लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

२१ बर्षे नानी ! बन्लिन त काठमाडौंको मेयर ?

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 167163 पटक हेरिएको

‘म पागल हुँ । आफ्नै कालमा शान्त र सबृद्ध नेपाल बनाउन लागिपरेको छु । मेरो पागलपन साबित गर्न म कर्मठ र इमान्दार र लगनशील छु ।’ रन्जु दर्शनाको फेसबुक पेजमा उल्लेखित यो भनार्इबाट पनि थाहा लाग्छ उनी एक निष्ठावान ‘पागल’ हुन् । देश र जनताको लागि एउटा निष्ठा र अदम्य साहस सहित आफूलाई पागल घोषणा गर्ने रन्जु वास्तवमै एक असल मानव हुन् ।

-संजिव कार्की

अझ असल र नमुनायोग्य बनुन । आफ्नो पागलपनलाई साकार रुप दिन काठमाडौं शहर, राजधानी नगर, देशकै प्रवुद्र्ध, प्रवुद्र्धबर्ग उत्पादनको अत्याधिक कारखाना भएको शहर, उच्च कुलीन, धनाड्य अनि नवधनाड्य, सवै पहुच र शक्तिको बोलवाला भएको शहरमा मेयर पदको लागि उम्मेदवारी घोषणा गर्ने सबै भन्दा कान्छो पुस्ताकी प्रतिनिधि पात्र हुन् ।

सिधा र सामान्य अर्थमा उनको यो घोषणा दुस्साहस , पागलपन र हाँसीमजाग नै हो । सवैले उडाउने छन अझ पुराना र स्थापित भनिएका राजनैतिक दल तिनका नेता कार्यकर्ताले, नवयुवक र नवयौवनाहरुले यिनको यो साहस हिम्मत र चुनौतीलाई दोहोलो काढ्ने छन् । रन्जुका बारेमा अनेकानन किस्सा बन्ने छन । अफवाहहरु फैलने छन् । उनको चरित्र र आनीबानी अनि स्वभाव बारे अत्यन्त अप्रिय अराजक र विवेकहीन टिकाटिप्पणी र हुर्मत काढ्ने मसला बनाइनेछ ।

कसैले रन्जुको उमेरलाई दुधेबालक भन्ने छन । सानी बच्ची भन्न थाली पनि सके । कसैले उनको अनुपम सौन्दर्य र बैशालु जोवनको कार्य ब्यापारको रुपमा चित्रित गर्नेछन् । जुन ट्रेन्ड सामाजिक संजालमा देखिन लागिसक्यो । रन्जुलाई सहन गर्न नसकिने आरोप र लान्छनाहरु लगाइनेछन । सबै आरोप टीकाटिप्पणी लान्छना र हुर्मत छेड्ने कुराहरुको रन्जुले शालिन प्रतिवाद र खण्डन गर्नु पर्नेछ । धैर्य र क्षमाशील बन्नुपर्छ । हाम्रो समाज कस्तो छ यसको चरित्र स्खलित छ या परिस्कृत छ सभ्य छ या अझै जंगली छ त्यो अब विस्तार विस्तार देखिनेछ । हामी राजनीतिक रुपमा कस्तो कल्चर र ट्रेन्डमा छौ त्यो प्रकट हुनेछ । हाम्रो समाजको अझ भनौं राजधानी शहरको पुरुष प्रधान समाजको स्तर कहाँ निर छ ? समाजको असल नियत र मुखुण्डो खुल्नेछ । महिला अनि यिनलाई हेर्ने बुझ्ने समाजको चेतनास्तर कहाँ छ ? महिलाले महिलालाई अवसर दिन कति तत्परता देखाउँछन ? परीक्षा महिलावादीहरुको पनि हुनेछ ।

लिखतम, बकितम र रियालाटीमा कति अन्तर हुन्छ भन्ने कुरा पनि सतहमा फेरि आउनेछ । काठमाडौंको चेतनाको स्तर हेरेर देशको सामाजिक मनोवैज्ञानिक र मानवीय चेतनाको स्तर पत्ता लगाउन सोध-पत्र तयार गर्न सजिलो हुनेछ । कालो बादल भित्र पनि उज्यालो चाँदीको घेरा हुन्छ भने झैँ रन्जुको अब आलोचना र निन्दा मात्र हुने छैन समाजको एक तह र तप्काले यिनको साहसको प्रशंसा र सम्मान गर्ने छ । यिनको साहसमा होस्टे र हैंसे पनि गर्ने छ । राजधानी शहरमा यिनको उम्मेदवारी घोषणाले एउटा तरंग उत्पन्न गरेको छ । नेपाली जनमत बुझ्न र हेर्न अहिले सामाजिक संजाललाई हेरे पुग्छ जसको दवाब र समर्थनमा सवैलाई हायल कायल पार्ने ल्याकत रहेको तथ्य खुल्ला र ताजै छ । समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण र हेराइमा पनि यिनको उम्मेदवारी घोषणाले विषेस अर्थ र मान्यता राख्छ । बिभिन्न काल खण्ड, बिभिन्न र फरक फरक ढंगका जनता जगाउने, परिचालन गर्ने , सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व, तिनका अवयव अनि तिनको निरन्तरताको विरासत, लम्बेतान राजनीतिक पृष्ठभुमि भएका पुस्ता र तिनको हालीमुहाली भएको नगरमा एक नवजवान युवतीको हाँक र चुनौती फरक ढंगको बिम्ब प्रतिबिम्ब र प्रतीकात्मक अर्थ दिने युगान्तकारी संदेश र स्वयं एउटा आन्दोलन हो । अभियान हो । एउटा पिंढी र पुस्तालाई सम्मान साथ विस्थापित गर्ने कडी र विचार हो । नयाँ चेतना, नयाँ ढंग नयाँ शैली र नयाँ बाटो हो ।

ranjuuu-Darsna

यस्तो चुनौतीपूर्ण बाटो हिड्न लर्तरो सहास र आँटले पुग्दैन र यो जो कोहिसंग हुन् सम्भव पनि छैन । विवेक, सत्य न्याय र निष्ठा अनि पवित्रता खडेरी पर्दै गएको समाजमा विवेकशील हुनु, बन्नु आफैंमा असाध्यै ठूलो चुनौती र हाँक हो । सामान्य हिम्मत र बल अनि संकल्पले, अठोट र लगनशीलताले यो समाज अनि देश परिबर्तन गर्ने कुरा गर्न सजिलो छैन । कुरा गर्न र भाषण गर्न त सजिलो होला तर काम फत्ते गर्न असम्भव छ । राजनीति आज रोपेर आजै अहिल्यै र तुरुन्तै फूल फुल्ने, फल लाग्ने र फसल पाक्ने चिज हैन यसको परिणाम र परिणतिको लागि धैर्य र अटुट लगाव आवश्यक हुन्छ ।

इतिहास जित्नेको मात्र लेखिने जवाना र समय होइन यो । हारेर पनि इतिहास बनाउन सकिन्छ, रच्न सकिन्छ । इतिहास सत्य, न्याय, निष्ठा, साहस र संकल्पको पनि लेखिन्छ । सकारात्मक परिवर्तनको लागि पहाडसंग कुइनो ठोकाउनेको पनि इतिहास बन्छ । ठाडो औंला देखाएर विकृतिको विरुद्द आगो ओकल्ने सौर्यको पनि इतिहास हुन्छ । समाज, देश र दुनियाँ बदल्न उमेर, शिक्षा र ठूलो राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभूमिको जरुरत पर्दैन । इच्छाशक्ति, लगाव र निरन्तर प्रयास अनि बारम्बारको अन्वेषण र प्रयोगले देश दुनियाँ बदल्न सकिन्छ । अवसर पायो भने नाती पुस्ताकी यी राजनीतिकर्मी, राजनीतिकी कान्छिकर्मी, राजनीतिकी ज्यामी रन्जुले पनि अघिल्लो पुस्ता बाउ, बाजेको पुस्ताको भन्दा पृथक र नवीनतम ढंगले वा भन्ने गरि काठमाडौँ नगरपालिकाको नेतृत्व गर्नेछन् । रन्जु यस कारण पनि सवल छिन् उनी आफैं स्नातक लेवलमा अध्यनरत छिन् ।

विवेकशील पार्टीकी नेतृ भएकोले विवेकशीलसंग एउटा टिम छ , बिभिन्न विषयमा बिज्ञता हासिल गरेको समूह छ । समूहमा काम गरेको अनुभव र योग्यता छ । अरु रिटायर्ड र टायार्डहरु भन्दा फरक जोश छ वेवेकशील पहिचान छ । युवा उर्जा र बेग छ । निष्ठा छ, समर्पण र कर्तव्यबोध छ । धेरै तह र तप्काबाट रन्जुको उमेर र परिपक्वतामा प्रश्न उठाउन सक्छन तर यिनको क्षमतामा प्रश्न गर्नु पर्ने ठाउँ नरहन सक्छ । काठमाडौं महानगरपालिकाको मेयरमा उमेद्वार हुने हाँक नै यिनको क्षमता हो । १९ बर्षका जुकेरबर्गको अन्वेषण र खोजले फेसबुक जन्मियो र संसारमा तहल्का नै मच्चियो । पृथ्वी नारायण शाह २१ बर्षमा नै नेपाल एकिकरण गर्ने अभियानको नेतृत्व गर्न लागिपरे । जंगबहादुर २८ बर्षको उमेरमा नेपालको श्री ३ महाराज बन्न सफल भए भने विश्वमा पनि कयौं त्यस्ता उदाहरणहरु छन जसले कम उमेरमा नै विश्व हल्लाउन सफल बने । रुजबेल्ट जो अमेरिकाका सफल राष्ट्रपति हुन् । उनि ३२ बर्षको उमेरमा नै राजनीतिको पावरमा पुगे । योगी आदित्यनाथ २५ बर्षको उमेरमा सभासद बने अहिले भारतको शक्तिशाली युवानेता र भोलिको भारत हाक्ने नेतामा दर्ज छन् । चे-ग्वभाराले २८ बर्षको उमेरमा गुरिल्ला युद्धको नेतृत्व गरे । तसर्थ रन्जुको उमेर र क्षमतामा शंका किन ?

राजनीति पेशा हैन सेवा र धर्म हो भनेर आफ्नो आवाज मुखरित गर्ने विवेकशील नेपाली पार्टी कि उमेद्वार रन्जुको आफ्नो मान्यता पनि कम मोहक छैन । रन्जु भन्छिन ‘म टायर बाल्ने र सडक भत्काउने र फोहोर पार्ने राजनीति होइन फूल रोप्ने र विरुवामा पानी हाल्ने, गोडमेल गर्ने रचनात्मक राजनीति गर्छु ।’ ‘बिग्रे आफू मात्र बिग्रने सप्रे देश सपार्ने’ विवेकशील पार्टीका नेताहरुको एउटा रचनात्मक र सुन्दर लय छ जो अत्यन्त प्रभावकारी र मनोहारी छ । रन्जुको उम्मेदवारी वृद्दभत्ता पाउने उमेरका अग्रजले मात्र सधैं पाउने अवसरको क्रमभंगता हो । लय भिन्नता हो । अवसर सबैको लागि समान र आकर्षक हुनुपर्छ सधै पुरानो र बुढो पुस्ताको नाममा नयाँ र पछिल्लो पुस्ता मारमा पर्नुपर्ने पुरातन मान्यता र सोचको अन्त्यको शुरुवात हो । अब देश नयाँ पुस्ताले बनाउने हो । पूरानो पुस्ताले आफ्नो अनुभव र मार्गदर्शन दिने हो । पुरानो पुस्ताले होस्टे र हैंसे भट्याउने हो काँध फेर्ने र काँध हाल्ने नयाँ र बलियो पुस्ताले हो । अरु पार्टी र पंक्तिमा पनि रन्जुको फैसलाले नयाँ तरंग र नयाँ छाल ल्याउने कुरामा राजनीतिका पण्डितहरु विश्वस्त छन । तरंग उठिसक्यो नै रन्जुको समर्थन र बिरोधमा सामाजिक संजाल भरिन थालिसक्यो । राजनीतिलाई र राजनीतिकर्मीलाई गाली गरेर समय फाल्ने पछिल्लो पुस्ताका अल्छे, भुषतिघ्रे युवायुवतीलाई रन्जुको सुझाव छ । ‘राजनीति फोहोर भयो भनेर बस्ने हैन फोहोर सफा गर्न फोहोरको आहाल भित्र आफैंं पसेर बेल्चा चलाई फोहोरको उचित ब्यबस्थापन गरौं, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? अब मौका कुर्ने हैन, मौका छोप्ने हो राजनीतिक रुपमा मक्किएका कलपुर्जालाई फेरौं । मिल्ने र हुने मर्मत गरौं । देश बनाऔं ।

विवेकशील नेपालीको बाटोमा भेटिएको पर्चा मनपराएर विवेकशील नेपालीको पार्टी कार्यालय पुगेकी १८ बर्षे रन्जु २१ बर्षको उमेरमा काठमाडौं महानगर पालिकाको मेयरको उम्मेदवारी लिन सफल बनिन् । लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ र पार्टीहरुको ‘सिन्डिकेटतन्त्र’ देखेकी रन्जु वास्तविक लोकतन्त्रकी हिमायती हुन् । शासक सरकार र शासक जनप्रतिनिधि र शासकप्रसासक कर्मचारीतन्त्र र तिनको दादागिरी देखेकी रन्जु सेवक सरकार,सेवक राज्य र सेवक जनप्रतीनिधि र सेवक कर्मचारीको वकालत गर्छिन । भूकम्प पछिको अस्तव्यस्त परिवेश र छिन्नभिन्न र भयमिश्रित मनोविज्ञानले ग्रस्त अन्योल आशंका, त्राश र संशयले लखतरान र थकित देश भएको बेला विवेकशील नेपाली अनि रन्जु दर्शनाको ब्यबस्थापकीय चुस्त दुरुस्त क्षमताको सर्वत्र चर्चा र प्रसंसा भएको थियो ।

पीडितको उद्धार सहयोग, पुनर्स्थापना घाइते र विरामीहरुको तत्काल उपचार अनि रगतको खांचोलाई तत्काल र युद्ध स्तरमा जोगाड गरेर विवेकशील नेपालीले जताततैबाट स्याबासी बटुलेको थियो जसको नेतृत्व टिममा रन्जुको सक्रियता र क्रियाशीलता अनि सम्बेदनशीलता नमूना योग्य र अनुकरणीय थियो । लोभलाग्दो थियो । डाक्टर गोविन्द केसी शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति विरुद्ध सत्याग्रहमा होमिएको बेला सो आन्दोलनलाई उर्जा भर्न र जनता जगाउन विवेकशील नेपालीले अहोरात्र खटेर देश र जनता प्रति जुन कर्तब्य निभायो त्यो अविस्मरणीय छ । जसको संयोजन रन्जुले गर्ने अवसर पाइन् र कुशलतापूर्वक आफ्नो भूमिकामा अब्बल बनिन् । रन्जुको मासमा उर्जा भर्ने र नेतृत्वगर्ने खुबी त्यहि देखिन्थ्यो । लाल–लाल गाला अनि एउटा आशा भरिएको विश्वास भएको आँखा अनि बुलन्द युवा आवाजमा रन्जु मासको लिडिङ गर्थिन जोशिला र आक्रोशयुक्त गगनभेदी नारा फलाक्दै हिंडथिन । यिनको रौनकताले शिथिलतामा प्राण भर्ने काम हुन्थ्यो यिनको उत्साह, जोश, आवेग देख्दा लाग्थ्यो भोलीको सुन्दर नेपाललाई काँध हाल्ने सक्षम नेता यिनै हुन् ।

अब युवा भोलीको लागि मात्र भन्ने र मान्ने दिन रहेन युवा वर्तमानको बोझ उठाउने सशक्त काँध र बलिष्ठ हातपाखुरी पनि हुन् । युवा, बृद्ध, बाल बनिता सवैको आशाको उज्यालो किरण र न्यानो, पारिलो घाम अनि शितल जुन मध्ये एक हुन् रन्जु दर्शना । काठमाडौं सहरलाई आधुनिक र समयसापेक्ष बनाउन सबैको आफ्नो र मेरो काठमाडौं बनाउन रन्जुले विवेकशील पार्टी मार्फत यी र यस्ता अवधारणा सार्वजनिक गरेकी छन् जुन भिजन र कार्यक्रमको रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्नेछन ।
‘झन्झटमुक्त र सुविधायुक्त काठमाडौं
धुवा, धुलो रहित हराभरा काठमाडौँ ।
गरिखान पाउने, उद्यमशील काठमाडौं ।
हिंडुहिंडु लाग्ने, झिलिमिली र मोहक काठमाडौं ।
बिबिधता र सम्पदाले भरिपूर्ण काठमाडौं ।’

देशको सुनौलो भविष्य कोर्ने, बृहत खाका र स्पष्ट मार्गनिर्देशन भएकी उर्जाशील, साहसी आकर्षक व्यक्तित्व कि धनि काठमाडौं महानगरपालिका कि जल्दोबल्दो युवा उमेदवार रन्जुलाई शुभकामना । मृतप्रायः काठमाडौँको कंक्रिटको जंगल, जैविक र पर्यावरणीय अवस्थामा जीवन भरिदिने, प्राण हालिदिने ,प्राकृतिक रुपमा काठमाडौंलाई पूर्ण हराभरा र जीवन्त बनाउने पद्धती र उपचारको खाका प्रश्तुत गर्ने छन यी तरुनीले ।

दरिलो र दृढतापूर्ण इच्छाशक्तिको अघि उमेरको कुनै बाधा र व्यवधान झेल्नु पर्दैन रन्जुले । विवेक काठमाडौंबासीको नेतृत्व रन्जु दर्शनाको । रन्जुको विजयको लागि महिलाहरुमा मात्र विवेक पलायो भने रन्जुको विजय यात्रा टाढा छैन । हरदिन हरपल पुरुष मानसिकता र पूरुषलाई गालीगलौज गर्ने अधिकारबादी महिलाहरुले महिला र सक्षम युवती रन्जुलाई एक भोट दिए भने पुरुषप्रधान समाजलाई एउटा ठूलो र गतिलो झापड मात्र हैन महिला माथिको महिलाको अविश्वास आशंका पनि समाप्त हुने दिन आउने थियो । जय होस् यी ‘पागल मनुवी’ को । तर लेखनाथ पौड्यालको यो पंक्ति सारगर्वित लाग्छ यहाँ-योग्य स्थान बिशे मान सानाले पनि पाउछ ।’

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.