लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

टोपी विरोधीहरुका नाममा

बुधबार, २० पुष, २०७३ मा प्रकाशित, 9982 पटक हेरिएको

यतिबेला सामाजिक सञ्जालहरुमा जोडतोडका साथ टोपी बहस चलिरहेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गत जनवरी १ मा मनाईएको टोपी दिवसको विरोधमा अभिव्यक्ति दिएपछि टोपीका बारेमा अनेक टिका टिप्पणीहरु सार्वजनिक भईरहेका हुन् । विशेषतः ढाकाटोपीको पक्ष र विपक्षमा जुहारी चलिरहेको छ ।

-रामजी बलामी

विगत तीन बर्षदेखि नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्धेश्यसहित नेपाली टोपी दिवसका मनाईदै आएको छ । यस बारेमा विगतमा खासै विरोधका आवाज नउठे पनि यो पटक भने एकाएक ठूलो बहस सिर्जना भएको छ । यतिखेर टोपी लगाउँदैमा राष्ट्रवादी भईन्छ र ? आधुनिक युगमा पनि टोपीबाटै चिनाउन खोज्नु सही हो र ? विदेशी मितीमा नेपाली टोपी दिवस मनाउनुको के अर्थ ? स्वाङका लागि मात्रै टोपी लगाउनुको के अर्थ ? पुरुषले लगाउने टोपी महिलाले किन लगाए ? लगायतका आलोचनात्मक जिज्ञासाहरु पैदा भएका छन् ।

टोपी लगाउँदैमा राष्ट्रवादी भईन्छ र ?

पहिलो कुरा त यो जिज्ञासा नै गलत छ भने यसको सही जवाफ हुने कुरै भएन । न अभियन्ताहरुले राष्ट्रवादी हुन टोपी लगाऔं भनेका छन न त टोपी लगाउँदैमा राष्ट्रवादी नै भईन्छ । त्यसैले यसलाई जोडेर आलोचना गर्नुको अर्थ रहन्न । राष्ट्रवादी र राष्ट्रघाटी काम भनेको टोपी, कट्टु, धोती, चोलोले गर्ने होईन व्यक्तिको सोच र ब्यवहारले गर्ने हो । टोपी नलगाएकाहरुले पनि राम्रो गरेका छन भने केही टोपी लगाएकाहरुले पनि राम्रो गरेका छन । यस्तै नराम्रो गर्नेहरु पनि तिनै कोटीका छन । भने टोपीलाई राष्ट्रवादी र राष्ट्रघाटीको पगरी लगाउनु सही हुदैन । यो त केवल एउटा चिनारी मात्रै हो ।

एकल जातीय पहिचान ढाका टोपीलाई एकल जातीय अर्थात क्षेत्री बाहुन र पहाडी समुदायको मात्रै पहिचानका रुपमा आलोचना हुँदै आएको छ । तर वास्तवमा यो टोपी हरेक समुदायले लगाउदै आएका छन् । खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ आप्mनै सामदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजका बेला ढाका टोपी नै लगाउने गरेका छन् । पूर्व राष्ट्रपति रामवरण यादवले कहिल्यै टोपी छुटाउनु भएन, न त दौरा सुरुवाल बहिस्कार गर्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै छुटाउनु भयो । क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्वु, यादव सबैले लगाउने टोपी एकल जातीय हो भने कुन चाँही पहिरन बहुजातीय त ?

अर्काे कुरा टोपीको बनोटले नै हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतविदहरुले वताउदै आएका छन् । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा लिईन्छ । धोती र बख्खु मौसम र भूगोलमा आधारित पहिरन हो । धोतीलाई दौरा सुरुवालसँग तुलना गर्न सकिएला तर टोपीसँग तुलना गर्न मिल्दैन । बरु दौरा सुरुवाललाई केही हदसम्म जातीय कोणबाट हेर्न सकिएला तर यो टोपीलाई कुनै पनि कोणबाट एकल जातीय र क्षेत्रीय देखिदैन ।

अझ अर्काे विडम्वना त के छ भने एकातिर नेपाल बहुसांस्कृतिक मुलुक पनि भन्ने अनि अर्कोतिर टोपी दिवस मनाएकोमा विरोध पनि गर्ने । हरेक व्यक्तिलाई संविधानले स्वतन्त्रताको अधिकार दिएको छ । टोपी दिवस मनाओस अथवा धोती दिवस नै किन नमनाओस । तर नेपाल बहुजातीय र बहुसंस्कृति भएको मुलुक भन्नेहरु नै टोपी दिवस मनाउदा किन हात धोएर विरोधमा उत्रिरहेका छन ? यसको मतलव त बहुसांस्कृतिक भनेको टोपीबाहेकको अर्थात बहु सांस्कृतिक भित्र टोपीलाई वन्देज भन्ने अर्थ लाग्दैन र ? होईन भने राष्ट्रहितका पक्षमा नागरिकले चालेको कदमलाई विरोध किन ?

बिश्व समुदायले चिन्ने आधार के ?

मान्छेको चिनारी दुई किसिमले हुन्छ । पहिलो उसको व्यक्तित्व र दोश्रो ऊसँग भएको चिन्ह । नेता भट्टराईकै शब्द सापती लिएर भन्नुपर्दा केही हदसम्म सत्यनिकट पनि छ । उनले भनेजस्तै अहिलेको बैज्ञानिक र भूमण्डलीकृत युगमा हामीले राष्ट्रियताको बिम्वका रुपमा पोशाक, भोजन र संस्कृतिलाई होईन वैज्ञानिक चिन्तन, विकास, प्रविधिलाई बनाईनु पर्छ । अब प्रश्न उठ्छ के उसो भए त्यो बिम्वको विकास नभएसम्म हामी पहिचानविहिन नागरिक भएरै बस्ने ? के विकासरुपी विम्व निर्माण नभएसम्म अहिले यथावत रहेको विम्वलाई कायम राखेर अघि बढ्न सकिन्न ? इनारमूनि बसेर आकाश छुने सपना पूरा गर्न त समय लाग्ला नि ? वैज्ञानिक युग भन्दैमा टेष्ट्युबबाट बच्चा जन्माउन सकिन्छ भनेर बिहे नै गर्न हुँदैन भने जस्तो तर्क पनि त ठिक होईन होला नि ?

माओवादीले जुन लक्ष्यका साथ युद्ध लडेका थिए अहिले कति प्रतिशत पूरा भयो ? जंगलबाट सहर पसेको दशक वित्दा समेत लक्ष्यहरु लथालिंग अवस्थामा छन भने बिश्व मानचित्रमा नयाँ बिम्व खडा गर्ने बहानामा भईरहेको बिम्व मेटाउने कोसिस गर्नु कतिको बुद्धिमानी हुन्छ ? दर्शन छाड्न भन्दा पालना गर्न कयौ गुणा गाह्रो हुन्छ भन्ने कुरा पनि हेक्का राख्न जरुरी छ । अर्काे कुरा वौद्धिक भौतिक विकास जे जति गरे पनि बिश्वका कुनै सहरमा जाँदा त्यहाँका स्थानीयले झट्ट हेर्ने वित्तिकै नेपाली भनेर चिनाउने आधार के त ? के सबै नेपालीले बिश्वलाई चमत्कार गर्न सक्ने आविष्कार गरेर पहिचान वतुल्न सक्लान त ?

विशेषगरी ढाकाटोपी, कालोटोपी र भादगाउँले टोपीलाई नेपाली टोपीका रुपमा बिश्व समुदायले चिनिदै आएका छन् । यिनै टोपीले सदियौंदेखि बिश्व समुदायमाझ नेपालीलाई चिनाउदै आएको छ । बरु नेपाली झण्डा अंकित कुनै पनि पोशाकलाई नेपाली पहिचान भन्न सकिएला तर अनेक शब्दजालमा अल्झाएर पहिचान मेट्ने चेष्टा स्विकार्य हुँदैन । नेपाली टोपीको साइ्नो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । के टोपीले जति अरु कुनै पहिरनले नेपालीलाई चिनाउछ ? मेरो आशय अरु पहिरनप्रति घृणाभाव होइन । सवै पहिरनको उत्तिकै महत्व छ त्यसैले जगेर्ना गर्नुपर्छ । तर बनिसकेको पहिचानलाई यथावत राखेर अरुलाई पनि स्थापित गराउन प्रयास गर्नुपर्छ । तर बनिसकेको पहिचान मेट्न कहाँसम्मको मूर्खता ? फलाम नै भए पनि न सियोको काम वञ्चरोले गर्छ न त वञ्चरोको काम सियोले गर्छ ।

छोरीले टोपी लगाउन हुने कि नहुने ?

टोपी अभियानसँगै उठेको अर्काे सवाल हो– ‘छोरीले टोपी लगाउन हुने किन नहुने ?’ भन्ने सवाल । हुन त पहिलेदेखि नै टोपी पुरुषले मात्रै लगाउदै आएको पहिरन हो । तर समानता र स्वतन्त्रताको कुरा गरिरहँदा महिलाले टोपी लगाउन हुने कि नहुने भनेर संकुचित सोच राख्नु सान्दर्भिक देखिदैन । सर्ट, पाइन्ट, मोटरबाइक, क्याप पनि पहिले पुरुषले मात्रै लगाउथे÷चलाउथे तर पछिल्लो समय यी उत्पादनहरु कसरी महिलामैत्री बने ? पहिरन भन्ने कुरा चलनचल्तीले निर्धारण गर्ने कुरा हुन । अर्काे कुरा महिलाको रुची अनुसारका टोपी पनि त उत्पादन गर्न सकिन्छ । कुनै पनि कुरामा बानी नपर्दासम्म मात्र हो बानी परेपछि सबै कुरा सहज हुँदै जान्छ ।

यसै सन्दर्भमा एउटा ऐतिहासिक प्रसंग पनि जोड्नु उपयुक्त हुन्छ । त्यतिबेला जंग बहादुर राणाकी बहिनी डम्बर कुमारीले नेपाली टोपीको डिजाइन गरेकी थिइन । उनले रिसाएका आप्mना दाजुलाई फकाउन यो कलात्मक टोपी बनाएर लगाई दिएको वताइन्छ । बंगलादेशबाट कपडा आएको भए पनि अहिलेको ढाका टोपी नेपालमा नै पहिलो पटक बनेको वताईन्छ । जुनसुकै काल र समयमा भए पनि राम्रो कामको प्रशंसा गर्न चुक्नु हुँदैन । यस मानेमा एउटी नेपाली चेलीको उत्पादन ढाका टोपी अर्काे नेपाली चेलीले लगाउनु अस्वभाविक हो जस्तो लाग्दैन । टोपी लगाउनेलाई बे..या भन्नेहरुकै कारण नेपाली चेलीहरुले टोपी लगाउन वञ्चिन भएका हुन् ।

विदेशी मितिमा नेपाली टोपी दिवस रे !

अर्काे जल्दोबल्दो जिज्ञासा यो पनि हो । पछिल्लो पुस्ताले पश्चिमेली संस्कृतिको आँखा चिम्लेर सिको गर्न थालेका छन । त्यसैले अंग्रेजी नयाँ बर्षलाई नेपालीपन दिनका लागि यो दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको हो । यसको मतलव अंग्रेजी नयाँ बर्षको विरोधमा नेपाली टोपी दिवस भन्ने पक्कै होईन ।

जहाँ अभाव हुन्छ त्यहाँ नै संरक्षण र जगेर्नाको खाँचो हुन्छ । विगतमा हरेकले यो टोपी लगाउँथे तर यसको जगेर्ना स्वतः भईरहेको थियो । तर पछिल्लो समयको समयको क्रेज खस्कँदो देखिएकाले दिवसको खाँचो भएको हो । जसले एकातिर नयाँ पुस्तालाई नेपाली टोपी चिनाउने अवसर दिलाउछ भने अर्काेतिर यसको जगेर्ना पनि हुन्छ । दिवस मनाउनुको अर्थ पुराना पुस्ताको अपमान होईन उहाँहरुप्रतिको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन हो ।

आर्थिक सवाल

झट्ट हेर्दा पहिचानका कुरा जस्तो लागे पनि टोपीको प्रवद्र्धन हुनु भनेको आर्थिक विकासको एउटा पाटो पनि हो । नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न सके यसलाई निर्यात गरेर आम्दानी गर्न सकिन्छ । नेपाल आउने पर्यटकले नेपालको चिनोस्वरुप किनेर लैजाने छन् । नेपाली सामान निर्यात हुनु भनेको बाहुन, क्षेत्री अथवा पहाडीका लागि मात्रै फाइदा हुनु हो ? होइन भने यसमा भाँजो हाल्नुपर्ने कुनै कारण थियो र ? टोपीको मात्रै होईन धोती, बख्खु, सबैको प्रवद्र्धन गर्न प्रयास थाल्नु पर्छ । तर अहिलेसम्म हाम्रो चिनारी बनिसकेको टोपीलाई प्रवद्र्धन गर्न जति सहज छ अरुलाई गर्न निकै गाह्रो छ । तर प्रयास भने जारी राख्नुपर्छ । धोती, बख्खु लगायतलाई प्रवद्र्धन गर्ने नाममा टोपीलाई वेवास्ता गर्नु गणतन्त्रको माग होईन । एउटालाई उकास्ने नाममा अर्काेलाई थिचारेर हुँदैन । दुवैलाई उत्तिकै साथ र सहयोग गरेर उकास्ने कोसिस गर्नुपर्छ जो अघि बढे पनि उत्तिकै हौसला र पुरस्कार दिनुपर्छ । अतः टोपी अभियान थाल्दा धोतीको अपमान हुने र धोती अभियान थाल्दा टोपीको अपमान हुने भन्ने सोच संकुचित सिवाय केही होईन । rbalami2008@gmail.com

(लेखकः नेपाली टोपी दिवसका संस्थापक अभियन्ता हुन्)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework