लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

नेपालले सिक्किमबाट सिक्नुपर्ने चार कुरा

आइतबार, १३ चैत, २०७३ मा प्रकाशित, 11898 पटक हेरिएको

साथीभाइ, परिवारसँगै यात्राको मिति तय भयो । जसरी पनि तनाव, कोलाहल, धुवाँधुलो तथा भीडभाडयुक्त राजधानीको शहरिया जीवनबाट केहि समय मुक्त हुनुथियो सबैलाई । यात्रा कम्तिमा एक हप्ता भनिएकाले सबैलाई समेटिन हम्मेहम्मे नै थियो । त्यसैले पनि तीन परिवारबाट बच्चाबच्ची सम्मिलितको १० जना मात्रको टिम तयार भयो । ‘नेपाल बाहिरको नेपाल’ अर्थात सिक्किम यात्राको लागि ।

-केके मानन्धर

साथीभाइ, परिवारसँगै यात्राको मिति तय भयो । जसरी पनि तनाव, कोलाहल, धुवाँधुलो तथा भीडभाडयुक्त राजधानीको शहरिया जीवनबाट केहि समय मुक्त हुनुथियो सबैलाई । यात्रा कम्तिमा एक हप्ता भनिएकाले सबैलाई समेटिन हम्मेहम्मे नै थियो । त्यसैले पनि तीन परिवारबाट बच्चाबच्ची सम्मिलितको १० जना मात्रको टिम तयार भयो । ‘नेपाल बाहिरको नेपाल’ अर्थात सिक्किम यात्राको लागि । फागुनको पहिलो हप्ताको लागि तम्तयार साथीहरु, केहि दिन प्राविधिक कारणले रोकिनु प¥यो । कहिले सवारी व्यवस्थापन त कहिले यात्रामा हिँड्न निश्चित भएका मध्येलाई स्वास्थ्यमा अचानक आएको समस्या । खैर, ती समस्याका बाबजुद फागुनको पहिलो हप्ता काठमाडौं ‘खाल्डो’ छोड्ने निर्णय भयो । दुइटा स–साना निजी गाडी लिएर सिन्धुली–बर्दिबास हुँदै बेफिक्री पारिवारिक यात्रा सुरु भयो, बिहानै ।

यात्रामा सहभागी मध्ये अधिकांसको सिक्किम यात्रा, खुल्दुली तथा नयाँ अनुभूतिको आशामा केन्द्रीत थियो । सूचना प्रविधिसँग गाँजिएको सानो संसार भित्र कै निश्चित भू-भागको बयान जो युट्यूब देखि विकीपेडियासम्मले उदाङ्गो गरेको भएपनि प्रत्यक्ष अनुभूतिको लागि भने आकर्षक केन्द्र थियो नै । मूख्य गन्तव्य तथा पूर्वी नेपालको बाटो हुँदै भेटिने सिन्धुलीगढी, सप्तकोशी, पूर्व पश्चिम राजमार्ग छेउमा लाग्ने स-साना हाट बजार देखि उर्लाबारीको चियाबगान सम्झन लायकका छन् । ती मसिना गन्तव्य छिचोल्दै तेस्रो दिनको बिहानीसँगै हामी मेची नगरबाट नेपाली भूमि छोड्ने तर्खरमा पुग्यौं ।

स-साना नानीहरु, ६५ नाघेका मेरी आमाका यात्रा सकसतालाई मध्यनजर गरी काँकडभिट्टा छेउमा रोकिएका ग्यान्तोक लेखिएका भारतीय नम्बर प्लेटका जीप समात्न पुग्यौं । नेपाली नम्बर प्लेटका सवारी साधन भारत छिराउन त्यति सहज नभएको पायौं जति सिक्किम तथा पश्चिम बंगालका गाडी नेपाल छिर्छन् । त्यसैले पनि त्यो झन्झट बिर्सेर सिक्किमको राजधानी गान्तोक हिँड्ने जीपमा हामी सवार भयौं । बस पार्कसँगैको छाप्रोमा खोलिएका ती पसलमा चिया नास्ता सकाएर एउटै जीपमा कोचिएर घन्टौं सम्म कष्टकर यात्रा गरेको स्मरणीय रहनेछ । त्यो सानो जीप जसमा हामी दश, चालक एक तथा अन्य ३ गरी जम्मा १४ जना यात्रु नक्सलबारी, सिलगुडी हुँदै टिष्टा नदीको किनारै किनार पहाडी बाटो उक्लियौं । नयाँ ठाउँको उत्सुकतासँगै साउथ सिक्किममा बसोबास गर्ने राजेन्द्र प्रधान सरसँगको टेलिफोन सम्पर्कको आधारमा केहि घण्टा पश्चात रम्फु पुग्यौं । नेपाली मूलका भारतीय जीप चालकको सहयोगमा क्वारेन्टाइन अफिसमा पुगेर नेपाली नागरिकता देखाएर आवधिक बसाईको अनुमति पत्र, पास पनि बनायौं । नभन्दै पश्चिम बंगाल र सिक्किम राज्यको सिमाना, रम्फुमै आइपुगे नाम्थाङको तुरुङबाट उनी सर हामीलाई रिसिभ गर्न । र शुरु भयो त्यहिँबाट औपचारिक रुपमा सिक्किम यात्रा ।

सुरुको दिनमा यति धेरै आतिथ्य पायौं कि जसले वि.स. २०५७ सालको सप्तरीको राजविराज बसाइको सम्झना दिलायो । अजित झा सरको प्रणय बन्धन समारोहसँगै नरेन्द्र श्रेष्ठ लगायत हामीले पाएको मधेशीहरुको त्यो अतिथि सत्कार सम्भवतः सम्झन लायकको छ । बस् त्यस्तै स्तरको सत्कार, फागुन ८ गते हामी दसलाई राजेन्द्र प्रधान तथा उहाँको परिवारले गर्नुभयो । रम्फुबाट करिव ४५ मिनेटको यात्रासँगै पुगेको त्यो सुन्दर घर, सोही घरमा बस्ने गौप्राणी तथा उनीहरुको आतिथ्यता, मेरो जीवनका अतिस्मरणीय क्षण मध्येका हुन् । पुग्ने बित्तिकै सफा गिलासमा भरिएका निर्मल पानी, लगत्तै बिर्को राखिएका सेरामिक्स कपमा पस्किएका ती चिया, आँखा चिम्लिएर म अझै पटक पटक सम्झिन चाहन्छु ।

अझ साँझ ढल्किएसँगै आँगनमा बसेर गाएका ती सदाबहार गीतले एकातर्फ वास्तविक स्वर्गिय आनन्दको अनुभूति दिलाएको थियो भने अर्कोतिर सोही घरका घरमूलीसँगको वार्तालाप मेरालागि आफैमा नयाँ सिक्ने मौका भइदियो । खगेन्द्र प्रधान श्रेष्ठाचार्य जो नेवार संस्कृति, भाषा, लिपि प्रवद्र्धनका अभियन्ता थिए, उनीसँगको मेरो संवाद उपलब्धिमूलक रह्यो । नेपाल बाहिर बसेर पनि नेपालीत्व मोह देखाउने र प्रसार गर्नमा संस्थागत रुपमा सबलीकरण गर्ने उनी सशक्त व्यक्तित्व हुन् भन्दा अत्युक्ती नहोला । उनी सिक्किम कै उदाहरणीय तारा हुन् जसबाट हामीले धेरै कुरा सिक्न सक्छौं । शुरुको एक दिन राजेन्द्र सरका बुवा खगेन्द्र प्रधानको घरमा बसेर बाँकी २ दिन भने राजधानी ग्यान्तोकको तिब्बतरोडमा अवस्थित होटलमा बितायौं । सो अवधिमा मैले सिक्किमबाट ४ कुराहरु सिक्ने मौका पाएँ, जो नेपालले लागु गर्न सके संक्रमणकालीन राजनीतिक कारणले जर्जर बनेको मेरो राष्ट्र समृद्धिउन्मुख हुनेछ ।

स्थिर सरकार

sikkam8

भारतको क्षेत्रीय राजनीतिमा पवन चाम्लिङ चर्चित नाउँ हो । साउथ सिक्किमको यङ्गाङमा जन्मिएका उनी सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक पनि हुन् । सन् १९५० सालमा जन्मिएका उनी तथा उनको मूख्य मन्त्री कालमा सिक्किमलाई तुलनात्मक प्रगतीपथमा दोहोर्‍याएका थुप्रै उदाहरण छन् । एक त उहाँ नेतृत्वको राज्य सरकारले स्थायित्व प्राप्त गरेको छ भने सैद्धान्तिक रुपमा पनि कार्यपालिका बलियो हुँदा उन्नती हुने वास्तविकता हो । सन् १९९४ देखि अहिले सम्म उहाँ कै नेतृत्वमा प्रान्तिय राज्य सरकार सन्चालनमा छ जुन अहिले सम्म कै भारतीय राजनीतिमा सबभन्दा लामो अवधिका लागि मूख्य मन्त्री बन्नेमा हुनुहुन्छ उहाँ । पवन चाम्लिङको कार्यकाल २५ वर्षको पक्का भएको छ । यस्तै राजनीति तथा नेतृत्व नेपालमा पनि आवश्यक छ जसले देशलाई समृद्धिउन्मुख बनाउनेछ । पटक पटक फेरिरहने नेतृत्व तथा सत्ताकेन्द्रीत राजनीतिले जर्जर बनाएको मेरो राष्ट्रले अब सिक्किमबाट स्थायित्वको सिको गर्नुपर्छ ।

समृद्धिसँगै सडक, कृषि र पर्यटन विकास

sikkim1

विकासको आधार सडक हो । करिव १६ सय ५० मिटर अग्लो स्थानमा अवस्थित सिक्किमका अधिकांस पहाडी भु-भागलाई छिचोलेर सडक निर्माण गरिएका छन् । चार जिल्लामा विभक्त सिक्किमका ती पहाडी इलाकामा बनेका सडक सन्तोषजनक मान्न सकिन्छ । त्यसमा पनि पूर्वी सिक्किमको हेडक्वाटर, राजधानी गान्तोकमा निर्माण भएका धेरै सडक पक्की ढलान गरिएका छन् । माकुराको जालो जस्तै बनेका ती सडकले कृषि, पर्यटन लगायत अन्य विकास निर्माणको लागि कोशेढुङ्गा साबित भएको छ । यो राज्य भारतको सबभन्दा छोटो अवधिमा धेरै विकास भएको मध्येमा पर्छ ।

यहाँको जंगल, कृषि उत्पादन मध्ये वनस्पती, फ्लोरा उत्तम मानिन्छ । सन् २०१६ सालमा यस क्षेत्रलाई भारतको केन्द्रीय कृषि मन्त्रालयले अर्गानिक राज्यको मान्यता दिलाएको छ । यस क्षेत्रमा पाइने पाँच हजार प्रजातिका वनस्पती मध्ये ५१५ किसिमका लोपोन्मुख विरुवा, ३६ किसिमका लालिगुराँस पर्छन् । लागि गुराँस जो नेपालको राष्ट्रिय फूल पनि हो । पहाडी क्षेत्र भएकाले अलैंची प्रचूर मात्रामा उत्पादन हुन्छ । धान, तोरी, मकै, गहुँ, दाल र फलफुलजन्य उत्पादन समेत यस क्षेत्रमा पाइन्छ । यी कृषि उपजकै कारणले आर्थिक वर्ष २०१५/०१६ मा राज्यको कूल ग्राहस्थ उत्पादनमा समेत बृद्धि भयो ।

राज्यले साना तथा घरेलु उद्योगमा समेत टेवा दिएर नागरिकको जीवनस्तर उकास्ने प्रयास गरेको देखिन्छ । त्यसमा पनि पर्यटकीय गन्तव्य क्षेत्र बनाएर आन्तरिक र बाह्य पर्यटक लक्ष्यित कार्यक्रमहरु सन्चालन गरेका छन् । ग्यान्तोक मात्रमा बाह्य पर्यटकको लागि बनाइएका भ्यू-प्वाइन्ट मध्ये हस्तकला प्रदर्शनी समेत पर्छन् । बनझाँक्री झरना, गणेशटोक, कंचनजंगा हिमश्रृंखला दृश्यावलोकन स्थल ग्यान्तोक मै छ भने चारधाम क्षेत्र र आकर्षक बौद्ध गुम्बाहरु साउथ डिस्ट्रिक्टमा छ । कंचनजंगा नेसनल पार्क, सोम्गो लेक, नथुला देखि अन्य थुप्रै हेर्न लायक ठाउँहरु छन् जसले सिक्किमको पर्यटन क्षेत्र विकासमा टेवा पुर्‍याएको छ । ती अधिकांस ठाउँमा सःशुल्क प्रवेश तथा सभ्य व्यवस्थापन गरेकोबाट आन्तरिक स्रोत सबलीकरण भइरहेको छ । प्रत्यक्ष रुपमा पर्यटकबाट लिइने शूल्कले राजश्व बृद्धि गराएको देखिन्छ भने अप्रत्यक्ष रुपमा स्थानियबासीको व्यवसाय बनेको छ ।

सफाई योजना र कार्यान्वयन

sikkam2

जसरी नेपाल कै सफा शहर मध्ये भक्तपुर जिल्ला पर्छ, त्यसरी नै भारतको लागि सिक्किमको राजधानी गान्तोक उदाहरण बनेको छ । एमजी रोड, तिब्बत रोड देखि अन्य मूख्य ठाउँहरु अत्यन्त सफा देखिन्छ । राजधानीका ठाउँ ठाउँमा फोहोर फाल्ने निश्चित ठाउँ बनाएको छ भने नियम पालना नगर्नेलाई रु. २०० जरिवानाको व्यवस्था गरेको छ । शहर भित्र चल्ने ट्याक्सी देखि पार्क, सडक, गल्लीमा समेत फोहोर विसर्जनको लागि भाँडो व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा धुमपान, मद्यपान निषेध छ भने जथाभावी थुक्नेलाई पनि हर्जाना तिराउँछ । ती नियम पालना गराउने प्रहरीहरु सडक छेवैमा पसल थापे जस्तै गरी प्रहरी कार्यालय बनाएर साइनबोर्डसहित प्रस्तुत छ । हरेक पसलमा प्लाष्टिकको झोला प्रयोग गर्न पाइँदैन जसले गर्दा भीरपाखामा बनेको शहरको व्यवस्थापन चुष्ट छ । यसलाई पनि नेपालले गहन रुपमा स्वीकार गर्नु सक्नुपर्छ ।

सफाई सम्बन्धिको नियम जसरी सिक्किममा छ त्यसरी नै नेपालमा पनि बनेको छ तर कार्यान्वयन पक्ष कमजोर भएकै कारणले फोहोर व्यवस्थापनमा चुनौती छ । भक्तपुर बाहेकको शहरी जिल्ला धुवाँधुलो, सडकजाम देखि अस्तव्यस्त छ अझ तराईका कतिपय प्रमूख शहरमा चर्पी समेत छैनन् । बाग्मती सफाई अभियान नभएको पनि होइन तर ढल, चर्पी मिसाएको छ । प्लाष्टिक प्रयोग गर्न नपाइने देखि सार्वजनिक स्थलमा धुमपान र बसबाट थुक्न नपाइने नियम छ, लागु छैन । यी सब कार्यान्वयन गराउने निकाय र सचेत नागरिकको कमजोरी हो । यसलाई बेलैमा ध्यानदिनु पर्छ, ग्यान्तोकबाट सिक्नुपर्छ ।

नेपाली राष्ट्रभाषा, संस्कृति र अभियान

sikkam4

धम्बा भनेसि साउथ सिक्किममा परिचित नाउँ हो । करिव ४ हजारको संख्यामा सिक्किममा बसोबास गर्ने नेवारहरु मध्ये उनी सम्भवतः सबभन्दा लोकप्रिय छन् । नेपालभाषामा धोब्वाको अर्थ ठुलो बुवा भन्ने हुन्छ र सोही शब्द अपभ्रंस भएर खगेन्द्र प्रधान श्रेष्ठाचार्य, धम्बा भएका हुन् । नाम्थाङको तुरुङ भन्ने गाउँका उनी नेपाली संस्कृति, राष्ट्र भाषा, लिपि देखि संस्कार संरक्षण, सम्बद्र्धनका बेजोड अभियन्ता हुन् । डेढ दशक अघि स्थापना भएको सिक्किम नेवार गुठीका संस्थापक उनी विभिन्न बाहनामा ग्यान्तोकमा इन्द्रजात्रा मनाउने देखि नेपालभाषा, लिपि, संस्कृति र संस्कार प्रवद्र्धनमा निरन्तर लाग्नु भएका अथक मूर्धन्य व्यक्तित्व हुन् ।

इन्स्टिच्यूट अफ नेवार कल्चर एण्ड ल्याङ्वेज नाउँको अभियानै चलाएर प्रधानले नेपाल बाहिरको नेपालमा नेपालीत्व जगाउने क्रियाकलाप गरेका छन् । आठ वर्ष सम्म संस्था हाँकेका उनले संचालन गर्नु भएका ती अभियानले दीर्घकालीन निरन्तरता पाउनेमा आशावादी हुनुहुन्छ । समूह चिन्तनमा अधिक समय खर्चेका खगेन्द्र प्रधानले कर्म अनुसारको फल पनि प्राप्त गरेका छन् । दर्जन भन्दा बढी नेपाली सामाजिक संघसंस्थाले उहाँको योगदानप्रति कदर गरी सम्मान–पत्र दिएका छन् भने हालसालै नाम्थाङ मै भव्य समारोहकाबीच नागरिक अभिनन्दन समेत गरेको छ ।

सम्भवतः रणबहादुर शाहको पालामा नेपालबाट पलायन भएका उनीहरुले मेची नदि टरेसँगै सम्पूर्ण पहिचान उतै बगाएको सम्झिन्छन् । अहिलेको नेपाल र भारतको सिमानामा पर्ने मेची नदि पार गरी टिष्टाको उल्टो बहावसँग पहाड चढ्दै गर्दा सिक्किम पुगेको विगतका विषयमा बिस्तार लगाए प्रधानले । सोही दौरान कालेबुङ, दार्जिलिङ, सिक्किमका विभिन्न ठाउँमा स्थायी बसोबास थालेका मध्येबाट उनीले सबभन्दा पहिले आफुत्व पहिचानको अभियान चलाएका हुन् ।
हुन त सिक्किम रिफर्म गर्न भक्तपुरबाट सिक्किम पुगेका लक्ष्मीदास कसजु, चन्द्रवीर कसजु र चन्द्रवीर मास्केको योगदानप्रति उहाँले खुलेर प्रशंसा गर्न भ्याए । सरकारी उच्च पदमा पुग्ने ३ मध्ये केशवचन्द्र प्रधान, गोविन्द प्रसाद प्रधानको नाउँ उहाँले झट्ट भनिहाले । नेपालका पूर्व सांसद् लक्ष्मीदास मानन्धर, लक्ष्मण राजवंशी देखि सरद कंसाकारसँग उहाँ परिचित हुनुहुँदो रहेछ ।

मध्यपुर थिमिका गणेशराम लाछी, सुवासराम र सन्तकुमार प्रजापतिले बाजा प्रशिक्षण दिएकोप्रति धन्यवाद दिँदै थिए मसँगको संवादमा । लिपि प्रशिक्षण दिन नेपालबाट मल्ल के सुन्दर देखि चिनियाँ शाक्य, साउथ ब्लकको नाम्थाङ पुगेको पनि उनले सम्झिन भ्याए । लामो अन्तराल पश्चात नेपाल बाहिर पनि सरकारी तबरले नेपाली राष्ट्र भाषाको लागि प्राथमिकता दिलाउन, संस्कृति मनाउन तथा संस्कार जोगाउन सफल भएका छन् । अहिले पनि मूख्य मन्त्री पवन चाम्लिङ नेतृत्वको राज्य सरकारले ८ जनालाई नेपाली राष्ट्र भाषा, नेपालभाषा सिकाउने जिम्मेवारीसहित नियुक्ती दिएका छन् । तीन जनाले त स्थायी नियुक्तीकासाथ ४५ हजार भन्दा माथिको तलब बुझ्छन् । ती मध्ये विकास प्रधान जो ललितपुरको पाटन संयुक्त क्याम्पसबाट स्नातकोत्तर सकाएर सिक्किममा नेपालभाषा सिकाउँछन् । नाम्थाङ उच्च माध्यमिक विद्यालयका उनी स्थायी शिक्षक हुन् ।

आफु बिमारी भएकाले धम्बा अहिले संघसंस्थामा लाग्न असमर्थ छन् । चौबिसै घण्टा बेडमा पल्टिन बाध्य भएका उनी आफुले स्थापना गरेको संस्थाका वर्तमान अध्यक्ष दिलु मास्केले काभ्रेमा बन्दै गरेको इन्स्टिच्यूट अफ नेवार कल्चर एण्ड ल्याङ्वेज सेन्टरको भवन र अभियान पूरा गरोस् भनी चाहना राख्छन् । त्यो सेन्टर जसले व्यक्ति विशेषको इच्छापूर्ति गर्ने भन्दा कयौं गुणा माथि उठेर भारतको सिक्किममा नेपाली राष्ट्र भाषा र संस्कृति संरक्षण, सम्बद्र्धनमा टेवा दिनेछ । उनीबाट पनि नेपालले सिक्नु पर्छ कि लोपोन्मुख संस्कृति, भाषा जसले मानव सभ्यताको चिनारी दिन्छ त्यसलाई संरक्षण, जगेर्ना र सम्बद्र्धन गर्नेमा । बहुजातिय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा विभिन्न जातजातीको मौलिक पहिचान जगेर्ना गर्न समय मै सरकारी स्तरबाट पहलकदमी लिनुसक्नु पर्छ । पुरातत्व विभाग देखि संस्कृति मन्त्रालय तथा तिनका सम्बन्धित निकायले यसलाई बुझ्न सके राष्ट्र र नागरिकको कल्याण हुनेछ ।

sikkam7

sikkam3

 

sikkam6

k_kajie@hotmail.com / kkajimdr@gmail.com

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.