर्ने तर आप्mनो पदअनुसार मात्र । व्यासले भनेको कुरालाई सिधै काट्नु त हुन्नथ्यो तर मनमा कता कता पाण्डुलाई राजा बनाउने त यिनै बाबु त हुन् हजुरआमालाई उचालेर भन्ने , अनि भीष्मसँग अलि बढी नै रुष्टता देखिन्थ्यो तर राज्य सम्पूर्ण भीष्मको भरमा चलेकोले बोल्न केही सक्नुहुन्नथ्यो तर असन्तुष्टिचाहिँ बढी नै भीष्मसँग अनुभूत गर्न सकिन्थ्यो । व्यासले जब यो युद्ध धर्मयुद्ध हो , अब नटर्ने नै भयो ,त्यसैले त्यसको प्रत्यक्ष विवरणचाहिँ तिमीले जान्नै पर्छ भने पछि सञ्जयलाई त्यो क्षमता दिएर जानु भएको थियो व्यासले । हो त्यही क्षमताका भरमा सञ्जयले जेठाजुलाई , अनि दिदीलाई , अनि मचाहिँ लुकेर सुन्ने हालचाल । फरक थियो उद्देश्य सुन्ने पनि । स्वाभाविकरुपमा म चाहन्थेँ मेरै सन्तानले युद्ध जितून् ।सकेसम्म युद्ध नै नहोस् । तर हुने त लक्षण पहिलेदेखि नै थियो । हामीले खपेका थियौँ । मेरा छोराहरु त आगोमा पोलिएका सुन झैँ थिए झन झन कसी लाग्दै गरेको । झन झन पहेँलो पहेँलो हुँदै गएका । दुर्योधनमा एउटा डरचाहिँ थियो जस्तो लाग्छ किनभने मलाई देख्दा जहिले पनि आदरभावले कुरा गर्ने र मानौँ उसले हाम्रा विरुद्ध कुनै षडयन्त्र नै नगरेको जस्तो देखाउने ।

एकपटक दुर्योधनले मेरा छोराहरुलाई राज्य नदिने कुराको तर्क गर्दा भन्यो रे-ती पाँचजना केटाहरु मेरा काकाका छोरा नै होइनन् , ती कुरु नै होइनन् , अनि किन दिने कुरुराज्य तिनीहरुलाई ? कुरुवंशीको पो अंश लाग्छ त यो राज्यमा ? पितामहले विस्तारै भन्नु भयो रे कि पाण्डुको राज्य हो यो वास्तवमा । आफैँले किन छोडेर गएको थियो उही जानोस् तर उसले स्वीकार गरेपछि ती उसैका छोरा हुन् ,हाम्रो नीतिमा ती राज्यका अधिकारी हुन् औपचारिकरुपमा । अनि दुर्योधनले अलि ठूलो स्वरमा के कुरा गरेको थियो रे पितामहले भन्नुभयो रे-अब म बाहेक कोही पनि कुरु बाँकी छैन हस्तिनापुरमा । कोही पनि अरु कुरु नै होइनन् भनेपछि सबै चुपचाप लागे रे । अनि अधिरथले बरु घरमा गएर भन्यो रे राधासँग म पनि त कुरुकै सन्तान हुँ तर राज्यविहीन सारथि । तर पनि अझै हस्तिनापुरको नै माटो सुँघेर बाँचिरहेको छु । त्यसो भए कर्ण पनि कुरुवंशी भयो त ? भएन किनभने ऊ त सूर्यवंशी प्रत्यक्ष हो । अरु चन्द्रवंशी हुन् कुरुहरु । म त केके पो सोच्न थालेँ । अन्तिम अवस्थामा एउटै कुरामा कहाँ पो केन्द्रित होइने रहेछ र ? अनि सञ्जयलाई त्यो क्षमता दिएकाले अहिले हामीलाई कुतुहलता साम्य भएको छ ।

अनि कृष्णले भनेछ-परिणामको आशाले कर्म गर्ने त लोभी हो । पशुजस्तै । घाँस देखेर हाम्फालेर जंगलतिर जाने अनि भड्खालोमा पर्ने बिच बाटोमा । मात्र हरियो घाँस परिणाम हो । ठिक त्यस्तै । कर्म गरेपछि परिणाम त त्यसको गर्भमा जहिले पनि विद्यमान हुन्छ । तर परिणामले स्वार्थी बनाउँछ । त्यसैले फलको अपेक्षा नगरी कर्ममा लिप्त हुनु नै मानवीय कर्तव्य हो । सूर्य , हावा , पानी , माटो , रुखले कर्म गरिरहेका छन् ,फल त अरुले पाएका छन् र पनि उनीहरु आफ्नो कर्तव्यबाट कहिले पनि च्यूत भएका छैनन् । उठ, कर्म गर, फलको अपेक्षा नगर । फल त आफैँ पाक्छ । झर्छ । तिम्रो भाग्यमा भए खान पाउँछौ । नत्र पाउँदेनौ । मैले भनेँ नि म नै सबै निमित्तको संयोजक हुँ । म नै भाग्य हुँ । म नै परिणाम पनि हुँ । सँसारमा पाइने जेजे उत्तम छन् , ती सबै मैसँग गाँसिएका छन् किनभने अस्तित्वको खोजीमा ममात्र अहिले नायक हुँ । मैले भनेको मान । जुरुक्क उठ र गाण्डीव उठाऊ । बाँचे हस्तिनापुरको राज्य , मरे स्वर्गको वास । तिम्रो त दुबै हातमा लड्डु छ । आज तिमीले कर्म गरेनौ भने पनि कोही न कोहीले गर्छ नै । आज तिमी निमित्त नायक भएर कर्म गर्‍यौ भने तिमै्र पुण्य गाउने छन् भावी सन्ततिले ।

जेठाजु माथिल्लो कपडाले आफ्नो मुख छोप्दै भनौँ रुँदै जस्तो शौचालय जाने निहुँमा सञ्जयलाई त्यहीँ छोडेर बाहिर जानु भयो । कोही त सँगै हुन्थे अघिपछि । त्यसबेलामा त कोही पनि लानु भएन । राजाको इच्छाबेगर को पो जाने सँगै । त्यो पनि युद्धपक्षको राजाको दरबार । चक्रवर्ती राजाको दरबार । हामीलाई लाग्यो उहाँ व्यासलाई एक्लै बोलाउन जानु भएको होला । किन यो कृष्ण अर्जुनलाई उचाल्छ भनेर सोध्न पनि होला कि ? तर कस्ले पो सोध्ने र महाराजलाई ? सञ्जय आँखा चिम्लेर केही भनिरहेका थिए र एकदम आत्तिएर ब्युँझिए जस्तो गरी आँखा खोलेर हेरे र भने–मैले त विश्वको दर्शन पो पाएँ कृष्णमार्फत् । साँच्चै कृष्ण त भगवानका अवतार नै पो हुन् कि ? भन्दै थिए त्यही बेला जेठाजु आउनु भयो र सोध्नुभयो–सिद्धियो कृष्णको चर्तिकला ? उठायो अर्जुनलाई युद्ध गर्न ? केके भन्यो त त्यो ग्वालाले मेरा छोराहरुलाई ? वास्तवमा यो नै रहेछ यो युद्ध गराउने मलाई आजबाट पूरा विश्वास भयो । मेरा छोराहरु त सोझा भाइका छोराहरुका अघिल्तिर । त्यो बेलामा सायद जेठाजुलाई म पर्दाभित्र छु भन्ने थाहा थिएन कि? या मलाई नै सुनोस् भनेर भनेको पनि हुनसक्थ्यो । तर दिदीलाई भने मेरा वारेमा नराम्रो कहिले पनि सुनाउनु हुन्न रे भन्नुहुन्थ्यो दिदी । कृष्णले आत्मा, जीवन, समाज, व्यक्ति, ईश्वर, अनीश्वर, पदार्थ, अपदार्थ सबै कुरा सुनाएर अर्जुनलाई भन्यो रे-अब यो धर्मयुद्ध लड्नै पर्छ । अपमान सहनुभन्दा युद्धमा मर्नु धेरै राम्रो । कर्ममा मात्र हाम्रो हक छ, परिणाममा कुनै हक छैन । त्यसैले तेह्र वर्षको तपस्यालाई आवेशमा आएर त्याग्नु हुन्न । परिणाम त कसैको हातमा पनि छैन , छ त परमात्माको हातमा । हिँड , अबेर भयो , लडाईँमा जाऔँ । अनि अर्जुन त जुरुक्क उठ्यो रे र पितामहलाई वाणको अभिवादन दियो र चरणनेर नै बाण हानेर । अनि भीष्म खुसी हुनुभयो रे कस्तो अनुशासनमा बसेको रहेछ अर्जुन अझै पनि भनेर ।

त्यो बेलामा अर्जुनको रथ हाँकेर कृष्णले नै सबै योद्धाहरुको माझमा लगेर राखेको रहेछ । अर्जुनले भनेछ रे-हे कृष्ण , हेरौँ न को को कता कता लागेका रहेछन् ? दुर्योधनले हामीलाई अन्याय गरेको थाहा पाई पाई हामीलाई असहयोग गर्ने को को रहेछन् ? लगेर जब रथ बिचमा राखेपछि पो कृष्णलाई भन्न थालेको रहेछ त अर्जुनले कि म लड्न चाहन्न । एउटा कुरा के थियो भने अर्जुनलाई यही युद्धका लागि भनेर हनुमान पनि आएका थिए सहयोग गर्न । तर माथि झन्डामा बस्ने । त्यसको कारण थियो युद्धको टोहो गर्ने । रामको अवतारको शेष पछि हनुमानमा वैराग्य आएको थियो । तर भाइ भीमलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा हनुमानको पनि चासो थियो । अनि हनुमानलाई यो अभूतपूर्व तर अन्यायका विरुद्धको धर्मयुद्ध हेर्नु पनि थियो , अर्जुनलाई सुरक्षा दिँदै भावी युद्धको विजयी बनाउनु पनि थियो । रामका भक्त हनुमानलाई कृष्णको अवतारको पूर्ण स्वरुपको दर्शन गर्नु पनि थियो रे । खोइ कृष्ण नै विष्णुको पूर्ण अवतार हो रे पनि भन्थे ।यसो उसको हालचाल, हाउभाउ, र चमत्कारिक स्वभाव हेर्दा हो जस्तो पनि लाग्थ्यो । फेरि वसुदेव दाइको नै त छोरो हो , कसरी भगवानको अवतार भयो होला भन्ने पनि लाग्थ्यो । अनि कृष्णले उपदेश दियो रे त्यही युद्धभूमिमा कि जसले धर्मको रक्षा गर्छ , उसैलाई धर्मले पनि रक्षा गर्छ । जब जब अधर्मले पापको घडा भरिन्छ , म त्यहाँ गएर धर्मको पक्षमा काम गर्छु । धर्म भनेको गर्नुपर्ने कामको विवरण हो रे । ईश्वरले नै विश्वको सृष्टि , रक्षा र सँहार गर्छन् भनेछ । अनि व्यक्तिको जीवन त अत्यन्त महत्वपूर्ण हुन्छ र ईश्वरलाई व्यक्तिले मात्र सँसारलाई चिनाउने हो पनि भनेछ । मानव जीवनलाई एउटा लुगा र आत्मालाई कहिले ननासिने तत्व पनि भनेछ रे । ईश्वरले नै निम्नस्तर र उच्चस्तर जीवनलाई सम्पादन गर्ने हुन् पनि भन्यो रे । त्यस्ता कुरा त्यसलाई कसरी आएको । जेठाजुलाई ती केही पनि मन परेको जस्तो लागेन तर सञ्जयचाहिँ भन्दै थिए । के के पो भन्दै थिए सबै त मैले पनि बुझिन तर सँसारलाई पानीको फोका र मानव जीवनलाई सँसारको सबैभन्दा महत्वपूर्ण र विवेकपूर्ण अवस्था पनि भन्दै थियो रे कृष्णले । अर्जुन हात जोडेर भुइँमा घुँडा मारेर बसेको थियो रे , अनि कृष्ण अर्जुनलाई उठाउँदै सबै कुरा पनि भन्दै थियो रे अनि हनुमानचाहिँ माथि बसेर ध्यानपूर्वक कृष्णका कुरा सुन्दै सुन्दै मुस्कुराउँदै हातमा गदा लिएर कृष्ण र अर्जुनको रक्षामा पनि तल्लिन थिए रे । मोक्ष र मानव जीवनको रहस्य बताउँदा भन्थ्यो रे कृष्णले-सबैभन्दा चेतनशील प्राणी मान्छे हो तर त्यहाँ पनि तल्लो तहको विचार र माथिल्लो तहको विचारको बास हुन्छ भन्थ्यो रे । अनि त प्रकृतिमा उत्पत्ति , सँरक्षण र नाश हुँदै कल्प कल्प दोहोरिँदै जान्छ तर मानवले मात्र सँसारको वारेमा जानकारी राख्छ, रक्षा गर्छ र सँहार गर्छ । सँहारले मोक्षलाई निम्ता दिन्छ र उत्पत्तिले विनाशलाई निम्त्याउँछ । विनाश र मोक्ष एक सिक्काका दुई पाटा हुन् पनि भन्यो रे । उसको उपदेश योग हो रे । जीवन र मोक्षलाई जोड्छ रे र ऊचाहिँ योगेश्वर हो रे ।

जेठाजुलाई यी सबै कुरा मनपरेका थिएनन् । भन्नुहुन्थ्यो रे-यो कृष्ण नभएको भए मेरा छोराहरुले युद्ध त्यसै जितेका । के गर्‍यो के गर्‍यो त्यो वसुदेव पुत्रले , देवकी पुत्रले कि आफ्ना दाजुभाइलाई मार्न फेरि तयार भयो अर्जुन । यदि अर्जुनमात्र तयार नहुँदो हो त युधिष्ठिर त्यहीँबाट फेरि बनबास जाने थियो र फेरि कहिल्यै फर्कने थिएन । तर दैवको इच्छा कसले पो टार्न सक्छ र ?

दैवको कुरा गर्दा फेरि कर्णको सम्झना आयो । कर्ण कसरी अंगराज भयो भन्ने कुरा पनि कम रोचक रहेनछ । म त मूच्र्छा परेँछु त्यही रङ्गशालामा जहाँ मेरा छोराहरु , जेठाजुका छोराहरु र अरु गुरुकुलका विद्यार्थीहरुको शस्त्रास्त्रको प्रयोग गरिँदै थियो । द्रोणाचार्य , कृपाचार्यजस्ता गुरुहरुले आफ्ना विद्यार्थीहरुले सिकेका कुराहरुको प्रयोेग गरेको देखाउँदै हुनुहुन्थ्यो , त्यही बेलामा कर्णको धनुर्धारिताको कुरा आयो । सबैले भन्थे राधेय पनि कौन्तेय अर्जुन जस्तै धनुर्धारी छ । मलाई त थाहा थियो यी दुवै मेरा कोखबाट नै जन्मेका हुन् । एउटा सूर्यको छोरो हो सूर्यवंशी, अर्को इन्द्रको छोरो हो चन्द्रवंशी । कुरुको सन्तानमा गणना हुने भएकाले अर्जुन चन्द्रवंशी, सूर्यको प्रत्यक्ष छोरो भएकाले सूर्यवंशी । म दुवै वंशकी माता , साझा माता । तर कुरो के आयो भने राजवंशको बालक नभई कसरी रंगशालामा प्रतिस्पर्धा गर्न पाउँछ राधेयले ? एक सारथिको छोरोको के हैसियत हुन्छ राजाका छोराहरुसँग प्रतिस्पर्धा गर्नका लागि ? सबैभन्दा भीम नै मच्चिई मच्चिई कराई रहेको थियो भन्थ्यो–आयो त्यो सूतपुत्र भने म गदाले पिटी पिटी मार्छु त्यसलाई । तर सम्पूर्ण दर्शकदीर्घा भने कर्णको रणकौशल हेर्न लालायित थियो र मलाई पनि त्यो कौशलता हेर्न साह्रै इच्छा थियो । हामी दरबारका रानीहरुले कहिले पो हेर्न पाउँछौँ र बाहिरी दुनियाँ ? त्यो दिन राजकीय निम्तो थियो मेरा छोराहरुको पनि रणकौशल हेर्न पाउने गरी राजघरानाको बेग्लै स्थानमा बसेर हेर्ने । हामीले देख्थ्यौँ तर अरुले हामीलाई नदेख्नेगरी राखिएको हुन्थ्यो । यस्तो पर्दा हुन्थ्यो कि हामीले पारदर्शिताको आधारमा सबै देख्थ्यौँ तर हामी महिलाहरु त्यहाँ छौँ भन्ने कुरा अरु कसैलाई पनि थाहा हुँदैनथ्यो । अनि एकाएक त्यहाँ हलचल भयो , के भयो कसैले थाहा पाएन तर पूरै रंगशालामा एउटा हलचल मच्चियो ।

अर्जुनसहितका मेरा छोराहरु युद्ध कौशलसँगै साँच्चै युद्ध गर्न तम्सिएका ? तर को सँग ? कौरबसँग ? या आफैँहरुसँग ? तर चारैतिर धुलाम्मे । वाणका टंकार सुनिन्छ र हुँकार सुनिन्छ । एउटा तुफान आएको छ पूरै रंगशालामा र त्यो तुफान कसरी कसले किन ल्यायो थाहा भएन तर एउटा कुरा भने मलाई थाहा भयो कर्णको जन्म तल्लो कुलमा भएकाले , क्षत्रीको कुलमा या ब्राह्मणको कुलमा नभएकाले यो तुफान कर्णले ल्याएको रहेछ , युद्धको चुनौतीका लागि पाण्डवका विरुद्ध । उचाल्ने रहेछन् कौरबहरु । शकुनिसहितका राजाहरु । पूरै रंगशाला दुई भागमा बाँडिएछ र दुर्योधनले कर्णलाई तत्काल अंग देशको राजाको राज्याभिषेक गरेको रहेछ । कर्णका वारेमा उठेको प्रश्नसँगै मलाई के भयो के भयो , म मूच्र्छा परेँछु । हाहाकार भएछ म मूच्र्छित भएपछि । तर राज्याभिषेक रोकिएन छ र राजाको बाबुको रुपमा अधिरथले अभिषेक दिएछ । सूर्य भगवान अपलक त्यो दृश्य हेर्दै थिए रे । त्यो बेलामा अघिपछिभन्दा घाम पनि चर्को लागेको थियो रे । सायद सूर्य पनि नजिकै आएर छोराको राज्याभिषेक हेर्दै थिए कि ? तर म त वैद्यको निगरानीमा पुगेँछु । कर्ण अंगराज भएछ । आफूलाई कुरुवंशी अन्तिम पुरुष मान्ने अधिरथचाहिँ राजाको बाबुको रुपमा फेटा बाँधेर अभिभावक बनेछ । मैले त्यो केही पनि देख्न पाइन । अर्जुनको रणकौशलपछि मच्चिएको तहल्का कर्णको राज्याभिषेकपछि शान्त भएछ किनभने अब कर्ण कसैको सारथिको छोरोमात्र थिएन , हस्तिनापुरको अधीनस्थ अंग देशको एउटा सावैभौम राजा भएको रहेछ । पछि नेपालहुँदै राज्य विस्तार गर्न पूर्व अंग , बंग र कलिँग पुगेको थियो रे आफ्नो राज्यको पनि निरीक्षण गर्नका लागि । जसरी पाण्डुले राज्य विस्तार गर्नुभएको थियो ,त्यो साम्राज्यमा पछि समस्या आउन थालेपछि दुर्योधनले कर्णलाई त्यसको सुरक्षाका लागि पनि राज्याधिकारी बनाएको हुँदोहो । तर इमान्दार कर्णले आफू सूर्यवंशी हुँदाहुँदै पनि चन्द्रवंशीहरुको राज्य विस्तारमा ठूलो योगदान दिएको थियो भन्ने बुझ्न मलाई धेरै समय लागेको थियो ।

किन मेरो ध्यान एकै ठाउँमा केन्द्रित हुँदैन ? के यमराज नजिक आउनु भएकाले ममा भय पैदा भएको हो त ? मलाई त भयको कुनै आभास भएको छैन किनभने यदि मैले चाहेमा कृष्ण तुरुन्त सहयोगका लागि आउने थियो तर मैले उसलाई दुःख दिन नै चाहिँन । अब मलाई के चाहियो र ? तर हाम्रो परिवारको उत्पत्तिका वारेमा भने जब जब सम्झन्छु, भीष्मको उत्पत्ति, बुढी सासुको उत्पत्ति, अनि व्यासको नै उत्पत्ति.., (क्रमशः)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework