लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चुनाव ‘कुचो’ र राजनीति ‘फोहर’ हो

सोमबार, ११ बैशाख, २०७४ मा प्रकाशित, 1495 पटक हेरिएको

पेशल आचार्य - स्थानीय तह चुनाव आउन अब मात्र ३ हप्ता बाँकी छ । गाउँ, सहर, चोक, चौराहा, गल्ली, डबली, चिया पसल र रेष्टुरेन्ट सबैतिर चुनाव लागिसकेको अवस्था छ । अचेल जन्ती र मलामी जहाँतहीँ चुनाव कै चर्चा र चासो हुन्छ । फलानो पार्टीको देशैभरिमा यति प्रतिशत आउने पक्का भो । चिलानोको त खत्तमै रै’छ । ढिस्कानोको नामै जनताले सुनेका छैनन् गाँठे आदिआदि ।

पत्रपत्रिका पनि छपक्कै चुनावी समाचारले ढाकेको छ । स्कुल क्याम्पस, बैंक, अदालत र बौद्धिकहरू भेला हुने ठाउँमा पनि चुनावी रन्को देखिन्छ । यस पटकको चुनाव जनतालाई दसैँतिहार आएजस्तो मात्र नभएर ‘दस वर्षे गोदावरी मेला’ आएजस्तो भा’को छ । जुनजुन मानिसहरू पेसा र व्यवसायमा छन् तिनीहरू आ–आफ्नै धुन्–धुन् र तुन्–तुन्मा रमाएका छन् । बाँकी राजनीतिक कर्म गर्ने नेता र तिनका कार्यक्रमलाई पछ्याउने कार्यकर्ताहरूमा चाहिँ चुनावी धपेडी शुरू भैसकेको छ ।

गरिब देशमा चुनावको चर्चा र चासो अधिक हुन्छ । चुनावबाटै कुनै सडक छाप मानिस नेता बन्छ र हामीमा शासन गर्छ । कोही स्थापित भैसकेको नेता आफूमा चुनावी टाँचा जनताले नलगाइदिनाले हार्छ र पत्तासाफ हुन्छ । विकसित र विदेशको कुरा अर्कै हो । नेपालमा अझै ‘मनी, मसल्स र माउजर’ ले चुनाव हत्याउने गरिन्छ किनकि यहाँका जनतामा चुनावको महत्व र चासो सकारात्मक कोणबाट अत्यन्त कम छ ।

अहिले स्थानीय तह चुनावी माहोलमा ठूला र स्थापित राजनीतिक दलभन्दा साना र नयाँ दल बढी उत्साहित देखिएका छन् । तैबरू सानाले ठूला दलका तुलनामा कार्यक्रममा नयाँपन दिएका छन् भने ठूलादल भने आफ्ना कार्यक्रममा उही पुरानै कर्मकाण्डलाई दोहोर्‍याउँदै जनता अल्मल्याउने खालका नारा र सपनाका फुलहरू आ–आफ्ना घोषणापत्रमा कोरल्न व्यस्त छन् । यस्तो माहोलमा हुने चुनावले निश्चय पनि जनतालाई रनभुल्लमा पारेको छ । यो चुनावी परिवेशमा ‘कडवा सच’ हो ।

प्रतीकार्थमा भन्दा राजनीति ‘फोहोर’ र चुनाव ‘कुचो’ हो । छिमेकी देश भारतमा योभन्दा अघिल्लो लोकल चुनावमा दिल्लीमा एकाएक आम आदमी पार्टीले बिजेपी लगायत अन्य दललाई बढारेको थियो । संयोग उसले चुनाव चिन्ह ‘कुचो’ पायो । उसले विधानसभा चुनावमा सबै राजनीतिक पार्टीलाई दिल्लीबाट कुचोका सट्टा ‘भ्याकुम क्लिनर’ नै लगाई बढारेर सानदार विजयसाथ अहिले मुख्यमन्त्री केजरीवाल दिल्लीमा राज गरिरहेका छन् ।

नेपालमा यतिखेर बौद्धिक, प्रविधिमा चुस्तपुस्ता, विश्वघटना क्षणपलमा जानिराख्ने र हरेक मामलामा अपडेट भैरहने युवालाई राजनीतिक पुराना दर्शन भनेपछि भमिट हुन्छ । पूर्व प्रशासक तथा नयाँ पार्टीका अभियन्ता रामेश्वर खनालले एक अन्तर्वार्तामा –अब राजनीति सुध्रन्न’ भनेका छन् । यस्तो निराशाले पुराना पार्टीलाई केवल इतिहासमा सिमित पार्ने जो देखिन्छ ।

संसारमा सबैभन्दा बढी युवा बिगार्ने भनेकै राजनीतिक दर्शनले हो । केही समयअघि नेपाली अनलाइनमा पढ्न पाइएको थियो –‘माक्र्स, लेनिन र माओले जति ऊर्जाशील युवा संसारमा प्रत्यक्षतः कसैले पनि बिगारेका छैनन् ।’

दार्शनिकहरूले जे कल्पना गरे त्यो राजनीतिका क्षेत्रमा नेताहरूले फसल लगाउँदा पाकेको देखिएन । काली पोके लागेको छ– प्रजातन्त्र र समाजवादको दर्शनमा । माक्र्सको कुलीन जीवनशैली थियो । लेनिन र माओ सोफोष्टिकेटेड जीवनमा रमाएका थिए । खासमा दक्षिण एसियाको एक्लो कम्युनिष्ट आचरणका नेता भनेका गान्धीमात्र हुन् । उनीजस्तो सादगी र व्यवहारोपयोगी राजनीति आजसम्म कसैले गरेको छैन । सायद् भोलि पनि गर्ने छैनन् ।

नेपालका सेवाइलाल, जो सुनसरी जिल्लालाई हराभरा नबनाउन्जेल शरीरमा पूरा कपडा लगाउँदिन भन्थे । उनी कम्मरमा लगौंटीमात्र लगाउँथे । रूपचन्द्र विष्ट ‘थाहा दर्शन’ का प्रणेता औ खाँटी कर्मनिष्ट हुन् । उनले खाजेको गन्तव्य नेपालमा उनका जीवनमा कहिल्यै आएन । हाम्रा नेताहरूमा त्यस्तो अठोट कसैमा देखिएन । स्पाति व्यक्तित्वका नेता एकादुई देखिए पनि पूर्ण ऊर्जाका साथ काम गर्न दिइएन । कोठे बुद्धिजीवीलाई पद र पैसाको प्रलोभनमा पारी साहित्य लेखाएर वर्तमानका धेरै नेताहरू गीतकार र कोही नाटककार भएका छन् । जबकि तिनीहरू बास्तविक जीवनमा न केही पढ्छन् । न त केही नयाँ चिन्तन गर्छन् । लेख्नु त पल्लो फालको कुरा भयो ।

भूकम्पपछि धुर्मुस र सुन्तलीले सरकारले गर्न नसक्ने काम आफ्ना नाममा स्थापना गरेको फाउन्डेसनबाट शीघ्र र सजिलै गरिदिए । ‘नेपालमा अब पनि कुरा गर्ने, काम नगर्ने पार्टी र नेतालाई हामीले यो स्थानीय तहको निर्वाचनमा जिताउनु हुन्न ।’ गाउँ र सहरबाट यही आवाज युवाले बोल्न थालेका छन् । पार्टी सम्बद्ध पत्रकार, विश्लेषक, बुद्धिजीवी र थिङ्क ट्याङ्कको त के कुरा, बाँकी स्वतन्त्र लेखक र पत्रकारहरूले अहिले मातृभूमिको ऋणको भार तिर्नका लागि जसरी भए पनि साँचो बोल्नुपर्ने भएको छ । यही बेला हो मनको कुरा बताउने र लेख्ने । यही बेला हो देश र जनताका लागि सत्य ओकल्ने ।

सबैखाले नगरपालिका र गाउँपालिकामा दूरदृष्टि र सार्प दिमाग भएका युवाहरूलाई जिताउनु पर्ने दायित्व सबै मतदाता अझ खासगरी युवा मतदाताका काँधमा आएको छ । चर्चित लेखक नयनराज पाण्डेले आफ्नो फेसबुक स्टाटसमा केही दिनअघि हाकाहाकी लेखे– ‘म साठी कटेका उम्मेदवारलाई भोट नदिने आफ्नो पहिलेको अडानमा अहिले पनि कायम छु ।’ उनको यो अडानले साठी काटेका र पेन्सन भैसकेका कर्मचारीलाई टिकट दिइने पार्टीहरूको प्रवृत्तिलाई विरोध गरेको छ ।

जो उमेरमा ६० काटेको छ, बास्तवमा ऊ विगतामुख हुन्छ । उसको चिन्तन र कार्यशैली पनि पश्चगामी हुन्छ । कुनै न कुनै कुरामा उसले आफूलाई ‘हाम्रा पालामा’ भनेर पश्चगामी भनाई राखी छाड्छ । नयाँ नेपालमा पश्चगामी चिन्तन र पश्चगामी कार्यशैलीका नेताहरूको अब कुनै दम र काम छैन । तिनीहरूलाई युवाहरूले राजनीतिमा आउनबाट छेकेर नयाँ र चुस्तदुरुस्त पुस्तालाई राजनीतिमा स्थापित गर्न सकियो भनेमात्र देशैबाट गरिबी, अभाव, रोग, भोक, शोक र बेरोजगारीलाई डाँडा कटाउन सकिन्छ । नत्र फेरि उही पुरानै पार्टी र विचारका मानिसलाई जिताइयो भने ‘थेगो’ शैलीका भाषणमा ‘के भन्देखिन’ र ‘बस् चाइन्जो कुराले’ भन्ने ताई न तुईका कुरा पाँच वर्षसम्म हामीले कान पाकुन्जेल सुन्नु पर्ने हुन्छ ।
अहिले हामीले पार्टीभन्दा पनि असल व्यक्ति चाहेका हौं । व्यक्ति सुदूर भविष्यको कल्पना गर्न सक्ने र विकासप्रेमी हुनु पर्‍यो । आचरण, अनुशासन, समयपालक, भ्रष्टाचार नगर्ने, जनताप्रति उत्तरदायी भएको र नयाँनयाँ विकासे सपना देख्न सक्ने प्रविधिमैत्री नेतृत्व हामीले यो पटकको गाउँपालिका र नगरपालिकामा चुनेर पठाउनु पर्ने दायित्व आएको छ ।

काठमाडौं महानगरपालिकामा रवीन्द्र मिश्रको साझा पार्टीले भूपू शिक्षा सचिव किशोर थापाजस्ता विषयविज्ञ र विवेकशील नेपाली दलले रञ्जु दर्शनाजस्ती २१ वर्ष मात्र भएकी टेक्नोक्र्याट र प्रविधिमैत्री युवतिलाई उम्मेदवार बनाएर एकाएक राजनीतिक तरङ्ग ल्याए । अब हेर्नु छ, कांग्रेस, एमाले र माओवादी केन्द्रका कस्ता अनुहारका उमेदवार खडा हुन्छन् ? चुल्ठे, मुन्द्रे, कुण्डले, तिघ्रे, डन र बद्मासहरूलाई यी तीन पुराना दलले कतिको काखी च्याप्छन् ? कति तिरस्कार गर्छन् ?

जसरी ‘प्रश्न बुझेपछि आधा उत्तर सजिलै लेख्न सकिन्छ’ भन्ने गरिन्छ त्यसैगरी उम्मेदवार हेर्दैमा ती पार्टीहरूको भविष्यगामी सोचलाई भलीभाँती चिन्न सकिन्छ । सिनेमा पूरै हेर्न पर्दैन, काष्टिङ्ग हेरे पुग्छ । किताब पूरै छिचोल्नै पर्दैन, भूमिका पढेरै किताबको नाडी छाम्न सकिन्छ । उहिलेका बूढा पाकाहरू ‘धानको चिन्ह परालबाट बुझिन्छ’ भन्थे । अब मूल्याङ्कन गर्ने बेला आएको छ । कुनकुन पार्टीहरू हिजोका समयमा जनताप्रति कतिकति उत्तरदायी थिए ? भविष्यका विकासे योजनाका खाका र स्पष्ट भिजन कसकसमा केकति मात्रामा विद्यमान् छ ? नत्र अघिल्ला चुनाव आफ्ना लागि र आफ्ना मान्छेका लागि जित्यौं अबको चुनाव तपाईंका लागि लडेका हौं भन्ने ‘विहारी लालु शैली’ लाई भजाएर तपाईंका घरदैलामा आउने ती पुराना र पारम्परिक सोच, समझ र बुद्धि नभएका मानिसलाई आफ्नो हात काटेर जानी नजानी भोट दिनुभयो भने हामीले पाँच वर्षसम्म पछुताउनुको विकल्प नहुन सक्छ ।

त्यसैले अहिलेबाटै दह्रोसँग कुचो समातेर बसौं र चुनावमा आफ्ना नजिकमा सपना, जपना र कल्पनाका पुरिया लिएर लालीका पित्र गाउन आउने पार्टी र त्यस्ता प्रकारका नेतालाई बढारेर परै फ्याँकौं । यसैमा सबैको भलाइ छ । अहिले हाम्रा होइन राम्रा मानिस रोज्ने हो । अघिल्लो पटक स्थानीय निर्वाचन हुँदा जन्मेको शिशु आज २० वर्षको वयश्क भैसकेको छ । त्यो पुस्ताले विश्वास गर्ने मानिस भनकै ३० वर्ष माथि र ५० वर्ष मुनिका उम्मेदवार मात्रै हुन सक्छन् । यसमा सबै सचेत हुनुपर्छ । पार्टी भनेर, सिद्धान्तमा भुलिएर, डर, धाक, धम्की, प्रलोभन र केही रुपैयाँका लोभमा मुठ्ठीको माखो भयौं भने नयाँ नेपालको नागरिक हुनुको पनि कुनै अर्थ रहँदैन ।

मतदाताहरू दह्रोसँग कुचो समातेर राजनीतिक फोहोरलाई आफलौँ । गाउँ, नगर र महानगरपालिकालाई सफा, स्निग्ध र कञ्चन बनाऔं । आफ्नो, परिवार, समाज र आफ्ना गाउँ, ठाउँ साथै नगरको भविष्य उज्यालो बनाऔं । यसैमा सबैको भलाइ छ । समय बितेपछि चुक्चुकाउनु भन्दा समय अगावै सोच्नु राम्रो हो । कि कसो ?

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.