लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुरुङ होइन कान्ति लोकपथ बनाऊ !

बिहीबार, २४ चैत, २०७३ मा प्रकाशित, 17499 पटक हेरिएको

नरेन्द्रराज पौडेल - झण्डै साढे ६ दशकअघि भारतले बनाइदिएको त्रिभुवन राजपथ (बाइरोड) ले नेपालको राजधानीलाई चारपाङ्ग्रे युगमा प्रवेश गरायो । पुस्तौंदेखि पैदलयात्राको ढाक्रेयुगमा रमाइरहेका नेपालीहरुलाई त्यो राजपथले यन्त्रचालित युगान्तकारी यातायात साधनको उपहार दिएर बिर्सिनसक्नु गुन लगाएको थियो । अनि तीन शहर नेपााललाई राजधानी भन्न सुहाउने हैसियतको बनाएर आसपासका बस्तीहरुमा शहरी सभ्यताको विस्तार गर्नसमेत प्रेरित गरेको थियो ।

हुन त त्रिभुवन राजपथ निर्माण हुुनुअघि नै राणाशासकहरुले काठमाडौं वरपर यत्रतत्र ठडिएका रोमनशैलीका विशालकाय दरवारहरु जोड्ने पीचरोडको सञ्जाल तयार गरेका थिए । पारिवारिक सोख पूरा गर्नकै लागि मन्छेमाथि बोकाएर पार्टपुर्जा भित्र्याएका अनि त्यही जोरजार गरी यान्त्रिक बाहनको रुपमा जीप–कारको प्रयोगसमेत गरेका थिए । पाल्की, बग्गी र घोडाको विकल्प गाडीमा बसेर सानको सवारी चलाएका थिए । राजधानी र उपत्यका आसपासका देवालय, मठमन्दिर, गुम्बासम्म जाने मोटरबाटो निर्माण गरी वरिपरि धूपी, मसला र कपूरका बोटवृक्ष हुर्काएर मानव बस्तीलाई सुन्दर बनाउने काम पनि राणाजीहरुले नै गरेका थिए । तर आम नागरिकले उपयोग गर्न पाउने र सक्ने गरी त्रिभुवन राजपथ बन्नुअघि साइकलसमेत भित्रिएकोे थिएन ।

दैनिक उपभोग्य बस्तुहरुकोलागि समेत पदमार्गकै भर परेको राजधानीलाई त्यही त्रिभुवन राजपथले ०८ सालदेखि आधुनिक यातायात साधनको नयाँ युगमा प्रवेश गरायो । अनि विस्तारै महाभारत क्षेत्रका गढी, गांैडा, गोस्वारा र साधन सम्पन्न मानव बस्तीलाई आधुनिक यातायात प्रणालीसँग यसै राजमार्गले जोडेको थियो । दैनिक जीवनका अत्यावश्यक उपभोग्य वस्तु– नुनतेल, मसला र लत्ताकपडा लिनसमेत रक्सोल, ठोरी, नौतनवा पैदल धाउनु पर्ने नेपाली नियतिलाई लरी ट्रकमा ढुवानी गरिएको सामान उपभोग गर्ने अवसर दिएर यो राजपथले निकै समय नबिर्सिने गुन लगाएको थियो । अलि हुनेखाने वर्गका लागि ढाक्रे जीवनबाट साहूजीको सम्मानले युक्त व्यापारी वर्गमा स्तरोन्नति पनि गराएको थियोे । अझै पौरख गर्न सक्नेहरुको लागि देशबाहिरसमेत व्यापार व्यवसाय बढाएर सीप, कुशलता र हैसियत बढाउने इलमको ढोकासमेत खोलिदिएको थियो । काठमाडौंको मध्यमवर्गी समाजलाई उद्योग वाणिज्यको मार्गमा उकालेको थियो ।

त्रिभुवन राजपथ निर्माण सम्पन्न भएलगत्तै २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेको कान्ति राजपथ भने आरम्भको दोस्रो वर्षदेखि निर्माणकार्य ढीला भएर अधूरै रहेको थियो । त्यसैआसपास गैंडाकोटमा राजा महेन्द्रले शिलान्यास गरेको पूर्वपश्चिम राजगार्ग दशआठ वर्षभित्रै अधिकांश भाग तयार भएको थियो । तर यो बनेन । वास्तवमा त्रिभुवन राजपथको अपेक्षा कम दूरी र भौगोलिक विकटता समेत कम भएको तराई जोड्ने यो राजमार्ग उतिबेरै तयार हुनुपर्ने थियो । पञ्चायती राजनीति मौलाएको बेला देशविदेश सबैतिर समर्थनसहयोग जुटाउन सक्ने शासकहरुले राजधानी जोड्ने ८८ किलोमिटर लामो राजमार्ग बनाउन नसक्ने अवस्थामा पक्कै पत्यारिलो थिएन । त्यसमा पनि आफ्नी स्वर्गीय पटरानीको नामसँग जोडिएको र आफ्नै हातबाट शिलान्यास भएको राजमार्ग राजा महेन्द्रकै विशेष पहलमा सम्पन्न हुनुपर्ने हो, तर भएन ।

त्यसको ठ्याक्कै तेस्रो दशकमा चीनले निर्माण गरीदिएको सवा २ सय किमि लामो काठमाडौं पोखरा अनि मुङलीन नारायणगढ राजमार्गले त्रिभुवन राजपथको भारीसमेत खप्टिएर तराई जोड्ने सहायक विकल्पको प्रतिनिधित्व गरीआएको छ । इन्धन–ग्यासका ट्याङ्कर बुलेट र लामा ठूला ढुवानीसाधन प्रयोग हुने यस राजमार्गले राजधानीको लाइफलाइनको काम गरिरहेको छ । साथै उपत्यका वरपरका घना शहर तथा ग्रामीण बस्तीलाई समेत निरन्तर साधनस्रोत र निर्मााण सामग्रीको आपूर्ति र जोगाड गरिरहेको छ । तर थकित गलित र जीर्ण हुँदै गएको यो राजमार्गले पुनर्निर्माण र मर्मत सम्भार गर्ने नाउँमा देश लुट्न खडा भएका कन्सल्टेन्सी भनाउँदा हुँडार, मन्त्री, हाकिम र ठेकदार मोटाउने काममा अरवौं राजश्व पानीझैं बगाउँदै आएको पनि छ ।

सवा २ सय किमिको लम्बेतान मुग्लिन, नारायणगढ, बीरगञ्ज राजमार्गको भर परिरहेको नेपाल सरकार भने २०६५ सालदेखि पुनर्निर्माण कार्य शुरु भएको कान्ति लोकमार्ग चाँडो सम्पन्न गर्नेतिर अझै तातेको देखिदैन । बरु त्यसको ठाउँमा हिजोआज काठमाण्डौं–हेटौंडा सुरुङ्गमार्ग निर्माणको गफ दिएर ‘हिँड्न नसक्ने दौडिन खोज्ने’ उखान चरितार्थ गर्न लागेको छ । देश लुटेर हाल करोडपति रहिआएका दुईचार नेता, व्यापारी, हाकिम र ठेकदारलाई अरवपति बनाउने चाल नचलाऊ भन्छन् प्रत्यक्ष जानकार जनता । अनि टेक्नोक्र्याटको हन्तकाली बगाललाई अपच्तो दानपानी भर्ने काममात्र नगरे वेश भन्ने सचेत नागरिकको धरणा रहेको छ । केही सम्भ्रान्त र सुकिला वर्गकोलागि सुरुङमार्ग विलासिताको विषय बनको हुन सक्छ । अझ त्योभन्दा बढी आफन्तलाई मोटो जागीर दिने, देश विदेश घुमउने र ठेक्कापट्टा दिलाउने आदि इत्यादिको लामै षड्यन्त्रको श्रृङ्खला तयार भएको हुन सक्ला । तर देशको राजश्वमाथि बाघ पञ्जा फिँजाउन र विदेशी दातृ निकायलाई मुर्गा बनाउनमात्र यो बखेडाको अखडा खडा गरिएको कुरा मेलम्ची सुरुङ्को ढीलासुस्तीले बताइसकेको छ । नेपाली सेनाले फाष्ट ट्रयाक निर्माणको जिम्मा लिएपछि सुरुङ मार्गमा लगानी गर्नु कमसे कम हालका लागि किमार्थ उचित मान्न सकिन्न ।

‘फुस्रो आङमा मलमलको धोती’ भन्ने सुकुलगुण्डे उखान चरितार्थ गर्ने नेपाली नेता र ठेकदार सबैको एउटै सलमत रहँदै आएको छ । ठूला आयोजना सुरु गर्ने र दशकौंसम्म दुहुनु गाई बनाएर राख्ने तर पूरा चैं कहिल्यै नगर्ने कपटी बानी गणतन्त्र आएपछि झनै बढेको छ ।

हेटौंडा–काठमाण्डौं सुरुङको नाउँमा पहिले थोरबहुत जुटेको लगानी रकम अपारदर्शी ढंगले खर्च भएको खबर आएको अलिक समयअघि मात्रै हो । काम र दामको जिम्मा लिनेहरुले नै छोराछोरी भाइ–भतिजालाई मात्रै गाडी र होटलमा ऐस आराम र लाखौं तलब सुविधा दिएर योजना संचालनको नाउमा ब्रह्मलूट मच्चाएको घटना निकै चर्चामा थियो । एक दिन एस्काभेटरले पहाडको भित्तो खोस्रिएर करोडौं रुपैयाँ ठाडै पचाउने काम भएको घटना आजै बिर्सिने कुरा पनि त भएन । श्रव्यदृश्यका संचार साधनहरुमा घटना विवरण ताजै छ । आजै फेरि स्वयं सरकार नै सुरुङमार्ग बनाउने गफ चुटेर तिनै सञ्चालहरुको पछि लाग्नु उदेक लाग्दो घटना भएको छ ।

हालको मेलम्ची योजना र अधूरो कान्ति लोकमार्गको हविगतले महाभारत छेडेर सुरुङ्मार्ग निर्माण गर्ने छिपाको हल्लालाई पत्याउन र पचाउन कसैले पनि सक्दैन । किन त भन्दा, हुम्ला, डोल्पाजस्ता विकट सदरमुकालाई राजमार्गले अझै जोड्न नसकेर जनताको अगाडि हरिया दाँत देखाइ आएको लाचार सरकारले सुकुलगुण्डा शैलीको अर्को हल्ला फिजाएर आउँदो चुनावमा सर्वसाधारण जनताको भोट तान्न खोजेको सबैले बुझेका छन् । माथिपट्टि पखेरामा गिट्ठा भ्याकुर नपाएर भोकै बसेका र पानीसमेत पिउन नपाएर तड्पिएका चेपाङहरु गाँसबासका लागि युगौंदेखि सरकारकै मुख ताकिरहेका छन् । यता तिनै बस्तीको तलतिर सुरुङ् खनेर भित्रभित्रै मोटर गुडाउने गफ बाँडिँदैछ भने योभन्दा अर्को बिडम्बना के हुन सक्छ !

भारतीय सीमावर्ती क्षेत्रमा वर्षैपिच्छे डुबानमा परेका र जुरे झार्लागका पहिरो पिडित जनतालाई थातबासको व्यवस्था गर्न नसकेर यही गणतन्त्रे सरकार मरेको बिरालो काखी च्याप्ने पात्रकोरुपमा देखापरेको छँदैछ । अब त्यही सरकारले महाभारत पर्वत छेडेर सुरुङमार्ग बनाउने नाउँमा विदेशी दातालाई मुर्गा बनाएर भुत्ल्याउने र स्वदेशी गरीव जनतालाई पापड बनाएर बेल्नको लागि जालझेलको तानाबाना बुन्दै छ भन्ने लोकमत रहेको छ । पन्ध्र वर्ष लगाउँदा पनि मेम्चीको पानीको पाइप हुल्ने सुरुङ् तयार गर्न नसक्ने सरकारले यत्तिबेरै ठूला ट्पिर ट्याङ्कर गुड्ने विशालकाय सिङ्गो सुरुङ तयार पारेको सपना देख्नुु शिव शर्माको सपनाभन्दा अरु बढी केही होइन ।

तत्कालकालागि भन्ने हो भने ८८ किलोमिटर लामो कान्ति लोकपथको निर्माण कार्य तुरुन्त सम्पन्न गरी तराइलाई राजधानीको दोब्बर नजिक ल्याउन सकिन्छ । हेटौंडाबाट काठमाडौं जोड्ने थप एउटै स्तरीय राजमार्गको अधिकतम उपयोगले पनि राजधानी भित्रिने हालको यातायात सहज हुने र सरसामन ढुवानीको चापमा ह्वात्तै कमी आउने छ । राजमार्ग आसपासको गरिव विपन्न बस्तीमा कृषि, पशुपालन घरेलु र होटेल व्यवसाय फस्टाउने छ । शिक्षा, संस्कृतिको विकाससँगै जीवनशैलीमा सुधार आउने छ । त्यस क्षेत्रको बस्तीमा मानवीय चेतना र आयस्तरमा समेत समयसापेक्ष परिवर्तन आउने छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.