लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अनौठो बिस्केट जात्रा मनाउने विचित्रको चलन

सोमबार, २८ चैत, २०७३ मा प्रकाशित, 9616 पटक हेरिएको

चैत मसान्तबाट सुरु भएर खाइसंल्हू अर्थात वैशाख संक्रान्ति सम्म मनाउने बिस्केट जात्राको विशेष महत्व छ । भक्तपुर नगर, मध्यपुर थिमि अन्तर्गतका पुराना नेवाः बस्ती नगदेश, बोडे, थिमि, टिगनी, लोकन्थली, सूर्यविनायक नगरपालिका अन्तर्गतका क्षेत्र मध्ये चित्रपुर, पगांडोल, बालकोट तथा काभ्रे जिल्लाको खडकु (खम्पु), काठमाडौंको उत्तरी भेग टोखामा पनि बिस्केट जात्रा मनाउँछन् ।

-केके मानन्धर

बिस्केट जात्रा र यसको नामाङ्करण सम्बन्धमा सर्प मारेको सम्बन्धिको किंवदन्ती चर्चित छ । तत्कालिन समयमा राजकुमारीको नाकको प्वालबाट निस्केका जोडी सर्प मारेको सन्दर्भमा ती सर्पलाई लिङ्गोमा झुण्डयाएर जात्रा गरेको भनाइ छ । त्यस्तै लिच्छवि राजा शिवदेव दोस्रोको पालामा पूर्वका किराँतीहरुले नेपाल मण्डल आक्रमण गरेकोप्रति प्रतिकार स्वरुप आचाजु तान्त्रिकले अजिङ्गर रुप धारण गरेको सन्दर्भसँग सम्बन्धित गरेर बिस्केट जात्रालाई वर्णन गरेको देखिन्छ । ‘बि’को अर्थ स्थानिय भाषामा सर्प तथा “स्यानाः हंगु जात्रा” मारेको खुसीयालीमा मनाएको जात्रा भन्ने अर्थ लाग्छ । त्यसैले कहिंकतै बिसिका जात्रा भन्ने गरेको पनि पाइन्छ । “बिस्याना जात्रा” र “बिसिका जात्रा” नै कालान्तरमा बिस्का हुँदै बिस्केट जात्रा भएको हुनसक्ने तर्क गर्नेहरु भक्तपुरमा प्रशस्तै छन् । त्यसमा पनि मध्यपुर थिमिमा मनाउने बिस्का र बिस्केट जात्रा पनि त्यस्तै व्यक्ति तर्कले प्रमाणित गर्न प्रयास गरेको देखिन्छ ।

थिमी क्षेत्रमा तत्कालिन अवस्थामा ३२ खट (अहिले कारणवश २३ खट मात्र) सम्मिलित गराउँदै जात्रा मनाउने भएकाले बत्तिस खट अपभ्रंस भएर बिस्केट जात्रा भएको तर्क छ । तर ती तर्क मात्रमा सीमित हुने सन्दर्भ देखिन्छ, इतिहास र ऐतिहासिक पक्षलाई तथ्यसंगत प्रमाणित गर्न सके त्यसको वास्तविक अर्थ आउनेमा दुई मत नहोला । विभिन्न अध्ययनको क्रममा गौतमीपुराणमा सबभन्दा पहिला बिस्का जात्रा उल्लेख भएको पाइन्छ । त्यसमा चैत महिनामा विश्व यात्राको खुसीयालीमा झण्डा फहराउन सके दुःख र शत्रु नाश हुने उल्लेख छ । सोही श्लोकको आधारमा सब प्राणी जगतलाई शुभ कामना दिएर झण्डा फहराउने हो ।

bisket2final

चैत महिनामा सूर्य देउता मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने समय अर्थात विश्व यात्राको सन्दर्भमा झण्डा फहराउने परम्परा छ । विश्व यात्राको क्रममा सम्पूर्ण देशबासीको शुभकामना, शत्रुहन्ता, दुःख क्षय देखि सफल जीवनयापनको कामना गरी झण्डा फहराउने हो । झन्डा अर्थात विश्वध्वजलाई लिङ्गोमा झुण्डयाएर फहराउने परम्परा बिस्केट जात्राको मूल मर्म हो । जुन चैत मसान्तमा उठाइन्छ र वैशाख संक्रान्तिमा ढालिन्छ । यो प्रमाणको कारणले बिस्का र बिस्केट जात्राको पुरानो शब्द विश्व यात्रा हुन्छ ।

बिस्केट जात्रालाई तत्कालिन अवस्थामा विश्व यात्रा उल्लेख भएका अभिलेख मध्ये भक्तपुरको तःमारी (पाँचतल्ले मन्दिर अवस्थित टोल) टोलमा भेटिएको छ । सो टोलको भैरवनाथ मन्दिरसँगैको ढुङ्गेधारामा पुरानो अभिलेख छ, जसमा विश्व यात्रा उल्लेख छ । राष्ट्रिय अभिलेखालयमा भएको ग्रन्थमा पनि नेपाल संवत् ७४१ चैत शुक्ल पुर्णिमाको दिन भैरवनाथको रथ लडेको र लिङ्गो उठाएर पूजा गरेको उल्लेख छ । नेपाल संवत् ७०० देखिको अभिलेखमा बिस्केट जात्रालाई विभिन्न खट जात्राको रुपय् उल्लेख गरेको पाइन्छ । राजा जगज्योति मल्लले नेपाल संवत् ७३४-७५७ सालमा भक्तपुर र मध्यपुर थिमिमा बिस्केट जात्रालाई खट जात्राको रुपमा परिमार्जन गरेको अभिलेख छ ।

विश्वध्वजसँग राष्ट्रिय झण्डाको सम्बन्ध

bisket3final

पुराणमा उल्लेख भए अनुसार चैत मसान्तमा झण्डा फहराउने सन्दर्भ प्रत्यक्ष रुपमा बिस्केट जात्राको लिङ्गोसँग सम्बन्धित छ । लिङ्गो उठाउने क्रममा फहराइने “हलिं पतः” जसमा वैदिक, तान्त्रिक मङ्गलचिन्ह र अष्टमङ्गलचिन्ह हुन्छ । विभिन्न शुभ चिन्हको प्रतीकको रुपमा तान्त्रिक शक्तियुक्त अष्टमङ्गल चिन्ह हलिंपतःमा राखिएको हुन्छ । हलिंको अर्थ विश्व तथा पतःको अर्थ ध्वज भएकाले विश्वध्वजलाई स्थानिय भाषामा हलिंपतः भनेको हो । हलिंपतःसँग लिङ्गोको सम्बन्ध तथा झण्डा करिव एउटै शाब्दिक अर्थ हुन्छ । झण्डा र लिङ्गोको तात्विक शाब्दिक अर्थ समेत उहि हो ।

भाषा विज्ञान अनुसार विश्वध्वज र झण्डाको तालमेल देखिन्छ । संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार पनि तत्कालिन अवस्थामा विश्वध्वज सम्मेलन हुने गथ्र्यो । विश्वध्वज सम्मेलनमा विभिन्न प्रकारका ध्वज अर्थात झण्डा सम्मिलित गराएर यात्रा गरेको भन्ने हो । लिच्छविकालीन अवस्थामा विकास भएका यस्ता झण्डा अर्थात ध्वजलाई पछिल्लो समय परिमार्जन गरी अहिलेको नेपालको राष्ट्रिय झण्डा बनाएको संस्कृतिविद् ओम धौबदेको दाबी छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको भक्तपुर शाखाले केहि समय अगाडि भक्तपुरमा गरेको कार्यक्रममा संस्कृतिविद् धौबदेलले बिस्केट जात्रामा विभिन्न ठाउँमा प्रयोग हुने झण्डाको परिमार्जित रुप अहिलेको नेपालको राष्ट्रिय झण्डा भनेका छन् । तत्कालिन नेपाल मण्डलमा प्रयोग हुने झण्डालाई परिमार्जन गरी दुई त्रिकोणात्मक आकार भएको चन्द्र र सूर्य अंकित अहिलेको नेपाली राष्ट्रिय झण्डा भएको विषयलमा तथ्य र तर्कपरक दाबी गरेका हुन् ।

भक्तपुरमा मनाइने बिस्केट जात्राको प्राविधिक पक्ष

bisket8final

विशेष गरी भक्तपुरमा मनाइने चर्चित जात्रा मध्ये बिस्केट जात्रा अग्र स्थानमा आउँछ । भैरवनाथको प्रतीकको रुपमा लिङ्गो उठाएर तान्त्रिक विधि अनुरुप पूजापाठ गरी जात्रा मनाइन्छ । आठ दिन नौ रात मनाइने बिस्केट जात्राको प्रमूख आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने तथा लिङ्गो उठाउने हो । लिच्छविकालीन अवस्थामा सीमित समयका लागि लिङ्गो मात्र उठाएर मनाएका जात्रालाई मल्ल राजाहरुले परिमार्जन गरी लामो अवधिको बनाएको इतिहास छ ।

बिस्केट जात्रा अन्तर्गत शुरुको दिनमा भैरवनाथको रथलाई गःहिटी (पाँच तल्ले मन्दिरसँगैको टोल) क्षेत्रबाट माथिल्लो टोल र सोही क्षेत्रबाट तल्लो टोलबासीबीच रथ तानातान हुन्छ । दुबै टोलका बासिन्दाहरुले आ-आफ्नो क्षेत्रमा रथ तानेका हुन्छन् । अगाडि छ वटा र पछाडि चार वटा डोरी जोडिएको पेगोडा शैलीको रथलाई दुबै टोलबासीले आ–आफ्नो वर्चश्वको लागि प्रतिस्पर्धा गर्छन् । सुरुको दिनमा रथलाई तानेर तल्लो टोलको नासमना, वंशगोपाल, तेखापुखू र माथिल्लो टोलको साकोठा, सुकुलढोका, गोमारी, इनाचो देखि दत्तात्रय सम्म लान्छन् ।

तेस्रो दिन गःहिटीमा रोकिएको भैरवनाथको रथलाई बली पूजा पश्चात गुठी संस्थानले सरकारी पूजा गर्नुपर्ने परम्परा छ । सोही बलिपूजाको प्रसाद लाकुलाछेँबासीलाई वितरण हुन्छ । जात्राको तेस्रो दिनलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भन्ने गर्छन् । बिस्केट जात्राको चौथौं दिन बिहान ताँलाक्व, प्रजापतिहरुको टोलमा हात नभएको लिङ्गो “ल्हाःमरु यःसिं” उठाएर साँझ ढाल्छन् । सोहि दिन भेलुखेलमा ५५ हात लामो लिङ्गो उठाउने हुन्छ । जात्राको चौथौं दिन चैत महिनाको मसान्तको समय हुन्छ ।

bisket6final

लिङ्गो उठाउने ठाउँमा नवदुर्गा देवगणलाई पनि उपस्थित गराउँछन् । लिङ्गो उठाउने तथा अन्य सांस्कृतिक गतिविधिलाई भक्तपुरको तलेजुले निगरानी गरेको हुन्छ । चैत मसान्तको दिन लिङ्गो उठाइसकेर तलेजुमा दुमाजुको विशेष पूजा हुन्छ । बिस्केट जात्राको पाँचौं दिन अर्थात वैशाख १ गते साँझपख लिङ्गो ढाल्नुपर्ने चलन छ । लगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथ जुधाउने हुन्छ । स्थानिय भाषामा रथ जुधाउने चलनलाई “द्यः ल्वाकीगु” भनिन्छ । साँझ दुमाजु देवीको जात्रा हुन्छ ।

त्यस्तै वैशाख ४ गते “द्यः सगं बिइकेगु” दिनको रुपमा विभिन्न टोलबाट बाजागाजासहितको टोलीले नगरमा रहेका विभिन्न देवगण परिक्रमा तथा पूजा गर्छन् । मौलिक भेषभुषामा सजिएका स्थानियहरु लाइनबद्ध हुँदै प्रत्येक मन्दिर तथा देउतालाई इच्छा बमोजिमका पूजा सामग्री चढाउँछन् । सोही दिन भक्तपुरबासीले आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउँछन् । जात्राको अन्तिम दिन गःहिटीमा पु¥याएको भैरवनाथको रथयात पुनः दुई टोलका स्थानियबासीले तानातान गर्ने चलन छ ।

मध्यपुर थिमिमा बेग्लै महत्व

bisket9final

मध्यपुर थिमि नगरपालिका अन्तर्गतका विभिन्न पुराना नेवाः बस्ती मध्ये बोडे, नगदेश, टिगनी, लोकन्थलीमा खट जात्रा गरी बिस्केट जात्रा मनाइन्छ । लोकन्थली बाहेकका अन्य चार वटा पुराना बस्तीबाट जम्माजम्मी ३२ खटलाई सम्मिलित गराएर जात्रा मनाइन्छ । अहिले भने थिमि क्षेत्रमा २३ खट मात्रको जात्रा हुन्छ । थिमिमा बिशेषगरी चैत मसान्त देखि वैशाख २ गते सम्म तीन दिन जात्रा हुन्छ । चैत ३० गते विष्णुवीर (वैष्णवीदेवी) को नेतृत्वमा साँझ विष्णुवीरजात्रा हुन्छ । त्यस्तै, यो जात्रा सम्पन्न भएको राती अर्थात करिव ३ बजे बालकुमारी, दक्षिणबाराही, अजिमा र हरिसिद्धि जात्रा शुरु हुन्छ ।

बिस्केट जात्रा अन्तर्गतको यो चरणलाई चान्हसिया जात्रा भनिन्छ । थिमिको लायकू परिसर भित्र विधिविधान अनुसारको पूजा पश्चात खटमा प्रतिस्थापन गरेका देउताहरुलाई चिलाख (चिराग, कलात्मक पानस जस्तोमा बिँड लामो बनाएर टुप्पोमा तेल राखी बाल्ने) सँग जात्रा हुन्छ । यो जात्रा चैत मसान्त र वैशाख १ गतेको राती हुन्छ । लगत्तै थिमि क्षेत्रबाट दक्षिणपूर्वी भेगको गाउँ, चखुँती (चरखण्डी) मा पनि खट जात्रा हुन्छ । यो क्षेत्रमा करिव एक शताब्दी यतादेखि मात्र जात्रा शुरु भएको हो । चखूँती क्षेत्रमा हुने जात्राको क्रममा चखूँ तीर्थमा स्नान गर्न छिमेकी गाउँबाट भक्तजनहरुको भीड लाग्ने गर्छ । चखूँतीर्थमा स्नान गर्नाले छाला तथा कुष्ठ रोग समेत निदान हुने धार्मिक विश्वास छ ।

वैशाख १ गते विक्रम संवत् नयाँ वर्षसँगै बेलुकी सिद्धिकाली (ईनाक्व द्यः) र विष्णुवीर (वैष्णवीदेवी) देउताहरुको नेतृत्वमा एकै समय दुई ठाउँमा फरक फरक जात्रा हुन्छ । सिद्धिकालीको नेतृत्वमा हुने जात्रा हात्तिमहाँकाल टोल देखि उत्तर–पश्चिम क्षेत्रमा हुन्छ भने विष्णुवीर नेतृत्वको जात्रा सोही टोली देखि नगरको दक्षिणपूर्वी क्षेत्रमा हुन्छ । बालकुमारी टोल वरपरका क्षेत्रमा परिक्रमा गराएर यो जात्रा सम्पन्न गरिन्छ । खट जात्राको शुरुमा विष्णुवीर परिसरबाट पूर्वमा अवस्थित ओरालो झर्ने क्रममा सी बाजँ थायेगु अर्थात मान्छे मर्ने बेलामा मलामीको क्रममा बजाउने बाजा बजाइन्छ । धिमे तथा भुस्या बाजा बजाएर भुइसिनः (अबिर) छर्कंदै मनाउने बिस्केट जात्रा मध्ये यो दिनको परिदृश्य पृथक हुनेगर्छ । कय्कु ताँ (नगर प्रवेश गर्ने पश्चिमी मूल द्वार) हुँदै पाँच देवगणलाई सम्मिलित गराएर जात्रा बालकुमारी क्षेत्र सम्म हुन्छ । यो दिन नगदेशमा पनि राज गणेशको खट जात्रा हुन्छ ।

वैशाख २ गते थिमिमा प्रमूख जात्रा हुन्छ । यो जात्रालाई सुथसिया जात्रा वा भ्वइसिन जात्रा भनिन्छ । यो दिन बिहान करिव ८ः०० बजे जात्रा सुरु हुन्छ । थिमि नगरको बालकुमारी क्षेत्रमा केन्द्रीत हुने यो जात्रामा २३ खट सम्मिलित गराएको देखिन्छ । भ्वइसिन जात्रामा केहि वर्ष पहिले नगदेशको राजगणेशलाई बालकुमारीमा ल्याएर जात्रा गरेको भए पनि अहिले भने प्राविधिक कारणले यो सम्भव भइरहेको छैन ।

bisket4final

पछिल्लो समय नगदेश क्षेत्रका विभिन्न चोक, गल्ली तथा टोलमा रुट बनाएर परिक्रमा गराउँदै आएको देखिन्छ । लुकुन्थली तथा बालकोट क्षेत्रमा पनि केहि वर्ष यता देखि खट जात्रा शुरु भएको छ । थिमिको भ्वइसिनः जात्रा सम्पन्न भएको दिन बोडे क्षेत्रमा “म्ये प्वाः खंकेगु” जिब्रो छेडाउने जात्रा हुन्छ । मध्यपुर थिमि अन्तर्गतको साबिक वडा नं. १ र २ अर्थात बोडे नगरमा जिब्रो छेडाउन चाहने (बोडे क्षेत्रकै श्रेष्ठ थरका) ले चार दिन अगाडि आफु शुद्ध भएर नियममा बस्छन् । तीन दिन अगावै केहि नखाइ नीति नियममा बसी जिब्रो छेडाउने परम्परा चलि आएको छ । दाँ प्यदाँ (पुराना पैसा, मोहर) क्रमशः जिब्रो छेडाउनेले बोक्ने भे (आकास बत्ती) बुन्ने खड्गी समाजका प्रतिनिधि, कर्मी नाइके तथा नायः पःमाः (प्रधान)यात दिएको चार दिन पश्चात कर्मी नाइकेले लामो सुइरोमार्फत बोडे क्षेत्रको सार्वजनिक ठाउँमा जिब्रो छेडाउँछन् । तत्कालिन बोडे नगरमा दुःख दिएका भूतलाई भीमदत्त कर्माचार्य नाउँका तान्त्रिकले समाएर सजायँ दिएको प्रतीक स्वरुप बोडेमा जिब्रो छेडाउने चलन शुरु भएको विश्वास गरिन्छ । शुरुको समयमा भूतलाई सजायँ दिएको स्वरुप जिब्रो छेडाएको भएपनि अहिले जिब्रो छेडाउने व्यक्ति शाहसीक तथा चर्चित हुने भएकाले यो परम्पराले निरन्तरता पाएको देखिन्छ ।

जात्रा पर्व देखि कला, अमूर्त सम्पदारुपी मौलिकता हाम्रा पहिचान हुन् । तर पछिल्लो समय विभिन्न रितिथिति जगेर्ना गर्न हाम्रै पूर्खाले विनियोजन गरेका जग्गा, घर, आयस्था, गुठी बन्द भएका छन् । व्यक्तिले आत्मियता देखाएर संस्कृति संम्बद्र्धनमा दिएका योगदान स्वरुपका जग्गाजमिन, घरलाई गुठी संस्थान र पुरातत्व विभागले अधिग्रहण गरेका छन् । विभिन्न संस्कृति र सम्पदाजन्य नाममा विनियोजित धनलाई अधिग्रहण गरी सोही क्षेत्रमा बजेट विनियोजन गर्नमा आनाकानी भइरहेका छन् । जात्रा पर्व देखि विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्न आर्थिक पक्ष सबल हुनुपर्छ तर सोही सबलीकरण अभाव भएर बिस्तारै यस्ता पहिचानरुपी संस्कृति ओझेलमा पर्ने खतरा देखिन्छ । समय मै सचेत नहुँदा यस्ता पहिचान नष्ट हुन बेर लाग्दैन ।

bisket1final

(स्रोतः ई. राजेन्द्र श्रेष्ठ, संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ, संस्कृतिविद् ओम धौबदेल)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework