लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

महाभारतकी कुन्ती-१२

शुक्रबार, १८ चैत, २०७३ मा प्रकाशित, 3110 पटक हेरिएको

दरबारमा सामान्यतया कसैसँग सोधिने चलन हुँदैन । जानकारी आफैँ आउँछ भन्ने चलन हुन्छ । दरबारमा चुक्ली, प्रशंसा र आँखा चिम्लेर कुनै पनि परम्पराको अनुशरण गर्ने चलन हुन्छ । त्यसैले हामीले पहिले थाहा नपाएका कुरा पनि पछि व्यासजीको मुखराविन्दबाट सुनेर थाहा पाउने हो । मेरा ससुरा नै त भन्नुपर्‍यो, विचित्रवीर्यलाई ,अलि शारीरिकरुपमा निम्छरो नै हुनुहुँदो रहेछ । भउमेरमा पनि सानो नै ।

-हरिविनोद अधिकारी

अर्का ससुरा भनौँ चित्राङ्गदको रोगबाट निधन भइसकेकोले कुरुवंशीको एकमात्र राज्याधिकारी विचित्रवीर्य नै हुनुभएछ किनभने पितामह जो ज्येष्ठ कुरु हुनुहुन्थ्यो, आफैँले राज्याधिकारी हुने कुराबाट आफैँलाई वञ्चित गर्नुभएको अवस्था थियो । राजमाता सत्यवतीलाई हस्तिनापुरको राज्यलाई बचाई राख्ने भविष्य सङ्कटमा परेको आभास भइरहेको थियो जुन सत्य पनि सावित भयो आज आएर ।

दरबारमा चुहिएको कुरा सुन्ने हो । चित्राङ्गद एकदम बहादुर र लडाकु हुनुहुन्थ्यो रे । विचित्रवीर्य पनि लडाकु हुुनुहुन्थ्यो रे । भन्छन् दरबारमा-शासक चित्राङ्गद अनि रक्षकचाहिं देवव्रत । मुख्य रक्षकचाहिं पितामह, मुख्य राज्यपालक तर शासनचाहिँ राजमाताको । शान्तनुको स्वर्गीय भएपछि गद्दीमा को बस्ने भन्ने विवाद राजमाताले के गर्नु भएको थियो, पितामहले नै भाइ चित्राङ्गदलाई लगेर राज्याभिषेक गर्नुभयो । अझ भन्थे पुराना दरबारियाहरु-राज्याभिषेक नै नभई चित्राङ्गद महाराजको हत्या भयो । हत्या पनि कसरी भयो रे भने चित्राङ्गद नाम गरेको यक्षले नै मारेको रे । अहिले पनि यो पृथ्वीमा राज्य गर्ने भनेको मानव, यक्ष , राक्षसले नै हो । भाग लगाएर । कहिले कसैको अधीनमा को बस्ने र कहिले को बस्ने तर कसैको न कसैको अधीनमा पृथ्वीचाहिँ रहने । वीरभोग्या वसुन्धरा । देवता, राक्षस, यक्ष, किन्नर सबैको समन्वयकर्ताचाहिँ मानिस नै हो । मानिसको कुनै रुप यक्ष, कुनै रुप देवता, कुनै रुप दैत्य, कुनै रुप अदैत्य, कुनै रुप नाग, कुनै रुप ऋक्ष र कुनै रुप यक्ष । वानर अर्थात् वा नर ? नरजस्तै । नत्र कसरी विवाह भयो त वानरकन्यासँग मानिसको ?

ब्रह्मा देवताका पनि देवता, उनका छोरा विश्रवा ब्राह्मण अनि उनका छोरा रावण राक्षस । गणना पनि कस्तो भने रावण र कुम्भकर्णचाहिँ राक्षस पंक्तिमा अनि विभीषणचाहिं मानव पंक्तिमा रे त्रेतायुगमा पनि । कुनै राजा इन्द्रको आसनमा बस्ने अनि इन्द्रचाहिँ पृथ्वीको आसनमा नबस्ने ? प्रत्येक राजालाईं इन्द्रको पदजस्तै मान्नु पर्ने । सायद स्वर्ग एउटा आदर्श स्थान होला, कल्पना होला । फेरि मेरो छोरा अर्जुन कसरी स्वर्ग पुग्यो त जिउँदै र शस्त्रास्त्रको शिक्षा लिएर आयो ? भन्छन्–स्वर्गमा भोक पनि हुँदैन, प्यास पनि हुँदैन, माया प्रेम हुन्छ तर जायाजन्म हुँदैन । अप्सराहरु सधैँ षोडशी । कसरी सम्भव छ ? मलाई र द्रौपदीलाई पनि त सबैले सधैं सोरवर्षकी जस्तै भन्थे । मलाई पहिले पहिले त लाग्थ्यो जुन पुरुष मलाई देखेर कल्पिँदैन थियो, त्यो पुरुषमा पुँस्त्व नै छैन होला । तर महारानीका वारेमा कसैले न त भन्न सक्थ्यो, न त कतै कुनै कुरो चुहाउन सक्थ्यो । तर म सदैव अक्षता नै रहें । अभेद्या नै रहें जस्तो मात्र लाग्छ आजको यस अवस्थामा पनि । मेरो अस्मितामाथि कसैले पनि हस्तक्षेप गरेनन् । जति नियोग भए, ती आवश्यकताका कारणले भए । मैले कुनै चाहना राखिन र अब त झन अन्तिम अवस्थामा छु, केको चाहना ? तर मैले भनेकी थिएँ माद्रीलाई, तिमी सती नजाऊ, म जान्छु किनभने तिमीले त कम्तीमा पनि महाराज पाण्डुको त्यो सन्तुष्टिको अनुहार त देख्न पायौ अन्तिममा भने पनि । जब महाराजले मैथुनिक सन्तुष्टि पाउनु भएको थियो, त्यही खुसीको अमापन मूल्यमा श्रापले काम गरेको थियो र उहाँको अन्त्य भएको थियो जुन ऋषिको भविष्यवाणी थियो । लाग्छ मलाई उहाँमा त्यो कमजोरी जन्मँदै थियो तर त्यसलाई ऋषिको श्रापसँग जोडेर वानप्रस्थको बाटो महाराजले रोजेको जस्तो लाग्यो । म महाबली चित्राङ्गद महाराजको वारेमा सोच्दै थिएँ, कता आफ्नै वारेमा सोच्न पुगेछु ।

खोइ, खोइ, म अहिले पनि केही बुझ्दिन । जे होस् महाबली चित्राङ्गदको अल्पायुमा नै निधन भएपछि कति दिनसम्म पनि राजमातामा होस नै थिएन रे । तर राजमाता वास्तवमा बहादुर माता , रानी तथा महिला हुनुहुन्थ्यो । समालिनु भएछ र कान्छो छोरो विचित्रवीर्यलाई राजा बनाउनु भएछ । उहाँ पनि बहादुर, लडाकुमात्र होइन, कति राज्यहरुलाई आफ्नू चक्रवर्तित्वभित्र समाहित गर्नु भएको रहेछ । हुन पनि किन बहादुर नहुनु नि , पितामह जस्तो सेनापति, रक्षक र अभिभावक जो निःस्वार्थी पनि छ , भएपछि ।

एउटा भाइ चित्राङ्गदलाई यक्ष चित्राङ्गदले मायावी युद्धमा मारेपछि पितामहलाई अचम्भ लागेछ । कसरी मेरो भाइलाई कसैले मार्न सक्यो होला ? तर व्यासले जब सबैकुरा भन्नुभएछ , चित्त बुझेछ । व्यासले भन्नुभयो-चित्राङ्गद राजा र चित्राङ्गद गन्धर्व भनौँ वा यक्षसँग सरस्वती नदीको तटमा भेट भयो । एउटै नाम । दुवै उस्तै महावीर । एउटा दिनका राजा , एउटा रातका राजा । दिनचर र निशाचर । हुन त रातमा पनि भारत त चित्राङ्गद राजाकै हो तर साँझपछिको चारघडी सम्म मानव राजाका लागि अनि त्यसपछि निशाचर यक्ष, गन्धर्व, किन्नर, राक्षसका लागि विचरण गर्ने, खेल्ने, रमिता गर्ने , रमाइलो गर्ने समय भनेर भाग लगाइएको मानिँदो रहेछ । पछि अर्जुनसँग पनि चित्ररथ यक्षको यस्तै प्रश्नोत्तर भएर चित्ररथले अर्जुनलाई मायावी युद्धकला सिकाएको थियो रे । अनि चित्राङ्गद गन्धर्वले भनेछ-एउटै नाम भएकोसँग मैले लड्नुपर्छ । एउटामात्र यो संसारमा रहनु पर्छ । लडाइँ गरौं । महाराजले पिठ्युँ फर्काउने कुरै भएन, सरस्वती तटमा तीन वर्षसम्म लडाईं भएछ र अन्त्यमा चित्राङ्गद गन्धर्वले मायावी लडाईंद्वारा महाराजलाई मारेछ । यो कुरा पछि थाहा भएछ । सबैले सर्लक्क शरीरसहितको महाराजको शव फेला पारेका रहेछन् । जब व्यासले पूर्व जन्मको समेत कुरा गरी उसको जीवन जति थियो, भोग्यो, गयो भनेपछि अविवाहित महाराजप्रति स्मृतिमात्र शेष रहेछ हस्तिनापुरमा ।

अनि राजमाताले पनि चिन्ता गर्न छोड्नु भएछ । तर राजमातालाई भारतवर्षमा कुरुवंशविहीन हुने कुरामा भने सधैँ चिन्ता लाग्ने नै भयो । अनि पितामहलाई भन्नु भएछ-देवव्रत, यो राज्यका पालक तथा रक्षक छोरा, चित्राङ्गद जस्तै कहीँ विचित्रवीर्य पनि कालकलरब हुने हो कि ? छिटै बिहे गरेर कुरु वंशको सन्तति शाखाका लहरा बढाउनु पर्छ । स्वयंवरमा राजा आफैँ वा युवराज आफैँ पनि जान्थे वा प्रतिनिधित्वका रुपमा दूतले कन्या दिनका लागि निवेदन पनि दिन्थे साना साना राज्यका तर्फबाट । यसो हुनुमा स्वयंवरमा लडाईं पनि हुने र कतिपय राजा, युवराज तथा राजकुमारहरु मारिने भएकाले राज्यको प्रतिनिधि, पुरोहित, सेनापति गएर त्यो राज्यमा कन्या माग्ने चलन रहेछ कोसेलीसमेत लगेर । तर काशीराजको दरबारमा उनका तीनओटा कन्या अम्बा, अम्बिका र अम्बालिकाको स्वयंवरमा स्वयँ राज्यका रक्षक पितामह आफैं जानु भएछ र राजाहरुका ताँँतीमा बस्नुभएछ । सबै हाँसेछन् र भनेछन्कु-राचाहिँ आजन्म ब्रह्मचारी हुने गर्ने तर

कलिला राजकन्याको स्वयंवरमा आफैँ उपस्थित भएर चाहना गर्ने ंवरमालाको । वास्तवमा थियो कुरा के भने तीनओटै कन्या लिएर आउने र भाइसँग विवाह गरी धेरै उत्तराधिकारीहरु एकैपटक जन्माउने किनभने कुरुवंशमा क्षयीकरण भएको थियो । खिसी गर्दै थिए राजसभामा देवव्रतलाई तर उहाँको एउटै ध्याउन्न थियो राजकुमारीहरु आफूनेर आऊन् अनि सल्लाहले जान भनौँला, नभए हरौँला ।

नभन्दै सल्लाहले मान्ने कुरै थिएन, लडाइँ नै भयो । तीनओटै राजकुमारीहरुलाई हरण गरेर पितामहले ल्याउनु भएको रहेछ र तीनओटैलाई एउटै साइतमा विवाह गर्न लाग्दा ठूली दिदीले आफूले पहिलेदेखि नै महाराज शाल्वलाई वरण गरेको , स्वयंवरमा पनि त्यो वरमाला उहाँलाई नै पहिराउने विचारमा रहेको तर हरण गर्दा केही पनि भन्न नपाएकोले आफूलाई छोड्न अनुरोध गर्नुभएछ । वचनका पक्का पितामहले माहिली र कान्छीको विवाहचाहिँ विचित्रवीर्यसँग गरिदिनु भयो र अम्बालाई जान अनुमति दिनु भएछ । तर शाल्वले स्वीकार गरेनछन् र भनेछन्त्य-सबेलाचाहिँ केही नभनी गइस्, अहिले म किन लिन्छु । अरुले रस चुसेपछि म किन फेरि त्यही उखु चुस्छु ? फेरि अम्बा माता फर्केर आउनु भएछ हाम्रै दरबारमा र भन्नुभएछ यी सबै कुरा । अनि कि त देवव्रतले विहे गर्नुपर्‍यो, कि भाइसँग विवाह गराउनु पर्‍यो । नत्र म छोड्दिन । पितामहले तर्क गर्नुभएछ-तिमी आएकै थियो , किन गएकी त शाल्वको शरणमा । म मेरो भाइसँग विवाह गराइदिन्थेँ । अब सम्भव छैन । जाऊ ।

जान त गइन् तर भगवान तथा पितामहका आदरणीय गुरु परशुरामको शरणमा । परशुरामले पहिले त सम्झाएछन् पितामहलाई तर नमाने पछि लडाईँ नै भएछ गुरु चेलाका बिचमा अम्बाका लागि । परशुरामले हार्नु भएछ । अनि अम्बामाता जानु भएछ राजा द्रुपदका शरणमा । पार लागेन । अनि तपस्याको बलले अर्को जुनीमा भीष्म पितामहलाई मार्ने वरदानसहित महाराज द्रुपदको दरबारमा जन्म भएछ छोरीको रुपमा तर भनिएछ छोरो । नाम रहेछ शिखण्डी । यो कुरा कि शिखण्डीलाई थाहा रहेछ, कि कृष्णलाई, कि पितामहलाई । अनि पितामहलाई जित्न वा मार्नका लागि शस्त्रास्त्र शिक्षा लिएको रहेछ गुरु द्रोणसँग । यो पनि एउटा रहस्य नै रह्यो मेरा लागि जीवनभर कि शिखण्डी पितामहको मृत्यको कारण, धृष्टद्युम्न गुरु द्रोणको मृत्युको कारण र द्रौपदी सम्पूर्ण क्षत्रीय वंशको नाशको कारण । किन सबै द्रुपद महाराजका घरमा नै जम्मा भएका होलान् ?
(क्रमशः)

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.