लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

के सबै म्यादी भएका हुन् ?

सोमबार, १४ चैत, २०७३ मा प्रकाशित, 2317 पटक हेरिएको

पेशल आचार्य- म्यादी भनेको ‘अस्थायी’ हो । अस्थायी ‘निश्चित समय र सीमा सम्मका लागिमात्र हुने’ भन्ने अर्थ द्योतन गर्ने शब्दावली समेत हो । केहीदिन यता नेपाली छापा र अनलाइन माध्यममा ‘म्यादी’ शब्दका बारे निकै विश्लेषण र जोडघटाउ भएको पाइन्छ । साक्षर, निरक्षर र शिक्षितले आफ्नो पकड र पहूँच भएका विविध माध्यममा यो शब्दलाई आफूअनुकूल खेलाएका, नचाएका छन् । चिया पसलदेखि फेसबुके भित्ताहरुसम्म म्यादी र अस्थायी शब्द झुत्ती खेल्दै छन्, परेड हान्दै छन् र पिङ् मच्चिरहेका छन् ।

मौसममा परिवर्तन आए पनि अहिले राजनीतिक मौसम भने स्थानीय तहको निर्वाचनले क्रमशः गर्माएको अवस्था छ । गाउँमा सबै पार्टीका मोटाघाटा, चिल्ला, स्थुलकाय, सुगर, प्रेसर र कुनै न कुनै रोगका घर भएका सुकिलामुकिला नेता र तिनका पिछलग्गु कार्यकर्ताहरु क्रमशः चुनावलाई ‘इसु’ बनाएर पस्न थालेका छन् । अहिलेको जमानामा प्रविधि खेलाउन जान्नेहरु पत्रकार, फोटो ग्राफर, कमेन्टेटेर र आफैँ विश्लेषकसमेत भएका छन् । स्मार्ट फोन हातमा हुने हो भने नेपाली जनताको २४ घन्टामध्ये १६ घन्टा केमा, कसरी र कुनकुन कार्यमा बित्छ भन्ने स्वतः पत्तो पाइन्छ । मोबाइल, म्यासेज, फेसबुक, टुइटर, भाइबर, स्काइप, इमो र म्यासेनजरले मानिसलाई ढाँट्न र नढाँट्न दुवै सुविधा दिएको छ ।
अहिलेको उत्तराधुनिक मानिस दुईचोटी आफ्नो नित्यकार्य सम्पादन गर्छ । कर्तव्य वहन गर्दछ । एकचोटी बास्तविकतामा अर्कोचोटी प्रविधिमा । अहिले मानिस प्रविधिमा जन्मन बाध्य र प्रविधि मै मर्न अभिसप्त छ । यी सबै कार्यसँगै सफलता, असफलता, सुख, दुःख, हर्षातिरेक अनुभूतिहरु पहिले एक्चुअलमा र पछि भर्च्युअल लाइफमा बिताउनु पर्ने बाध्यता आधुनिक मानिसको हुन पुगेको छ ।

माहोल स्थानीय तह चुनावको हो । स्थानीय तह निर्वाचन जतिजति नजिकिँदै छ उतिउति नयाँनयाँ प्रकारका अड्कल र बेतुक कुराहरु बाहिर आएका छन् । केही दिनअघि माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले कुनै कार्यक्रममा भनेछन् –‘माओवादीले हार्ने चुनाव गर्नु हुँदैन ।’ चुनावमा ‘म र हामीले जित्नै पर्ने’ भन्ने सोच अहम्वादी सोच हो । अहम्वादीहरुले संसारमा कहीँ कतै पनि विजयश्रीको माला चिरकाल पर्यन्त लगाएको विश्व इतिहासमा छैन । भारतमा राहुल गान्धी ‘२७ पटक चुनाव हारेर’ गिनिज बुकमा रेकर्ड लेखाउने दाउमा छन् ।

माओवादी शक्ति नयाँ नेपालको परिवर्तनकामी शक्ति हो । उसका एजेण्डामा टेकेरै एमाले र काँग्रेसहरु संघीयता र राज्यको पुनर्संरचना सवालमा पछिपछि आएका हुन् । जनतालाई भलिभाँती थाहा छ । जश लिन पनि माओवादी मोर्चाले चुनावको डटेर सामना गर्नु पर्छ । नेपालको समुन्नत विकासमा लागि जति काँग्रेस, एमालेको दायित्व छ, त्यति माओवादीको छ । जब नेता नै खुट्टा कमाउन थाल्छन् भने कार्यकर्ताको विश्वास डग्मगाउन थाल्छ । ऊ किन र के कारणले घोषणा भएको चुनावबाट भाग्न खोज्दै छ भन्ने गूढार्थ माथिको वाक्यबाट निस्कन्छ ।

जब चुनाव नै भएको छैन । कस्ले हार्ने, कस्ले जित्ने भन्ने कुनै टुङ्गो हुँदैन । काँग्रेस र एमालेले पनि कुनै आकासका तारा झारिहालेका छैनन् । जनता तिनीहरुका राजनीतिक भोटा र कार्यशैलीबाट पक्कै बेखबर छैनन् । चुनावी रणनीति बनाउनै मध्य चैतका दिनमा पार्टीगत पिकनिक आयोजना गरिएका हुन् । जबकी पिकनिकको सुमधुर मौसम मंसिर–पुस हुन् । यसरी खाइने पिकनिक राजनीतिक पिकनिक हुन् । संगठन, कार्यशैली र एजेण्डा बनाउने । यो सबै पार्टीका लागि शिक्षाप्रद हुन्छ ।

मेचीमहाकाली अभियानपछि एमाले फुर्केको चाहिँ छ तर स्थानीय चुनावमा मतदाताले बाबु, काका, ससुरा, मामा, भान्जा, साला, साली, काकी, फूपू र भदोजस्ता नसनाता पनि हेर्छन् । नेपाली समाज अझै परिवारवाद, भाइभतिजावाद, आफन्तवाद र फरियावादबाट पूर्णतः माथि उठ्न सकेको छैन । समाजमा खुला अवधारणाको प्रवेश भए पनि पुरातन संस्कृतिको पूर्णरुपेण नामेट नभैसकेको अवस्था छ । प्रविधिले संसारका मानिससँगै नेपालीलाई पनि एकर्कामा जोडेको छ । फेसबुक, अनलाइन, स्काइप, म्यासेन्जर र यु ट्यूबमा नेपालीहरु भर्खरभर्खर चिहाउन थालेका मात्र हुन् । नेपालीको जीवन पूरै प्रविधिमैत्री भैसकेको छैन । पढेलेखेका युवाहरु झट्ट पुराना विचारका पार्टी र नेताका कुराहरु मान्नेवाला छैनन् । खोज, अनुसन्धान र मिहीन विश्लेषण गर्ने नेपाली पठित र योग्य पुस्ताको भोट पाउन या अर्को पार्टीमा जाने भोट बङ्ग्याउन पुराना सोचसमझका नेता कार्यकर्तालाई हम्मेहम्मे पर्छ । सहजै भोट पाउने भनेका त सबैले आआफ्ना पार्टी कार्यकर्ता र भातृसंगठनका कार्यकर्ताहरुको मात्र हो ।

अहिले निर्वाचनका समयमा सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । अहिले मानिस बास्तवविकतामा एकचोटी काम गर्छ अनि फेसबुकमा अर्को चोटी काम गर्छ । बर्थ डे मानिसको दुई चोटी आउँछ, एकचोटी बास्तवविकतामा अर्कोचोटी फेसबुकमा । छोराछोरी, स्वास्नी र आफन्तजन साथीभाइका लागि अहिले फेसबुकको भर्च्युअल रियालिटी नेपालीको नभई नहुने मार्गचित्र भैसक्यो । यो अवस्था शहरी क्षेत्र हुँदै शनैःशनैः ग्रामीण भेगतिर क्रमशः सर्दै जाँदो छ ।

बिराटनगर तिरका एकजना फेसबुकमा दिनहूँ छाइरहने माधव आचार्य नामक पठितले लेखे – ‘हुन त यो देशमा सरकार, नेता, विकास, न्यायाधीश, सिइओ, प्रहरी महानिरीक्षक सबै म्यादी छन् । संक्रमणका मारमा जब गणतन्त्र नै म्यादी छ भने अरुको के कुरा ?’ निर्वाचनका मेसोमा करिब ७५ हजार म्यादी प्रहरीको विज्ञापन खुलेको छ । चुनाव हुने भएपछि केही बेरोजगार युवाले काम पाउने भए । केही हजार निर्वाचन पर्यवेक्षणका कार्यमा, एनजिओ, आइएनजिओका नाममा, युवायुवतीहरु म्यादी जागिरे हुन्छन् । तुल, ब्यानर, पोष्टर, स्टिकर, पर्चा, पम्प्लेट र छपाइ व्यवसायीले भरमार काम पाउँछन् । पार्टीका झण्डा, भेष्ट, लकेट, लिफलेट, भिजिटिङ् कार्ड र प्रचार सामग्रीका ससाना उद्योगदेखि ठूलै प्रेसवालाहरुले काम पाउने भए ।

चुनाव सकिएपछि सबैसबैै ‘घोडा बेचेर सुतेको अभिनय’ गर्छन् । महँगी नामको एनाकोण्डाले नेपाली समाजमा टाउको उठाउँछ । जनताका टाउकामा झन् महँगी माथिको महँगी थपिन्छ । देशबाट चुनावका नाममा प्रविधिमार्फत् अप्रत्यक्ष रुपमा धेरै ठूलो रकम बाहिर पनि जान्छ । त्यसको सापोनापो गर्न हामीलाई वर्षौंवर्ष लाग्छ, तैपनि नेपालमा स्थानीय निकायको चुनाव नभएको करिब २ दसक नै भैसकेको छ । अब स्थानीय निकायका नाममा करिब ७४४ स्थानीय निकायका जनप्रतिनिधिहरु चुनिएर आएपछि र सक्षम जनप्रतिनिधिका माध्यमबाट जनताले आफ्नै घर दैलामा कामकार्य शीघ्र र द्रूतरुपमा काम सम्पन्न गर्न पाएपछि भने बल्ल गणतन्त्र कार्यान्वयनको अनुभूति जनतामा हुन जान्छ । यसपटक महिला, जनजाति, दलित, मुस्लिम, अपाङ्ग सबैको प्रतिनिधित्व चुनावमार्फत् हुन्छ । हुन् त दक्षिण एसियामै नेपालजस्तो समावेशी प्रकृतिको संविधान अन्त छैन । त्यसैले पनि यसलाई निर्वाचन प्रक्रियाका माध्यमबाट हामीले हाम्रो जीवनमा स्थापित गर्नु पर्ने बाध्यात्मक अवस्था विद्यमान् छ ।

चुनाव हुनै नदिनेमा कतिपय देशी विदेशी तत्व पनि लागेका छन् । सुनिँदैछ– ‘एमालेको चुनावी लहर आएको भित्री रिपोर्टमा आधारित भएर भारतीय संस्थापन पक्षको कट्टरवादी पन्थले ‘रअ’लाई चुनाव विथोल्ने जिम्मेवारी दिइसकेको छ ।’ अहिले केही पार्टीका अभिव्यक्ति र अवधारणालाई चिरफार गर्दा त्यो नहोला भन्न सकिन्नँ । भारत जहिल्यै र जुनसुकै मुद्दा उछालेर नेपाली राजनीतिमा खेल्न र पानी धमिल्याउन चाहन्छ । उसका निहित उद्देश्यहरु परिपूर्ति नहुन्जेलसम्म विभिन्न पार्टीहरुमा घुसेर खेल खेल्नुमा उसको स्वार्थ गाँसिएको हुन्छ ।

यतिखेर सचेत नेपाली जनता जोसुकैले जितोस् । जुनसुकै पार्टीका मेयर, उपमेयर र निर्वाचित जनप्रतिनिधिहरु आउन्, त्यसमा भन्दा पनि संविधान कार्यान्वयनका सिलसिलामा भएको पहिलो स्थानीय तहको निर्वाचनमा आफूले चुनेका जनप्रतिनिधिमार्फत् आफ्नो गाउँठाउँमा आफैँ शासित भएको हेर्न चाहन्छन् । सिँहदरबारको अधिकार बेहिसाबसँग गाउँका जनप्रतिनिधिले प्रयोग गर्न पाएपछि नेपाली जनताले राज्यको पुनर्संरचनाको एहसास पनि पाउने भएका छन् । सकारात्मक रुपमा अब एउटा गाउँ पालिकाको अर्को गाउँ पालिकासँग, एउटा नगर पालिकाको अर्को नगर पालिकासँग, एउटा महा नगरपालिकाको अर्को महानगर पालिकासँग सबै किसिमको उच्च प्रतिस्पर्धा हुन्छ । सोही हिसाबले प्रदेश प्रदेशका बीचमा प्रतिस्पर्धा हुने हुँदा र जनताले निरन्तर स्थानीय तहमा र प्रदेशमा खबरदारी गरिरहेमा आवधिक चुनावका हिसाबले पनि नेपालको राजनीतिले स्थायित्वतिरको यात्रा पक्रन्छ । कामचोर र गद्दार प्रकृतिका नेताहरु पाखा लाग्नु, बढारिनु र राम्रा विशेषताका नेता जनताका हृदयमा घर गर्न सफल हुन्छन् ।

लोकतन्त्रको गहना आवधिक चुनाव हो । नेपालमा आवधिक चुनाव हुन नदिएर पनि लोकतन्त्रलाई ‘वामपुड्के’ बनाइएको हो । जनताका पक्षबाट यसमा कुनै गल्ती छैन । नेताका पक्षबाट सोह्रै आना गल्ती छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework