लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्वमा फेरि ‘कोल्ड वार’ ?

सोमबार, २३ फागुन, २०७३ मा प्रकाशित, 4945 पटक हेरिएको

पेशल आचार्य - संसार गोलो छ । यसमा कसैको विमत्ति छैन । हिजोका यावत् फेसन, सिनेमा, खेल र गीतसंगीतहरू पनि घुमीघुमीकन नयाँ कलेवरमा आउँछन् र बजार तताउँछन् । खानपिन, बसउठ, रउस् र मानिसका जीवन भोगाइका शैलीमा वृत्तीय चक्र निहीत हुन्छ । संसार गोल चक्करमा घुमिरहन्छ । समाजिक अवयवमा यी देखिन्छन् ।

मानिस एउटै कुरामा दिक्क हुन्छ । परिवर्तन मानव चाहना हो । उसले नित्य नवीन परिवर्तनको कामना व्यक्त गरिरहन्छ । हिजोका चिन्तन आज नयाँ शैलीमा हाम्रा सामु देखापर्नु कुनै नयाँ परिघटना होइनन् । तिनीहरू सबैसबै सार्थक रुपले घुमिरहेका हुन्छन् । भनिन्छ नि– विगत आगतको बाउ र आगत विगतको सन्तती हो ।

प्रसङ्ग विश्वको आउँदो ‘कोल्ड वार’ को हो । डोनाल्ड ट्रम्पले अमेरिकामा एकाएक चुनाव जितेपछि विश्व चकित भयो । ट्रम्पको राजनीतिक पृष्ठभूमि, पेसा, रुचि र विविध कार्य क्षेत्रले अमेरिकीलाई मात्रै नभएर विश्वभरिका मानिसलाई चकित बनायो । पदबहाली पछिका दुई महिनामा उनले गरेका निर्णयहरूले अमेरिकामै उनको व्यापक विद्रोह हुने संकेत देखियो । आरम्भ क्यालिफोर्नियाबाट भइ पनि सकेको छ । पहिलो, उनको निर्णय मेक्सिकोको सिमानामा पर्खाल निर्माण र दोस्रो, विश्वका गरिब देशमा अमेरिकाले दिँदै आएको परिवार नियोजन र महिला तथा बालबालिकाका क्षेत्रमा उपलब्ध स्वास्थ्य सहयोगमा भारी भरकम् कटौती ।

अहिले आएर फेरि अमेरिकी ‘सुपर पावर’ (?) का राष्ट्रपति एकाएक विवादमा तानिए । त्यो विवादको निर्णय उनले सैन्य शक्तिमा खर्च बढाउने कुरालाई लिएर आयो । अमेरिका अब क्रमशः आप्रवासीका लागि सुरक्षित छैन भन्ने सन्देश केही दिनअघि एकजना अवकाश प्राप्त अमेरिकी सैनिकले दुईजना भारतीयलाई गोली हानेर उडाएको घटनाबाटै सुरु हुन्छ । अहिले अमेरिकाले रक्षा बजेट एकाएक वृद्धि गरेको छ । त्यसको प्रत्युत्तरस्वरूप चीनले आफ्नो रक्षा खर्चमा सात प्रतिशतले बढोत्तरी गर्ने निर्णय गरिसक्यो ।

विश्व चकित र थकित भएको छ अहिले । विश्वमा सन् १९८० को दसकसम्म ‘कोल्ड वार’ याने शीतयुद्ध थियो जसको एकपक्षीय ध्रुवको नेतृत्व अमेरिकाले र अर्को पक्षको नेतृत्व सोभियत रुसले गरेको थियो । यही समयमा तेस्रो विश्वका केही मुलुकले असंलग्न परराष्ट्र नीति अख्तियार गरेका थिए । नेपालजस्ता मुलुकहरू असंलग्न राष्ट्र समूहमा गोलबन्द थिए । वार्सा सन्धि संगठनको विघटनपछि एकाएक संसारमा नेटो हावी भयो । तत्पश्चात् अमेरिकी दादागिरी चरमचुलीमा पुग्यो । वर्मामा सैनिक जुन्ता सरकारको हाली–मुहाली होस् या मध्यपूर्वको अशान्ति, प्यालेस्टाइनहरूको माटो प्राप्तिको लडाइँ होस् या इराक युद्धका दंगलहरू, यी सबैमा कतै न कतै अमेरिकी चासो पाइन्छ । अफ्रिकी गृहकलहमा समेत अमेरिकाले राडीमा सातु नमुछेको होइन । चीनप्रति उसको गिद्दे नजर ‘फ्रि टिबेट’ भनेरै भइरह्यो । ओसामा विन लादेन त उसको मानष पुत्र नै थियो, जोपछि उसको घाँटीको हाड भई अड्किँदा ‘सर्जरी’ नगरी धरै पाएन ।

सोभियत रुसले मिखाइल गोर्वाचोभको नेतृत्वलाई स्वीकारेर ग्लासनोस्त र पेरेस्ट्रोइका कार्यक्रमलाई प्रायोजन गरी अघि बढायो जसको अन्तर्यमा अमेरिकी र्‍याल भेटियो । गोर्वाचोभलाई सोभियत संघ विघटनमा अमेरिकी ‘प्यादा’का रुपमा काम गरेको आरोप लागेको थियो । नाम, बद्नाम हुँदै आजका दिनमा गोर्वाचोभ गुमनाम छन् । क्यास्ट्रोले सानदार मृत्युवरण गर्दा अमेरिकी निधारमा चिट्चिट् पसिनामात्र आएन, न कि ओबामाले उसप्रतिको नाकाबन्दी फुकुवाको ऐलान गर्नु प¥यो ।

अमेरिकामा ‘फुलब्राइट स्कलरसिप’ पाएको गोर्भाचोभ सिआइएको ‘गोटी’ नबनेको भए सोभियत रुसको त्यति छिटै विघटन हुने थिएन भन्ने विश्लेषकहरू पनि छन् । त्यसपछिका परिघटनालाई हेर्दा रुसमा आएको बोरिस यत्ल्सिन युग र सोपछि भ्लादिमिर पुटिन युगलाई हेर्दा जो कोही विश्व राजनीतिलाई गढेर पढ्ने मानिसले सो कुरा पत्तो पाउँछ । रुस टुक्रयाउने अमेरिकीहरूको पचासौं वर्ष अघिको सफल माष्टर प्लान थियो जसमा गोर्वाचोभ किनिए ।

अन्ततोगत्वा करिब चार दसकपछि आएर विश्व राजनीतिको धुरो र चुरो अब एसियाली दुईदेश चीन र भारततर्फ अघि बढ्दैछ । चीनले सन् १९८० कै दसकमा देङ् सियाओ पिङ्को नेतृत्वमा गरेको अभूतपूर्व भौतिक क्रान्ति र विकासे फड्कोलाई हेर्दा भारतका वर्तमानका क्रमागत् प्रगतिहरू फिका सावित हुन्छन् । दुवै देश औद्योगिक उत्पादन, सामरिक महत्व र अन्तरिक्षमा आफ्नो जबरजस्त उपस्थिति बढाउँदैछन् । यति भएर पनि भारत आफ्ना छिमेकी देशमा खुसहाल रुपमा उपस्थिति जताइरहेको छैन । उसले सानातिना झैझमेला र सत्ता राजनीतिका उधुम बखेडाहरू झिकेर आफ्ना छिमेकीमा घुसपैठीहरू पठाएर यो वा त्यो बहानामा राइँदाइँ गरिरहेकै छ । नेपाली राजनीतिकै सत्तारोहण र प्रतिपक्षीहरूको रोइलोमा भारतको सूक्ष्म स्वार्थ देखिन्छ । सात साल देखिका राजनीतिक घटना विश्लेषण गर्दा त्यो पाउन सकिन्छ । भला, त्यो गहन विश्लेषणीय सन्दर्भ हुन जान्छ ।

अबको विश्व फेरि दुई ध्र्रुवीय पक्षमा जान खोज्दै छ । जसको पोलराइजेसन पनि अमेरिकामा डोनाल्ड ट्रम्पको अभ्युदयबाट भैसकेको छ । यो खबर तेस्रो विश्वका लागि प्रीतिकर नलाग्न सक्छ । शक्तिराष्ट्र र अन्तर्राष्ट्रिय पावर किङहरूका लागि शक्ति र सत्ताको खेल खेल्न, अकूत प्राकृतिक स्रोत हल्याउन र गरिब देशका सरकार गठनविगठनका माहौल तताउन उपयुक्त हुन सक्छन् । भविष्यमा हुने यस्ता दुन्दुभीले धेरै निहत्था र निर्धन राष्ट्रका मानिसको सामूहिक कत्लेयाम हुन सक्छ । तर विकासोन्मुख देशका लागि यो अन्त्यन्त दुःखद् खबर हो । विकासका बाटामा लम्कँदै गरेका मुलुकमा रोग, भोक र शोक व्याप्त छन् । शिक्षा, स्वास्थ्य र संचार विषयहरू यमानका समस्या बनी अगाडि तेर्सिएका छन् । भूमण्डलीकरण, जलवायु परिवर्तन, विश्वतापमान वृद्धि, बढ्दो जनसंख्या र तीव्र सहरीकरण र बेरोजगारीका चपेटामा विश्वका विकासोन्मुख देश परिरहेकै बेला फेरि पनि एकातिर कम्युनिष्ट देशको आवरणमा उदाएको चीन र अर्कातिर संसारकै प्रजातान्त्रिक देशको मसिहा बनेर विश्वलाई आफ्नो मुठ्ठीको माखो बनाएको छु भन्ने भ्रम पालेको अमेरिकाका बीच थालनी भएको ‘जुँगाको लडाइँ’ भएमा फेरि अर्कोपल्ट चेपुवामा पर्ने भनेका नेपालजस्तै सयौं देशहरू हुन् ।

एक त यहाँका राजनीतिज्ञहरूले राजनीतिलाई पेसाका रुपमा लिएका, वंशवाद हावी गर्न लागिपरेका र संसारले खारेका भनेर मानी आएका प्रजातान्त्रिक विचार, साम्यवादी दर्शन र नवीन चटपटेजस्ता लाग्ने अनेकानेक दर्शनहरूलाई बेचेर केही दर्जन सर्वहाराका नेता बनी राजधानीमा आलिसान महल र अकूत धनार्जन मै व्यस्त र मस्त रहेका छन् भने अर्कातिर प्रजातन्त्रको दुहाई दिएर जीवनभर नथाक्ने नेपालका पुराना पार्टीहरूकै लहरमा काँग्रेस पनि अहिले न ‘डेमोक्रेट’ र न ‘हिप्पोक्रेट’ को स्थितिमा देखिएको छ । कट्मिरो राष्ट्रवादले एकातिर जनतालाई दिग्भ्रमित तुल्याइरहेको स्थिति छ भने पुरानो भैसकेका विचारको अचार साँध्न पनि केही दक्षिणपन्थी पार्टीहरु शेरगुल खिलाउन थालेका छन् । यस्तो स्थितिमा विश्व नै विचलित पाराले अघि लाग्यो भने त्यसले नौला प्रकारका हुरिकेन र सुनामीहरू राजनीतिमा ननिम्त्याउला भन्न सकिन्नँ । गम्भीर चिन्ताको विषय यो हो ।

नेपालको लोकतन्त्रमा भारतको जहिल्यै गिद्दे नजर रहिआएको कुरा घाम जत्तिकै छर्लङ्ग भैसक्यो । भारतले उसका देखिने नदेखिने बीसौं हज्जार अरौटे, भरौटे र कुरौटे स्वनामधन्य कथित बुद्धिजीवी आवरणमा उसको हित गर्ने सिद्धान्त भजाउन अनेक प्यादाहरू राजनीति, कूटनीति, शिक्षा, व्यापार, सञ्चार, स्वास्थ्य र कर्मचारी प्रशासनका क्षेत्रभित्र घुसाइसकेको छ । निरीह र जानकार नेपालीहरू यो स्थितिलाई टुलुटुलु हेरिरहन विवश छन् । समस्याका माखे साङ्लाहरू यति जब्बर भएर बाँधिएका छन् कि तिनीहरूको गाँठो फुकाउन नेपाली नेताका आवरणमा झुल्किएकाहरू कोही काबिल छैनन् । मधेशी नेता महन्थ ठाकुरले भनिसके– ‘अब तराईमा एमालेले नमस्ते नपाउने भयो ।’ भाषा र भावमा अब तराई एमालेका लागि प्रियकर छैन भन्ने अर्थ जँच्छ । काँग्रेसको वर्तमान मधेश नीति सपाट छैन । नेपालका दलहरू यतिसम्म भाँडिएका विगत्मा कहिल्यै थिएनन् । यता चुनावको रस्साकस्सी सुरु भैसक्यो । उता जनतामा चुनाव हुन्छ भन्ने नै संंशय पैदा भएको छ । चुनावै भयो रे लौ । चुनाव त सेना र प्रहरी लगाएर जसरीतसरी गर्न सकिन्छ तर त्यस्तो चुनावको परिणामले संविधान कार्यान्वयनका सिलसिलामा भविष्यमा बखेडा खडा गर्न नसक्ने के तर्क छ ? पूर्व राजा ज्ञानेन्द्रले पनि चुनाव गराएका थिए तर त्यसको दूरगामी परिणति कस्तो भयो ? यस्तो देशीय विषम परिस्थितिमा भएको स्थानीय तहका चुनावले देशमा फेरि पनि सानाठूला द्रोहहरू ननिम्त्याउलान भनेर भन्न सकिन्नँ ।

विश्व विषम परिस्थितिमा कोल्डवारकै स्थितिमा जाने हो भने त्यसले ढिलो चाँडो विश्वलाई दुई ध्रुवमा बाँडेरै छाड्छ । अनि विश्व युद्धको विकल्प रहँदैन । संसार दुई भागमा विभाजन हुने दिन वर्ष, महिना र हप्ता भएर हाम्रा थाप्लामा आउँदै छन् । परिस्थिति विश्लेषण गर्न सक्ने मानिसले आफ्ना अन्तर्दिलमा लिइसकेका छन् । संसारका ठूला राष्ट्रले युद्धलाई हतियार बेपारका रुपमा लिने गर्छन् भन्ने ओपन सेक्रेट नै भैसक्यो ।

भारतमा मोदी राजमा शासन अथाह कष्टकर भएको छ । भारतीय आम संचारले देखाएजस्तो सुशासन भारतमा देखिएन । अनेकौं किचलाका बीच मोदी राजनीतिको जीर्णरथमा सवार छन् । नोटबन्दीपछि भारतले जुन तरक्की गर्नु पर्ने हो त्यो गर्न नसक्नु, बिजेपीको साख क्रमशः प्रान्तीय चुनावमा झर्दै जानु र भारतमा सानासाना दलको अभ्युदय हुनु त्यसकै परिणति हो । जसको सानोठूलो असर ढिलोचाँडो नेपालमा परेरै छाड्छ ।

भनाइ नै छ– युद्धमा सबैको क्षय हुन्छ र शान्तिमा सबैको जय हुन्छ । संसारमा कलह र द्रोहको उत्पत्ति हुँदा हामी भने बुद्धबुद्ध भनेर न हाँस्न सक्छौं । न सुखले बाँच्न सक्छौं । हामीले अब हाम्रो अन्तर्देशीय भूमिकालाई सशक्त बनाउनु पर्ने समय आएको छ । अब कूटनीतिका शैली बदल्नु पर्छ । त्यो भूमिका पानीको सही प्रयोगबाट मात्रै हुन्छ । विकास र जिडिपीलाई बढाउनु पर्ने बाध्यता एकातिर हामीसँग छ भने अर्कोतिर हाम्रा ऊर्जाशील युवाहरू विदेशमा भाडाका श्रमिक बनेर जाँदा छन् । तिनीहरूलाई रोक्ने न हाम्रा नेताहरूसँग भिजन, मिसन र गोल छ । न कुनै योजनाबद्ध कार्यक्रमहरू छन् । विश्व बनाउने पाखुरीले नेपाल किन बनाउन सकेन ? ट्रम्पले भनेझैँ हामीले ‘फस्ट वी नेपलीज्’ कहिले भन्ने ?

संसारका ससाना परिघटनाहरूले पनि अब हामीलाई नछोइरहन सक्दैनन् । दिल्ली, बेजिङ् र बासिङ्टनमा भएका ससाना निर्णय प्रक्रियाले अब नेपालजस्ता अल्पविकसित देशलाई नछोइरहन सक्दैनन् । नेपाली नेतृत्वमा रहेभएका र कम्तिमा शासनको बागडोर सम्हाल्ने नेताहरूले यसतर्फ समयमै बुझबुझ पुर्‍याउनु पर्छ । हामी अब पनि ‘दुई ढुङ्गाबीचको तरुल भैरहने कि दुई सर्प बीचको गरुढ हुने ?’ त्यसैले हाम्रो भाग्य र भविष्यलाई दिशानिर्देश गर्नेछ । आजको चुनौति यही हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework