लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

के आध्यात्मिकता कठिन विषय हो ?

बुधबार, ११ असोज, २०७४ मा प्रकाशित,

-आदित्यमान श्रेष्ठ:.. आध्यात्मिकता पूर्वीय संस्कृतिको मुल मन्त्र मानिन्छ । नेपाली संस्कृतिको पनि एक गुह्य भाग मानिन्छ । मनुष्य जीवन सफल बनाउने एउटा बलियो जग मानिन्छ । सुखी जीवनको साधन मानिन्छ । आज नेपालको बागडोर आध्यामिकतामा विश्वास नगर्ने भौतिकवादीहरुको हाथमा परेकोले देशको बेथिति र अधोगति भएको भनेर पनि मानिन्छ । त्यसकारण यसको वास्तविक कुरा बुझ्नु आवश्यक मानिएको हो ।

 

तर प्रायः यसलाई बुझ्नु र बुझाउनु कठिन मानिन्छ । यसलाई बुझ्न पढेलेखेको हुनु पर्ने, तेजिलो बुद्धि हुनु पर्ने, मानसिक स्तर माथिल्लो हुनु पर्ने र संवेदनशिल हुनु पर्ने भत्रे पनि सम्झिन्छ । त्यसकारण सामान्यतः साधारण मानिसहरुले आध्यामिकता के हो भनेर बुझ्दैनन् भत्रे विश्वास गरिएको पाइन्छ । के यो साँच्चै एक कठिन विषय हो ? के यो बुझ्न विलक्षण प्रतिभा नै हुनु पर्छ ? यसको निर्क्यौल गर्नु जरुरी छ किनभने यो प्रश्न हाम्रो अस्तित्व, सुखशान्ति र संस्कृतिसित जोडिएको छ ।

यसलाई सजिलोसित बुझ्नकोलागि एउटा सजिलो बाटो समातौं । सबैको एउटा परिचयात्मक नाउँ हुन्छ । उदाहरणकालागि राम । रामको नाम लिने बित्तिकै को हो राम भत्रे प्रश्न उठ्दछ । सबैको आँखाले रामको खोजी गर्दछ । कसैले राम उहाँ हुनु हुन्छ भनेर देखाइदिन्छ । हामीले रामलाई देख्दछौं र चिन्दछौं पनि । तर हामीले रामको शरीरलाई देखिरहेका हुन्छौं । कसैले अरु जिज्ञासा राख्यो भने रामको परिचय उसको हाथ समाएर देलान् या खुट्टा देखाएर देलान् या टाउकोतिर औलो तेर्स्याएर देलान् । त्यस कार्यले रामको शरीर या शरीरको एक भाग देखिएला । तर राम देखिंदैन । रामभन्दा जुन एकत्रित परिचय, व्यक्तित्व अथवा छवि बुझिन्छ त्यो टडकारो देखिदैन । त्यो कुरा रामको शरीरलाई चिरफार गरे पनि देखिदैन । शरीर भित्र पनि राम कै अङ्गप्रत्यङ्ग मात्र देखिने हो । तब पुनः राम काहाँ छ भत्रे प्रश्न खडा हुन्छ । राम त अवश्य छ । त्यो तथ्यलाई हामीले स्वीकार गरिसकेका छौं । हामीले उसलाई फेला पार्न मात्र कठिन भइरहेको छ । हामीले रामलाई तब मात्र सजिलै फेला पार्न सक्छौं जब हामीले आत्माको अस्तित्वलाई मान्द छौं । रामको शरीरमा एउटा आत्मा पनि छ, जसलाई हामीले राम भनेर चिन्दछौं । यो शरीर र आत्मा सँगै हुँदा मानिस जिउँदो रहन्छ । जुन दिन यिनीहरु छुट्टिन्छन्, त्यस दिन हामीले मानिस मरेको मान्दछौं ।

आध्यामिकता जिउँदो मानिसको विषय हो, मरेको मानिसको होइन । जिउँदो मानिस चेतनशिल हुन्छ, मरेको मानिस हुँदैन । मरेपछि मानिसको शरीर पञ्चभूतमा विलिन भएर जान्छ । पञ्चभूत भनेको पृथ्वी, हावा, पानी, आगो र आकाशलाई मानिन्छ । मानिसको शरीर यिनै पाँच तत्वबाट बनेको विश्वास गरिन्छ । मरेपछि मानिसको शारीरिक तत्वहरु यिनै आधारभूत तत्वहरुमा विलिन हुन जान्छ । तर जिउँदो रहँदासम्म मानिस चेतनशील रहन्छ र यही चेतनालाई आत्मासित परिचित गराउनु र सम्झनुलाई नै आध्यामिकता भनिन्छ । आत्माको अस्तित्व स्वीकार गर्नु या आत्मसात गर्नु भनेको मानिस अन्तरमुखी हुनु हो । अन्तरमुखी हुनु भनेको ‘म को हो’ भनेर जिज्ञासा राख्नु हो । जसरी मानिसले आफ्नो बुद्धि खियाएर बाहिरी जगत याने भौतिक जगत बुझ्न खोज्दछ, उसरी नै उसको चेतनाले आत्मालाई बुझ्न कोशिश गर्नु पर्दछ र बुझ्न पनि सक्दछ ।

यसबारेमा आध्यमिकताका ज्ञानीहरुले बुझ्ने धेरै अभ्यास र प्रयास गरिसकेका छन् । उनीहरुले एउटा सजिलो बाटो पनि देखाइसकेका छन् । यस अनुसार आत्माको दुई तह मात्रु पर्दछ । एउटा तल्लो र एउटा उपल्लो । जुन नाउँबाट हामी समाजमा परिचित हुन्छौं त्यसलाई तल्लो तहको आत्मा मानिन्छ । त्यो नै हाम्रो दैनिक जीवनको परिचय हो । त्यसैमा हाम्रा सबै भावना, आकाङ्क्षा, राग, द्वैष, लोभ, मोह आदि गाँसिएका छन् । त्यसैलाई आफ्नो अस्तित्व मानेर हामीहरु म, मेरो भत्रे गर्दछौं । बाहिरी संसारमा यसैको अस्तित्व र परिचय देखिन्छ । भौतिक र लौकिक संसार पनि यसैसित संलग्न रहन्छ । आत्माको अर्को तह छ माथिल्लो । त्यसको बाह्य संसारसित कुनै सरोकार रहन्न । त्यो आफैमा पूर्ण मानिन्छ । आफैमा स्वतन्त्र मानिन्छ । आफैमा शान्त पनि मानिन्छ । यहाँ कुनै शारीरिक, मानसिक, या भावनात्मक विकार हुँदैन । यो आत्मा निर्मल र पवित्र मानिन्छ । प्राचीन ग्रन्थहरुमा यसको अनेक प्रकारले व्याख्या गरिएको पाइन्छ । उपनिषद यसैकोलागि प्रख्यात छ । गीतामा पनि यसको विस्तृत वर्णन गरिएको छ । पूर्वीय दर्शन यसै विषयमा धनी मानिन्छ । सबै मानिसहरु तल्लो तहको आत्मासित परिचित हुन्छन् । तर माथिल्लो तहको आत्मासित परिचित हुँदैनन् । यो सित परिचित हुनु नै आध्यात्मिक हुनु हो । के यो कठिन काम हो ? के यस तथ्यलाई सरल र सोझो प्रकारले वर्णन गर्न सकिन्न ? के यो सत्यलाई सजिलो किसिमले सम्झाउन र बुझाउन सकिन्न ? के यसलाई कठिन पहेलीको रुपमा अगाडि सारेर भ्रम पैदा गर्नु आध्यात्मिक बेइमानी होइन ?

आध्यामिकतालाई बुझ्न र बुझाउन सकिने एउटा सरल उपाय अगाडि सारिएको छ । मानिसका पाँच इन्द्रिय हुन्छन् । यी हुन-आँखा, कान, नाक, जिब्रो र हात या त्वचा । यिनै इन्द्रियको माध्यमबाट मानिसले सबै ज्ञान प्राप्त गर्दछ । आधुनिक शब्दमा बुझ्दा मानिसले पाउने सबै सूचनाको श्रोत यिनै माध्यमहरु हुन् । आँखाबाट हामीले दृश्य देख्दछौं, कानको सहाराले ध्वनी सुन्दछौं र नाकबाट हामीले गन्ध छुट्याउँदछौं । त्यसैगरी जिब्रोको सहाराले हामीले स्वाद लिन्छौं र मिठो, नमिठो, तितो, अमिलो आदि थाहा पाउँदछौं । हातको सहाराले हामीले सारो, गिलो, तातो, चिसो जस्ता कुरा छुट्याउन सक्दछौं । यी इन्द्रियहरु साधनमात्र हुन् । यिनीहरु आफैले यो ज्ञान प्राप्त गर्दैनन् । खास ज्ञान प्राप्त गर्ने हाम्रो मन हो । मन नलागेको बेला आँखा अगाडि भएको चिज पनि देखिदैन । मन कतै लागेको बेला आवाज कानमा परे पनि सुनिदैन बुझिदैन । मनको संलग्नता नभएसम्म पाँच इन्द्रियबाट प्राप्त ज्ञान ग्रहण गरिदैन । त्यसैले इन्द्रियलाई साधन र माध्यमको रुपमा लिइने गर्दछ । मनले ग्रहण गरेको ज्ञान याने सूचना बुद्धिमा संकलन हुन्छ । ज्ञान र सूचनाको भण्डारको सञ्चालन र व्यवस्थापन हाम्रो बुद्धिबाट हुने गर्द छ । त्यो भन्दा पनि माथि हुन्छ माथिल्लो तहको आत्मा । यसले हाम्रो पर्यवेक्षण गरिरहेको हुन्छ । यो सत्य सबैमा उजागर भएको हुँदैन । सो उजागर भएको मानिसलाई आध्यात्मिक भनिन्छ । के यति कुरा बुझ्न र बुझाउन गाह्रो छ ? यदि छैन भने किन सरल सत्यलाई सरल ढंगले प्रस्तुत गरिंदैन ? के सरल कुरालाई कठिन बनाउने कार्यको नियत माथि शंका गर्नु पर्दैन ?

सरल कुरालाई सरल तरिकाले बुझ्न र बुझाउनु आजको युगको खाँचो हो । कारण संसारका मानिसहरुको धार्मिक आस्थाको सर्वेक्षणबाट के पत्ता लागेको छ भने सात अर्ब विश्वको जनसंख्यामा एक अर्ब मानिसहरु आध्यात्मिक छन् । उनीहरु कुनै पनि धार्मिक सम्प्रदाय र आस्थामा विश्वास गर्दैनन् । तर उनीहरुलाई आध्यात्मिक भनेर मान्दछन् किनभने उनीहरु भौतिकवादी होइनन् । न भौतिकवादी हुन् न कुनै धर्मका अनुयायी नै । तर भौतिक अस्तित्व बाहिर पनि केही तत्व छ जसले मानिसको जीवनलाई चलायमान गर्दछ र उसको सुख दुःखमा महत्वपूर्ण भूमिका खेल्दछ भनेर मान्दछन् । यस मानेमा सबै धर्म सम्प्रदाय या आस्थाका अनुयायीहरु एक प्रकारले आध्यात्मिक हुने गर्दछन् तर सबै आध्यात्मिक मानिसहरु त्यस प्रकारका अनुयायी हुँदैनन् । यसबाट के प्रष्टिन्छ भने कुनै धर्म सम्प्रदायको अनुयायी नभएर पनि आध्यात्मिक भएर बाँच्न सकिन्छ । त्यसबाट पनि जीवनलाई उति नै सार्थक बनाउन सकिन्छ जति धार्मिक आस्था राख्ने मानिसहरुले बनाएको मान्दछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework