लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

महाभारतकी कुन्ती–१६

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित,

नियति नै भन्नुपर्‍यो-छोराहरु चारओटा भए तर अहिले कोही पनि साथमा छैनन् । कर्ण त छैन, छैन, आफ्नै भाइको हातबाट मारियो र स्वर्ग गयो । अरु तीन भाइ त पनि सँगै छैनन् । अनि नकुल र सहदेवलाई मैले नै नपाए पनि न त उनीहरुले मलाई बेग्लै आमा ठानेका छन्,न त मैले नै फरक ठानेकी थिएँ ।

-हरिविनोद अधिकारी

अहिले पनि माद्रीको त्यो करुण अनुहार सम्झन्छु । उनलाई पतिकी प्यारी भएर संसारलाई देखाउन जुन लालसा थियो, त्या मातृवात्सल्यभन्दा धेरै गुणा माथि थियो । कृष्णले अर्जुनलाई युद्धका बिचमा दिएको ज्ञानको सारझै थियो । अरु कुनै लालसा देखाइनन्, मात्र पतिकी प्यारी हुने र सती गएर पतिको सेवा गर्ने मात्र अकाट्या भाव उनमा थियो, त्यसैले जिउँदै चितामा डढ्ने जस्तो अकल्पनीय पीडालाई स्वेच्छिकरुपमा सहर्ष स्विकारिन् ।

मैले भनेकी थिएँ-म उमेरले पनि र विवाहको हिसाबले पनि जेठी हुँ , त्यसैले सती जाने कुरामा मेरो हक लाग्छ । तिमी छोराहरुलाई हुर्काऊ, राज्य गर्ने लायक बनाऊ । मैले अन्तिम समयमा महाराजको दर्शन गर्न पनि पाइँन र उहाँको अन्तिम इच्छा पनि थाहा पाइन । तिम्रा माइतीहरु पनि ठूला देशका हुन् र तिम्रो कुरालाई हस्तिनापुरले गम्भीरताका साथ लिने गरेको पनि छ ।

तर माद्रीले ठाडै मेरो कुरालाई अस्विकार गरिन् र ढिपी गर्न थालिन् अनि मृत्युसँग निर्भय भएको जस्तो गरी स्पष्ट भनिन्–अब म कुनै पनि हालतमा यो संसारमा बस्दिन किनभने मेरो असावधानीले गर्दा आज महाराजको अवसान भयो । यो मेरालागि कलङ्क हो एकातिर भने मैले यी छोराहरुलाई महाराजको अनुपस्थितिमा कुनै पनि प्रकारको राजकीय प्रशिक्षण दिन सक्दिन । जब जब उहाँको अति सन्तुष्ट अनुहारको सम्झना आउँछ अन्तिम समयमा, त्यसले पनि मलाई उहाँसँगै जान प्रेरित गरेको छ । अनि मैले लाजै नमानीकन सोधेँ-बहिनी, त्यस्तो कस्तो अनुहार देख्यौ र महाराजको अन्तिम समयमा ?उहाँ कसरी त्यसरी अत्यन्तै सन्तुष्ट हुनुभयो ? उनले कुनै लाजै नमानीकन, दृढताका साथ भनिन्दि-दी, म कुनै फूल खेलाई रहेकी थिएँ, अलिकति असावधानीले मेरो माथिल्लो भाग खुलेको रहेछ र उहाँ परैबाट त्यही नियाल्दै अत्यन्त भोको आँखाले मलाई नियाल्दै कामातुर महिष आफ्नी महिषीतिर लम्केझैँ आउँदै हुुनुहुँदो रहेछ । यस्तोसँग मलाई चेप्नु भयो कि म कतै उम्कन पनि पाइँन र मलाई उहाँबाट त्यस्तो आलिँगन यो भन्दा पहिले कहिल्यै भएको पनि थिएन । म पनि कामदेवको तिरले ग्रसित भएकी रहेँछु किनकि आफ्ना पतिसँग एक्लै बनमा ,उद्यानमा र कोही पनि देख्ने नभएको ठाउँमा म र उहाँ थियौँ । उहाँले त मृत्युको भयमा बाँच्दाबाँच्दै मृत्युलाई नै जितेको जस्तो लाग्न थालेको थियो केही समयदेखि । तपाईँसँग त उहाँ डराउनु हुन्थ्यो तर मलाई जहिले पनि भोको आँखाले हेरेको मलाई थाहा थियो । मैले पनि अश्विनी कुमारसँगको रति व्यवहारले नयाँ अनुभव बटुलेकी थिएँ र बारम्बार त्यहीमात्र सम्झन्थेँ जब महाराज मप्रति भोको आखाले हेर्नुहुन्थ्यो । मलाई भन्दा पनि कामदेवको तिरको बशमा आफू परेको थाहै नपाई र परिणामका वारेमा पटक्कै वास्ता नगरी मलाई यसरी अंचेट्नु भएको थियो कि मैले एकैपटक उहाँको मुखबाट फिंज काडिएको र अति सन्तुष्टिको भावमा स्मित भएकी पाएँ । अनि मलाई पनि तपाईँले बारम्बार सम्झाएको सम्झेँ र धुकधुकी छामेँ दिदी । अब धुकधुकी त थिएन तर अत्यन्त हर्षित भावको अनुहार महाराज हुनुहुन्थ्यो । दिदी ऋषिको श्राप पुग्नु थियो, पुग्यो । जब तपाईं जिद्दी नगर्नुस्, म नै सती जान्छु । जुन काम सन्तुष्टि मैले महाराजबाट पाएँ, त्यसैको आलोकमा हामी स्वर्गमा पनि कुनै श्राप विना, कुनै रीस राग र द्वेष विना नयाँ जीवन बाँच्ने छौँ दिदी । मलाई त्यो स्वर्गीय आनन्दबाट तपाईँले वञ्चित नगर्नुस् । न म हस्तिनापुरमा गएर लड्न भीड्न सक्छु, न म राजकीय शिक्षा दिन सक्छु, न म पितामह, जेठाजुसँग गएर अधिकार माग्न सक्छु । हाम्रा छोराहरु आफैँमा वीर, वलबाहु छन्, तपाईंलाई साह्रै मान्छन् र वास्तवमा मैले तपाईँको आज्ञा शिरोपर गरेर नकुल र सहदेवलाई जन्ममात्रा दिएकी हुँ, वास्तविक आमा तपाईं नै हो ।

उनले मानिनन् र सती गइन् । मलाई पनि उनको कुरा हो जस्तै लाग्यो । मानवीय स्वभाव कस्तो हुँदो रहेछ भने जस्तोसुकै पीर परे पनि दायित्वलाई बिर्सन सक्दो रहेनछ । मैले पनि सिंहका बच्चा पाएकी थिएँ, कसरी तिनलाई वनको राजा हुने लायक बनाउनु त थियो नै । बनाएँ । कहिलकाहीँ नकुल र सहदेवमात्र काकतालीले सँगे हुँदा पनि मलाई कहीँ मेरा तर्फबाट, उनीहरुका दाजुहरुका तर्फबाट कतै कुनै मायामा कमी भयो कि र तिनले पिता माताको सम्झना गरे कि भन्ने कुरामा सधैं हामी सतर्क हुन्थ्यौं । त्यस्तै भएछ नि त वनवासमा ।

एकपटक धर्मराजलाई युधिष्ठिरको परीक्षा लिन मन लागेछ । जस्तोसुकै दुःख र सुखमा पनि धर्मबाट विचलित हुनुहुँदैन भन्ने मान्यतालाई जीवनको अन्तिम सत्य मान्ने युधिष्ठिरमा यो राज्य विहीनता, आफ्नै जेठाबाबुबाट, भाइहरुबाट, आफन्तबाट राज्यमात्र छिनिएको होइन कि १२ वर्ष वनवास र अर्को एकवर्षचाहिँ गुप्तवास बस्नै पर्ने दण्डलाई कसरी लिएको रहेछ, एउटा राजा योगीको जस्तो भेष धारण गरेर बस्दा, आपतकाल र दुःखले कस्तो बनाएछ, भावी दिनमा कसरी अगाडि बढ्ला भन्ने परीक्षा लिनका लागि एउटा जंगलमा पानीका लागि भौँतारिएका बेला पार्नु भएछ । यक्षका रुपमा धर्मले लुकेर केही परीक्षा लिन यस्तो गर्नु भएछ रे । मलाई द्रौपदीले भनेकी थिइन् यो कुरा ।

तिर्खाले सबै आकुल व्याकुल भएका थिए रे । युधिष्ठिरले पानी खोजेर ल्याउनका लागि पहिले सहदेव गएछ, उसलाई लुकेको कुनै यक्षले पानी नखाउँ, न लैजाऊ मेरा केही प्रश्नहरुका उत्तर दिएर मात्र पानी प्रयोग गर्नू भनेको कसैले पनि केही उत्तर दिएनन् र पानी खाने बित्तिकै मूच्र्छा परेछन् । पालैसँग सबै मूच्र्छा परेको कुरा एकले अर्कोलाई भन्न पनि सकेनन् किनभने जसले यक्षको प्रश्नको उत्तर दिएन , त्यसले पानी छुने बित्तिकै मूच्र्छा परिहाल्थ्यो रे । अन्त्यमा युधिष्ठिर गएछ रे र पानी छुन आँट्दा नै फेरि आकाशवाणी जस्तै गरी कहीँ नजिकैबाट यक्षको आवाजले प्रश्नको उत्तर नदिए तिम्रा भाइहरु जस्तै तिमी पनि मूच्र्छिन हुने गरी भनेछ रे यक्षले । अनि युधिष्ठिरले एउटा न्यायप्रेमी राजाले गर्ने जस्तै गरी अदृश्य प्रश्नकर्तालाई प्रश्न सोध्न र तिनको यथासम्भव उत्तर दिन राजी भएछ ।

केही प्रश्नहरु यस्ता थिए रे-आमा के हो ? भन्दा पृथ्वी भनेछ रे । बाबु नि ? भन्दा आकाश भनेछ रे । अनि सबै भन्दा चन्चल के नि ? भन्दा मन भनेछ रे । त्यस्ता धेरै प्रश्नहरु गरेपछि अन्तमा सोधेछ रे यक्षले-तिमीलाई के देख्दा यो संसारमा अचम्भ लाग्छ ? अनि युधिष्ठिरले भनेछ रे–मान्छेले यो संसार अनित्य भन्ने थाहा पाएको छ, अहिले मान्छे मरिरहेको छ, हिजो पनि मरेकै थिए र भोलि पनि मर्ने पक्का छ र तर किन अपराध गर्छ, लोभ गर्छ र एकदिन मर्ने चोलामा किन मर्नुपर्छ भन्ने नदेखेको होला भन्ने कुरामा मलाई अचम्भ लाग्छ ।

वास्तवमा त्यो यक्ष थिएन, उनी त स्वयं काल अथवा धर्मराज थिए , युधिष्ठिरका भौतिक पिता । तर यक्षका रुपमा नै उनले भनेछन्–म तिमीसँग सन्तुष्ट भएँ, मेरो कुरा नमानेर तिम्रा भाइहरु अद्र्धमृत भएका छन् , मानौँ मरेतुल्य नै छन् । यदि मैले यीमध्ये एउटालाई मात्र तिमीलाई फिर्ता दिन्छु भनेँ भने कोचाहिँ मृत्युको मुखबाट ब्युँझियोस् भन्ने ठान्छौ ? भन्दा युधिष्ठिरले भनेछ-नकुल । यक्ष अचम्भित हुँदै प्रश्न गरेछन्कि-न ? भीमसेन जस्तो भाइ छ, अर्जुन जस्तो भाइ छ आफ्नै आमा कुन्तीबाट जन्मिएका । विश्वविजयी । भोलि त तिमीले कौरबसँग लड्नु छ ,विश्व विजय गर्नु छ, अनि किन नकुलको मात्र जीवित रुप खोजेको ?

युधिष्ठिरले भनेछ-कुन्तीका तर्फबाट त म अझै जीवित छु, माद्री आमाका तर्फबाट नकुल भयो भने हामी दुवै आमाका सन्तानले राज्य गर्नेछौँ । अनि यो सुन्दा धर्मराजले आफू साक्षात्कार भएर भन्नु भएछ—क्याबात छोरा, मलाई आज तिमीसँग गर्व लाग्यो । कति न्यायका कुरा गर्‍यौ । आशीर्वाद छ । कुनै पनि भाइ मरेका छैनन्, अब हातमा पानी लिएर छम्क । सबै मूच्र्छाबाट ब्युतिने छन् । नभन्दै पानी छर्केपछि सबै ब्युँतिए । अनि नकुल भन्थ्यो रे ठुल्दाजुले मलाई पो बढी माया गर्नु हुँदो रहेछ भनेर । तर अरु भाइले त्यस्ता कुनै नकारात्मकता देखाएनन् किनभने युधिष्ठिरको न्यायप्रेम र भ्रातृप्रेमका वारेका कसैलाई शंका थिएन । त्यसपछिका दिनहरु ......। यो अन्तिम बेलामा मलाई किन पुराना कुराहरु याद आएका होलान् । क्रमशः

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework