लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

छलाङ् संस्कृति र निर्वाचनको संघारमा आएको नेपाल

शुक्रबार, २४ कार्तिक, २०७४ मा प्रकाशित,

-हरिविनोद अधिकारी: पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आउनै लाग्यो तर अझैसम्म मतदाता शिक्षा गाउँमा, घरघरमा पुग्न सकेको छैन । बहाना जे जे बनाए पनि अक्षमता त निर्वाचन आयोगको नै मान्नुपर्छ । भन्न त प्रतिनिधि सभा र प्रदेश सभाका लागि बेग्लाबेग्लै मतपत्र तयार गर्नु परेकाले ढिलो भएको भनिन्छ होला तर मतदाता शिक्षा दिनलाई त नमुनामा नै दिने हो नि । अहिले प्रविधिले साह्रै सजिलो बनाएको बेला छ र स्थानीय तहमा पनि नमुना मतपत्र प्रकाशित गर्न सकिन्छ वा कम्प्युटरमार्फत पनि भिडियो देखाउन सकिन्थ्यो पक्कै ।

स्थानीय तहको निर्वाचनमा जुन तदारुकता देखाइएको पाइन्थ्यो, अहिले खोइ किन हो त्यस्तो जाँगर देखाउन सकेको छैन निर्वाचन आयोगले जबकि निर्वाचन खर्च झनझन बढेको आंकडा पाइन्छ सायद । दोस्रो चरणको निर्वाचनका लागि पनि मनोनयन पत्र दाखिला पनि भयो र समानुपातिक तर्फको नाम पनि बेलैमा सार्वजनिक भयो र देखिने गल्ती सच्याउन पाउने अवसर अझै छ , मात्र नाम थपघट गर्न पाईंदैन क्यारे । क्यारे किन भनेको भने सबै कुरा प्रयोगमा छ, अझै स्पष्टरुपमा परिभाषित भएको पाईंदैन । दलहरु जसरी पनि निर्वाचन जित्ने कसरतमा लागेका छन् ।

वाममोर्चा अलि बढी नै हौसिएको देखिन्छ र आगामी निर्वाचनपछि राजनीतिक प्रणालीमा नै उथलपुथल गरिने सन्देश दिन थालेको छ । तर सुरु सुरुको हौसाइभन्दा अहिले रक्षात्मकरुपमा उभिएको देखिन्छ किनभने जनतामा त्यो जाँगर पाइएन जुन निर्वाचनमा तालमेल गर्दा माथिल्लो तहका नेताहरुमा, कृत्रिम तरिकाकै सही, देखिएको थियो । वाममोर्चा र नेपाली काँग्रेसका बिचमा हुन लागेको प्रतिस्पर्धात्मक निर्वाचनमा आन्तरिक र वाह्य दुवैरुपमा केही असन्तुष्टिहरु पनि देखिएका छन् । लोकतान्त्रिक गठबन्धनका नाममा काँग्रेसले राप्रपा सँग गरेको मोर्चाबन्दी नसुहाएको पर्यवेक्षकहरु ठान्दछन् भने वाममोर्चाको गठबन्धन पनि तरबार बेचुवा र घिउ बेचुवा जस्तै हो भन्ने पनि आंकलन छ । नाममा मात्र कम्युनिस्ट देखिएको तर सैद्धान्तिकरुपमा आकाश पाताल फरक देखिने एमाले र माओबादी केन्द्रमा कसरी र केका लागि मोर्चाबन्दी भयो, हुनसक्यो र अझ पार्टी एकीकरणसम्मको लक्ष्य देखियो,अझै अन्यौल नै पाइन्छ ।

जे भए पनि वाममोर्चामा तालमेल यसरी भएको देखियो कि एकअर्कालाई धोखा दिने हो भने सजिलै दिन सक्ने अवस्था रह्यो । तर व्यवस्थापन गरेर तालमेल भएकोचाहिँ देखियो । सायद यसैलाई आधार बनाएर पूर्व प्रधानमन्त्री माधव नेपालले काँग्रेसलाई गठबन्धन व्यवस्थापन गर्न नसकेको भनी गाली नै गरेको भिडियो भाइरल नै भयो । समय अझै लामो छ, माओबादीहरुबाट एमालेले पाउन सक्ने धोखाको अनुमान गर्न थालिएको छ । तर राजनीतिकरुपमा विश्लेषण गर्दा जसरी उम्मेदवार उठाउनका लागि मिलेका देखियो, त्यसैगरी निर्वाचनसम्म पनि गए भने नेपाली कांग्रेसलाई अप्ठेरो पार्ने सम्भावना छ भनिन्छ जुन गणितीय हिसाबले ठिकै पनि मान्न सकिन्छ ।

निर्वाचनको ज्वरो जब आउन थाल्छ, राजनीतिक विश्लेषण र अनुमान गलत साबित पनि हुनसक्छ । फ्रान्स, भारत र अमेरिकामा सबैको अनुमान गलत भयो । स्थापित नेताहरु पनि सामान्य लाग्ने उम्मेदवारबाट पराजित हुनसक्छन् र सोचेभन्दा, आँकलन गरेभन्दा , अनुमान गरेभन्दा फरक नतिजा पनि आउन सक्छ । जनता जनार्दनको मतलाई विश्वासको आधारमा आफ्नो पक्षमा ल्याउन सक्नुपर्छ । हल्ला र वास्तविकता फरक हुने इतिहास एकातिर छ भने हल्लाका भरले नै निर्वाचन जितेका पनि इतिहास पाइन्छन् ।

भन्न त लोकतान्त्रिक गठबन्धन पनि बन्यो क्यारे र कहिले हो, आफैं बिघटन पनि भएछ कि क्या हो ? नत्रभने विमलेन्द्र निधिको विरुद्धमा किन राजेन्द्र महतो उठाइन्थे वा उठ्थे होलान् ? झापातिर त झन उदेकलाग्दो गठबन्धन देखियो । राजेन्द्र लिङ्देनलाई धोखा दियो कांग्रेसले भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण नै ठोक्नु भएछ र वामगठबन्धनले नै समर्थन गरेर कृष्णप्रसाद सिटौलाका विरुद्धमा एकता जनाउनु भएको रहेछ । आपसमा देखिने मनमुटावलाई सैद्धान्तिक जलप लगाउने चलन पनि यो निर्वाचनबाट अचम्भैसँग पुष्टि पनि भएको देखियो ।

बरु कांग्रेसले जुनसुकै दलका भए पनि ठूला नेताहरु उठेका ठाउँमा सकेसम्म आफ्ना ठूला नेताहरुलाई उठाएको पाइएन । जस्तो कि प्रचण्डको ठाउँमा राप्रपा उठ्यो तर कांग्रेसले कोही पनि उठाएनछ । त्यस्तै कमल थापा उठेको ठाउँमा पनि उठाएको देखिएन । केपी शर्मा उठेको ठाउँमा पनि नयाँ उम्मेदवार दिएको रहेछ । सबै ठाउँमा मिलाउने कोसिस गरेको भए सायद विवादरहित उम्मेदवारहरु उठ्न, उठाउन सकिन्थ्यो होला र आवश्यक उत्तरदायी व्यक्तिहरु जनताका प्रतिनिधिका रुपमा संसदमा देखिन्थे होलान् । कतिपय ठाउँमा एउटा जित्छ र अर्को हार्छ तर मुलुकको संसदीय व्यवस्थालाई जरुरत पर्नेचाहिं एउटा छुट्ने पक्का नै देखिन्छ ।

प्रजातन्त्रको एउटा आदर्श हुन्छ । त्यो आदर्श भनेका सिद्धान्तनिष्ठता हो । प्रजातन्त्रको पर्याय बनेको नेपाली काँग्रेसमा सिद्धान्तनिष्ठता देखियो कि देखिएन निर्वाचनका उम्मेदवार छान्दा भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । एकातिर लोकतान्त्रिक गठबन्धनको घेरामा बसेको कांग्रेसलाई मधेसबादी भनेर भनिने दलहरुले अन्त्यमा साथ दिएनन् तर काँग्रेसको उम्मेदवाद छनोटमा कुनै मानक रह्यो कि रहेन भन्ने विवादचाहिँ देखियो । काँग्रेसले कसैसँग मिल्नु जरुरी थियो ? या सबैलाई समेटेर जाने खुला हृदय देखाउन सकेको थियो कि थिएन ? कस्तासँग मिल्न गयो , कस्तालाई समेटेन ? इतिहासमा यी कुराहरुले पक्कै अर्थ राख्लान् नै ।

अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो निर्वाचन बेलैमा हुने र भावी दिनमा पनि प्रजातान्त्रिक व्यवस्था सखल्ल रहने कुराको प्रत्याभूति । त्यसको मुख्य जिम्मेवार दलहरुमा नेपाली काँग्रेस र एमाले नै हुन् । नेपाली जनताले उनीहरुकै बलमा राजालाई समेत हटाएका हुन् र मुलुकमा नयाँ प्रणालीको सुरुवात गर्नका लागि अनुमति दिएका हुन् । माओबादी केन्द्र त अझै पनि संसदीय र प्रजातान्त्रिक व्यवस्थाप्रति विश्वस्त पनि छैन र यसैमा उसको दलको प्रगति हुन्छ भन्ने पनि उसलाई लागेको छैन ।सायद त्यसैले पनि होला, प्रजातान्त्रिक दल चलाउन मुस्किल भएर नै एमालेमा समाहित हुन पुगेको होला जुनकुराको अन्तिम मैजारो निर्वाचनपछि हुनेछ । एमालेले पनि माओबादी केन्द्रको अग्नि परीक्षा लिइरहेको छ अनि माओबादी केन्द्रले पनि एमालेलाई कति कमजोर पार्न सकिन्छ, त्यसैमा उसको वर्चस्व देखिने छ ।

आजको संसदीय राजनीतिमा नेपाली कांग्रेसको समकक्षी र सहयोगी दल त एमाले नै हो । हिजो संविधान घोषणा गर्दादेखि नै किन हो, एकता रहन सकेन । भोलिको नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक समाजवादको आड भरोस पनि काँग्रेसको इमान्दारिता र एमालेको सत्चरित्रमा भर पर्छ । माओबादी केन्द्रका वारेमा कुनै पनि अनुमान बेतुक हुनेछ किनभने त्यो दल अझै पनि शान्तिपूर्ण अनि संयमतापूर्वक राजनीति गर्नेकुरामा अभ्यस्त भएकै छैन र अभ्यस्त हुन नपाउँदै छलाङ् मार्ने बानी जो यो दलको एकल नेता पुष्पकमल दाहाल प्रचण्डमा परेको छ । अहिलेसम्मका छलाङ् मारेकोमा खुट्टा बालुवा र नरम रुईमा परेका छन्, तर कुनै दिन कडा चट्टानमा पनि पर्न सक्ला किनभने छलाङ् मार्ने बानी जो परेको छ , उफ्रिहाल्ने बानी । खोल्सो , भीर, पहरो , नदी देख्यो कि छलाङ् मार्ने बानी । त्यसले प्रचण्डलाई के होला, थाहा छैन तर मुलुकलाई नकारात्मक प्रभाव पारेमा मुलुक अरु आधा सय वर्ष पछि पर्ने हो कि भन्ने चिन्ताचाहिँ नेपालीहरुमा देखिन्छ बेलामौकामा ।

प्रारम्भिक अवस्थाको प्रकाशित समानुपातिक सूची हेर्दा कुनै पनि दल समानुपातिक प्रतिनिधित्वको सिद्धान्तसँग आत्मसात भएको देखिएन । मतको आंकलनलाई आधार बनाउँदा तिनैको वर्चस्व हुने देखियो जो अहिले पनि हालीमुहाली गरेर बसेका छन्, पार्टीमा कुण्डली मारेर घेरिरहेका छन् । हेरौं, यो पटकको संघीय सँसद भनेको , प्रादेशिक संसद भनेको पहिलो पनि हो र प्रजातन्त्रको पक्षमा काम गर्नका लागि नयाँ व्यवस्थाको सुरुवातको आधारस्तम्भ पनि हो । अहिले नै दोषारोपण गर्नु भन्दा र निरासा व्यक्त गर्नुभन्दा अमूल्य पाँचवर्ष हेर्नु नै जरुरी छ । निर्वाचन तोकेकै दिनमा होस् र संसदले आफ्नो काम बेलैमा गर्न पाओस् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework