लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भ्रष्ट नेतालाई ‘नो भोट प्लीज !’

आइतबार, १९ कार्तिक, २०७४ मा प्रकाशित,

पेशल आचार्य/ आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावले देश फूलफेजमा रनक्क तातेको छ । सातै प्रदेशका प्रान्तीय र केन्द्रीय निर्वाचन क्षेत्रमा चुनावी चहलपहल पछिल्लो चरणको उम्मेदवारी दर्तासँगै १२ गतेबाट ह्वात्तै बढेको छ । निर्वाचन आयोगले तोकेको सीमाङ्कित खर्चले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारलाई चुनावमा छोपै लाग्दैन । करोडौं स्वाहा पारेर चुनाव जित्नैपर्ने बाध्यता पार्टीहरूका सामु आएको छ ।

२ नम्बर प्रदेशबाहेक पूरै देश चुनावी सिलसिलामा दुई कित्तामा बाँडिएको छ । पहाडी जिल्लामा बाम र लोकतान्त्रिक गठबन्धनको चरम रस्साकस्सी देखिन्छ । उपत्यकाका धेरै सिटमा द्विपक्षीय र केहीमा त्रिपक्षीय भीडन्त हुँदैछ । काँग्रेस आफूलाई लोकतन्त्रको ‘लाइफ लाइन’ बताउँदै बाम गठबन्धनले बहुमत ल्याएमा मुलुक साम्यवादतर्फ नजानिँदो गरी मोडिने भनेको छ । उता बाम गठबन्धनले चाहिँ आफूहरूले जितेमा मुलुकमा स्थिरता आउने तर्क पेश गरेका छन् ।

बामगठबन्धन स्थानीय चुनावमा आफूलाई प्राप्त भएको मतमा मख्ख छ भने काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन राजपासँग चुनावी तालमेल गर्न नसक्दा खिन्न छ । २ नं. प्रदेशको प्रतिनिधि सभाको कूल ३२ सिटमध्ये २० सिट राजपालाई दिएर १२ स्थान आफूले लिएको भए काँग्रेसले एक्लैमा चुनाव लड्दा जित्ने सिटभन्दा बढी सिट हुने आंकलन सो क्षेत्रका बुद्धिजीवीहरू गर्दैछन् । यी तर्कहरूमा कति दम छ, त्यो आगामी पुस पहिलो हप्ताबाटै स्पष्ट हुने नै छ ।

झण्डा, तुल, ब्यानर, नमुना मतपत्र, पर्चा, उम्मेदवार कार्ड, लिफलेट र पोष्टरको व्यापार अकासिएको छ । सहरमा ती सामग्री उत्पादन गर्ने व्यापारी र कामदारहरूलाई भ्याई नभ्याई छ । दिनरात नभनी प्रचारसामग्री उत्पादन र गाउँसहरमा वितरण भैरहेका छन् । नेता र कार्यकर्ताहरूलाई फुर्सद् छैन । सबै हतार दौडेका छन् । जोड घटाउ गर्दै मतदाताको तानातान र फकाउने काम हुँदैछ ।

चुनावी घोषणापत्र हेर्दा सबै पार्टीले पाँच–दस वर्षमा देशै झिलिमिली बनाउने ठेक्का लिएजस्ता देखिन्छन् । जमिनी धरातलभन्दा केही फुटमाथि कल्पना गरेर कोरिएका घोषणापत्र फगत् ‘ढाँटपत्र’ लाग्दैछन् । धनवादी, डनवादी र पुराना नेताहरूकै राइँदाइँले चुनाव विकृत बनाएको छ । ६/६ पटकसम्म एउटै व्यक्ति चुनावमा उठेको दृश्य हाँसोपरक देखिन्छ भने अर्कातिरबाट नयाँ र होनहार युवाहरू टिकट पाउनबाट वञ्चित भएका देखिन्छन् । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेचाहिँ ‘युवापुस्ता सक्षम छ’ भन्दै यसपाला चुनावमा उठेनन् ।

चुनाव क्षेत्रमात्रै परिवर्तन गरेका छैनन् नेताहरूले । दल अदलबदल समेत गर्न भ्याए । सदाबहार सांसदको उपमा पाएका पुराना काँग्रेसी विजय गच्छेदार घुमिफिरी काँग्रेसमै विलय भए । नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई वाम गठबन्धनले सम्मानजनक स्थान नदिएपछि काँग्रेसले समर्थन गरेको गर्‍यो ।

माकेका तर्फबाट देउवा सरकारमा ऊर्जामन्त्री रहेका शम्भुलाल श्रेष्ठ काँग्रेसमा भित्रिनासाथ टिकट जिब्ट्याए । एमालेका मोहनसिँह राठौरले पनि मातृपार्टी परित्याग गरी चारतारे झण्डा बोके । काँग्रेस पूर्व सांसाद सिरहाका सुरेशचन्द्र यादव माके प्रवेश गरी गठबन्धनका उम्मेदवार बने । तराईकै अर्का नेता अभिषेकप्रताप शाह फोरमबाट काँग्रेस बने । दल परिवर्तन गर्नेको सूची निकै लामो छ । रामेश्वर राय यादव फोरम लोकतान्त्रिकबाट माओवादी केन्द्र पुगे भने प्रतिनिधि बन्ने लोभकै कारण जंगीलाल राय राजपाबाट काँग्रेस भित्रिए ।

‘कान्तिपुर’ दैनिकमा पत्रकार हरिबहादुर थापा लेख्छन् –‘सरकार परिर्वतन र चुनावका खबत हुने प्रवेश अवसरमुखी चरित्रका उपज हुन् । आउने र ल्याउने दुवैको मूलभूत उद्देश्य अवसर छोप्नु हो ।’ तर यो कुराको हेक्का दल परिवर्तन गर्ने अवसरवादी चरित्रका नेता र भित्र्याउने दल दुवैमा छैन ।

कमल थापा एण्ड कम्पनीले लोकतान्त्रिक गठबन्धनमा रहँदारहँदै झापामा काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला विरुद्ध राजेन्द्र लिङ्गदेनलाई टिकट दियो । ‘गुण्डा नायिके’ भनेर चिनिने दीपक मनाङ्गेलाई एमालेले आफ्नो आधिकारिक उम्मेदवारकै दरखास्त फिर्ता गर्न लगाई घुमाउरो बाटोबाट प्रदेशमा जित्ने बाटो खोल्यो । उनी विजयपश्चात् एमाले प्रवेश गर्ने पक्कापक्की जस्तै छ ।

मधेशी नेता हृदयेश त्रिपाठी राजपाबाट एमालेको सूर्य चिन्ह लिई स्वतन्त्र हैसियतमा चुनावी महासंग्राममा होमिएका छन् । उनी चुनाव जितेर बाम गठबन्धनतिरै जाने ध्याउन्नमा होलान् । उता काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिसँग धनुषा ३ मा राजपा नेता राजेन्द्र महतो दमदार भएर चुनावमा भिड्दै छन् ।

काठमाडौँमा अझ रोचक चुनावी माहौल छ । काठमाडौँ १ मा प्रकाशमान सिंहसँग विवेकशील साझाका रवीन्द्र मिश्र पहिलोपल्ट सांसद बन्न पौंठेजोरी खेल्दै छन् । राजधानीबाटै डा.सूर्यराज आचार्य र किशोर थापासमेत युवा मतदाताका मनमा ढुकढुकी बनेर उदाएका छन् । कांग्रेसका लोकप्रिय युवानेता गगन थापालाई पनि बाम र विवेकशील साझा दुवैको प्रहार गतिलो छ । विवेकशील साझाका उम्मेदवारहरूले चुनाव जित्लान्–नजित्लान् भन्न सकिने स्थिति छैन तर सहरी युवाहरूको राम्रो मत तान्ने सम्भावना भने क्रमशः बढ्दै छ । यो कुरा स्थानीय निर्वाचनमा विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले पाएको मतबाटै पुष्टि हुन्छ ।

रवीन्द्र मिश्रका शब्दमा–‘विवेकशील साझाले यो पटक राष्ट्रिय पार्टी हुने र अर्कोपटक सरकारको नेतृत्व गर्ने सोच बनाएको छ ।’ जुन नराम्रो सोच होइन । समयले भन्दै छ– अब नेपालमा सेन्टरबाट नयाँ पार्टीहरू आउनु पर्छ । रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गर्न जाँदा देखाएको सादगीपन र नेपाल यातायातमा चढेर फर्केको दृश्यबाटै मतदाताहरूको मन जितिसके होलान् । मिश्र गाडी चढ्न सक्ने हैसियतका नेता हुन् तर उनले जुन शैली पब्लिकमा देखाए त्यो सफा र नमनीय छ । पुराना पार्टीका नेताहरूको क्लासिकल ढर्राहरू (फूलमाला, अबिर र खादा शैली) जनतालाई भद्दा लाग्दै छन् ।

थोत्रा चिन्तन भएका नेतालाई अब युवा मतदाताहरूले मत दिएर जिताउनुको तुकै छैन । देशैभरिका मतदाताहरूमा युवाहरूको बाहुल्यता छ । युवाले चुनावमा राम्रा उम्मेदवारलाई जिताउन गतिमान हुन सिकेन भने अब नेतालाई सबक सिकाउने ठाउँ लोकतन्त्रमा रहने छैनन् । मत हाली सकेपछि हात काटेर दिएजस्तो हुनेछ । पुराना र सोचविहीनलाई मत दिइएमा पाँच वर्षसम्म तिनीहरूले बेथिति र भ्रष्टाचार बढाउन अकण्टक पाउने छन् ।

दुःखको कुरा काँग्रेसले यसपटक लोकप्रिय नेतात्रय धनराज गुरुङ, केबी गुरुङ र गुरुराज घिमिरेजस्ता स्वच्छ छविका नेतालाई टिकट दिएन । एमालेबाट पनि जुझारू नेतृ रामकुमारी झाँक्री र इमान्दार नेता ठानिने ठाकुर गैरे चुनावी माहौलबाट किनारीकृत भए । पार्टीमा सुकिलामुकिला र धनवादले घर गरेको यो दृष्टान्त हो । काँग्रेस, एमाले र माकेहरूमा अब सिद्धान्तको रोइलो गर्नेहरू यसैगरी पाखा लाग्दै जानेछन् । मूलधार भनिएका यी पार्टीहरूको झण्डा, नाम र कार्यकर्ता मात्रै फरक देखिएका हुन् । सारमा काम गराई र भिजन करिब उस्तैउस्तै छ । यी तिनै हुन् जसले भ्रष्ट लोकमानलाई चौतारो र साहसी सुशीला कार्कीलाई शूलीमा चढाए ! कोही कसैभन्दा कम छैनन् । सबैमा भाइभतिजावाद, फरियावाद, धनवाद र डनवादले घर गरेको छ । नेक्सस (मिलीभगत राजनीति) पोलिटिक्सलाई संरक्षण गर्न यिनकै ठूलो हात रहेको छ । जसबाट देशले निकास नपाएर झन्झन् भासमा पर्दैछ ।

स्थानीय चुनावताका चितवनमा छोरीलाई मेयर बनाउन देउवा र काँग्रेससँग ऊ बेला निहुरमुन्टी भई रोइलो गर्ने प्रचण्डका चुनावी कमाण्डर उनै हरूवा देवी ज्ञवाली बनेको देख्दा राजनीतिमा जस्तो कार्य पनि पाच्य हुने देखियो । मत च्यात्ने र अन्यायमा पर्नेको सामूहिक फोटो फेसबुक भित्तामा रम्रिएको छ । देउवाकी पत्नी डा.आरजू, प्रचण्डकी बुहारी बिना मगर, ओलीका भान्जा र काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा समेतले जनताबाट अनुमोदन हुने अख्तियारी त पाए तर तिनीहरू यसपटक को कहाँबाट कति मत ल्याएर चुनिन्छन् चुनिदैनन् परिणामले बताउने नै छ ।

राज्य कब्जाको स्थितिमा दल अदलबदल, भ्रष्टप्रति सून्य सहनशीलताको अभाव, नेक्सस पोलिटिक्स, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपालमा झन्झन् जब्बर भएर मौलाउँदो छ । अहिलेको चिन्ता र चासोे यही हो ।
‘चुनावले देशको अर्थतन्त्रलाई चलायमान मात्र बनाउँछ तर आर्थिक विकास गर्दैन ।’ अर्थशास्त्रीहरू चिन्ता जाहेर गरिरहेका छन् । यो चुनाव काँग्रेस, वामगठबन्धन र मधेशवादी दल सबैका लागि जीवनमरणको सवाल बनेको छ । बामहरूको गठबन्धन चुनावबाट सत्ता हत्याउने भन्दा परको दूरदृष्टि राखेर गरिएको छैन । समाजवाद भोटका लागि बाँडिएको ललीपप हो । चुनावपछि सत्ता सुन्दरीको भोगतर्फ सबै सोहोरिने छन् ।

चुनावपछि दुवै गठबन्धनले अपेक्षित परिणाम हाँसिल गर्न सकेनन् भने अर्को नाटक देखाउने छन् । यो देशमा ओली, प्रचण्ड र देउवाजस्ता नेताले देशीय कायापलट गर्ने हुति र बर्कत राख्दैनन् भन्ने कुरा जनतालाई थाहा छ । नयाँ पुस्तामा मात्र त्यो दम छ तर पुरानो पुस्ता अवसर हस्तान्तरण गर्न चाहँदैनन् । नयाँपुस्ता अनेक अवसर पर्खिरहेका छन् । हरेक पार्टीबाट नयाँ पुस्तालाई अघि बढाउनु पर्छ । नयाँ सोच र कार्यशैलीमा मात्र अब देश अघि जान सक्छ ।

संघीयताको कार्यान्वयन गर्न र संविधानलाई आधिकारिकता दिन पनि यो चुनावमा ‘भ्रष्ट होइन प्रष्ट नेता’ चुनिनु पर्ने हुन् । ‘हाम्रो नभएर राम्रो’ लाई प्राथमिकता दिनु पर्ने हो । जसमा दम छ ऊ अघि जाओस् । पार्टी, सिद्धान्त र विचार भनेको सबै नेताले वाग्मतीमा सेलाइसकेका स्थिति देखियो । हिजोका कट्टर राजनीतिक शत्रुहरू आज मित्र बने । नजाने ती भोलि पनि सत्ताको अकण्टक भोगका खातिर आफूले अँगालेको विचार नत्याग्लान् भन्न सकिँदैन । आयाराम गयाराम शैलीले नेपाली राजनीति नग्न भयो ।

देशैभरि ट्राफिक प्रहरीले ‘नो हर्न’ नीति ल्याएझैँ चुनावमा पनि भ्रष्ट नेतालाई ‘नो भोट प्लिज’ को सुनामी ल्याउन सकियो भने मात्र नेपाल नयाँ युगमा प्रवेश गर्ने छ । त्यसका लागि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने युवा समूहले राजनीतिक शुद्धिकरणका लागि आक्रमक ढंगले नियमित अभियान सञ्चालन गर्न ढिलो भैसकेको छ । युवा मतदाताहरूमा यो चेतना क्रमशः विस्तारित होओस् । वर्तमानको चासो यही हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework