लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

महाभारतकी कुन्ती–१०

बुधबार, १८ फागुन, २०७३ मा प्रकाशित, 5739 पटक हेरिएको

त्यसदिन पाँचैजना छोराहरु बेलामा आएनन् । हल्लाखल्ला पनि सुनिएन । म त चिन्ताले के गरुँ के गरुँ भएर बसेकी थिएँ । हुन त मेरा छोराहरुको सुरक्षाका वारेमा म चिन्तित थिइँन तर उनीहरुको पहिचान लुकाएको कहीँ खुल्छ कि भन्नेमात्र मलाई थियो । म पनि त आफ्नो परिचय लुकाउँदै हिँडेकी थिएँ ।

-हरिविनोद अधिकारी

हामीमध्ये म बाहुनीको भेषमा, मेरा पाँचओटै छोराहरु युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव सबै तपस्वी बाहुनको भेषमा रहेका थियौं । जिउ, चाल ढाल र बोल्ने खाने तरिका बाहुनको जस्तो बनाउन हामीलाई असाध्यै गाह्रो भएको थियो । तपस्वी जस्तो जो देखाउनु जरुरी थियो । घरभित्र पनि वा बास बसेको घरमा पनि वा बाहिर हिँड्दा पनि हामीले कतै क्षत्रीजस्तो देखाउनु हाम्रै भविष्यका लागि समेत खतरा थियो किनभने हस्तिनापुरका लागि हामी मृतक थियाँै र हाम्रो क्रियाकर्मसमेत गरिएको थियो । त्यसैले मलाई किन ढिलो गरेका हुन् भन्नेमात्र लागिरहेको थियो । लागिरहन्थ्यो ।

हामी एकप्रकारले आधारविहीन, आवासविहीन थियौं, भिरबाट लडेको ढुङ्गाझैं । हाम्रालागि हस्तिनापुर पनि थिएन, वारणावत पनि रहेन । वारणावतमा नै बसेर राज्य गर्ने तयारी भनेर हामीलाई फकाइएको थियो तर विदुरले साङ्केतिक भाषामा हामीलाई सबैकुरा भन्नु भएकोले हामीले पनि तयारी गर्न समय पाएका थियौं । पुरोचन हामी सुतेको समय खोज्थ्यो अनि हामी पालो गरेर बस्थ्यौं र कोही कहिले सुतेकै छैन भन्ने भान पाथ्यौं । त्यसोगर्दा युधिष्ठिरले जनतासँग सामीप्यता पनि प्राप्त गथ्र्यो र दुर्योधनादिहरुको कुरा बुझ्न पनि गुप्तचर प्रयोग गरेर समाचार सङ्कलन गथ्र्यो । म पनि युवराज नभएको देशकी राजकुमारी भएकीले राज्यका सबै कुराको जानकारी राखेकी हुन्थें र पछि महारानी भएर पनि त काम गरेकी थिएँ ।

गुमेको राज्य, गुमेको परिचय र समयको भेललाई आफ्नो पक्षमा पार्ने नयाँ रणनीतिका लागि समय खपत गर्न र शक्ति सञ्चयका लागि म र मेरा छोराहरु लागेका थियौं । त्यहीबेला नै पाञ्चाल नरेश द्रुपदको दरबारमा याज्ञसेनी राजकुमारी कृष्णा भनौं या द्रौपदी या पाञ्चालीको स्वयंवरको योजनामा मेरा छोराहरु सहभागी भएछन् । पृथ्वीमा रहेको ऐनामा हेरेर माथि आकाशमा घुमेको मत्स्यवेधन गर्ने कठिन कर्ममा सफलता प्राप्त गरी ब्राह्मणले पनि क्षत्रिय कन्याको स्वयंवरमा भाग लिन पाउने हक कायम गरेछन् अनि कृष्णालाई लिएर आएछन् । लडाईं पनि भयो रे र भीम अनि अर्जुनले सबै राजालाई जिते रे । भन्न त पछि भन्थे हस्तिनापुर दरबारमा , कर्णले पनि त्यो अति कठिन कार्य सम्पन्न गरेको थियो रे र द्रौपदीले सुतपुत्रसँग विवाह नगर्ने कुरा गरिन् रे । यो कुरा द्रौपदीले भनिन् कि भनिनन् तर दरबारमा यो कुरा चर्चामा थियो । तर भनिन्थ्यो कर्णको छोरो जो कौरब सेनामा थियो , त्यो पनि त्यो लडाईंमा मारियो रे ।

कर्णको चाहनाचाहीं सायद द्रौपदी जितेर आफ्नी रानी बनाउनेभन्दा पनि मित्रलाई उपहार दिनु थियो जस्तो लाग्यो । त्यो बेलामा कर्ण अङ्ग देशको राजा घोषित भइसकेको थियो । यज्ञबाट निस्किएकी, जन्मँदै युवती र सबै लक्षणले युक्त दुर्लभ राजकन्या दुर्योधनका लागि जित्ने बुझ्न सकिन्थ्यो । तर त्यहाँको वातावरणलाई कर्णले आफ्नो पक्षमा पार्न चाहेन जस्तो छ र त भीम अर्जुनसँग उसको पहिलोपटक युद्ध भयो अनि हारेर हिंड्यो । त्यो उसको स्वभावमा पर्ने होइन तर किन हारेर हिँड्यो र ती ब्राह्मण भेषधारीहरुको परिचय प्राप्त गर्न तिर लागेन ? सायद अप्रतियोगी राजाहरुको ताँतीमा कृष्ण पनि थियो क्या र ।

त्यसअघि साँच्चै भनौं भने मैले पनि बसुदेव दाइको त्यो पराक्रमी तथा महापुरुष मायावी छोरालाई देखेको पनि थिइँन या त्यसरी वार्तालाप हुने मौका पनि परेको थिएन । सायद कृष्णा र अर्जुनका लागि नै ऊ पाञ्चाल आएको थियो र कतिपयले त के पनि सम्झेका रहेछन् भने द्रौपदी त अब पराक्रमी कृष्णकी नै हुनेभइन् । हाम्रो त्यो समयमा कृष्णको क्षमता देखिन थालेको थियो र ऊ बराबरको कूटनीतिज्ञ, तार्किक तथा लडाकु अरु कोही छैनन् भन्ने पर्न थालिसकेको रहेछ । बरु म नै बेखबर थिएँ । हामी सबै नै बेखबर थियौँ किनभने हामी नै चक्रवर्ती हौँ भन्ने मायामा अलमलिएका थियौं जस्तो कि माकुरो आफ्नै जालोमा जेलिएर बाहिर जान सक्दैन । त्यही स्वयंवर र पाँचओटा ब्राह्मण कुमारहरुले एउटी कन्या बाँडेर भोग गर्ने नियतिले नयाँ नयाँ साइनो पनि बनायो र द्रौपदीका वारेमा व्यासजीले पाँच पतिका लागि पूर्व जन्ममा नै निधो भएको बताएर हामीलाई एउटा धर्म सङ्कटबाट पार लगाउनु भयो ।

पहिले रुद्रहरुको श्रापले पाँचओटा इन्द्रहरुको घमण्ड तोड्न मनुष्य भएर जन्मनै परेको पाण्डवहरुको पूर्व कथा र ती इन्द्रहरुकी स्वर्ग लक्ष्मीले पाँचओटा पतिसँग आफूमात्र पत्नी हुने वरदान पाएको पूर्व कथा थाहा भयो । फेरि तिनै लक्ष्मी अर्कोजुनीमा विवाह नभएकोले शिवजीको आराधनापश्चात् वरदान माग्दा बारम्बार पति पाउँ पति पाउँ पति पाउँ पति पाउँ पति पाउँ भनेकीले पाँचओटा पति भएको कथा पनि व्यासजीले भन्नुभयो र मात्र महाराज द्रुपद, युवराजहरु धृष्टद्युम्न, शिखण्डीहरुले माने र पाँचै भाइलाई पालैसँग कन्यादान दिए । लोकले भने मलाई यसकारणले दोष दियो कि मैले जे ल्याएको हो, पाँच भाइले मिलेर भोग गर भनेँ रे भनेर । भन्न त भनेकै हो तर धेरैवेर पछि आएकाले केही नदेख्दै भनेको हो । मान्नुस् मलाई त्यसो भन्न नियतिले लगाएको हुनुपर्छ । नत्र पूर्व जन्ममा नै निश्चित भएको जीवनीलाई मैले कसरी पो मेट्न सक्थें र ?

त्यो स्वयंवरको बेलासम्म कर्णलाई आफू कस्को छोरा थाहा थिएन र पनि उसमा रहेको इमानले काम गरेको मान्नु नै पर्‍यो । हामी वारणावतको लाक्षागृहरुपी आफ्नै दरबारमा आगो लगाएर हिँडेका थियौं र संसारलाई हामीले आफू जलेको सन्देश दिन चाहेका थियौं । एउटी भिल्लिनी पाँच भाइ छोरासहित जब साँझमा केही खान आई, अनि हामीले यही मौका हो भनेर पुरोचनलाई अर्को कोठामा थुनेर आगो लगाएका नै हा । सँसारले दुर्योधनले आगो लगाएको मान्यो तर मैले यतिबेर किन झुठो बोलौं, मैले नै कूटनीति सिकाएँ र भनें–बेला यही हो हामी लापता भएर शक्ति सञ्चय गर्ने । लगाऔं आगो र सबैलाई चकित पारौं कि कुन्तीसहित पाँच पाण्डब डढेछन् र यो दुष्कर्म दुर्योधनले नै गरेको हुनुपर्छ । यसले हामीप्रति जनताको सहभाव बढ्नेछ, माया थपिने छ र दुर्योधनआदिप्रति जनतामा विमोह पैदा हुनेछ । मैले ठिक गरें कि गरिन, त्यो त भावी दिनमा जनताले मूल्याङ्कन गर्लान तर मेरा छोराहरुको गुम्न लागेका राज्य फिर्ता लिने झिनो आशा त्यही देखें । त्यसै गरें ।

फेरि वारणावतको सम्झना आयो । वारणावत नै किन पठाए, त्यो एउटा रणनीतिक कुरा थियो होला तर पाण्डवलाई वनबाट हस्तिनापुर ल्याएपछि पहिलोपटक हामीले स्वायत्तता पाएका थियौं र कुरुवंशीको मान्यता पाएका थियौं । तर त्योभित्रको षडयन्त्र भनेको सर्पलाई सुरक्षित प्वालमा प्रवेश गर्नुभन्दा पहिले मार्नुपर्छ भन्ने कणिक ऋषिको सिद्धान्तमा आधारित योजनाबद्ध स्वायत्तता थियो जसलाई मेरा छोराहरुले बेलैमा पत्ता लगाएका थिए , त्यो पनि हस्तिनापुरका महामन्त्री विदुरको सहायताले ।

चक्रवर्ती राजा पाण्डुका सन्तानको जिम्मामा भारत साम्राज्य रहनु पथ्र्यो किनभने पाण्डुले केही नभनी वन प्रवास रोज्नु भएको थियो । एकप्रकारले जेठाजु कार्यवाहक राजाको रुपमा, युवराजको रुपमा हुनुहुन्थ्यो । राजाको छोरो नै युवराज हुने भएकाले मेरो जेठो छोरो युधिष्ठिर नै राज्यको हकदार थियो भनेर ऋषिहरुले जेठाजुलाई चेतावनी दिएर वनतर्फ फर्किएका थिए नत्रभने मेरा छोराहरुको परिचय दिनका लागि ऋषिहरु हस्तिनापुरसम्म आउनु आवश्यकता नै थिएन । सत्ता प्राप्तिका लागि मैलेसमेत अपराध गरेकी छु छोराहरुको राज्यप्राप्तिका लागि । बाहिरबाट हेर्दा अत्यन्त मनमोहक दरबार थियो वारणावतमा , तर त्यो थियो लाक्षागृह । भन्न त भनिएको थियो भोलि हुने राज्यको बाँडफाँटको लागि पूर्व तयारीका रुपमा वारणावतमा बसेर राज्य सञ्चालनको तालिम लिने तर कुरो थियो हामी , म आमा अनि मेरा पाँच भाइ छोराहरुलाई एकै चिहान बनाउने । भित्र हामीलाई राखेर भवितव्यको सहारामा आगो लगाउने र डढाउने । जेठाजुलाई त पक्कै थाहा थियो तर दिदीलाई थाहा थिएन होला यो कुरा । तर देवर तथा महामन्त्री विदुरलाई थाहा थियो र त हामी हिँड्ने बेलामा सबैका सामु युधिष्ठिरलाई विदाइ गर्दै केही गोप्य मन्त्रणा गर्दै हुुनुहुन्थ्यो विदुर अनि युधिष्ठिर पनि मुन्टो हल्लाइ रहेको थियो बुझें बुझें भन्ने भावले । हामीले सुन्ने गरी भनेको कुरा पनि हामीले नबुझ्ने भाषामा थियो । मैले पछि बाटामा युधिष्ठिरलाई सोधें—विदुरले केही नयाँ जानकारी दिएको जस्तो लाग्यो नि ? युधिष्ठिर हाँस्यो मात्र र भन्यो —माता, हजुरको आज्ञाविना म के पो गरौँला र ? पछि सविस्तार भनौँला नि भाइहरुसहित बैठकमा । अब हामी देखाउनका लागि भए पनि स्वतन्त्र राज्यमा स्वतन्त्र भएर राज्य चलाउने तालिममा जाँदैछौँ । हजुरको निगरानीमा हामीले नयाँ जीवन फेरि बाँच्न सिक्नुछ ।

फेरि त्यही कुरा सम्झना आएको छ । छोराहरु आइपुगेनन् भनेर सोच्दै थिएँ, अचानक आवाज आयो युधिष्ठिरको–आमा , हामीले के लिएर आयाँै, हेर्नुस् त ? मेरा पाँचै भाइ छोराहरु परिचय लुकाउनका लागि ब्राह्मणका भेषमा थिए र उनीहरु रातका लागि खान माग्न गएका थिए । अरुले देख्दा माग्थे तर स्वभावअनुसार र आवश्यकताअनुसार केही न केही खोजेर ,वन विहारबाट पनि लिएर आउँथे जसलाई म चोखोनितो तरिकाले उनीहरुलाई पकाएर दिन्थेँ या नपकाउनु पर्ने खानेकुरा छ भने बराबरी भाग लगाएर दिन्थें । त्यसमा भीमलाई भने पुग्दैन थियो र म उसका लागि भने अलि धेरै नै भागमा राख्थें । यो दुःखीको सुखी चलन थियो । तर मलाई किन हो किन, हस्तिनापुर दरबारमा बसेर महारानी हुँदाको भन्दा बरु त्यही परिचय लुकाएर बस्दाको छोराहरुसँगको जीवन खुसी र सुखी लागेको थियो । सबै सँगै छन् , आफू पनि सँगै छु । मातृ वात्सल्यताको सदुपयोग बालापनमा भन्दा त्यो बेलामा मैले गरेकी हुँ । छोराहरु ठूला भए पनि , राजाका छोराहरु भएर पनि आमाका लागि उस्तै हुँदा रहेछन् जस्तो कि कुनै गरिबका घरमा अबला नारीले पालेको जस्तै । हुन त मैले पनि पाण्डुको महाप्रयाणपछि जुन जीवन बाँचेकी थिएँ, त्यो एकदम सामान्य र दरिद्रताले भरिएको नै थियो । तर मेरा छोराहरुमा जुन संयमता र सहिष्णुता थियो , जीवनलाई जसरी पनि बाँच्न सकिन्छ भन्ने जुन क्षमता उनीहरुमा विकास भएको थियो, त्यही नै मेरो पुँजी थियो र त्यही नै आजका पाण्डवको जगमा गाडिएको यश थियो ।

उनीहरु जे पनि खप्न सक्थे र पाँच भाइको एकताका लागि जसले जे पनि त्याग गर्न सक्थ्यो । कति कुराहरु मलाई भन्दा पनि भन्दैनथे । भीम र दुर्योधनका बिचमा हुने विवाद र वैमनष्यताको मैले धेरै पछिसम्म सुइँको पनि पाएकी थिइँन । पाँचै भाइ आकाश जस्तै धीर गम्भीर थिए र पृथ्वी जस्तै सबै चीज आफ्नू गर्भमा लुकाएर राखे पनि कुनै घमण्ड र लोभ थिएन । केही भएको भए पनि केही नभए जस्तो गरी पचाएर बस्थे । त्यसैको जगमा उभिएको पाण्डवको स्वभाव र यशको गुणगान लाखौँ वर्षसम्म यस पृथ्वीमा गाइने छ र उदाहरणीय सन्तानका रुपमा मेरा छोराहरुलाई लिइने छ भनेर मलाई व्यासजीले जैले पनि सम्झाउँदा भन्ने वाणी हो ।

व्यासले भन्नुहुन्थ्यो–कुन्ती, तिमी वीर प्रसूता नारी हौ । तिम्रा सन्तानले द्वापर युग र कलि युगको संक्रमणमा यो संसारलाई नेतृत्व दिने हुनाले उनीहरुको बुद्धिमत्तापूर्ण राज्यसञ्चालनले मात्र यो भूमि सुरक्षित हुनेछ । व्यासलाई त्रिकालदर्शी मानिन्थ्यो र त हाम्रा सबै कुराको अन्तिम छिनोफानो उहाँकै मुखबाट हुन्थ्यो । अचम्भ लाग्छ–जब जब हाम्रो परिवारमा अन्यौल, अन्यमनस्कता र विवाद उब्जन्थ्यो, त्यो बेलामा उहाँ कताकताबाट टुप्लुक्क आइपुग्नु हुन्थ्यो । तर चीरहरणताका भने उहाँको दर्शन पाइएन । सायद त्यो पनि नियतिको एउटा खेल नै थियो कि ? या हुनै पर्ने थियो र भएको हो कि ? किनभने व्यासजीले द्रौपदीको पूर्वजन्मको कुरा गर्दा कुरुवंशमात्र होइन, सम्पूर्ण क्षत्रीहरुकै नाश गर्न यिनको उत्पत्ति भएको हो, हेर्दै जाऊ भन्नुभएको थियो । तर तर्कपूर्ण तरिकाले नाश हुनेछन् वीरहरु यो सँसारमा एकपटक । त्यसले एउटा रिक्तता ल्याउने छ कलीयुगको प्रवेशमा । द्वापर र कलीयुगको संक्रमणमा तर कुन्ती तिम्रै सन्तानले राज्य गर्नेछन् पछिसम्म । अहिले युधिष्ठिर राज्य गरिरहेको छ र पछि अभिमन्यु पुत्रले राज्य गर्ला अनि उसको पनि छोरो होला अनि राज्य गर्ला भन्ने सम्झौँ ।

म फेरि कता हराएँ । कता द्रौपदीको पाँच पतिको कथालाई केलाउन थालेको मान्छे , उनको पूर्व जन्मको कथाले पाँच पति पाएको भनेर मलाई व्यासजीले भनेपछि बल्ल नियतिको भाषा मेरा मुखबाट निस्केको मात्र रहेछ । तर अहिले त पूर्वजन्मको कथा, पाँचपटक पति पति पति पति पति पति भनेर पाँच पति हुने श्राप भनौँ कि वरदान पाएको कथा रहेछ । कति एउटै कुरा दोहोरिई रहन्छ मेरो मनमा । साँच्चै मेरा कारणले द्रौपदीका पाँच पति भएका होइनन्, विधिको विधान नै त्यस्तै रहेछ भन्ने मान्नै पर्दोरहेछ । चीरहरणको प्रसङ्गले त अहिले पनि जिउ सिरिङ्ग हुन्छ ।

म त कता चीरहरणतिर पो पुगेंछु । हुनै पर्ने थियो र भएछ । नत्र मेरा छोराहरुले इख राख्दैनथे र भीषण लडाईँ पनि हुँदैन थियो । यस्तै हो मलाई थाहा छ, मेरो इहलीला अब केही छिनमात्र हो । अनि त म महाराज पाण्डु भएको ठाउँमा पुग्नेछु र माद्रीसँग भलाकुसारी गर्नेछु । अनि पक्कै सोध्लिन्दि-दी, कर्ण साँच्चै तपाईंका छोरो हो ? तपाईंले मलाई त्यस्तो विश्वास गर्नुहुन्थ्यो, अनि त्यो कुराचाहीं किन लुकाएको ? स्वर्गमा कुनै स्वार्थी चाह हुनेछैन, राग हुनेछैन र कुनै अभिमान पनि हुनेछैन । अनि म भन्नेछु, बहिनी लोकाचारमा त्यो अनिवार्य हुन्छ । सबैका केही न केही गोप्य कुरा हुन्छन् र सबैले त्यसलाई भन्दैनन् , भन्नु पनि हुँदैन । महापुरुष र महास्त्रीहरुले भन्न सक्लान् र यो संसारी मोहजालबाट मुक्ति पाउलान् तर सबैका लागि , धेरैका लागि र सामान्य मानिसका लागि त्यो असम्भव नै छ । जहाँ आफ्नूभन्दा अरुको स्वार्थ जोडिएको हुन्छ, त्यहाँ गोप्यता अलि बढी नै कायम गरिन्छ । मलाई मेरोभन्दा पनि पिताजी सुरसेन र काका भनौँ या पिताजी महाराज कुन्तीभोजको इज्जतले सताएको थियो । भनेको भए के हुन्थ्यो होला ? कर्णलाई लिएर पिताजी सामु गएर सत्य तथ्य भनेको भए के हुन्थ्यो होला ? के सूर्य भगवान मेरो साक्षी बस्न आउनु हुन्थ्यो होला ? मैले कसरी विश्वास दिलाउन सक्थें कि यो बच्चा मेरो हो ।

नियति , कर्म र परिणामको पुञ्ज मान्छेले चाहेरमात्र केही हुँदैन तर चाहना राख्ने त मान्छेमात्र हो नि । देवताको चाहना हुँदैन , उनीहरु त दैवी अनुशासनको परिधिभित्र फनफन घुमिरहेका हुन्छन् । मान्छेमात्र आफ्ना चाहना र कर्मका लागि स्वतन्त्र हुन्छ । तर कसरी स्वतन्त्र रहन्छ ? बाध्यता र विवशता जस्ता नियतिले पठाएका तत्वहरु बारम्बार आउँछन् नसोचेको जसरी । जसरी कि हामीले फेरि राज्य प्राप्त गर्‍यौँ र त्यो राज्यलाई हामीले यसरी सञ्चालन गर्‍यौं कि सैयौं वर्षसम्म त्यो नमुना राज्यको रुपमा सम्झनामा आउला । तर त्यो राज्यको आधारशिला भनेको त त्यही द्रौपदी स्वयंवर नै त भयो । हामीलाई नयाँ सम्धी महाराज द्रुपदले जुन सहयोग गर्नु भयो र मेरो भदाहा कृष्णले जुन कूटनीतिक चालबाजी अपनायो , त्यो नै हाम्रो पुनस्र्थापनाको कारक बन्यो । (क्रमशः)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework