लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

तराई-मधेसमा चलेको गोलीले समग्र देशलाई दुख्नुपर्छ !

बिहीबार, २६ फागुन, २०७३ मा प्रकाशित, 7529 पटक हेरिएको

निषेधले प्रतिशोध, घृणा, अपमान, बदलाभाव पैदा गर्छ । जसले अन्ततः बिनाश र अनिष्ट निम्त्याउँछ । अहंकार, दम्भ, घमण्ड र मै हुँ, म मात्रै हुँ भन्ने अहंले जोसुकै र जतिनै बेला भए पनि क्षणभरको लागि फुल्न त सक्छ केहि समय भ्रम छर्न पनि सक्छ, तर फैलन र फस्टाउन सक्दैन ।

-संजिव कार्की

अतिले निम्त्याउने खति सर्बविदितै छ । अतिबादले आमन्त्रण गर्ने भनेको नै नाश र बिनाश हो । सहि र निष्ठाको हठले ढिलै भए पनि गन्तव्यमा पुर्याउन सक्छ तर सनक र बदला अनि अहंकार युक्त अहंले दुर्घटना र विपद मात्र । आज देश यस्तै अहंकार, अहं अनि अराजकहरुको कुव्यस्थापनको शिकारले आहत र मर्माहत छ ।

‘मै खाऊ, मै लाऊ, सुख सयलमोज मै गरु , अरु सब मरुन दुर्बलहरू ‘ भन्ने गलत मानसिकता ग्रस्त राजनीतिज्ञहरुको बोलवाला र अवेविकी हठले देश बन्धक छ । राजनीति जहिले पनि धमिलो, दुर्गन्धित र मलमुत्र मिसिएको नदि जस्तै अपवित्र र अवान्छित, अतिशयोक्तिपूर्ण भयो । व्यवस्था फेरियो ब्यबहार फेरिएन, समय बदलियो नियति र नियत बदलिएन । नियति बदल्ने नियत कहिल्यै सफेद र सटिक हुनसकेन । संधै खोटो नियत र नियति हाम्रा पाहुना भए । अनिष्ट ,आपद ,विपद दैवीमार र प्राकृतिक प्रकोप संधै र सजिलै आफन्त भए पराई भएनन् । जे चाहिदैन त्यो सजिलै प्राप्त हुन्छ जे चाहिनु पर्ने हो, चाहिने हो सो न्यूनतम मात्रामा पनि प्राप्त हुन् सकेन ।

प्राकृतिक जडता तोड्न नसके पनि मानसिक जडता तोड्न सकिन्थ्यो तर त्यो पनि तोड्न सकिएन । तोड्नु नपर्ने र नहुने कुरा हामी तोड्न खप्पिस छौ । आपसी सद्भाव, एकता जो संधै ,संधैको लागि जोडिनु पर्थ्यो र पर्छ जसबाट हामी कोशौ टाढा भाग्छौ । मधेस,पहाड र हिमालको प्राकृतिक र भौगोलिक सुन्दर विभाजनलाई हामी मानसिक सामाजिक र जातीय क्षेत्रीय विभाजनको लेपन लगाएर एक अर्का प्रति बैरभाव उत्पन्न हुने गतिबिधि र ब्यबहार गर्छौ । यति सुन्दर सानो र बिबिधता युक्त भूगोल संस्कृति र हावापानी रहनसहन भएको देशका नागरिक हामी कोहि नागरिक कोहि शासक कोहि रैती र कोहि शासित सम्झन्छौ किन ?

एउटा सानो र सग्लो स्वाभिमानपूर्ण भएर आदि अनादिकालदेखि आजतक स्वतन्त्र मुलुक भएर रहेका हामी आज किन विभाजित र खण्डित मनसिकता बोकेर बसेका छौ । हामीलाई जातजाति, धर्म संस्कार, संस्कृति, कालो, सेतो धनि गरिव हुने, नहुने भनेर बिभाजन र बिखण्डनको बिष कसले घोली दियो । पहाडे, मधेशी, हिमाली भनेर बनेको हाम्रो स्थानीय रैथानेपनलाई किन विवाद र अहम अनि इगोको बिषय बनाइयो । मधेशमा बस्ने मधेशी, पहाडमा बस्ने पहाडी ,हिमालमा बस्ने हिमाली हाम्रो स्थानीयताको आधारमा पुकारिने र सम्बोधन गरिने सम्बोधन हुन् जसलाई राजनीतिक रुपमा कसैले भेद र छुतको आवरण दिएर हाम्रो सौहाद्रतामा आंच पुरयाउने काम गर्‍यो । डिलामुनी घर भएकोलाई डिलामुनी काका, बुबा,दाजु, दिदी अनि माझ गाउंमा घर भएकोलाई माझ घर बुबा, आमा,दाजु, दिदी भने जस्तै तराई, मधेस, हिमाल र पहाडमा बस्नेलाई स्थानीय नामको आधारमा स्थानीय विशेषणले पुकारिनु हाम्रो परम्परागत चलन चल्तीको कुरा हो । जो विश्वब्यापी छ तर हामीले भने मधेसी भन्दा आत्मसम्मानमा चोट पुग्ने र पहाडी अर्थात् खेचा भन्दा हीनताबोध गर्नु पर्ने किन ?

मधेशमा बस्ने जो कोहि मधेशी हो तर हामी कुनै अमुक रंग, भाषा र भेषको आधारमा मात्र मधेशी नामकरण गर्छौ । जसले गर्दा सो बर्ण र संस्कृति अनि भेष भुषाका समुदायमा अपहेलना र अपमानित भएको महसुस गर्छन । हाम्रो मनमा गहिरो गरि बसेको एउटा गलत मानसिकता छ जसले गर्दा मधेसी समुदाय बिशेषत श्यामबर्ण भएका दाजुभाइ, दिदीबैनीहरुलाई खिन्नता, अपमानबोध र पीडादायी लाग्छ यो नितान्त भावनात्मक र निजात्मक धारणा हो । बर्षौ देखि मधेसमा थात थलो बनाएका देशका अरु भागबाट अवसर र सुखको खोजीमा तराई झरेका नेपालीहरु मधेसी नहुने तिनलाई हामी मधेशी सम्बोधन गर्न नसक्ने तर एउटा रंग भाषा र भेषको संस्कृतिलाई बोक्ने मात्र मधेशी हुने किन ? मधेसमा बस्ने जुनसुकै धर्म,जात र बर्णको भए पनि मधेसी हुनुपर्ने होइन र ?

यो सामाजिक र मनोबैज्ञानिक विभेदलाई चिर्नु आवश्यक छ । बर्षौदेखि मोरङ्गमा बसोबास गर्ने कोइरालाहरु मधेशी नहुने, नकह्लिने, झापामा बसोबास गर्ने ओली, सिटौला र मैनालीहरु मधेशी नहुने । रौतहटमा बस्ने नेपाल मधेशी नहुने अनि मधेसमा बस्ने श्यामबर्णका मान्छे मात्र मधेसी किन ? अझ मधेशी मात्र हैन बिहारी अनि भारतीय भनेर सम्बोधन गर्ने हाम्रो सामाजिक मानसिकता खोटयुक्त छ जसलाई सच्याएर जानु आजको पहिलो र अनिबार्य आवश्यकता हो । सुनसरीमा बस्ने विजय मधेसी हुने त्यहि बस्ने भिम आचार्य पहाडी किन ? जनकपुरका निधि र रामबरण मधेसी हुने अनि लिला कोइराला र आनन्द ढुंगाना पहाडी किन ? कन्चनपुरको चौधरीलाई हामी मधेसी देख्छौ तर त्यहि बसोबास गर्ने रमेश लेखक र लेखराज भट्ट पहाडी किन ?

यहाँ राजनीति मात्र छैन समाजशास्त्र पनि छ समाजको मनोविज्ञान पनि छ जसलाई राजनीतिले नायकत्व दिएर हटाउनु पर्छ , मेटाउनु पर्छ । आत्मसम्मानमा परेको चोट र गहिरो घाउको पीडा मेटाउन त्यति सजिलो छैन जसलाई कपडाको सामान्य दाग झैँ साबुन पानीले धोई पखाली गर्न सकियोस । तराई मधेसलाई हेर्ने शासक र काठमाडौँको मानसिकता अझै पनि साँघुरो र संकुचित नै छ । जति तराईबासी र मधेशी दलहरुले प्रचार गर्छन त्यति नहोला, छैन तर यहाँ दृस्टीदोष छ , सामाजिक र ब्यबहारिक विभेद छ, खोट छ, समस्या छ । जसलाई राजनीतिक पार्टी दल र सरकारले बिनाभेदभाव बिना हिच्किचावाट स्वीकार गरेर सच्याउने संकल्प र अठोट गर्नु पर्छ । कमजोरी र त्रुटी प्रति आत्मालोचना गर्नुपर्छ ।

जहाँ र जुनसुकै पार्टीमा भए पनि रहे बसे र राजनीति गरे पनि तराई मधेशमा जन्मिएर आएका काला बर्णका मान्छे र नेताहरु प्रति तिनीहरुको पार्टीमा पनि असन्तोष आक्रोश र असहमति छ देखिन्छ जसलाई जसले जति ढाक्छोप गरे पनि समय समयमा मत अभिमत द्वारा प्रकट गरिएको पाइन्छ जो स्वभाविक र प्राकृतिक पनि हो । तराइलाई हेर्ने पहाडी मानसिकता मात्र दोषी छैन तराई कै शासक बर्ग र तिनको स्वार्थ पनि उत्तिकै दोषी र अविवेकी छ । सत्ता र स्वार्थ पुरा हुन्जेल सत्ताको चास्नीमा तर मरुन्जेल मधेस, मधेसी र मधेसको मुद्द्दा बिर्सने अनि जब सत्ताबाट च्युत हुनपर्छ, हुनुपर्ने परिस्थिति बन्छ तब मात्र होसमा आउने अनि आफ्नो मुद्दा बोक्ने जुन झुटनीति र आवरण छ त्यो निश्चयनै खेदजनक र आश्चर्यजनक छ । सत्ताबाहिर हुनुको छटपटी आन्दोलन अनि आक्रोश जब सत्ताको सौदाबाजीमा परिणत हुन्छ तब मधेसी जनजनको आशा र विश्वासमा तुषारापात हुन्छ ।

जसको परिणति मधेसबादी दलले २०७० को चुनावमा व्यहोरीसके तथापि आज पनि चेत उस्तै छ । अपमान, पीडा र जलनको तातो,राप र तापमा संधै अरुले किन आगो झोसिदिन्छ ? हामी किन न्यायोचित मुद्दा र आवाजलाई बेलैमा सम्बोधन गरेर आक्रोशको ज्वालालाई मत्थर पार्ने निभाउने र साम्य पार्ने कुशलता देखाउने कर्म पछि छौ । हाम्रो कुन स्वार्थले आफु र आफ्नो देशबासी दाजुभाइलाई पराय देख्छौ । तराई बासीले पहाडी मुलका प्रशस्त ठूला र नाम कहलिएका देशको बागडोर सम्हाल्न जाने नेतालाई आफू मार्फत आफ्नो र आफ्नो बर्ग समुदायको नेतालाई भोट नदिएर कथित पहाडेमुलका नेता जिताउने उदारता देखाउँदा तिनै दाजुभाइको मतलाई हामी किन कदर गर्न सक्तैनौ ? तराईबासी मधेसी हरुको त्यो उदारता र महानतालाई सलाम र कदर गर्ने कर्तब्य पहाडी मुलका विजेता नेता र तिनका पार्टीको सरोकार र चासोको बिषय कहिले बन्ने ?

मधेसमा पहाडेमुलका नेतालाई जिताउने उदारता र विश्वासलाई जति प्रसंसा गरे पनि कम हुन्छ जुन कुरा पहाडीमूल र तिनका नेताले सिक्नु बुझ्नु र अनुसरण गर्नु जरुरि छ । मधेसलाई दुख्दा पहाडलाई दुख्ने, पहाडमा घाउ हुँदा मधेसले औषधि मलम पट्टि गर्ने, हिमालमा चिसो बढदा तराइले तातो दिने हाम्रो निरन्तरता किन खल्बलियो । कुन वैरीको आँखा लाग्यो हाम्रो आत्मीय सम्बन्ध ,सौहाद्रता र सहिष्णुतामा ? वैरीलाई खेल्ने ठाउँ हामीले किन दियौ ? छिमेकीको साँध सिमानामा घरको जग हाल्दा, खन्दा अर्को छिमेकीको साँध सीमामा खलल पुग्छ, उसको पनि घरको जग चर्कन्छ भनेर हामीले सोच्न किन सकेनौ ? ऊ संगको सामान्य शिष्टाचारलाई किन हामीले अहम र इगोको बिषय बनायौ ? हाम्रो सामान्य, झगडा, बाजाबाज, भाइ अंश, छलफल ,बादबिबाद, लेनदेन ,ऐंचोपैन्चोमा किन संधै अर्कालाई अनावश्यक रुपमा निमन्त्रणा गरेर भन्ने मौका दियौ । साखुल्ले बन्न दियौ । हाम्रो थोरै असहमति मै किन अरुलाई साक्षी र हिस्सेदार बन्ने मौका दियौ ? आफ्नो स्वार्थको लागि त्यहि छिमेकीलाई गुहार्दा ठिक तर्कसंगत हुने अनि अरुले त्यहि छेमिकीलाई गुहार माग्दा अनैतिक र देशद्रोही हुने ? यो कस्तो दोहोरो चरित्र ? खराब कर्म जो जसले गरे पनि निन्दनीय हुनुपर्ने होइन र ?

हामीले जे जति युगान्तकारी परिवर्तन गरे पनि हाम्रो राजनीतिक प्रणाली अस्थिर र असहज छ जसको कारण जहिल्यै स्थिर सरकार अनि सरकार बनाउने बलियो सम्भावना असाध्यै कम हुन्छ । जसले गर्दा द्वन्दको ब्यबसाय गर्ने , द्वन्दको खेतीपाती गर्ने केहि तत्व र शक्तिहरु हाम्रो अस्थिरता र अभावमा आफनो बाली मौलाएको हेर्न चाहन्छन । बिभिन्न स्वार्थ समुह खडा गरेर तिनीहरु मार्फत नेपाललाई अशान्त र संधै द्वन्दमा धकेल्न मरिहत्ते गरेर लागेका छन , तिनीहरुको स्वार्थको गोटी बनेर हामी आफ्नो सानो समुह,सानो घेराको स्वार्थको रोटि सेकेर जीविका चलाउदै छौ । अरु कसैको क्रिडास्थल हाम्रो एक इन्च नेपाली भुमि हुनुहुन्न, बनाउन दिनुहुन्न् । हाम्रो सौहाद्रता र सहिष्णुतामा अरुले भावनात्मक कुरा गरेर भड्काव र झडपको स्थिति खडा गरिदिएका छन् हामी कसैको स्वार्थमा प्रयोग भएका छौ जानेर नजानेर ।

निषेधले प्रतिशोध र बदलाको राँको बाल्छ, शुसुप्त रहेर बसेको बदलाको सोच आफ्नो समय आए पछि आफ्नो फेभरमा भए पछि आँधीबेहरी बनेर निस्कन्छ । राजनीतिमा परिणाम मात्र हैन कारण र अन्तर्य बढी हेरिने खोतलिने र विश्लेषण गरिने पक्ष हो । रुप र सारमा धेरै फरक हुन्छ, देखिन्छ । आज फेरि तराई जलेको छ , अशान्त छ ,तराईमा आक्रोश र विद्रोह छ । जो न्यायोचित यस अर्थमा छ जहाँ सामाजिक ब्यबहारिक विभेद छ जसलाई नकार्न सकिन्न । अनुचित यस कारण छ कागजात संबिधान र कानुन या सैदान्तिक आवरणमा यहाँ कुनै पनि विभेद छोइछिटो,तलमाथि छैन । कागजको खोस्टोमा जे लेखे पनि मान्छेले हेर्ने र बुझ्ने भनेको व्यवहारको भाषा हो । हाम्रो सामाजिक ब्यबहारमा जातीय छुवाछुत छ क्षेत्रीय र भौगोलिक र रंगको आधारमा असमानता छ , अब्यबस्था र अव्यबहार छ ।

आज एमाले पार्टी मेची–काली यात्रामा छ जुन उसको संबैधानिक हक र स्वतन्त्रता हो यो मुलुकको जुनसुकै भूभागमा उसले आफना शान्तिपूर्ण गतिबिधि सभा,जुलुस र कार्यक्रम गर्न पाउँछ, लोकतन्त्रमा निर्बाध रुपमा आफ्ना संबैधानिक हक र अधिकारको प्रयोग गर्ने स्वतन्त्रतामा कसैले पनि बाधा व्यवधान र अबरोध गर्न पाउँदैन उसले बिरोध असहमति र कालो झन्डा खानु पर्ला, तर कार्यक्रम नै गर्न नदिने अतिबादी ब्यबहार र असंबैधानिक कार्यभने दण्डनीय र कार्यबाहीको दयारा भित्र पर्नुपर्छ । बिगत देखि वर्तमान सम्म निषेध र प्रतिबन्धको राजनीति कसले किन गर्यो ? आफ्नो बाहुल्यता भएको क्षेत्र इलाका र ठाउँमा किन पार्टीहरु अरुको उपस्थिति गतिबिधि र कार्यक्रमलाई निषेध गर्न चाहन्छन ? निषेधको लागि किन प्रतिस्पर्धा चल्छ ? प्रतिस्पर्धा त राम्रो कुरा राम्रो काम र राम्रो पहिचानको लागि हुनुपर्ने होइन र ? तराइमा एमालेलाई निषेध गर्नेले भोलि अरु पार्टी र शक्तिलाई निषेध नगर्लान भन्न सकिन्छ र ? आज एमालेलाई निषेध भन्दा ताली पड्काउनेले भोलि आफ्नो हबिगतको पनि आजै कल्पना गरे हुन्छ । पाडो खाने बाघले बाछोलाई माया गर्ने जरुरि ठान्दैन । हिजो एमालेले पनि निषेधको राजनीति नगरेको भए आज उसलाई ठाडो शिर गरेर हिड्ने नैतिक सहास र बल मिल्थ्यो तर उसले पनि निषेधलाई , जोरजबर्जस्तीलाई आफूले पनि अबलम्बन गरेको हुनाले ठूलो स्वरले नैतिकताको पाठ पढाउने अबस्था छैन ।

संसदमा कुनै एजेन्डामा छलफल हुन् नदिने जोरजबर्जस्ती एमालेको ताजा गल्ति अमर्यादित पक्ष आज पनि आलोचित छ । संसदीय पद्दतिमा विश्वास गरे पछि संसद्को बिधि र बिधान भन्दा माथि गरेर बलमिच्याई गर्ने छुट एमालेको लागि हितकारी छैन पक्कै पनि । एमालेको संसदमा बलमिच्याई लाई काउन्टर दिने मधेसी मोर्चाको तराइमा एमालेलाई निषेध पनि केटाकेटीको इगो र अपरिपक्व राजनीति हो जसले मुलत उनीहरुलाई पनि भलो गर्दैन र देशलाई पनि भलो गर्दैन । राजनीतिलाई पेशा ब्यबसाय र मागिखाने,ठगिखाने भाँडो र प्रणाली ठान्ने अनि सहिदको खेति गर्नेको लागि त यो भड्काव ठिक होला तर अनाहकमा कसै कसैको लहलहै र बहकाउमा लागेर ज्यान गुमाउनेहरुको लागि के हुन्छ ? होनहार ,मान्छेहरुको जीवनलीला समाप्त गर्ने खेल कहिले सम्म गर्ने ? भावनात्मक कुरा गरेर मास भड्काउन तरंगित गराउन, उत्तेजना फैलाउन त सजिलो होला तर गुमाएको जीवन र पारिवारिक सुख र हाँसो खुशी फर्काउन कदापि सकिन्न ? राजनीतिको आवरणमा जे जति अपराध कुकर्म, दुष्कर्म र अपारदर्शी गतिबिधि पार्टीहरु गरिरहन्छन तिनका कार्यकर्ता र नेता कुकर्मको संरक्षणमा जबसम्म लगिपरिरहन्छन तब सम्म राजनीतिको यो कुरुपता रहिरहन्छ । लोकतन्त्र र गणतन्त्रमा सबैभन्दा बढी मधेसीहरु किन मारिए ? के मधेसीहरुको जीवनलीला समाप्त गरेर आनन्द मान्छ राज्य ? लोकतन्त्रको सुन्दरता जीवन बचाउन हो कि जीवन हरणको लागि यसको जबाफ कसले दिने ? मधेसी मर्दा देशलाई दुख्दैन ? के मधेसीहरु अनागरिक हुन् ? भर्खरै सप्तरीमा मारिएका मान्छेहरु अमान्छे र अमानव हुन् ? तिनको जीवनको मुल्य सरकारले घोषणा गर्ने केहि लाख रुपैयाँ मात्र हो ? समस्याको जड पत्ता लगाउने हो या समस्यालाई अल्झाई राख्ने र बल्झाई राख्ने ?

एमाले र मधेसीमोर्चाको यो इगोको लडाइमा मौन भएर च्याखे थाप्ने काम कांग्रेसपार्टीको लागि सरम लाग्नुपर्ने बिषय होइन ? अरु पार्टी र नेताहरु किन मधेसको खुलेर समर्थन र बिरोध गर्न सक्तैनन् ? जायज र नाजायज माग र आग्रहलाई केश्रा केश्रा छुट्याएर जनताको बीचमा जान किन पार्टीहरु एकढिक्का हुन् सक्तैनन् ? संविधानको व्यवस्था बन्दोबस्ती र वितरणमा कुनै भेदभाव छैन भनेर मधेसी जनताको घर दैलोमा भ्रम चिर्न किन दलहरुको ह्याउ नपुगेको ? व्यवहारमा भएको असमानता र त्रुटीको क्षमायाचना गर्दै व्यवहार समतामुलक बनाउदै अवान्छित नागरिकता छानविन गर्ने, गलत र नियोजित नागरिकता खारेज गर्ने हिम्मत सहित मधेसी दाजुभाइ दिदीबैनीसंग दलहरु साँचो र दरिलो प्रतिबद्दता सहित जानु आजको अपरिहार्यता हो ।

आपसी विश्वास भाइचारा सद्भाव र सहिष्णुता सहित राजनीतिक दलहरु तेरो मेरो नभनी भांचिएको मन जोड्न तराई मधेसमा एउटा अभियान र पुण्यकर्म सहित जोडिनुपर्छ । आफ्ना तराईको भूगोलमा बस्ने सच्चा धर्तीपुत्र देशभक्त नेपालीको आत्मसम्मानमा पुगेको चोट र दर्दलाई भुलाउने अचुक राष्ट्रिय एकताको ओखती मुलो बोकेर दलहरु तराई मधेसमा फाटेको मन र टुटेको विश्वास जोड्न तत् तत् बस्तीमा पुग्नु पर्छ । धर्म जातजाति क्षेत्र र भूगोलको नाममा नेपाली मन भाँचिन हुँदैन । साझा विश्वास र साझा नेपाली पन सहित मनहरु एकापसमा जोडिनुपर्छ । मधेस कसैको बहकाउमा पर्नु हुँदैन । मधेस खण्डित ,मण्डित हुनुहुदैन,नेपाल हुनुपर्छ मधेश जो अविभाज्य र अभिन्न राज्यको धमनी हो । मधेसमा सल्केको आक्रोशको आगोलाई सबै नेपालीले सद्भाव, भाइचारा, अपनत्व, स्नेह अनि प्रेम, विश्वास, संयम, धैर्यताको शितल र निर्मल जल छर्केर निभाउने सत्कर्म र कर्तब्य पुरागर्नुपर्छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework